Mero Sabda

म एक्लो र उदास उस्तै


– गीता त्रिपाठी

छुट्याउनै सक्दिनँ– एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीं । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीं । अभिसाप जस्तो जीतको अर्थ नै के छ र !

एउटा ठूलो रङ्गहीन रङ्गशाला । खेलहरू अनेक छन् र अनेक विशेषताका छन् खेलाडीहरू पनि । म स्वयं पनि त एउटा खेलाडी । यो सहरमा बीस वर्ष पहिले एउटा साधारण प्रशिक्षार्थीका रूपमा प्रवेश गरेकी । मभित्रको खेलाडी अलि फरक थियो सायद । अहिलेजस्तै त्यसबेला पनि प्रतिस्पर्धाका निम्ति मसँग कुनै खास खेल थिएन र खेल्नुको अभिरुचि पनि थिएन । एउटा सरल स्वभाव र अनुशासित अतीतको सामल बोकेर म जिन्दगीको नयाँ बसपार्कमा आइपुगेकी थिएँ । र, सोचेकी थिइनँ, जिन्दगी यहीं यसरी टा«फिकजाममा परेर थन्किरहनेछ कैयन् वर्षहरू यसरी यसरी नै… । र, म पुरानो बसपार्कको साँगुरिँदै गएको गल्लीबाट आफ्ना हराएका समयको अदृश्य पानाहरू खोज्दै उदास भौतारिइ रहनेछु ।

पहिलोपटक बाह्र वर्षको उमेर थियो, म यो भीडमा केहीबेर हराउन आइपुगेकी थिएँ । रहरले होइन एउटा विवशताले ओरालेको थियो मलाई त्यस पल । निर्दोष एउटी पहाडकी केटी, कौतुहलताहरू उम्रनै नपाइ मरिसकेको अवस्थामा आँशुको उपहार बोकेर जाँदै थिएँ— महाराजगञ्जको कुनै उजाड महलतिर ।

खै कुन लगनले जुराएथ्यो मेरी दिदीलाई यो अपरिचित सहरमा नयाँ जिन्दगीका सपनाहरू देखाएर । गाउँमा एसएलसी पास गरेपछि अगाडि अर्को गन्तव्य थिएन । बीस वर्षको रहरलाग्दो उमेरमा उच्च शिक्षाका लागि यो सहरमा भित्रिएकी, उनलाई देखेपछि कसैले आफ्नो जीवनमै भित्र्याउन चाह्यो । आमाबुबासम्म मगनीको प्रस्ताव पुग्यो, लगन जुर्यो र पलाञ्चोक भगवतीलाई साक्षी राखेर विदा ग¥यौँ ०४१ सालको पहिलो वासन्ती महिनाको मस्त–मध्येमा, अर्थात् बैशाख १७ गते । दोस्रो विदाइ थियो त्यो, त्यसअघि नै ठूली दिदीको विदाइ भइसकेकाले विछोडको बानी परिसकेथ्यो सायद । दिनहरू बिजुली चम्काइको गतिमा बितिसकेछन् । त्यो अनुभव त्यसबेला भयो, जब आठै महिनापछि मेरी दिदीको जिन्दगीमा वियोगान्तको विभत्स आँधी आयो । उनको जीवनको महल भत्कियो । आँशुको नयाँ पोखरी बन्यो, खुसीको सुक्यो । म त्यही आँसुको पोखरीमा आँशुकै उपहार मिसाउन जाँदै थिएँ । पहिलो पटक त्यसरी तय भएको थियो, मेरो काठमाडौँको यात्रा । त्यसबेलाको विषादमय अनुभूतिले मलाई जीवनभरि नै यो सहरसँग खुसी हुनै दिएन । मानौँ म यो सहरमा एउटा दुःखान्त कथा हुँ, जो अनुवाद हुँदैछ— सुक्दै–सुक्दै गएको रानीपोखरीमा । यहीं हराउनेछु एकदिन मैले आफ्नै प्रतिविम्व र सायद पछि खोजेर पनि भेटिने छैन । यसरी बिलाउनेछु म, यसको सुरुवात् भइसकेको आभासले तर्साइरहेछ निरन्तर ।

सम्झँदैछु, चौबीस बर्ष पहिलेको त्यो कथा— भित्ताभरि पोष्टर र पम्प्लेटहरू थिए । मलाई कुनै पोष्टरले तानेको थिएन । ती सबै मलाई मेरी दिदीको वैधव्यको उपहास– चिह्न जस्तो प्रतीत हुन्थ्यो । मलाई यो सहरसँग गुनासो त थिएन, तर मेरो गाउँको कोमलता यहाँको माटोमा आएर जमेको सिमेन्ट हुनपुग्यो, म यसैले आकुल थिएँ । रानीपोखरीको उत्तरतिर महाराजगञ्ज लाग्ने ट्याम्पो स्टेशन थियो । म मेरा नजिकका आफन्तसँग छ सिटे पुरानो ट्याम्पोको अँध्यारो गर्तबाट यात्रा गर्दै थिएँ । रानीपोखरी मेरो आँखाबाट बिस्तारै टाढिँदै गयो । मलाई त्यसबेला असफल मानिसहरूले आत्महत्या गर्ने ठाउँजस्तो लाग्थ्यो रानीपोखरी । लाग्थ्यो– मेरी दिदीका सपनाहरू कतै त्यहीं डुब्दै पो हुनेछन् कि ! आखिर रेडियोमा मैले यस्तै–यस्तै समाचारहरू नै धेरै सुनेकी थिएँ त्यसबेला । तिनै स्मृतिमा उदास टोलाइरहेको रानीपोखरीमा समयका रित्तिँदै गएका यिनै अवसादहरू अनुभूत गरिरहन्छु आजभोलि पनि ।

त्यस दिनको मध्यान्हमा सेतो वस्त्रमा बेरिएकी दिदीको त्यो अवस्था मेरो स्मृतिमा आज पनि त्यत्तिकै चोटिलो भएर बसेको छ । तिनी के गर्छिन् होला हामीलाई भेटेपछि ? म आउने परिस्थितिसँग सामना गर्न डराइरहेकी थिएँ । ठूलैलाई पनि समाल्न गाह्रो त्यस्तो घटना थियो, म त बालकै न थिएँ । तर दिदी शान्त भएर देखिइन् । चुपचाप हामीले आँखाका सम्वाद मात्रै साँट्न सक्यौँ । पुसको मध्य जाडोमा उनको कठ्याङ्ग्रिएको जीवनकथा म ठीक–ठीक लेख्न सक्दिनँ यहाँ । ती शब्दहरू जो मभित्र जमेका छन् यहाँ ओर्लिन मान्दैनन् र यो गर्मीको मौसममा पनि तिनलाई पगाल्ने सामथ्र्य मसँग छैन । बरु मेरो मन अनायासै पग्लिन खोजिरहेछ । हामी त्यसै दिन फर्किनुपर्ने थियो— पहाडघर नै । विचार गएको मान्छे बासबस्नु हुँदैन भन्ने सँस्कार एकातिर थियो । अर्कोतिर यहाँ बस्न मनै थिएन । छुट्ने बेलामा दिदी अकस्मात् बेस्सरी रोइन् । आजसम्म पनि उनको त्यो महारोदनको फ्ल्यासब्याकले मलाई विक्षिप्त बनाउँछ । दोस्रो पटक उनी त्यसरी रोएको मलाई याद छैन । उनले रुँदै–रुँदै भनेकी थिइन्— ‘मलाई आफ्नोभन्दा बुबाको चिन्ता लागिरहेछ ।’ त्यसपछि आजसम्म पनि उनले हाम्रो जीवनमा पैत्रिक जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । आफ्नो लागि त उनले बाँच्नै बिर्सिदिइन् ।

मे दिवस २००९ को मध्यान्ह । मैले रानीपोखरीको डिलबाट गुज्रिएको त्यो पुरानो सम्झनालाई नयाँ संस्करण गरेँ यसपालि । जानु कहीं थिएन, विशेष केही पनि थिएन, तर कहिलेकाहीँ गन्तव्यविहीन यात्राको सम्भावना हुँदोरहेछ जीवनमा । यस्तै एउटा यात्रा थियो त्यस दिन, सफा टेम्पोको यात्रा, रानीपोखरीको किनार र आकाशेपुलमाथि उभिएको मेरो सम्पूर्णता ।

आकाश सिङ्गै ओडेको धर्ती फेरि पनि नाङ्गै थियो । घामको प्रत्यक्ष आगमन नभए पनि गर्मीको रापले यात्रा र यात्राविहीनता दुबै पललाई असर गरिरहेको थियो । मन भने स्थीर थियो नै । अपेक्षित–अनपेक्षित जम्काभेटहरूमा प्राप्ति या अप्राप्ति केही थिएन । आकाशेपुलको सिँढी, सिँढीका दुबैतिर असहाय, अपाङ्ग, रोगी, वृद्ध र बालकहरूको छुट्टै प्रदेश । यस्तो दृश्य महानगरको यात्रामा सधैँ–सधैँको सबैभन्दा कठीन दृश्य हुनेगर्छ मेरा लागि । चानचुन पैसामा तिनका भोक र पीडाहरूको प्रतिध्वनि साटेँ । तल सडकमा अधिकारका लागि एकजुट भइरहेका मजदुरहरूको सामुहिक भेला बढ्दै थियो । अव्यवस्थाको आक्रोसमा शब्दहरूको अनर्गल प्रवाहले मे दिवसको गरीमालाई हिलो छ्यापेको प्रस्ट अनुभव हुन्थ्यो । कर्मप्रियता या कर्मीप्रियता कहाँ कुनमा सार्थक छ आजको दिन ? दुबैको समन्वित–चेतनाको गरीबीले भयग्रस्त समयलाई म आँखाको नानीभित्र कैद गरिरहेँ । वास्तवमा म चाहन्थेँ कर्मप्रिय हातहरूको सामुहिक हातेमालो, आपसी सद्भाव र एकताबद्ध नेपाली मन । मेरो चाहनाको हत्यारा समयलाई नचाही–नचाहीकन कैद गरेँ मैले मे दिवसको अदिवसीय दिन । र, म झन्झन् एक्लो अनुभव गर्दै थिएँ । हिजोआज सहरमा परिचयको होड चलिरहेको छ, यो राम्रै पनि होला, तर आफ्नो परिचयको लागि अरूको अस्तित्वको, स्वाभिमानको उपहास गर्नु कति उपयुक्त हुन्छ ? मानवताको धर्मशालामा अब विवेकको कुनै संभावना रहेन त ? मानिस रहिरहनका लागि समयसँगै नबदलिनु पर्ने एउटै कुरा हो मानवता ।

एउटा परिचितजस्तो अनुहार सामु मेरो दृष्टि समाहित भयो । बल्ल चिन्यौँ हामीले एकअर्कालाई । हुन पनि एकैपटक भेट भएको थियो— अन्नपूर्ण एफएम पोखराका दीपेन्द्र श्रेष्ठसँग गतवर्षको दशैँपछिको पोखरा यात्रामा रहेका बेला । उनी कसैलाई पर्खँदै यताउता गर्दै थिए आकाशेपुलको लेकसाइडमा । जमलमा बोलाउने साथीले मिटिङ प्वाइन्ट नखुलाउँदा उनको पर्खाइ केही कष्टकर भइरहेको अनुभव भयो मलाई । मोबाइलले पनि सम्पर्क हुन नसक्ने खबर दिएपछि उनी अझै निरास देखिन्थे । हाम्रो छोटो भेट उत्तरआधुनिक शैलीको भयो, उनी आफ्नै कथाको पात्र खोज्दै थिए, म आफ्नै कथाको सिलसिलामा जोडिन चाहन्थें । ओर्लने भ¥याङ एउटै थियो, यद्यपि बाटो फरक । उनी लागे विश्वज्योतिहल हुँदै, म मोडिएँ रानीपोखरीको बारैबार रत्नपार्कतिर । दीपेन्द्रजीका बारेमा म भन्न सक्दिनँ, तर मेरो मोडिनुको निष्कर्ष मलाई नै थाह थिएन ।

आज सार्वजनिक छुट्टीको दिन, मलाई कलेजमा मजदुरी गर्न जानु थिएन । तर औजारहरू किन्नु थियो, अझै धेरै खोस्रनु छ मस्तिष्क । अझै धेरै तिखार्नु छ हतियार । विचारशुन्य नहुन्जेल विचार गरिरहनुपर्छ । भ्रम भन्दै भ्रमको खेती गरिरहनुपर्छ । वैरागी काइँलाको हाट भर्ने मानिस पढाउनुछ भोलि । हिजो वाचन गर्दा विद्यार्थीहरूको अनुहारको भावविहीनता सम्झन्छु, सोधेका थिए— “किन पढ्नुपर्ने यस्तो कविता ?”

जवाफ भोलि दिनु छ मैले । आज सोचिरहेछु— ‘साँच्चै किन पढाउनुपर्ने यस्तो कविता ?’ ती जो यही भीड भएर हिंडुन्, यही समयको रेखामा हिँडदाहिँड्दै मेटिउन्, वा मेटिनेछन् कुनै दिन हाट भर्दाभर्दै—
मलाई झन्डै छोएर जाने
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज…. जिन्दगीको छेवैनिर भएर गयो…..

सायद यो कविता पढाउनु हुँदैन, यो पढ्ने विषय होइन । हाम्रोमा पढ्ने विषयप्रति घोकन्ते विद्याको छाप छ । यो पाठकले आफै बाँचेको समय–कवितालाई कसरी जीवनबाट अलग्ग्याएर बुझाऊँ म, कसरी कण्ठस्थ गराऊँ । हाम्रा विद्यार्थीहरू अझै पनि पढ्नुपर्ने स्रष्टा दिवंगत भइसकेको हुनुपर्ने ठान्छन्, जन्ममितिसँगै मृत्युमिति माग्ने बानी परिसकेको छ तिनको ।

दोहोरो भीड छिचोल्दै म पाठ्यसामग्री पसलको सामुन्ने पुग्छु, कमलजीको दुब्लो अनुहारमा सधैँ देखिने हार्दिकता पुस्तकसँगै उठाउने अभिलाषा, यही दिनको खडेरीमा मिसिन्छ । सडकपारि बन्द सटर छ, वारि बन्द पृष्ठहरू छन् जीवनका । आफैबाट अनभिज्ञ म फेरि एकपटक असमञ्जसमा पाइला बढाउँछु— “अब कता जाने ?”

पारि जाने बहाना मिलेन, वारिवारि नै एक फन्को मार्दै गएँ । घण्टाघर मलाई विस्मयपूर्वक हेरिरहेथ्यो, म त्रिचन्द्र कलेजको गेटबाट पास हुँदै थिएँ । मेरो अतीत यहीं आएर रोकिन चाहन्थ्यो ।
मेरो स्मृति र पाइलाको गतिमा तालमेल भइरहेको थिएन ।

रानीपोखरी मेरो कथाको अनवरत् अमूक वाचक । किन–किन आज यस्तै लागिरहेथ्यो । २०४८ सालको भदौ २१ गते । सरस्वतीसदनको माथिल्लो तला र मेरो बीए प्रथम वर्षको अङ्ग्रेजीको परीक्षा । भदौ चार गते दिवंगत हुनुभएका ससुरा र अन्तिम सँस्कार सम्बन्धि लागेको पन्ध्र दिन । अप्रतीम दुःखका अनेक पहाडहरू छिचोलेर उन्नाइसौँ दिनमा काभे्रबाट पुनः काठमाडौँ आइपुगेकी थिएँ म ।

२० गते एक दिन आराम गरें, र २१ गते परीक्षामा सामेल भएँ । प्रश्न हातमा परेपछिको मेरो अवस्था बुद्धत्व प्राप्त भएजस्तो शान्त थियो, न साथीसँग सोधपुछ गर्ने इच्छा, न उत्तर लेख्ने हतार । मेरो पढाइको सफलतामा अनौठो आशा र खुसी व्यक्त गर्ने ससुरासँगको वियोग, मन अझै कर्मको केन्द्रबाट विचलित कतै भौँतारिरहेको हुँदो हो, म स्वयं अनभिज्ञ थिएँ । सायद छरिएकी थिएँ, आफ्नै मनको परिधिमा ।

झ्यालबाट यसो बाहिर चियाएँ, हरियो र शान्त, जलमय थियो रानीपोखरी । मेरो मन त्यही सघनतामा आकर्षित थियो । करिब पन्ध्र–बीस मिनेट म निर्निमेष त्यो जलाशयमा मेरो अनियन्त्रित मनको केन्द्रबाट पौडिरहें । त्यसपछि कुन्नि के भयो, म सेतो अभ्यास पुस्तिकातिर फर्किएँ । जे लेखेँ, आफ्नै मस्तिष्कको आदेशानुसार लेखें । यसरी नै बिते परीक्षाका दिनहरू । अन्ततः रिजल्टको दिन म द्वितीय श्रेणीमा उत्तीर्ण भएको खबरले मेरो परिस्थितिसँग जानकार मित्र र आफन्तहरू दङ्गदासपूर्ण हर्षमा सहभागी भएको मीठो अनुभूति अझै ताजै रहेछ मभित्र । म यसरी आफ्नो विद्यार्थी जीवनका भोगाइ र चुनौतिका पूर्वस्मृतिमा रानीपोखरीको किनारैकिनार हिंडिरहेछु । भोलि पढाउने विषय मेरो आँखाभरि दृश्याङ्कन भइरहेछन्— हाट भर्ने मानिस, रानीपोखरी र मेरी दिदीको सडकमै पोखिएको सिउँदो । पुसको एक साँझ मृत्यु यसरी जिन्दगीलाई किचेर गएको थियो, र मलाई पहिलोचोटि रानीपोखरीको छेउबाट डल्लो ट्याम्पोको यात्रा तय गर्नुपरेको थियो ।

म अझै यात्रामै छु, रानीपोखरीको एकफन्को पूरा भएको छ । केही पुस्तकहरू आजको अभीष्ट बनेका छन् । मण्डला बुक्स् र एजुकेशनल मेरा आशाका दुई केन्द्र अझै खुलै छन् । म गन्तव्यविहीन यात्रामा गन्तव्यको केही सम्भावना बोक्छु । पाइलाहरू स्वचालित छन् उतैतिर । मन भने एक्लोपनको असहाय अनुभूतिले विथोलिन खोज्छ घरिघरि । व्याख्यातीत विसङ्गतिहरूले जेलिएको यस परिभ्रमणमा अनायासै पल्टिन्छ एउटा पुस्तकको पन्ना र मेरै कथासँग अनुवाद हुन्छ यसरी—

म एक्लो र उदास उस्तै
तिमी आँधी–बतासजस्तै….।

१ मे, २००९
बालुवाटार

प्रतिकृया व्यक्त गर्नुहोस् ।