२०७८ असार ४ शुकर्बार
Mero Sabda

पत्रकारिता र अलपत्रकरिता


– दीपक ढुङ्गाना

एक समय थियो जब पत्रकार शब्द धेरै वजनदार थियो र मानिन्थ्यो । पत्रकार हो भन्ने थाहा पाएपछि उसलाई गर्ने व्यवहारमा नै फरक पर्दथ्यो । एक तरिकाले समाजको सत्यताको आधारका रुपमा हेरिन्थ्यो । बिस्तारै समय फेरियो । पत्रकार फेरिएर थपिए । यसबीचमा दुःखलाग्दो कुरो समय र पत्रकारसंगै पत्रकारिता समेत फेरियो ।

पहिला पत्रकारिता गर्न तालिम, योग्यता र शैली चाहिन्थ्यो । दर्ता भएको संचार संस्थाबाट जारी गरिएको परिचय–पत्र आवश्यक पर्दथ्यो । अहिले समय निक्कै सजिलो आएको छ । एउटा क्यामरा, एउटा बूम र आफ्नो नाम भन्न जान्ने भएपछि पत्रकार भइहालिन्छ । किन चाहियो तालिम ? योग्यता ? र परिचय पत्र ?

त्यो बेला दबेका र दबाइएका विषयवस्तु खोजेर बाहिर ल्याउनेलाई खोज पत्रकार भनिन्थ्यो क्यारे । अहिले गाउँ, शहर र छरछिमेकका झगडा बाहिर ल्याउने व्यक्ति राष्ट्रिय पत्रकारको सूचिमा पर्छ ।

पछिल्लो समय नेपाली जनता र पत्रकारितामा अलपत्रकारिताको निक्कै नकारात्मक प्रभाव परेको छ । प्रहरी र सम्बन्धित निकायले समेत प्रष्ट नपारेको विषयलाई एउटा अलपत्रकार गएर क्यामरा ठड्याउना साथ त्यो पर्दाफास हुने गरेको छ । अनि सर्वसाधारण जनता सत्यताको मूूल्याङ्कन गर्न छोडेर शेयर गरी भाइरल बनाउन ब्यस्त देखिन्छन् यहाँ । फेरि कसैलाई दोषी ठहराउन पनि सकिने अवस्था छैन ।

आफूलाई पत्रकार भन्दा अलपत्रकारिताको पुलमा हिडेर खलपत्र सन्देश प्रवाह गर्नेलाई दोष दिऊँ ? कि सत्यता नजाँची धमाधम शेयर गर्दै भाइरल बनाउनेलाई दिऊँ ? या त कतिपय उठाउनै र खोज्नै पर्ने विषय समेतलाई बेवास्ता गर्ने पत्रकारलाई दिऊँ ? तिमी पत्रकार अलि ढिला पनि छौ के ? बेकारमा किन पुष्टि हुन्जेल पर्खनु ? किन सत्य, तथ्य समेट्नतिर लाग्नु ? अलपत्रे त खलपत्रे संचार गरेर पनि टिकेकै छन् त । चलेकै छन् त । तिमी चाहिं आफ्नो छवि बचाउनेतिर लाग्छौ अनि कहाँ जनताको नजरमा पर्छौ त ? तब कतैबाट आवाज आउँछ ‘मेरो पत्रकारितामा इथिक्स भन्ने कुरा छ महोदय । मेरो पत्रकारिता जवाफदेही हुनु पर्ने हुन्छ ।’ तब फेरि अर्कोतिरबाट चर्को आवाजमा प्रश्न आउँछ– ‘तेसो भए राष्ट्रिय सरोकार, लुकेका प्रतिभा उजागर र विविध उठान गर्नैपर्ने विषयमा अलपत्रकार अग्रसर भइरहँदा चाहिँ तिम्रो इथिक्स केही बोल्न सक्दैन रहेछ ?’

राज्यले चौथो अङ्गका रुपमा राखेका पत्रकार अलपत्रकारिताको प्रहारले अङ्गभङ्ग भएका र हुने अवस्थामा छन् । आजभोलि अलपत्रकारहरु अदालत, लयर, परिश्रमी, त्रुटीकर्ता, काउसो र रमाइलोकर्ता भएका छन् । हरेक कुरालाई आफू र क्यामराअघि बयान गर्नुपर्ने, सत्यतथ्य बेगर कुनै पनि विषयमा वकालत गर्ने, कुनाकाप्चाका प्रतिभा खोजेर बाहिर ल्याउने, प्रायःजसो काम (राम्रा पनि) गलत, भ्रामक र अस्वभाविक शैलीमा गर्ने, कसैको व्यक्तिगत जीवनमा समेत प्रवेश गर्ने र विभिन्न माध्यमले जनतालाई मनोरञ्जन दिने भएकाले यिनीहरुलाई अलपत्रकारको उपमा दिन सुहाउँछ ।

विभिन्न माध्यमबाट समाचारजन्य विषयवस्तु संचार गर्ने व्यक्ति र च्यानललाई निश्चित सीमा, आचारसंहिता र जवाफदेहिताको खुड्किलोमा उभिएर मात्र संचार गर्न दिने र इथिक्स बोकेर संचार गरी सुसूचित गर्ने (पत्रकार)लाई आफ्नो कर्तव्य, सरोकारका, जनचासोका इत्यादि कुरामा लगनशील भइ लाग्न सरकार र सम्बन्धित पक्षले विशेष जोड र निर्देशन दिन जरुरी छ ।

अन्ततः सत्य, निष्पक्ष र खोजमुलक पत्रकारिता देश र जनताको प्रगतिमा कारक बन्न सक्छ भने गलत, भ्रामक र असभ्य संचारकारिता सबै कुरामा समस्याको स्रोत बनेर अलपत्रकारिता बन्नेमा कुनै दुईमत छैन ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।