२०७८ असार ४ शुकर्बार
Mero Sabda

अब म लेख्छु


– लिलक सिटौला

म जन्मेको गाउँ हो शनिश्चरे । यो मेरो जन्मभूमि मात्र होइन, कर्मभूमि पनि यही हो । यही माटोमा खेलेर मैले साठी दशक पार गरिसकें । राजनीतिक, धार्मिक, साहित्यिक, आर्थिक, सामाजिक साथै खेलकुदका कयौं उतारचढावहहरु देखें र भोगें पनि । झापा जिल्लाको पुरानो बजारले प्रख्यात यो क्षेत्र अहिले प्रदेश नं. १ अन्तर्र्र्गत अर्जुनधारा नगरपालिका भएको छ ।

हरेक क्षेत्रको आआफ्नै विशेषता हुन्छ । त्यस्तै शनिश्चरे क्षेत्रको पनि आफ्नै विशेषता छ । आफ्नै संस्कार र इतिहास छ । यस क्षेत्रमा जन्मिन पाएकोमा मलाई आफ्नो जन्मप्रति गर्व लाग्छ ।

मेरो बिहानको प्रातःकालिन हिंडाइपछि एकछिन् थकाइ मार्ने थलोहरु छन् शनिश्चरे बजारमा । तीहरु मध्ये काफ्लेको मिष्ठान्न भण्डार पनि हो । यो पसल शनिश्चरे बजारको पुरानो मध्ये एक हो । आसामे होटल नामबाट प्रख्यात् भई हाल काफ्ले होटलमा रुपान्तरण भएर आइपुगेको हो । साइला काफ्ले अर्थात् सोमनाथ काफ्ले यस पसलका संचालक हुन् । पसल सफा छ, त्यसैले राम्रो चलेको पनि छ ।

०७६ सालको भाद्र १७ गते बिहान घुमफिरपछि थकाइ मार्न त्यहाँ पुगेको थिएँ । बिहानको नास्तामा तातोतातो पुरीतरकारी, चिया खानेहरुको जमघट राम्रै थियो । धेरै जसो चिनजानकै साथीहरु हुनुहुन्थ्यो । मैले पनि चिनी बिनाको चिया मागें ।

मेरो छेउमा होनहार साथीहरु तथा भाइहरु पनि चिया पिउँदै समसामयिक गफमा मस्त थिए । तीहरु मध्ये एक थिए प्यारो भाइ कुमार भट्टराई । जो पत्रकार पनि हुन्, वकिल पनि हुन्, व्यवसायी पनि हुन्, तेक्वान्दोका प्रशिक्षक पनि हुन्, विभिन्न सामाजिक क्रियाकलापका अगुवा पनि हुन् । अर्का थिए यलम्बर टाइम्स दैनिकका सम्पादक दिपीन राई ।

समसामयिक कुराको बहसमा मैले पनि भाग लिएँ । सबैले आआफ्ना विचारहरु पोख्दै थियौं । त्यतिखेरै कुमार भाइले मलाई अलिक झोंक्किदै भने– ‘दाइ ! तपाई यस क्षेत्रको पुरानो मान्छे । यस क्षेत्रका कांग्रेसहरुमा पनि जिल्लाको जिम्मेवारी ग्रहण गर्नेहरुमा सबैभन्दा पुरानो नेता । जहिले पनि चिया दोकान र चारजनाका अगाडि मात्र विचार फलाकेर भएन ।’

मैले उनको कुरा नबुझेर सोधें– ‘मैले के गर्नु प¥यो त अब ? म के गर्न सक्छु र त्यस बाहेक ?’

उनले भने– ‘लिलक दाइ ! अब तपाईका विचारहरु यसरी जथाभावि व्यक्त नगर्नुहोस् । अब तपाई लेख्नु होस् । अबका तपाईका विचार, भोगाइ र इतिहासहरु लेखिएन, संग्रहित गरिएन भने तपाईसँगै विलाएर जान्छ । त्यसैले अब तपाईलाई लागेका कुराहरु लेख्नु होस् ।’

म छक्क परें । नलेखेको धेरै भइसकेको थियो । उहिल्यै कविताहरु लेखेर सुनाइ पनि हिंडियो कृष्ण धराबासीहरुको संगतमा लागेर बीस–बाइसको उमेरमा । तर राजनीतिक बाटो समाएपछि लेखन भन्ने कुरा कहिले कता छुट्यो पत्तै भएन । बाह्र–चौध बर्षअघि कुमार भाइकै भनाइमा लागेर अर्जुनधारा दैनिकमा केही लेख्न थालेको थिएँ । उनले त्यो पत्रिका छाडेपछि मेरो लेखाइ फेरि बास बसिसकेको थियो ।

उनका कुरा सुनेर मैले भनें– ‘लेख्न छाडेको धेरै भयो । अब शब्दहरु आउँदैनन् । लेखाइमा भुल हुनसक्छ । भाषा कमजोर हुन्छ ।’

मेरा कुरा सुनेर उनले भने– ‘नयाँ कुरा नलेख्नु होस् न अहिले । पुरानै भोगाइका कुराहरुबाट लेखन शुरु गर्नुहोस् । तपाईको लेखाइ गहकिलो छ । मलाई थाह छ तपाईको लेखनशक्ति । म पनि सहयोग गर्छु तपाईलाई ।’

उनका कुराले लेख्नु पर्छ भन्ने कुराले मनमा रक्तसंचार ग¥यो । त्यतिखेरै हाम्रो कुरा सुनिरहेका दिपीन भाइले भने– ‘दाइ ! तपाई त पहिला त बद्मास नै हो रे, अहिले सज्जन हुनुहुन्छ । म धेरै कुरा जान्दिनँ, तर यति थाह छ– तपाईको आफ्नै इतिहास छ । समाजलाई केही दिनुहोस्, शुरुमा आफ्नै इतिहास लेख्नु होस् ।’

मैले भनें– ‘त्यो बेला पंचायती शासन थियो । पंचायती मण्डलेहरुको विगविगी थियो । आफ्नो ज्यान जोगाउन पनि मान्छेहरु कुट्ने काम हुन्थ्यो । कुट्न नसके कुटाउने, कुटाइखाने काम हुन्थ्यो । बेला नै त्यस्तै थियो, के गर्नु त भाइ ।’

मेरा कुराले हाँसो छरियो । त्यसपछि पनि कयौं पटक उनीहरुसँग त्यसरी नै भेट भइरह्यो । गत केही हप्ताअघि पनि लेखनका बारेमा पुनः कुरा उठे । कुमार भाइले फेरि लेख्नका लागि जोड गरे । ‘मेरो शब्द डट कम’मा निरन्तर यस क्षेत्रको इतिहास लेख्ने काम तपाईको भो दाइ भनेर जिम्मा नै लगाए । उनी जस्तै निरन्तर घच्घच्याउने मान्छे भए म जस्तो निदाएकाले पनि लेख्न शुरु गर्नेरहेछन् लाग्यो र यति लेख्ने जमर्को गरें । अब म निरन्तर लेख्छु । जस्तो भए पनि लेख्छु, लेखिरहन्छु भन्ने अठोट गरेको छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।