Mero Sabda

तेक्वान्दो विकासका लागि सहकार्य आवश्यक


शनिश्चरे, २५ असोज । नयाँ विधानले तेक्वान्दोको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय विकास समिति गरी चार तहको समिति निर्माण गरेकाले आगामी दिनमा खेल विकासका लागिस्थानीय सरकारसँगको साझेदारी र सहकार्यलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिन तेक्वान्दोका संस्थापक तथा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले बताउनु भएको छ । आइतवार खेलकुद विकास समिति, झापाको सभाकक्षमा नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको पुनर्गठित समितिसँगको छलफलमा उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘विधिले अहिले कर्मचारीहरु भएकाले संघको कुनै पनि तहको पदाधिकारी तथा सदस्य रहन नपाइने भएको छ । एउटै व्यक्ति दोहोरो भूमिकामा भएकाले खेल विकास र समिति संचालनमा समस्या देखिएर नै उक्त नीति बनेको हो । तर समितिमा रहने र खेलका तलब बुझ्ने प्रशिक्षकहरुबीचको तालमेल सन्तुलित बन्न सक्यो भने मात्र तेक्वान्दोको विकास सम्भव छ ।’

उहाँले खेल विकासमा तेक्वान्दो संघ अन्य संघभन्दा एक कदम अगाडि रहेकैले नेपालमा अब्बल हुनसकेकोमा गर्व गर्नुपर्ने बताउनु भयो । भन्नु भयो, ‘हामीले अरुले गर्नुभन्दा अगाडि नै प्रदेश संघ निर्माण ग¥र्यौं । यसका समस्याहरु पत्ता लगाइ सक्यौं, अब गठन हुँदा व्यवस्थित भइसक्छ । तर स्थानीय तहमा विकास समितिको गठन नयाँ हुन्छ । त्यही समितिले नगरमा प्रतिनिधित्व गरेर आवश्यक खेल बजेट बनाउने प्रक्रिया अगि बढ्नु पर्नेछ । विधान मातहत रहेर अब त्यो प्रक्रिया अघि बढाउन सबै तयार बस्नु पर्ने बेला भएको छ ।’

छलफलमा जिल्ला अध्यक्ष बाबुलाल सुब्बा, सचिव कुमार भट्टराईले जिल्लाको गतिविधि र वर्तमान समस्याका विषयमा कुरा राखेका थिए । पूर्वअध्यक्ष तथा सहायकप्रक्षिक प्रदिप श्रेष्ठ, सहायक प्रशिक्षक जितेन्द्र मेचे, तेक्वान्दो संघ, जिल्ला कार्यसमिति ताप्लेजुङ्गका अध्यक्ष गणेश निरौला, कार्यसमितिका पुनम सुब्बा, होम दुलाल, योगेन्द्र रिजाल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली लगायतको उपस्थितिमा छलफल भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।