२०७८ असार ४ शुकर्बार
Mero Sabda

चीनमा कृषि क्रान्ति


– चेतनाथ आचार्य

कृषिप्रधान मुलुक कहलिएको नेपाल हरेक वर्ष अर्बौंको चामल आयात गर्छ । कृषिमा आधारित जुटमिल तथा चिनी कारखानाहरु बन्द छन् । किसानले वर्षौंदेखिको उखुको मूल्य पाएका छैनन् तर सरकार किसान चुस्ने चिनी कारखानाका मालिकलाई अनुदान प्रदान गरिरहेको छ । एकातिर श्रम गर्न सक्ने युवापुस्ता खाडी मुलुकमा पसिना बगाउन वाध्य छ भने गाउँको जमीन बाँझिएको छ ।

हरेक वर्ष धान रोप्ने बेलामा मल नपाएर किसानहरु प्रताडित हुन्छन् । वर्षैपिच्छे अर्बौं रुपैयाँको मल आयात गर्ने राष्ट्रले यत्तिका वर्षदेखि मल कारखाना स्थापना गर्ने कुरामा चासो नदिनु उदेकलाग्दो छ । देशमा किसान र श्रमिक वर्गको उत्थान गर्ने नारा उरालेर कम्युनिष्ट पार्टीले सहज बहुमतको सरकार बनाएको छ । समाजवाद उन्मुख रणनीति लिएको सरकारले कृषि क्रान्ति गर्ने कार्यनीतिलाई लागू गर्नका लागि प्रखर समाजवादी चिन्तकलाई कृषि मन्त्रीको जिम्मा दिएको छ । बिडम्बना अवस्था झन् झन् नाजुक हुँदै गएको छ ।

कृषिमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा बुझ्नका लागि ठूला ठूला ग्रन्थ घोक्नु पर्दैन । अथाह पूँजीको स्रोत पनि परिचालन गर्नु पर्दैन अनि थेग्नै नसक्ने प्रविधिको आवश्यकता पनि पर्दैन । मात्र नेताको इच्छाशक्ति हुनुपर्छ र जनतालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरे पुग्छ ।

नेपालकै सीमा जोडिएको चीनले कृषिमा के कस्तो काम गरेको छ भन्ने कुराको सानो झल्को यहाँ प्रस्तुत गरेको छु ।

नेपालको उत्तरी १४१४ किलोमिटरभन्दा लामो सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ । भौगोलिक रुपमा तिब्बत नेपालभन्दा आठ गुणा ठूलो छ तर तिब्बतको भन्दा नेपालको जनसंख्या ठ्याक्कै आठगुणा धेरै छ । कुनैबेला तिब्बतले चामल र तरकारी नेपालबाट आयात गर्दथ्यो । उच्च भूभाग, पठार मरुभूमि, वर्षको ६ महिनाभन्दा बढी समय हिउँमा पुरिने भएकाले विश्वको छानो तिब्बतका लागि नेपालबाट खाद्यान्न आयात गर्नु वाध्यता थियो । तर, विगत तीन दशकदेखि तिब्बतले नेपाललाई तरकारी र फलफूल निर्यात गर्न थालेको छ । किन ? उत्तर सहज छ चीनले कृषिमा गरेको क्रान्ति ।

सन् १९३१ देखि १९४५ सम्म चीनमा जापानले लगातार १५ वर्ष आक्रमण गर्यो । आन्तरिक रुपमा जनयुद्ध चलिरहेको चीनमा जापानको आक्रमणले अर्थतन्त्र छियाछिया बनेको समयमा खडेरीका कारण अनिकाल परेर भोकमरीको महामारीको प्रकोप पनि खप्नुपर्यो । युद्ध र भोकमरीका कारण डेढ दशकमै करोडौं चिनियाँले मृत्युवरण गर्नुपर्यो ।

सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र घोषणा भएपछि चिनियाँ नेताहरुले सबैभन्दा पहिले किसानको हितमा काम गर्न थाले । किसान बलिया भए भने कृषि उत्पादन बढ्छ अनि उनीहरुले आफू खाएर अरुलाई पनि बचाउँछन् भन्ने मान्यताका कारण चीनमा कृषि क्रान्ति हुन थाल्यो । फलतः एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा हाल खाद्यान्नको कुनै चिन्ता छैन ।

चिनियाँ कृषि तथा ग्रामीण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीबाट कति फसल उत्पादन भयो भन्ने निश्चित भइसकेको छ । चीनमा अन्नबालीको कूल उत्पादन मात्रा बिगत ६ वर्षदेखि लगातार बृद्धि हुँदै आएको छ । चीनले चालु वर्ष सन् २०२० मा ६ खर्ब ५० अर्ब किलोभन्दा बढी अन्न उत्पादन गर्ने लक्ष्य राखेको छ । कोभिड–१९ महामारी, याङसी नदीवरिपरि आएको गम्भीर बाढी र निरन्तर आँधीबेहरीको असरमा पनि चीनमा अन्नपात प्रचुर उत्पादन हुनु निकै कठिन विषय हो । विश्वको खाद्य सुरक्षाका लागि यसले महत्वपूर्ण अर्थ राख्ने गर्छ ।

चीनमा सन् २०१५ मा तेह्रौं पञ्च वर्षीय योजना सुरु भएको हो । चालु वर्ष तेह्रौँ पञ्चवर्षीय योजना सम्पन्न भएर आगामी वर्ष चौधौँ पञ्चवर्षीय योजना सुरु हुँदैछ । तेह्रौँ पञ्च वर्षीय योजनाको मूल्याङ्कन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रुपमा बढ्दै आएको देखिन्छ । सन् २०१९ मा चीनले ६ खर्ब ६३ अर्ब ८५ करोड किलो अन्नवाली उत्पादन गरेको थियो । उत्पादित अन्नबालीको औसत मात्रा प्रति चिनियाँ ४ सय ७० किलोभन्दा बढी पर्न जान्छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो । विश्व खाद्य कार्यक्रमले विश्वमा प्रतिव्यक्ति ४ सय किलो अन्न उत्पादन भएमा सुरक्षित रेखाभन्दा उच्च रहने जनाएको छ । यो मापदण्ड अनुसार चीनको खाद्यान्न सुरक्षित रेखाभन्दा निकै माथि रहेको स्पष्ट हुन्छ ।

चीनले खेतीको संरक्षणमा निकै कडा व्यवस्था अपनाउँदै आएको छ । चीनमा खेतीको क्षेत्रफल कम्तिमा १२ करोड हेक्टर हुनुपर्छ । चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्दै आएको छ । यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमास लगायत महत्वपूर्ण कृषि उपजको उत्पादन तथा संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ । चीनले बङ्गुरको मासु र भटमास अमेरिकाबाट आयात गर्दै आएको छ । तर अमेरिकासँग व्यापार युद्ध चलेपछि यस्ता उत्पादनलाई प्राथमिकता दिएर आत्मनिर्भर हुने योजनामा चीन लागेको छ ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टम्बर २२ तारिख संयुक्त राष्ट्र संघको ७५ औँ महासभाको सामान्य बहसलाई सम्बोधन गर्दा जलवायु परिवर्तनको सामना गरिने ‘पेरिस सम्झौता’ विश्वमा हरित विकास र कम कार्बन हुने क्षेत्रको प्रतिनिधित्व गरेकाले पृथ्वी घरबारको संरक्षण गर्न चाहिने न्युनतम् कार्य गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । पछिल्लो समय अन्न उत्पादन वृद्धिमा जलवायु परिवर्तन मुख्य चुनौति बन्न थालेको विश्वव्यापी सन्दर्भमा सीको सम्बोधन कृषि क्षेत्रका लागि निकै गहन मानिएको छ । सम्बोधनका क्रममा उहाँले भन्नु भएको थियो ‘विभिन्न मुलुकहरूले सिर्जनशील, समन्वयात्मक, हरित, खुलस्त र साझा उपभोग हुने विकासको नयाँ विचारधाराको स्थापना गर्दै नयाँ चरणको वैज्ञानिक र प्राविधिक क्रान्ति सम्बन्धी ऐतिहासिक अवसरलाई छोपेर महामारीपछि विश्व अर्थतन्त्रको ‘हरित पुनस्उत्थान’लाई प्रबद्र्धन गर्नु अपरिहार्य बनेको छ ।’

चीनमा सेप्टेम्बर २२ तारिखलाई अन्न भित्र्याउने दिवस मनाइन्छ । सूर्य उत्तरी ध्रुवबाट दक्षिण लाग्ने सो दिन चीनका विभिन्न प्रान्तहरुमा किसानहरुले पाकेका अन्नवालीसँगै महोत्सव मनाउने गर्दछन् । गत सेप्टेम्बर महिनामा चीनको बाली लगाउने क्षेत्रफल उल्लेखनीय बृद्धि भएर ८ करोड ५६ लाख हेक्टर पुगेको छ ।

चीनमा खाद्य सुरक्षाको स्थिति निरन्तर सुधार भइरहेको छ । चीन सरकारले दीर्घकालीन खाद्य सुरक्षामाथि उच्च महत्व दिनु र खाद्य सुरक्षालाई देशको शासनमा प्राथमिकताका रूपमा राख्नु यसको मुख्य कारण हो । चीन सधैँ विश्व खाद्य सुरक्षालाई कायम राख्ने सक्रिय शक्ति हो । विश्वको जनसंख्यामा करिब २० प्रतिशत हिस्सा ओगटेको चीनले खानपानको अभावबाट खाद्यान्न पर्याप्त र राम्रो अवस्थामा पुर्याएर ऐतिहासिक परिवर्तन गरेको छ । चीनले सक्रिय रूपमा खाद्य सुरक्षाको स्रोत र अनुभव विश्वलाई बाँड्नुका साथै विश्व खाद्य सुरक्षाको शासनमा भाग लिई ठूलो देशको जिम्मेवारी प्रदर्शन गर्दै आएको छ ।

किसानमैत्री चिनियाँ कार्यक्रमको एउटा उदाहरण हेरौँ । चीनको उत्तर पूर्वमा पर्ने चिलिन प्रान्तको छाङछुन शहरको होङक्वाङ गाउँ धानका लागि प्रख्यात छ । पहिलेदेखि नै धानको खेती गर्ने त्यहाँका किसानहरुको आर्थिक अवस्था उति राम्रो थिएन । हिजोआज त्यहाँको चामल बेइजिङ, शाङहाई, क्वाङचौमा हारालुछ बिक्री हुन्छ । गाँउका बासिन्दाहरूको औसत आम्दानी ५० हजार चिनियाँ युआन भन्दा बढी पुगेको छ । खेतीबारीलाई एकिकृत रूपमा संचालन गर्दै ६५ सेटका कृषि साधनहरूमा सरकारले सहयोग गरेपछि अत्याधुनिक प्रविधिबाट खेतीकार्य सुरु भयो । अहिले त्यहाँ ९८ प्रतिशत किसानले यस्तै औजार प्रयोग गर्छन् । होङक्वाङ गाँउमा धानको खेती हेर्न वर्षेनी लाखौँ पर्यटकहरु जाने गर्छन् । साथै चिलिन कृषि विश्वविद्यालयसँग मिलेर धानको भुस तथा परालबाट विभिन्न सामग्रीहरू जस्तै फेसमास्क, फाइबरले पूर्ण खाद्यान्न लगायत १२ किसिमका उत्पादित वस्तुको विकास भइसकेको छ । यस्ता कार्यले किसानको आम्दानी बढ्नुका साथै यो पेशामा लाग्नलाई उत्प्रेरित पनि गरेको छ ।

फेरि पनि प्रश्न उठ्छ– कृषिप्रधान मुलुक नेपालले किसानका लागि के गर्दैछ ?

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।