२०७८ असार ४ शुकर्बार
Mero Sabda

हत्याको विरोधमा चेतनामूलक सभा


झापा । बलात्कार पछि हत्या गरिएकी शर्मिला कामीको बलात्कारी र हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै खबरदारी सभा सम्पन्न भएको छ । न्यायका लागि खबरदारी र वैज्ञानिक समाजवादी पार्टी प्रदेश–१ को आयोजनामा भएको छुट्टाछुट्टै विरोध कार्यक्रममा सहभागीले बलात्कारीका लागि उक्त माग गरेका हुन् ।

न्यायका लागि खबरदारीद्वारा आयोजित सभामा बोल्दै झापाका युवा नारायण कडरियाले, ‘संविधान अनुसार सरकारले महिला, दलित तल्लो वर्गलाई न्याय दिन नसकेको’ बताउँदै, ‘महिलाले अझै पनि दास भएर बाँच्नु परेको’ बताउनु भयो । ‘छोरी चेलीलाई ढुक्क भएर कतै पनि पठाउन सक्ने अवस्था नरहेको’ बताउँदै उहाँले, ‘यस्तो अवस्था आउनु आम नेपालीका लागि लज्जास्पद भएको’ बताउनु भयो ।
‘सबैका लागि बनेको संविधान सरकार र ठूला मान्छेका लागि मात्र भएको’ स्पष्ट पार्दै कडरियाले, ‘छोरी चेली र पिछडिएका वर्गको संरक्षण गर्न नसक्ने संविधानको काम नरहेको’ बताउनु भयो ।

सो क्रममा चेतनामूलक नृत्य प्रस्तुत गर्नुका साथै कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए । यसअघि विर्तामोडस्थित दाह्री भाइको चियापसलबाट निस्किएको नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर सभामा परिणत भएको कौशल भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै वैज्ञानिक समाजवादी पार्टीको विरोधसभामा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतले बोलेका थिए । बझाङको मस्टा गाउँपालिका वडा नं.–२ की शर्मिला विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।