Mero Sabda

सरकारको ध्यान पूर्वाधारतिर बढी


शनिश्चरे, २६ असोज । दुई–तिहाईको सरकार भएर पनि घोषण गरे अनुसारको काम सरकारले गर्न नसकेको प्रदेश नं. १ का सांसद बिर्ख प्रधानले बताउनु भएको छ । पूर्वाधार र पर्यटनको क्षेत्रमा आशातित विकास भए पनि पछिल्लो समय प्रतिकुल वातावरण बनेकोले समेत सो सम्भव पूरा हुन नसकेकोे उहाँको भनाइ छ ।

मेरो शब्द डट कमसँगको कुराकानीमा उहाँले सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा काम गरे पनि कृषि, रोजगारी र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा कुनै कदम चाल्न नसकेको स्पष्ट पार्नुभएको छ । उहाँले ‘कम्युनिष्टको सरकार भएपछि वर्गमा ध्यान दिनु पर्नेमा आरक्षणमा जोड दिएको र भ्रष्टाचारमा शुन्य सहनशीलता हुनुपर्नेमा त्यस तर्फ कुनै ध्यान नगएको’ आरोप समेत लगाउनु भएको छ ।

झापा क्षेत्र नं. २ ख क्षेत्रबाट आफू निर्वाचित भइरहँदा गरेका बाचाहरुलाई पूरा गर्न आफू कटिवद्ध भए पनि स्थानीय सरकारसँगको सहकार्य भने साझा हुन नसकिरहेको स्वीकार गर्र्नुभएको छ । ‘मेरो क्षेत्र समेत भएकाले कतिपय स्थायी विकासका सवालमा स्थानीय सरकारसँग आफ्नो योजना बताइरहँदा जनप्रतिनिधिहरु कुरा सुन्ने तर्फ गम्भीर नै देखिनुहुन्न’ उहाँको गुनासो छ ।

‘प्रदेश सरकारको काम किन स्पष्टसँग नोटिस गर्ने गरी देखिंदैन’ भन्ने प्रश्नको जवाफमा उहाँले ‘आफूले ल्याएका विकास बजेटहरु समेत कुन सरकारको लगानी हो भन्ने कुरा कसैले प्रचार नगरिदिंदा त्यस्तो भएको हो’ भन्नु भयो । त्यस कुराको स्पष्ट पार्दै उहाँले भन्नु भयो, ‘यस आर्थिक बर्षसम्म जोडेर झण्डै ४० करोड माथिको विकास बजेट आफ्नो क्षेत्रमा लगानी भएको छ । कति निर्माण कार्य हुँदैछन् । तर त्यसको जस अरुले नै उठाइरहेका छन् ।’

यतिखेर दुर्गापुर–सुखानी १३ किमी सडक, मातामन्दिर हुँदै जयपुर, होक्से, पुलचोक ११ किमी सडक, अर्जुनधारा–रातेखाल सडक लगायत सडकहरु प्रदेशको लगानीमा बनिरहेको छ । त्यसै गरी प्रदेश सरकारकै लगानीमा आफ्नो क्षेत्रका ३० विद्यालयलाई कम्प्युटर आईटी मैत्री, ३ विद्यालयमा विज्ञान प्रयोगशाला, बुद्धशान्ति र जनता दुई माविलाई स्टाफनर्स सहितको सेवा, नमूना खेल मैदानलाई स्तरोन्नति, पर्यापर्यटन लगायत थुप्रै विकासका कामहरुमा प्रदेशको लगानी ल्याउन आफ्नो भूमिका रहेको उहाँले बताउनु भयो ।

त्यसै गरी जनता आवास योजना मार्फत अर्जुनधारा क्षेत्रमा ३ लाख ३२ हजार पाँच सय प्रतिमूल्य लागतका बुद्धशान्ति तर्फ १४ र अर्जुनधारा तर्फ ३३ वटा घर निर्माण भएको उहाँले बताउनु भयो । यस आर्थिक बर्षमा मात्रै पनि पर्यटन, सडक, पुल, बसपार्क, खानेपानी लगायतको क्षेत्रमा खर्च गर्ने गरी झण्डै १५ करोड माथिका योजनाहरु रहेको उहाँले जानकारी दिनु भयो ।

गल्तिका साना कुरा तर्फबाट ध्यान जाने संचारक्षेत्रले विकास योजनाका क्षेत्रमा चनाखो भएर हेरिदिने हो भने निराश भइरहेको समुदायमा आशाको किरण जाग्ने भएकाले त्यस तर्फ समेत ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।