Mero Sabda

गाउँघर पुग्दा


– धर्मेन्द्र नेम्बाङ

बाल्यकाल खोज्दै पौवासार्ताप
म जन्मेको गाउँ पुग्दा
रोडहरुले गाउँघर खाइसकेको हुनु
धुलो उडाउदै घरमाथि सडकमा गाडी कुदिरहेको हुनु
दूध बेचेर साथीहरुलाई रक्सी खुवाउने रसिक लीला दाजु
दाह्री फुलेर बूडो भएको हुनु
बूडापाका जति जम्मै बाटो लागेको हुनु
कानमा सुर्तिको ठुटा बोकेर
गाउँ घुम्ने मिजाशिलो सुरेश काका पनि गैसकेको हुनु
म आफै नै कपोबा (बूढो)को गणनामा पर्नु
पद्मकन्या प्रावि जाने उकालो बाटो
धमिलो बर्खामा उफ्रिदा चिप्लेर लढिने हिले सिडी
बर्खे भेल आएपछि खोल्सामा परिणत हुँदै बाटो छेक्ने बर्खे खोल्सी
सधै थुर्ने बाटाको चुथ्रो र केशरीको बोट
गाउँलेहरु भेलिएर पानी भर्ने कुवा
सबै नासिइसकेको हुनु ।
हराइसकेको, विस्थापित भइसकेको ।
स्कूल पढने पुरानो दौंतरी र स्कूलहरु
घाँस काटने पुराना दौंतरी र पाखावारीहरु
वस्तु चराउने पुराना दौंतरी र वनपाखाहरु
खोला खेल्ने पुरानो दौंतरी र खोला स्याङवा, निबुहरु
नभेटिनु । विरानो हुनु । गाउँघर पुरानिनु । म हराउनु ।
मैले कराएको कसैले नसुन्नु । हौ कसैले नफर्काउनु ।
धेरै बर्षपछि गाउँघर पुग्दा,
गाउँघर र बाल्यकाल दुबैको वियोगले
म नियास्रो उभिनु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।