२०७८ असार ४ शुकर्बार
Mero Sabda

उपचार गर्न ‘खानेपानी’


– कुमार भट्टराई

‘कता हिंड्नु भो ?’ शनिश्चरे अस्पतालमा उपचार गर्न जानेलाई यो प्रश्न गर्नुभयो भने अधिकांशको उत्तर हुन्छ– ‘विरामी भएर औषधि लिन एकछिन् खानेपानी हिंडेको ।’

अस्पतालको पर्यायवाची नाम नै खानेपानी कसरी रहन गयो ? यसको कथाव्यथा लामो छ । स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र हुँदै अस्पतालसम्म भएको यसमा उपचार गर्नेहरुले किन स्वास्थ्यालय खुल्ने गरी नाम भन्दैनन् ? पहिलो पटक सुन्नेलाई अचम्म लाग्न सक्छ । तर वरपरका र त्यहाँ आउने जानेका लागि खानेपानी भन्नु नै अस्पताल हो ।

शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रको बिस्तारित रुप हो अहिलेको शनिश्चरे अस्पताल । पन्ध्र बेड संचालनको अस्पतालको रुपमा अहिले यसले स्तरबृद्धि गर्ने अवसर पाएको छ । धेरै समय यो स्वास्थ्य केन्द्रका रुपमा रह्यो, त्यो पनि मर्दै–बाँच्दैको अवस्थामा ।

तत्कालिन शनिश्चरे गाविसको कालिस्थानमा एउटा काठको भाडाको घरमा दुई कोठा लिएर शनिश्चरे प्राथमिक स्वास्थ्य चौकी संचालन थियो धेरै समय । त्यसमा लामो समय कार्यरत् थिए– अहेव ज्ञानु थापा । त्यसले सेवा दिने क्षेत्र त्यहीं वरिपरि मात्र थियो । ठूलो उपचारको लागि शनिश्चरेमा डा. शंकरप्रसाद उप्रेती हुनुहुन्थ्यो । अन्यत्र पनि जान्थे विरामीहरु ।

नेपाली कांग्रेसको सरकारको पालामा ‘एक निर्वाचन क्षेत्र, एक स्वास्थ्य केन्द्र’को अवधारणा आयो । स्वास्थ्य मन्त्री थिए कुलबहादुर गुरुङ अर्थात् केवी गुरुङ । त्यतिखेर हालको अर्जुनधारा नगरपालिका क्षेत्र नं. २ मा पथ्र्यो । एमालेका तर्फबाट सीपी मैनाली यस क्षेत्रका सांसद थिए । यस क्षेत्रका लागि नेपाली कांग्रेसका उद्वव थापा भने पार्टीको क्षेत्रीय सभापति थिए ।

स्वास्थ्य मन्त्री आफैले यस क्षेत्रका लागि एउटा स्वास्थ्य केन्द्र स्वीकृत गरिदिए । तर सांसद सीपी मैनालीको रुची भने सो स्वास्थ्य केन्द्रलाई बुधबारेमा स्थापना गराउने थियो भन्छन् केही स्थानीयहरु । तर नेपाली कांग्रेसका वर्तमान झापा सभापति उद्वव थापाका अनुसार आफ्नो सरकारको पालामा क्षेत्रकै मध्येभागमा पर्ने गरी नेपाली कांग्रेसकै पहलमा शनिश्चरे केन्द्र तोकिएको हो ।

सरकारले शनिश्चरे स्वास्थ्य केन्द्रको स्वीकृति दिएको अवस्थामा शनिश्चरे गाविसको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित थिए हरिकुमार राना । गाविसको पहलमा शनिश्चरे खानेपानी आयोजनाको कार्यालयको छिमेकी रहेका साविक शनिश्चरे वार्ड नं. २ स्थित नरेन्द्र भट्टराईको घरमा २०५५ श्रावण १ गतेदेखि सेवा शुरु भयो । लामो समयसम्म उपभोक्ताले प्राथमिक स्वास्थ्य केन्द्र भन्न जानेनन् । खानेपानी कार्यालयको छेउमा रहेकाले बरु स्वास्थ्य केन्द्रलाई नै खानेपानी भन्न थाले ।

कालिस्थानमा रहेको शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीलाई त्यहाँबाट उठाएर लान नदिने र स्वास्थ्य केन्द्रका रुपमा सोही स्थानबाटै सेवा प्रदान गर्नुपर्ने भनी स्थानीयले तालाबन्दी नै गरेर आन्दोलन शुरुवात् गरेका थिए । कार्यालय सार्ने अवस्थामा स्थानीय बुद्धिजीवि मोहन शिवाकोटी लगायतहरुको पहलमा स्थानीयबासीहरुलाई चित्त बुझाएपछि मात्र स्वास्थ्य केन्द्रले सेवा शुरुवात् गर्ने अवसर जुरेको थियो ।

स्वास्थ्य केन्द्र शुरुवात् गर्दा सो कार्यालयमा सिअहेव हरिवल्लभ कर्णको नेतृत्वमा एक अनमी र एक कार्यालय सहायक मात्र थिए । सेवा शुरुवात् भएको बोर्ड टाँगिए पनि अधिकांशलाई स्वास्थ्य केन्द्रबारे थाहा हुन सकेन । सोही बर्षको कार्तिक १३ गतेबाट स्वास्थ्य केन्द्रको अगाडि श्याम निरौलाले श्याम मेडिकल खोलेपछि मात्र मान्छेको ध्यान त्यतातिर तानिन थाल्यो र दुई–चार जना विरामीहरु आउन शुरुवात् गरे ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेट छुटिने भएपछि भवन निर्माणका लागि जग्गाको खोजी शुरुवात् भयो । जग्गादाता खोज्ने क्रममा समालोचक जयप्रसाद ढकाल समक्ष तत्कालिन गाविस अध्यक्ष हरिकुमार राना र नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्वव थापा सहितको टोलीले सहयोगका लागि प्रस्ताव राख्यो । जयप्रसाद ढकालले आफ्नो परिवार अर्थात् बुबा अभिनारायण ढकालका सन्तानहरु माझ सो प्रस्ताव लिएर गए । जसमा वीरमणि, खगेन्द्र, गुरु, कृष्ण, दीपेन्द्र लगायतका परिवारहरुको सहमतिमा साविक शनिश्चरे, वार्ड नं. ९ स्थित तत्कालिन नेपाल मिल परिसरबाट आवश्यक पर्ने दश कठ्ठा जग्गा बुबाआमाको स्मृतिमा स्वास्थ्य केन्द्रलाई दिने सहमति बन्यो ।

नेपाल मिल बन्द भएपछि लामो समय कर भुक्तान गरिएको थिएन । कर भुक्तान नभई स्वास्थ्य केन्द्रको नाममा जग्गा प्राप्त हुने अवस्था रहेन । त्यसैले हरिकुमार राना, उद्वव थापा लगायतको टोलीले सिडियोलाई भेटी जिल्ला प्रशासन कार्यालय मार्फत कर छुट गराइ दाताहरु मार्फत जग्गा प्राप्त गरियो ।

जग्गा प्राप्त गरेको लामो समयसम्म भवन निर्माण हुन सकेन । देश द्वन्द्वभित्र छि¥यो । पुनः हल्ला चल्न थाल्यो, शनिश्चरे स्वास्थ्य केन्द्रलाई भवन निर्माण गरी बुधबारे स्थानान्तरण गर्ने । त्यसपछि २०६३ सालमा स्थानीय सामाजिक संस्था वातावरण सरक्षण समूहको पहलमा छत्रमणि ढकाललाई अध्यक्ष बनाइ एक निर्माण समिति गठन गरियो ।

सो समितिले घर–घर पुगेर नगद र जिन्सी सहयोग संकलन ग¥यो । त्यसै संकलित रकमबाट झण्डै साढेपाँच लाखको लागतमा टीन–ट्रष्ट लगाएर एउटा भवन बनायो । सो भवन निर्माण भइन्जेलको अवस्थासम्ममा स्वास्थ्य केन्द्रमा सेवा लिनेको संख्या दैनिक पचास नाघिसकेको थियो । त्यसैलाई मध्येनजर गर्दै भाडाको घरबाट आफ्नै भवनमा सर्नका लागि पहल शुरुवात् गरियो । कर्मचारीको व्यक्तिगत सुविधा खोसिने डरले बडो संघर्ष गरेर २०६४ श्रावण १२ गतेदेखि आफ्नै नयाँ भवनबाट स्वास्थ्य केन्द्रले सेवा शुरुवात् ग¥यो ।

स्वास्थ्य केन्द्रप्रति आकर्षण जाग्ने गरी सेवा दिनेमा डा. रंजना शर्माको नाम सबैभन्दा अगाडि आउँछ । डाक्टरहरु मध्ये सबैभन्दा लामो समय, झण्डै ७ बर्ष उहाँले शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रबाट विरामीलाई सेवा पु¥याउनु भयो । उहाँकै कार्यकालमा सेवाग्रहीले उक्त स्वास्थ्य केन्द्रलाई विश्वास गर्न शुरुवात् गरे ।

आफ्नै भवनमा सरेर सेवा दिन थालेपछि विभिन्न समस्याहरु आइरहेका थिए, त्यसै बेला शहरी विकास कार्यालयमा स्थानीयबासी इन्जिनियर राजेन्द्र खतिवडा जागिरको सिलसिलामा आइपुगे । स्थानीयबासीको पहल र उनको विशेष सहयोगमा झण्डै पौने तीन करोडको सुविधा सम्पन्न भवन निर्माण भयो । नयाँ भवन निर्माण भएपछि पुरानो सानो भवनलाई कर्मचारीहरुको आवासका लागि प्रयोग गरियो ।

भवन व्यवस्थित भए पनि सेवामा सुधार भएको थिएन । संचालक समितिको पहलमा केन्द्रभित्र नै ल्याव संचालन शुरुवात् भयो । इसिजी सेवा शुरुवात् भयो । चौबीसै घण्टे प्रसुती सेवा शुरुवात् भयो । सेवाग्राहीहरु बढ्दै गए । यसैबीच नेपाली कांग्रेसका गगन थापा स्वास्थ्य मन्त्री भएको अवस्थामा स्वास्थ्य वीमा कार्याक्रम लागू भयो । सो कार्यक्रम शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि संचालन हुने भएपछि विरामीको चाप ह्वात्तै बढ्यो ।

ठूलो भवनले मात्र सबै चाप थेग्न नसकेपछि समितिले परिसरभित्र ओपीडी सेवा संचालनका लागि छुट्टै भवन निर्माण गर्नुप¥यो । फार्मेसी सेवा शुरुवात् भयो । इमर्जेन्सी सेवा शुरुवात् भयो । भिडियो एक्सरे सेवा शुरुवात् भयो । सुनसान जस्तो लाग्ने प्राथमिक स्वास्थ्य केन्द्र एकाएक चलायमान भयो ।

विगत दुई बर्षअघि नै यस स्वास्थ्य केन्द्रको स्तरबृद्धि गरी अस्पताल बनाउने निर्णय सरकारले ग¥यो । तर भौतिक पूर्वाधारको अभावमा यसले आफूलाई अस्पताल घोषणा गर्न सकेन । अर्थात् स्थानीय सरकार र समितिले त्यसका लागि पहल शुरुवात् गरे पनि अस्पताल भनाउन सकेनन् । तर समिति आफ्नै पहलमा अस्पतालले निर्वाह गर्नुपर्ने भूमिकाहरुको थालनी तर्फ अग्रसरता शुरुवात् ग¥यो । फलस्वरुपमा विभिन्न सेवाहरु शुरुवात् भए ।

अस्पताल स्वीकृत गरेको दुई बर्षसम्म पनि शनिश्चरे अस्पताल लेखिएको साइनबोर्ड देख्न सकिएन । गत असोज ७ गते प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरले संयुक्त उद्घाटन गरेर स्वास्थ्य केन्द्रलाई अस्पताल भनेको घोषणा गरेपछि मात्र बोर्ड फेरिएर शनिश्चरे अस्पताल बनेको छ ।

अस्पताल नामाकरण भए पनि दरबन्दीको अभावमा अस्पतालकै स्तरमा सेवा दिन भने अझै नसकिएको बताउँछन् प्रशासन अधिकृत डम्बर मिश्र । उनका अनुसार स्वास्थ्य केन्द्र भए पनि अस्पतालको जस्तै सेवा प्रदान गर्ने प्रयास भने पहिलाबाटै शुरुवात् गरिएको भने छ । जसका लागि संघीय सरकारले भन्दा बढी कर्मचारी आन्तरिक स्रोतबाट परिचालन गरिएको उनको भनाइ छ ।

केन्द्रीय सरकारबाट प्राप्त १२ जनाको दरबन्दी रहेको सेवा केन्द्रमा अर्जुनधारा नगरपालिकाका तर्फबाट १० र बाँकी स्वास्थ्य केन्द्रको निजीस्रोतबाट गरी जम्मा ४१ जना कर्मचारी कार्यरत् छन् । त्यसैले गत आर्थिक बर्षमा मात्रै ५२ हजार वीमाका सेवाग्राही सहित झण्डै ८८ हजार विरामीले यस केन्द्रबाट उपचार सेवा लिए । १२ सय जनाले सामान्य एक्सरे र चार सय माथिले भिडियो एक्सरे गरे । जसले गर्दा गतबर्षको अडिट रिपोर्ट अनुसार समितिको खातामा लगभग ७० लाख रुपैयाँ बचत रहेको अधिकृत मिश्रको भनाइ छ ।

अस्पतालको स्तरबृद्धिका लागि थप एक विगाह जग्गा दिने घोषणा गरिसकेका छन् राधाकृष्ण बरालका सन्तानहरुले । सो प्राप्त भइसकेपछि झण्डै पौने दुई विगाह जग्गा शनिश्चरे अस्पतालको नाममा हुनेछ । यति लामो यात्रा पूरा गरेर आर्थिक र सेवाका रुपमा सक्षम बन्दै गएको शनिश्चरे अस्पतालले भने अझै आफ्नो नाम बनाउन सकेको छैन । अझै पनि सेवाग्राहीहरु यसलाई ‘खानेपानी’ नै भन्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।