२०७८ असार ४ शुकर्बार
Mero Sabda

लैङ्गिक अवधारणा र महिला सशक्तिकरण


– जानुका गुरागाईं

भनिन्छ– महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । घर–परिवार, गाउँ–समाजमा महिला र पुरुषको समान हैसियत र महत्व हुन्छ । समाज विकास र रुपान्तरणका लागि बराबरी योगदान हुनुपर्छ र दिनुपर्छ । यहाँ समान हैसियत र योगदानको कुरा गरिरहँदा समाजमा महिला र पुरुषका बीचमा भएका र हुने गरेका आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक विभेदहरु, महिला भएकै कारणबाट महिलाहरुले समाजमा भोग्नु परेका समस्या र चुनौतिहरुका विषयमा चर्चा गर्न जरुरी छ । समस्याका कारणहरु पत्ता लगाइ समस्या न्यूनिकरणका उपायहरुको खोजी गर्न आवश्यक छ । समस्या कहाँ र के मा छ भन्ने विषय पहिचान हुन सकेमा मात्र समस्या समाधानका उपायहरु खोजी गर्न सकिन्छ ।

हिजोआज धेरै ठाउँमा महिला हिंसा विरुद्धका कुराहरु उठाउने गरेको सुनिन्छ । यस विषयमा धेरै कार्यक्रमहरु संचालन भएको पाइन्छ । महिलाका समस्याका विषयमा जताततै आवाज उठाइन्छ । दूरदराजमा रहेका गाउँबस्तीसम्म महिला हिंसा विरुद्धका कार्यक्रमहरु सञ्चालन भएको पाइन्छ, देखिन्छ । धरै महिला दिदीबहिनीहरुलाई भेला गरिन्छ । मञ्चबाट एकोहोरो प्रबचन दिइन्छ । वक्ताहरुले प्रयोग गरेका क्लिष्ट भाषा सहभागीहरुले कति बुझे, ध्यान दिएर सुनेका छन् कि छैनन्, ध्यान दिएनन् भने किन ध्यान दिन सकेनन् त ? यस तर्फ प्रायःजसो आयोजकको ध्यान पुगेको हुँदैन । आयोजकहरुको ध्यान कसरी कार्यक्रम समापन गर्ने भन्ने मै केन्द्रित रहको पाइन्छ । यसरी नै कार्यक्रम संचालकले कार्य सम्पन्न प्रतिवेदन तयार गरी तोकिएको निकायमा पेश गर्छन् । यस्ता कार्यक्रमहरुमा धेरैजसो विभिन्न सरकारी, गैरसरकारी संस्थाहरुले नै अभिरुची राखेको पाइन्छ । कार्यक्रमको संख्यामा बढोत्तरी हुन्छ, प्रगति प्रतिवेदनको संख्या बढ्छ तर समस्या जहाँको तहीं हुन्छ । आखिर किन यस्तो हुन्छ ? यहाँ यिनै कौतुहलता र जिज्ञासाहरु थोरै भए पनि मेटाउने अभिप्रायले ‘लैङ्गिक अवधारणा र महिला सशक्तिकरण’ विषयमा सरल तरिकाले संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

लैङ्गिक अवधारणा

लैङ्गिक अवधारणा बुझ्नको लागि सर्वप्रथम प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गको बारेमा जान्न र बुझ्न आवश्यक हुन्छ । प्राकृतिक लिङ्ग (क्भह) भन्नाले जन्मजात निर्धारित जैविक वा प्राकृतिक भिन्नतालाई बुझिन्छ । जस्तै बालक, लोग्ने मानिस भनेर त्यसलाई चिनिन्छ जसको जन्मदै लिङ्ग र शुक्रग्रन्थी हुन्छ । त्यसरी नै बालिका, स्वास्नी मानिस त्यसलाई भनिन्छ जसको जन्मदै योनी हुन्छ र उमेरको परिपक्वतासँगै स्तर बृद्धि हुन्छ । यिनै जैविक विशेषताका कारणहरुले एउटा बालक ठूलो भएपछि लोग्ने मानिस बन्दछ । उसको दाह्री जुँगा आउँछ र लिङ्गबाट शुक्रकिट निस्कन्छ । त्यसैगरी प्रत्येक बालिका ठूलो भएपछि स्वास्नी मानिस बन्दछे । प्रत्येक स्वास्नी मानिसको योनी, पाठेघर र स्तन हुन्छ । उसको पाठेघरमा नौ महिनासम्म बच्चा बस्ने र हुर्कने क्षमता हुन्छ । उसले बच्चा जन्माउन र स्तनपान गराउन सक्छे । यी जैविक विशेषता बाहेक लोग्ने मानिस र स्वास्नी मानिसमा अरु भिन्नता हुँदैन । यिनीहरुको शरीरको बनावटमा लिङ्ग र सन्तान जन्माउने अंगहरु बाहेक अरु सबै अंगहरु समान हुन्छन् । जन्मैदेखि पाएको विशेषता र यसको निमित्त गर्नुपर्ने भूमिका प्राकृतिक लिङ्ग अन्तर्गत पर्दछन् । महिलाले मात्र गर्भाधारण गर्न सक्ने विषय, महिलाले मात्र स्तनपान गराउन सक्ने विषय प्राकृतिक लिङ्ग अन्तर्गत पर्दछन् जुन संसारभर एउटै हुन्छ ।

त्यसैगरी सामाजिक लिङ्ग (न्भलमभच) भन्नाले हाम्रो परिवार, समाज र सँस्कृतिले बनाएका महिला र पुरुषका भूमिकाहरु र जिम्मेवारीहरुलाई बुझिन्छ । समाजद्वारा बनाइएको विशेषता र त्यसबाट प्राप्त भूमिका सामाजिक लिङ्ग अन्तर्गत पर्दछ । सामाजिक लिङ्ग शारीरिक भिन्नता बाहेक स्वास्नी मानिस र लोग्ने मानिसबीचमा पाइने अन्य भिन्नताहरु हुन् । जस्तै– उनीहरुको लुगा लगाइ, व्यवहार र समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणहरु, आदि सामाजिक लिङ्ग अन्तर्गत पर्दछन् । जसको आधारमा एउटी स्वास्नी मानिसले के के गर्नु हुन्छ, के के गर्नु हुदैन भन्ने विषय निर्धारण हुन्छ । यसैलाई सामाजिक मूल्य र मान्यता भनिन्छ । यिनै सामाजिक मूल्य र मान्यताका आधारमा एउटी स्वास्नी मानिसका कामहरु के के हुन्, उनले के के गर्न सक्छिन् र के गर्न सक्दिनन् भनी निर्धारण गर्दछ ।

यसरी निर्धारण भइसकेपछि प्रत्येक घर, समाज र राष्ट्रमै स्वास्नी मानिस र लोग्ने मानिसको भिन्नै किसिमको स्वरुप बन्दै जान्छ । यसरी समाजद्वारा बनाइएको एउटी प्राकृतिक विशेषता भएकी स्वास्नी मानिस जसलाई कमजोर, असक्षम, निरीह र परनिर्भर भनेर चिनाउने प्रयत्न गरिन्छ भने एउटा लोग्ने मानिसलाई सक्षम, निडर, वीर, स्वावलम्बी भन्दै विशिष्ट पुरुष भनेर चिनाइन्छ । समाजले दिएको महिला र पुरुषको यही स्वरुपलाई सामाजिक लिङ्ग (न्भलमभच) भनेर परिभाषित गरिएको छ । समाजले महिला र पुरुषबीचको आन्तरिक सम्बन्धमा एक अर्काले खेल्ने भूमिका निर्धारण गरिदिएको हुन्छ । जस्तैः पुरुष परिवारको मूलीको रुपमा, महिला पालनपोषण र हेरचाहकर्ताको रुपमा, पुरुष घर बाहिर काम गर्ने र महिला घरभित्रका काम गर्ने व्यक्तिका रुपमा स्थापित हुँदै गएको पाइन्छ ।

यो सामाजिक मूल्य मान्यता र व्यवहारमा आधारित हुन्छ । ठाउँ, जातजाति अनुसार महिला र पुरुषको भूमिका भिन्नाभिन्नै हुन्छ अर्थात् यो समाजद्वारा नै बनाइएको हुनाले त्यही समाजद्वारा परिवर्तन गर्न सकिन्छ । यसरी समाजद्वारा निर्मित तथा प्रचलनमा ल्याइएका महिला र पुरुषको सामाजिक सम्बन्ध र भूमिकालाई बुझ्ने अवधारणालाई नै सामाजिक लिङ्ग (न्भलमभच) भनिन्छ । महिला र पुरुषलाई समाजमा दुई भिन्न वर्ग बनाउने र उनीहरुको बीचमा विभेदताको ठूलो फाटो ल्याउने मुख्य जड यही नै हो ।

महिला सशक्तिकरण

महिला सशक्तिकरणको अवधारणा (ऋयलअभउत) बुझ्नका लागि सर्वप्रथम महिला र पुरुषले गर्ने श्रम र श्रम गरे वापत् उनीहरुले प्राप्त गर्ने मूल्यका बारेमा बुभ्mन जरुरी हुन्छ । यसका साथै महिला र पुरुषको स्रोतसाधनमाथिको पहुँच र नियन्त्रणका सन्दर्भमा पनि जान्न र बुझ्न आवश्यक छ । महिला र पुरुष दुबैमा यी विषयप्रतिको धारणा स्पष्ट भएमा स्वतः महिला सशक्तिकरण हुने र क्रमशः लैङ्गिक विभेद न्यूनिकरण हुँदै जाने विश्वास गर्न सकिन्छ ।

महिला र पुरुषबीचको श्रम विभाजन

महिला र पुरुषबीचको श्रम विभाजनलाई बुझ्न एउटा घरमा एक दिन अर्थात् २४ घण्टामा त्यो घरको महिला र पुरुषले गर्ने काम टिपोट गरौं । कुनै निश्चित मौसमका कामलाई आधार मानी प्रत्येक काममा खर्चेको समय पनि टिपोट गरौं । ती कामहरुलाई अति महत्वपूर्ण पारिश्रमिक पाइने, अति महत्वपूर्ण तर पारिश्रमिक नपाइने, कदर गरिने, पारिश्रमिक पाइने र पारिश्रमिक नपाइने कुन वर्गमा पर्छ छुट्टयाऊँ । अनि तत्–तत् काम गर्दा खर्चिएको समयको पनि हिसाब गरौं । अनि हेरौं, कसले कति समय कस्तो काम गर्ने रहेछ र त्यो काम गरे वापत कति पारिश्रमिक पाउन सक्ने रहेछ ? कसले संख्यात्मक हिसाबले बढी काम र बढी समय श्रम गर्दो रहेछ ? अति महत्वपूर्ण तर पारिश्रमिक नपाउने काम कसले बढी गर्दोरहेछ ? पक्कै पनि सामाजिक मूल्य, मान्यता अनुसार निर्धारण गरिएका काम महिलाले नै बढी गरेको पाइन्छ । घर, गृहस्थीमा रहेकी एउटी महिलाले बिहान ओछ्यान छोडेदेखि बेलुका ओछ्यानमा पुग्नुअघिसम्म पारिश्रमिक नपाउने जति काम गर्छिन्, जति समय खट्छिन् ती महिलाले २४ घण्टामा गरेको श्रमलाई मूल्यमा रुपान्तरण गर्ने हो भने कति मूल्य हुन्छ ? यदि त्यति नै समय त्यति नै काम गर्न पारिश्रमिक दिएर अरु कसैलाई लगाउने हो भने कति रकम घरबाट बाहिर जान्छ । वास्तवमा त्यो बाहिरिने मूल्य वा रुपैयाँ–पैसा नै ती महिलाले एक दिनमा कमाएको आम्दानी हुन जान्छ ।

यो मूल्यलाई मासिक÷वार्षिक रुपमा हिसाब गरी प्रत्येक महिलाले आफूले गरेको श्रमलाई मूल्यमा रुपान्तरण गरी गर्वकासाथ ‘म घरको काम गर्छु’ भन्न सक्नुपर्छ । आत्मसम्मान भएको महसुस गर्नुपर्छ र घरका पुरुषले पनि आफू मात्र कमाउने हुँ भन्ने दम्भ त्याग्नुपर्छ । लैंगिक विभेद न्यूनिकरणको अभियान प्रत्येक घरभित्रैबाट थाल्नुपर्छ । महिला र पुरुष दुबैले एक अर्काले गर्ने श्रमको सम्मान गर्नुपर्छ । महिलामाथि रहेको यस किसिमको कामको बोझ कम गर्न के गर्न सकिन्छ ? यस्तो असन्तुलन हटाउन के गर्नु पर्ला ? भनी प्रत्येक घर–परिवार, गाउँ–समाज, संघसंस्थाहरुमा छलफल चलाउन र विभेद न्यूनिकरण गर्न जरुरी छ । प्रत्येक महिलालाई सामाजिकीकरणमा अघि बढाउन प्रत्येक परिवारका पुरुषले साथ दिनुपर्छ । सहयोग गर्नुपर्छ । आँट र हौसला बढाउनुपर्छ । अनि मात्र वर्षौंदेखि चुला, चौकाको चौघेरामा रहेकी एक सामान्य महिला पुरुष सरह घर बाहिर निस्केर हिम्मत एवम् निडरताकासाथ साविकभन्दा फरक भूमिका निर्वाह गर्न सक्ने परिस्थिति निर्माण हुन्छ ।

स्रोत–साधनमाथि पहुँच तथा नियन्त्रण

पहुँच भनेको स्रोत–साधन उपयोग गर्ने क्षमता हुनु हो । तर पहुँच हुँदैमा ती स्रोत–साधनबाट आएको उत्पादन÷आम्दानीलाई कहाँ, कसरी र के मा उपयोग गर्ने भन्ने निर्णय गर्ने क्षमता भइहाल्छ भन्न सकिन्न । उदाहरणका लागि हाम्रो गाउँघर, खास गरी पछाडि पारिएका समुदायका परिवारमा एक महिलाले आफ्नै पहलमा करेसाबारीमा बेमौसमी तरकारी खेती गर्छिन् तर त्यसबाट आउने आम्दानी लिने र सो आम्दानी केमा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार उनलाई हुँदैन ।

नियन्त्रण भनेको ती स्रोत–साधनहरु कहाँ, कसरी, कहिले प्रयोग गर्ने वा ती स्रोत–साधनबाट आएको उत्पादनलाई कहाँ, कसरी उपयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार प्राप्त गर्नु हो । उदाहरणका लागि करेसाबारीमा उत्पादन भएको तरकारी कहाँ र कतिमा बेच्ने र सोबाट प्राप्त आम्दानी के मा प्रयोग गर्ने भन्न सक्ने क्षमता हुनु र उपयोग गर्न सक्नु नै नियन्त्रण हो ।

अतः पहुँच मात्र हुँदा महिलाले उपभोग गर्न पाउँछन् तर त्यसका सम्बन्धमा निर्णय गर्ने नियन्त्रण पुरुषको हुन्छ । हिजोआज कतिपय महिलाको नाममा जग्गा धनीपुर्जा छ, तर त्यो जग्गा बेच्न वा सट्टापट्टा गर्नुपरेमा वा त्यो जग्गामा कुनै भौतिक संरचना निर्माण गर्नुपरेमा परिवारमा पुरुषकै निर्णय कुर्नुपर्छ । घरमा पालिएका गाइवस्तुको स्याहार सुसार गर्ने, घाँस काट्ने गोबर सोत्तर गर्ने काम प्रायः महिलाको हुन्छ तर बजारसम्म दुध पुर्याउने, त्यसको पैसा संकलन गर्ने, गाईवस्तु बेच्नुपरेमा त्यसको निर्णय गर्ने काम चाहीं पुरुषको हुन्छ ।

बेचबिखनबाट प्राप्त रुपैयाँ–पैसा खर्च गर्ने निर्णय गर्दा पुरुष एक्लैले गर्ने र कतिपय अवस्थामा दुरुपयोग पनि भएको पाइन्छ । महिलाको पहुँच प्रशस्त मात्रामा भए पनि केही अपवाद बाहेक नियन्त्रण भने रहेको देखिदैन । महिलाको काम पुरुषको कामको तुलनामा बढी हुन्छ । स्रोत–साधनमाथि महिलाहरुको पहुँच केही देखिएता पनि नियन्त्रण भने न्यून छ । पहुँच र नियन्त्रणमा महिलाको अवस्था नगन्य भएकोले उनीहरु पुरुषको भरमा बाँच्नुपर्ने बाध्यता रहेको छ, जसले गर्दा महिलालाई सधैं पुरुषको सहायकको रुपमा हेर्ने गरिन्छ । तर केही महिलाहरु र कुनै जातजातिका महिलाहरुमा भने पहुँच र नियन्त्रणको अवस्थामा क्रमशः सुधार हुँदै गएको देखिन्छ तर धेरैजसो महिलाहरुमा भने पहुँच र नियन्त्रणको अवस्था अझै पनि राम्रो देखिदैन ।

यसरी लैंगिक अवधारणा, महिला र पुरुषका बीच श्रम विभाजन, श्रमको मूल्य, स्रोत–साधनमाथिको पहुँच र नियन्त्रणका सम्बन्धमा पछाडि परेका र पारिएका समुदायका प्रत्येक परिवारलाई सुसूचित गराउन सके मात्र लैंगिक विभेद क्रमश न्यूनिकरण हुँदै जाने विश्वास गर्न सकिन्छ ।

(लेखक शिक्षाको क्षेत्रमा कार्यरत् हुनुहुन्छ ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।