२०७८ असार ४ शुकर्बार
Mero Sabda

केरा खेतीबाट किसान निराश


– तेज आचार्य

रोङ, २४ भदौ । इलामको दक्षिणी चुरे क्षेत्रका किसानहरुले गर्दै आइरहेको केरा खेतीमा यतिखेर निराशा छाएको छ । रोङ गाउपालिका, माई तथा सूर्योदय नगरपालिका लगायत स्थानका किसानहरुमा प्राविधिक ज्ञान र दिगो बजारको अभावले सिर्जना गरेको समस्याका कारण निराशा बढेको हो ।
किसानको घर–व्यावहार चलाउने आधार बन्दै आएको केरा खेतीमा उत्पादनको समयमा विभिन्न रोगको प्रकोप बढ्ने र स्थायी बजारको अभावमा उचित मूल्य प्राप्त नहुनुले पनि किसानहरु समस्यामा परेका छन् ।
झापाको शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौं, वीरगंज, जनकपुर, पोखरा सहितका ठूला सहरमा पुग्ने केराको मूल्य किसानको हातमा भने प्रतिघरी एक सय पचासदेखि दुई सय पचाससम्म मात्र पाउने गरेको रोङ २ बरफल्याङका कृषक टीकाप्रसाद भट्टराईले बताए । उनले १५ रोपनी क्षेत्रमा केरा खेती गरेका छन् । बार्षिक ६० हजारको केरा मात्रै विक्री गर्ने उनले त्यही केरा वगानमा सुपारी र पशुका लागि घास समेत उत्पादन गर्दै आएका छन् । सत्र बर्षदेखि व्यावसायिक केरा खेतीमा गर्दैगरेको भट्टराईले सुनाए । उनले भने– ‘जुन आशाले खेती शुरु गरिएको थियो, अहिले आएर रोग, किरा र बजारले निराश बनायो ।’
बरफल्याङमा मात्रै तीन सय परिवार भन्दा बढीले केरा खेती गर्दै आएका छन् । पहिले रातो देखिने बरफल्याङमा अहिले हरियाली छाएको छ । माई नगरपालिका र चुलाचुली गाउँपालिकामा चुरे क्षेत्रका किसानले पनि केराको खेती शुरु गरेका छन् । केरा खेतीमा मूल समस्या भनेकै रोग, किरा र बजारको नै हो ।
रोङ– २, इलामका कृषि तथा प्राविधिक शाखा प्रमुख रामकुमार तामाङका अनुसार केरा खेतीमा गवारो किराको प्रकोप बढी देखिने गरेको छ । त्यसवाहेक केरामा लाग्ने मूख्य रोगहरूमा पानामा ओइलाउने, बन्ची टप, पातको थोप्ले, गुवो मर्ने, कोत्रे र गानो कुहिने रोग प्रमुख रुपमा देखिने गरेको उनले बताए । बगैँचा सरसफाइ नगर्दा र केराको झाँङबाट विरुवा सार्दा रोग र किरा फैलने क्रम बढेको उनको भनाइ छ ।
रोङ– २ का केरा व्यावसायी दीपक ढुंगानाका अनुसार यस क्षेत्रमा चिनीचम्पा, भण्डारी, धुस्रे, सिंगापुरी जातका केरा पाइन्छ । उनका अनुसार चिनिचम्पा (लालकोला)को माग बजारमा अरुभन्दा राम्रो छ । झापाका बजारमा पु¥याएर विक्री गर्ने उनले केरा उत्पादकले अहिले पनि राम्रो बजार नपाएको सुनाए । उनले भने, ‘सुरक्षित बजारको अभावका कारण किसानहरु मारमा परेका छन् ।’ कतिपय किसानले भने विचौलीया व्यपारीको कारण किसानहरुले उचित मूल्य नपाएको सुनाए ।
रोङ–२, इलामका वडाध्यक्ष टेकबहादुर तामाङका अनुसार केराको बजार व्यवस्थापनका लागि सो क्षेत्रमा गत बर्षदेखि केराको परिकार बनाउने तालिम शुरु गरिएको छ । चालु बर्ष पनि तालिमलाई निरन्तरता दिने योजना रहेको उनले बताए । उनले भने– ‘केरा यहाँको मूख्य आयस्रोत मध्ये भएकाले यसको संरक्षण र बजार व्यवस्थापनका लागि योजनाबद्ध काम शुरु गरेका छौ ।’
विशेषतः चुरे क्षेत्र केराखेतीको लागि अति उर्भरभूमि हो । स्थानीय जातको लालकोला राम्रोसँग फस्टाउने भएकाले यस क्षेत्रमा बढी मात्रामा सो जातको केरा पाइन्छ । बजारको पर्याप्त अभावका कारण अझै पनि उत्पादित केरा ग्राहकसम्म नपुगेर वस्तुलाई खुवाउने र चराचुरुङ्गीले नै खाएर सक्ने गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।