२०७७ फागुन १७ सोमबार
Mero Sabda

डाइसले बनाएको तेक्वान्दो खेलाडी


– कुमार भट्टराई

केटाकेटीदेखि नै मेरो स्वभाव अलिक जब्बर थियो । जब्बर भन्नाले आफ्नो कुरामा अडिग रहने स्वभाव । खै केले त्यस्तो बनायो मलाई थाह छैन । सायद त्यो जैविक गुण होला । कुनै कुरामा आफ्नो धारणा अलिक बेर सोचेर बनाउने, जब बन्छ त्यसपछि विचार परिवर्तन नगर्ने ।
त्यति मात्र होइन, मलाई रिस पनि चाँडो उठ्ने । त्यो पनि जैविक होला सायद । किनभने आफैलाई थाह हुन्छ, म अलिक बढी नै रिसाइरहेको छु भन्ने । त्यो थाह भएता पनि आफैलाई सम्हाल्न सकिरहेको हुदिनँ म । रिसाउनु ठीक होइन लाग्छ, तर आफैलाई सम्हाल्न सकिरहेको हुन्न म । त्यसैले मन र दिमाग बीच ठूलो अन्तरद्वन्द्व चल्छ धेरै जसो ।
केटाकेटीमा मेरो पढाइ आफ्ना सहपाठीहरु मध्ये अलिक अब्बल नै थियो । तर म आफैलाई थाह थियो, म अब्बल भने होइन । आफू अब्बल होइन भन्ने जान्दाजान्दै आफू अब्बल लाग्नु भनेको अरु धेरै मभन्दा कमजोर भएकाले त्यस्तो भएको हो भन्ने मलाई सानैमा ज्ञात थियो । अर्थात् लाटाहरुको देशमा गाँडो तन्नेरी जस्तै थिएँ म ।
विद्यालयमा कक्षाको अब्बल छात्रछात्रालाई कक्षाको मोनिटर बनाउने चलन थियो । त्यसैले म मोनिटर चुनिन्थें सधैंभरि आफ्नो कक्षाको । कक्षा कोठा सफा राख्नु, सबैलाई अनुशासनमा राख्नु, नबसे त्यसको सूचना शिक्षकलाई दिनु लगायत काम हुन्थे मोनिटरको । शिक्षकहरुसँग नजिक हुने भएकाले आफ्नो कक्षाको शक्तिशाली विद्यार्थी पनि थिएँ म ।
बोर्डिङ स्कूलहरु त्यति धेरै थिएनन् कतै पनि । शनिश्चरेमा हेडसर मोहन जोशीले नै संचालन गरेको एउटा स्कूल थियो पाराखोपीमा । त्यो पनि सायद कक्षा पाँचसम्म मात्र संचालित थियो । धेरै पैसा तिरेर दार्जिलिङ, काठमाडौंतिर छोराछोरी पढाउँथे सम्पन्नहरु । किसान परिवारले आफ्ना सन्तान बोर्डिङमा पढाउन सक्ने अवस्था नै थिएन । त्यतिखेर पैसा महङ्गो र सामान सस्ता थिए । विद्यार्थी अभावमा पछि त्यो स्कूल पनि बन्द भयो ।
त्यो स्कूलका विद्यार्थीहरु शनिश्चरे माविमा नै आउँथे धेरै जसो त्यहाँ छोडेपछि । दुई कक्षामा हामीसँगै पढ्न दुई जना विद्यार्थीहरु आए बोर्डिङबाट– इन्द्र भट्टराई र पारस शिवाकोटी । यी दुबै मेरै उमेरका भए पनि अलिक बलिया र अग्ला थिए । हाम्रो घर बजारभन्दा माथि एकलास जस्तो परेको सातपत्रेमा थियो । उनीहरु नेपालमिल क्षेत्रको वरिपरि थिए । बाटो छेउ बस्ने, अलिक सम्पन्न परिवार, बोर्डिङ स्कूलबाट आएका, बलिया पनि भएकाले कक्षामा उनीहरुको रवाफ बेग्लै थियो ।
सँगै पढ्न आएदेखि नै उनीहरुसँग मेरो सम्बन्ध राम्रो बनेन । कसैसँग झुक्न नजान्ने स्वभावले मलाई उनीहरुको रवाफ सामु झुक्न दिएन । त्यो स्वभावले उनीहरुको इगोलाई ठेस पुग्यो होला सायद, झगडा शुरु भयो । स्कूलमा मेरो रवाफ चल्थ्यो । बाहिर उनीहरुको चल्ने भयो । स्कूल बाहिर उनीहरु मिलेर प्रायःजसो मलाई कुट्न खोज्थे । म एक्लै उनीहरु दुई–तीन जनासँग लडिरहनु पथ्र्यो । त्यो क्रम झण्डै आठ–नौ कक्षा पढिन्जेल चल्यो होला सायद । एक दिन यिनीहरुलाई कुट्न सक्ने हुन्छु भन्ने अठोट थियो मनमा ।
त्यतिखेर उमेर अनुसारको मेरो उचाइ बढेको थिएन । मेरै उमेरका धेरै साथीहरु मभन्दा अग्ला थिए । सायद पौष्टिक खानेकुराको अपर्याप्तताले शरीर विकसित हुन सकेको थिएन होला । तर पनि मानसिक रुपमा म दह्रो थिएँ । भित्रभित्र लाग्थ्यो– ‘एक दिन यिनीहरुलाई कुट्न सक्ने हुन्छु म, त्यो दिन यी सबै कुराको बदला लिनेछु ।’ तर, त्यो दिन कहिले र कसरी आउँछ, आफैलाई थाह थिएन ।
२०४७–४८ सालतिर हुनुपर्छ । हामीसँगै पढ्ने साथी तर उमेरले मभन्दा जेठो मोहन शिवाकोटी थिए गाउँमा । उनले मलाई भने– ‘नेपालमिलको मैदानमा तेक्वान्दो खेल शुरु हुने भएको छ । सिक्न आइज । सिकाउने गुरु विर्तामोडबाट आउनु हुन्छ ।’
उनले भनेको भोलिपल्ट बिहानै म नेपालमिलको मैदानमा पुगें । झण्डै साठी जना जति किशोर र युवा केटाहरु भेला भएका थियौं होला । त्यो दिन लाइन लागेर शारीरिक व्यायाम गरियो । भीड थियो, तर मज्जा आयो ।
सातेपत्रेको जग्गा बेचेर सिनेमाहल छेउमा बसाइसरेपछि मैले शारीरिक व्यायाम शुरु गरेको थिएँ केटाकेटीदेखि नै । सायद चालीस सालतिरै हुनुपर्छ मैले तीन महिना कराते खेल्ने मौका पाएको थिएँ । छिमेकमा हुनुहुने थीरबहादुर शिवा काकाकोमा राजविराजबाट आउनु भएका एकजना गुरुले बारीको पुछारमा काकाका छोराछोरीहरुलाई कराते सिकाउन थालेका थिए । नौ–दश बर्षको सानो उमेरमा उनीहरुसँगै मैले पनि सिक्ने मौका पाएको थिएँ । ती गुरु राजविराज फर्किएपछि हाम्रो त्यो यात्रा टुङ्गिएको थियो, तर बिहान चाँडै उठ्ने बानी भने निरन्तर रह्यो ।
तेक्वान्दो सिक्न थालेपछि निरन्तर सिक्नेले भर्ना शुल्क बुझाउनु पर्ने भयो । त्योसँगै दोवक (पोशाक) पनि किन्नु पर्ने भयो । मसँग पैसा थिएन । दुई सय साठी रुपैंया भर्ना शुल्क र दुई सय चालीस रुपैयाँ पोषाकको गरी पाँच सय रुपैयाँ आवश्यक पर्ने भयो । मैले आमालाई पैसाको लागि भनें । आमासँग त्यति धेरै पैसा हुने कुरा थिएन ।
दाजु जागिर खानुहुन्थ्यो । घर–व्यावहार उहाँले नै चलाउनु हुन्थ्यो । तर दाजुलाई सो कुरा भन्न सक्ने आँट ममा थिएन । किनकि दाजुसँग कहिल्यै पनि दोहोरो कुरा हुँदैनथ्यो । खोई किन हो, एक किसिमको अव्यक्त त्रास हुन्थ्यो दाजुलाई सम्झिनें बित्तिकै जहिल्यै पनि ।
आमाले दाजुलाई भनिदिने कुरा गर्नुभयो । बेलुका आमालाई मैले सम्झाएपछि दाजुलाई मेरो आवश्यकताको कुरा सुनाइ दिनु भयो । दाजुले ‘त्यो खेल्नु पर्दैन’ भनेको सुनें । ‘लडाइँ झगडा सिक्नेहरु गुण्डा हुन्छन्’ भनेको पनि सुनें । खै किन हो मैले तेक्वान्दो सिक्न थालेको दाजुलाई मन परेको थिएन । रिसाहा स्वभावको भाइ भविष्यमा गुण्डागर्दीतिर लाग्ला भन्ने लाग्यो होला सायद ।
घरबाट कुनै पनि सहयोग प्राप्त नहुने पक्का भयो । पैसा दिने कुरा त पर जाओस्, खेल्न नै नजानु भन्ने कुराले मेरो मनमा ठूलो चोट पुग्यो । हरेक कथाहरु, सिनेमाहरु र गाउँ–समाजमा पनि शारीरिक रुपमा शक्तिशाली व्यक्तिहरुको नै सामाजिक प्रतिष्ठा बनेको मैले देखेकै थिएँ । म आफू पनि उनीहरु जस्तै शक्तिशाली हुन्छु भन्ने एक किसिमको छाप परेको थियो मनमा । बल्ल–बल्ल आएको त्यो मौका पनि हातबाट छुट्यो भन्ने लाग्यो । जीवनभर म निरीह भएर रहनु पर्नेरहेछ भन्ने सम्झेर आँतेस लाग्यो । शक्तिशालीहरुले मलाई सधैं सार्वजनिक रुपमा नै हेप्ने छन्, म आफ्नो शिर झुकाएरै उनीहरुको अघि उभिइरहनु पर्ने भयो भन्ने सम्झिंदै मन भक्कानिन खोज्यो ।
पैसा नभए पछि तेक्वान्दो निरन्तरताको लागि मसँग कुनै विकल्प थिएन । उपाय निकालें– तेक्वान्दोको लुगा किन्न नसके पनि, भर्ना शुल्क तिर्न नसके पनि हरेक बिहान त्यहाँ जानेछु र हेर्नेछु उनीहरुले गरेको । त्यो हेरेर आफै तालिम गर्छु एक्लै ।
मोहन दाइले पैसा मागेर दिक्क लगाइसकेका थिए । हरेक दिन जसो उनी पैसाको कुरा गर्थे, म भनें एक–दुई दिन पर्खिनु नि भनेर उनलाई तर्काउँथे । पैसाकै अभावले मेरा कुनै पनि सपनाहरु पूरा हुनसक्दैनन् भन्ने पीरले आफैंप्रति वितृष्णा जाग्न थालेको थियो । पैसा आउने कुनै पनि बाटाहरुको घुर्मैलो छायाँसम्म परिकल्पना गर्न सक्ने अवस्था थिएन ।
दशैंको मुख थियो त्यो बेला । डाइस (लंगुरबुजा) खेलाउन थालेका थिए सबैतिर । सिनेमाहल चोकमा पनि खाट राखेरै दुई–तीन ठाउँ डाइस खेलाउँदै थिए साथीहरुले । अघिल्ला बर्षहरुमा म पनि डाइस खेलाउँथे साथीहरुसँग मिलेर । त्यो बर्ष मसँग पैसा नभएकाले कुनै साथीहरुले पनि मलाई साझेदार बनाएका थिएनन् ।
सर्लु भन्ने एक जना चौधरी साथी थियो । उसले डाइस खेलाइरहेको थियो । पैसा थाप्नेहरु पनि दुई–चार जना थिए । मसँग गोजीमा दश रुपैयाँ थियो । डाइस खेलाए पनि आफूले भने कहिल्यै पैसा थाप्ने गरेको थिइनँ खालमा । मनमा एक प्रकारको निराशा थियो अभावको । दश रुपैयाँको पनि ठूलो महत्व थियो त्यतिखेर आफूसँग ।
त्यो दश रुपैयाँ पनि डाइसमा थापेर आफ्नो भाग्य जाँच्न मन लाग्यो । ईश्वरलाई सम्झिएँ र दाउमा थापें । शुरुमा नै दशको चालीस भयो । ईश्वरलाई धन्यवाद दिएँ । एकैछिन्मा मसँग भएको पैसा चार गुणा भयो । बिस्तारै बिस्तारै खेल्न थालें । आउने जाने क्रम चलिरह्यो । मसँगै थुप्रै पैसा आयो । झण्डै साढे पाँच सय रुपैयाँ मारिसकेको थिएँ । मैले भगवान् सम्झिएँ, उनलाई धन्यवाद दिएँ । अनि त्यहाँबाट उठें ।
मेरो सपना पूरा भएको थियो । केहीबेर अघिको अभाव सम्झिएँ । केटाकेटीदेखिको कराते खेल्ने मेरो सपना सम्झिएँ । घरबाट त्यसको लागि लगानी गर्न नसक्ने निर्णय सम्झिएँ । एकछिन् अगिसम्म अँध्यारो जस्तो लागेको भविष्य एकाएक उज्यालो जस्तो लाग्न थालेको थियो । आफैलाई विश्वास लागिरहेको थिएन । खुशीले आँखा रसाए ।
पैसा हराउँछ कि भन्ने डर लाग्यो गोजीमा हाल्दा । त्यसैले पाँच सय रुपैयाँ हातमा नै बोकेर ढकाल टोलको मुखैमा भएको मोहन शिवाकोटीको घर गएँ । उनलाई पैसा बुझाएपछि मात्र सन्तोक लाग्यो । त्यसको दुई दिनपछि थान कपडा किनेरै धेरै जना साथीहरुको एकै पटक सुरज टेलर्समा नयाँ पोसाक सिलाइका लागि नाप दिइयो । आधिकारिक रुपमा तेक्वान्दोमा भर्ना भइयो त्यसपछि ।
त्यसभन्दा अगि र पछि कहिल्यै पनि डाइसमा मैले पैसा दाउ लगाएको छैन । सायद खेलप्रतिको मेरो प्रेम ईश्वरले जसरी पनि पूरा गर्नु थियो । त्यसैले त्यो दिन चमत्कार भयो । हामी केटाकेटी छँदा शनिश्चरे माविको मैदानमा आदरणीय दाजु भरत बुढाथोकीले तेक्वान्दो सिकाउनु हुन्थ्यो । नेपालमा तेक्वान्दोको पहिलो पुस्ताको उहाँले तेक्वान्दो छाडेपछि यो खेलले यस क्षेत्रमा गति लिन पाएन ।
गुरु जितेन्द्र मेचेले नेपालमिलबाट थालेको तेक्वान्दो प्रशिक्षणमा सहभागी झण्डै साठी जना विद्यार्थी मध्ये खेलमा निरन्तरता मेरो मात्र रह्यो । त्यो समूहबाट मैले मात्र व्ल्याक बेल्ट थाप्न सकें ।
सायद त्यो दिन डाइस खेलका माध्यमबाट ईश्वरले नै मलाई पैसा दिए । डाइस खेल्नेहरु अधिकांशले पैसा मार्दैनन् कहिल्यै । तेक्वान्दोप्रतिको मेरो विश्वास, लगाव र समर्पण भावका अगि ईश्वरको सहयोग प्राप्त भएकै हो लाग्छ । डाइस खेल्नु राम्रो होइन, न त खेलाउनु राम्रो हो । तर जीवनको एउटा चरणमा त्यही कुरा मेरा लागि अभिभावक जस्तै भएर, ईश्वर जस्तै बनेर आएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।