Mero Sabda

काम सानो ठूलो हुँदैन


– सन्तोष नेम्वाङ

आँखिरमा मेरो विद्यालयको पढाइ छुट्यो । टाटीमा झुण्ड्याएको पोसाक देख्दा अहिले नै त्यो सर्ट र हाफपाइन्ट लगाएर स्कूल कुदौं झैं लाग्थ्यो त्यतिखेर । तर मन मारेर ढोकादेखि बाहिर भाग्थें । घरमा आमा हुनुहुन्नथ्यो । उहाँ बित्नु भएको एक बर्ष भइसकेको थियो । मेरो स्कूल छुट्नुको कारण आमाको मृत्यु नै थियो । आमा भइन्जेल स्कूल निरन्तरता थियो । र आमाको मृत्यु पश्चात् घरको अवस्था र बुबाको अकर्मण्यताका कारण हामी पढाइबाट बन्चित हुनु पर्यो ।

बाह्र–तेह्र बर्षको बाल्य अवस्थामा धेरै के नै सोच्न सकिन्थ्यो र । समय र अवस्थाले जता दोहो¥यायो, त्यतै पुगिन्थ्यो । खै कोनि कसरी या कुन अवस्थाले हातमा फरुवा र बेल्चा समाइयो । केही दिन त आफूलाई अप्ठ्यारो लागेर आयो ।

छिमेकका दौंतरी देख्थें– राम्रा राम्रा कपडा लगाएर स्कूल जान्थे । बेलुका चार बजे घर आइपुग्थे । तर म बेलुकाको पाँच–छ बजे मात्र घर आइपुग्थें । गलेर लखतरान । हात फुस्रै, खुट्टा फुस्रै, कपाल, कपडा सबै फुस्रै ।

चप्पल चुँडिएर तारले बाँधेको अवस्थामा हिंड्दा थाहा हुन्नथ्यो तर कुन बेला चुँडिएर हातमा बोक्नु पर्ने हो पत्तो हुँदैनथ्यो । सिमेन्टले खुट्टा खाएको बेला खाली खुट्टा हिंड्नु भनेको तातो कराहीमा खाली खुट्टा हिंड्नु सरह हुन्छ । त्यस्तै, हात पनि सिमेन्टले खाएर रातै । बेलुका घरमा आएर तातो भात खाने बेलामा आँशु नै झथ्र्यो । जसोतसो भात खाएर हातको घाउको खुन निचारिन्थ्यो । अनि तेल लगाएर आगोमा सेकेपछि भोलिका लागि काम गर्न सहज हुन्थ्यो ।

यहाँ मैले मेरो दुःखको कथा बताउन खोजेको होइन । मैले त अधिकांश मजदुरहरुको अवस्थाको प्रतिनिधित्व गर्न खोजेको मात्र हो । अझ यस लेख मार्फत अर्जुनधारा क्षेत्रमा स्थापित मजदुर संगठनको शुरुवाती अवस्था खोतल्न खोजेको मात्र हो ।

२०४७–०४८ सालतिरको कुरा हो । खुदुनावारीदेखि केही तलको कैंदले जंगलमा त्यसताका भुटानी शरणार्थीको बसोबास शुरु भइसकेको थियो । छिटपुट केही शरणार्थीहरु गाउँतिर सानोतिनो काम गर्नका लागि आउन थालेका थिए । उनीहरुले खेतीकिसानीतिर र घरेलु काममा निक्कै प्रभाव पारिसकेका थिए । स्थानीयको सय रुपैंया लिने ज्यालाको काम उनीहरु पचास रुपैयाँमा नै गरिदिन्थे । गाउँघरतिर यसका विषयमा केही गाइँगुइँ चल्न थालेको थियो । साँच्चै भन्ने हो भने कृषि मजदुरहरुलाई यसले धेरै नै प्रभाव पारिसकेको थियो ।

यसै क्रममा बिस्तारै बिस्तारै निर्माण क्षेत्रमा पनि उनीहरुको उपस्थिति हुन थाल्यो । हामीले जतिमा काम गथ्र्यौं, उनीहरुले त्यसको आधामा काम गर्न थाले । निर्माण क्षेत्रमा काम गर्ने हामी केही साथी मिलेर त्यसको विरोध गर्न थाल्यौं । तर स्थानीयले हामीलाई उल्टै गाली गरे । त्यसको कारण थियो सस्तोमा मजदुर पाउनु । उपभोक्ताले समान काम तर कम लगानीमा भेट्छ भने विकल्प रोज्नु स्वभाविक पनि थियो ।

हाम्रो आवाजको विरुद्धमा गुनासाहरु पनि आउन थाले । स्थानीयले भन्थे– ‘तिमीहरु यस्ता मजदुर, अनपढ, लेवर काम गर्ने । रक्सी खाएर काममा आउने, काम गर्न अल्छी गर्ने, ठग्ने अनि हामीले सस्तोमा काम गर्ने मान्छे पाउँदा तिमीहरुलाई आरिस लागेको ।’

त्यो बेला अहिलेको जस्तो स्थानीय स्तरमा ट्रेड युनियनहरु, मजदुर संगठनह स्थापना भएका थिएनन् । आफ्नो अधिकार खोज्नको लागि कुनै आधार पनि थिएन । मजदुरको हितको लागि आवाज उठाउने एउटा कुनै संगठन भएको भए त्यस समयको विरोधलाई चिर्न केही सहज हुन्थ्यो । तर पनि हामीले आफ्नो आवाज उठाउन भने छाडेनौं । त्यस कार्यमा म अग्रपंक्तिमा थिएँ ।

हाम्रो काम खोसेको, स्थानीय मजदुरमाथि अन्याय गरेको भन्दै उनीहरुको खाना खोसेर त्यसैले हिर्काइदिन्थें । काम गर्दा लगाउने कपडा खोसेर विजुलीको तारमा फ्याँकिदिन्थें । त्यति हद गरेर उनीहरुलाई खेद्दा पनि कता–कताबाट भागेर गाउँ पसिहाल्थे । बिहान गाउँ त पस्थे, तर बेलुका फिर्दा मसँग जम्काभेट भयो भने फेरि उही कार्य दोहोरिन्थ्यो । त्यो कार्यले भुटानी क्याम्पमा मेरो निक्कै चर्चा चल्थ्यो रे ।

उनीहरु क्याम्पमा बस्थे, दातृ निकायले खान, लाउन, बस्न सबै सुविधा दिएको थियो । त्यसैले उनीहरुले मजदुरी गरी कमाएको पैसा दैनिक जीवनमा आवश्यक पर्ने कुनै पनि कुरामा खर्च हुँदैनथ्यो । त्यसैले उनीहरु सस्तो मजदुरी गर्न सक्थे । तर हामी स्थानीय मजदुरले प्राप्त ज्यालाबाटै खानु पर्ने, परिवार पाल्नु पर्ने, औषधोपचार गर्नुपर्ने, सन्तान पढाउनु पर्ने, इष्टमित्र परपाउना सबैका लागि जोहो गर्नुपर्ने भएकाले उनीहरुसँग ज्यालाको दरमा प्रतिस्पर्धा गर्न सक्दैनथ्यौं । उनीहरुका कारण स्थानीय मजदुरको रोजगारी छिनिएको थियो । त्यसैको प्रतिशोधमा मैले ती कामहरु गर्थें ।

स्थानीय मजदुरहरु पलायन हुन थाले । त्यसै क्रममा पेटकै लागि म पनि विदेशिएँ । केही समय विदेशमा मजदुरीको अनुभव बटुलेर आएर फेरि पुरानै काम गर्न थालें । यसैबीच एउटा मजदुर संगठन खोल्ने चर्चा भयो । त्यसका लागि साथीहरु धेरैले ठूलो मेहनत गर्नुभयो । संगठन बिस्तारका लागि धेरै मेहनत गर्नु प¥यो । हाम्रा मजदुर मित्र नजरुलको घरमा सानो आकारको एक समिति बनाइयो । त्यो मजदुर संगठनको नाम स्वतन्त्र निर्माण मजदुर संगठन भन्ने नामाकरण गरियो ।

यो संगठनले मजदुरको क्षेत्रमा काम गर्नको लागि धेरै आवाज उठायो । तर पछि अचानक त्यस संगठनको नाम क्युपेक बनाइयो । म पनि उत्साहित भएँ । त्यस समय यो संगठन स्वतन्त्र जस्तो लाग्थ्यो । पछि बुझ्दै गएपछि थाहा भो यो त कम्युनिष्टको भातृ संगठन पो रहेछ । सोझा साझा मजदुरहरुलाई थाहै नदिइकन कसरी आफ्नो पार्टीमा प्रवेश गराइँदोरहेछ पछि पो थाहा भयो ।

एवम् रीतले संगठन चल्दै थियो । त्यसपछि हामी निर्माण क्षेत्रमा काम गर्नेहरुको अर्को मजदुर संगठनको जन्म भयो, काउन भन्ने । त्यस संगठनले पनि मजदुरहरुको हकहितका निम्ति धेरै आवाज उठायो ।

आजसम्म आइपुग्दा हामी मजदुरको लागि पहिलाको तुलनामा धेरै राम्रो वातावरण बन्दै आएको छ । हक, इज्जत, पैसा सबै राम्रै हुन थालेको छ । यस्तै संगठनले गर्दा हामी जस्ता कमजोर मजदुरहरु पनि स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीय तहसम्म पुग्न सफल भएका छौं । क्षमतावान् मजदुरहरु कुशल नेताको रुपमा स्थापित हुँदै गएका छन् ।

आज जो मजदुरहरु जे–जस्तो क्षेत्रमा काम गर्दैछौं, त्यसमा इमान्दार भएर काम गर्नुपर्छ । काम सानो वा ठूलो हुँदैन । जसले आफ्नो जीवन चल्छ, त्यो काम कसरी सानो हुन्छ ? जुन क्षेत्रमामा काम गरिन्छ, त्यस क्षेत्रमा निरन्तरता, विश्वसनीयता, नयाँ प्रविधि अनुसार चल्न सकियो भने विशेषज्ञता हासिल हुँदै जान्छ । त्यसैले आफ्नो क्षेत्रलाई सम्मान गर्दै स्थायी कर्मक्षेत्र बनाउँदै लानुपर्छ । त्यसको प्रतिफल अवश्य प्राप्त हुनेछ ।

(लेखक मजदुर नेता हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।