२०७८ असार ४ शुकर्बार
Mero Sabda

राजनीतिले बिरक्तिएर मुङ्लान


– कमल बुढाथोकी

दोस्रो संविधानसभाको चुनावी वर्काेले देशलाई घ्वाप्लाक्कै छोपिसकेको थियो । तोकिएको समयसीमाभित्र देश र देशबासीलाइ एकथान संविधान दिन नसकी ओछ्यान लागेको थियो शिशु संविधानसभा । अर्थात् विघटन भएको थियो । ऐतिहासिक राजनीतिक अवयबहरुको धरातलमा, युगिन जनइच्छाको प्रतिछाँया बनेर उक्त शिशुले जन्म लिएको थियो ।

पछिल्लो पटक प्रवाहित जनआन्दोलन– २ को जोडबलबाट संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीसँगै स्वेच्छाचारी, निरंकुश, जहानिया राजतन्त्रलाई सदाको लागि विदा गरिएको थियो । तर ऐतिहासिक आन्दोलनको मर्म र भावनामाथि निर्मम प्रहार भयो । व्यवस्था घाइते भएर छट्पटिरह्यो । आमुल परिवर्तनप्रतिको तीब्र जनइच्छाले, देशले थेग्नै नसक्ने सभासद, मन्त्रीहरुलाई दानापानी खुवाएर पाल्नुपर्दा समेत नेपाली जनता मौनब्रत बसे ।

अन्तरिम संविधानले निर्दिष्ट गरेको दुई बर्षे समयावधिभित्र संविधान निर्माण र शान्ति प्रकृयाको काम तमाम गर्न नसकेपछि पुनः दुई बर्ष समय थप गरियो । कुल चार वर्षमा, दहाल, नेपाल, खनाल र भट्टराई गरी चारजनाको नायकत्वमा चारै पटक सरकार फेरियो तर देशको मुहार फेर्ने संविधान बन्न सकेन ।

राजनीतिक दलहरु ऐतिहासिक परिवर्तनको युगिन अभिभारा पूरा गर्ने सन्दर्भमा असफल सावित भए । स्वचालित नभएर परिचालित भए । राजनीतिक भ्रष्टाचारका पर्याय बने । आफूलाई सत्ताको वरिपरि मात्र फेरो मार्ने पिण्डको रुपमा दर्ज भए । अर्थात् जनता केन्द्रित नभएर सत्ता केन्द्रित बने । सत्ताको छिनाझप्टीमा यति रुमल्लिए कि जनतासँग गरेका बाचा, खाएका कसम सबै बिर्सिए । अन्तत ताजा जनादेश लिने बहानामा गरिमामय संविधानसभा विघटन गर्ने, पुनः निर्वाचनको घोषणा गर्ने मोडमा उभिए ।

विघटित संविधानसभाका बाँकी कार्यभार, दोस्रो जननिर्वाचित संविधानसभाले पूरा गर्ने बाचा कसम खाँदै, खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन गरी देशलाई थामिनसक्नु व्ययभार बोकाएर चुनावमा हेलिए । जनताको आशामा तुषारापात भयो । दलहरु जनतालाई आश्वस्त तुल्याउन चुनावी अभियानमा अहोरात्र जुट्न लागे । कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा केन्द्रित रहन, प्रशिक्षण तथा निर्देशन दिने, जनसभाको तयारी लगायत चुनावका लागि आवश्यक रणनीतिक र भौतिक तयारीमा कमी हुन नदिने अभियानमा लागे ठूला–साना सबै राजनीतिक दलहरु । दलका नेतृत्व, कार्यकर्ताहरु उसै पनि कपोकल्पित आरोप–प्रत्यारोपको विषयमा अभ्यस्त हुन्छन् नै । जस जति आफू लिने, अपजस जति अरुको थाप्लोमा थुपार्ने क्रिया–प्रतिकृया तीब्र पारिए ।

उम्मेदवारीको चर्चा–उपचर्चा सम्भावित उम्मेदवारको इतिहास, लगानी, गुण, दोष उसले जित्ने–नजित्ने आधारमा मापदण्ड तय गरिए । आन्तरिक शक्ति संघर्ष, शक्ति सन्तुलन, पहुँच र सामथ्र्यको जोड–घटाऊ ज्यादै हुन्छ दलीय संसदीय प्रणालीमा चुनावको बेला । त्यसै गरी आफ्नो गुट, नजिकका नेता उम्मेदवार बनाउन, साम, दाम, दण्ड र भेदका सूत्र प्रयोग गर्ने कसरतमा जुटिसकेका थिए नेता र कार्यकर्ता । निष्ठावान् कार्यकर्ता इमानी उम्मेदवारको आशा र पर्खाइमा व्यग्र थिए । पैसामुखी, सौदामुखी तथा प्रचारमुखी जमाना न हो, कोही पैसाको खोलो–पहिरो बगाएर टिकट हत्याउने दाउपेचमा तल्लिन थिए । कोही प्रचारबाजीको हत्कण्डा मच्चाउन ।

ठूला दलहरु मध्ये कुनै एक दलको कार्यकर्ता थिएँ म पनि । कुन दलको हो ? भनेर सवाल नउठाउनु होला किनकि त्यो दल जनउत्तरदायी बन्न सकेको थिएन र छैन । जनभावनालाई कदर गर्ने सवालमा उपयुक्त पक्का हैन, बेठीक मध्येको ठीक मात्र थियो भन्न चाहन्छु । परिचय दिइरहन आवश्यक ठानिनँ । पुराना ठूला दलहरुको विचार, प्रवृत्ति, कार्यशैली तथा व्यवहार देख्दा जनमैत्री संविधान र उक्त संविधानको जगमा सामाजिक एवं आर्थिक रुपान्तरण हुने सम्भव देखिनँ । वैकल्पिक राजनीतिक शक्तिको खाँचो टार्ने अन्य दलको भरपर्दो उपस्थिति छदै थिएन, अझै छैन । त्यसैले राजनीतिक दलहरु प्रतिको बढ्दो अविश्वास विद्रोहमा अभिव्यक्त हुने छाँटकाँट देख्नु अस्वाभाविक थिएन र अझै छैन ।

संविधान बन्नुपर्छ, देशमा शान्ति सुव्यवस्था कायम हुनुपर्दछ । आमुल रुपान्तरण तथा समुन्नत नयाँ नेपाल निर्माणको महान प्रकृयाको थालनी हुनुपर्दछ । सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्दछ । अन्याय, अत्याचार, भ्रष्टाचार, भोक, रोग र अशिक्षा अन्त्य हुनुपर्दछ भन्ने ध्येयले राजनीतिक दलको फेरो समातेको थिएँ मैले । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा राजनीतिक यात्रा फगत भएको अनुभूत गरेँ ।

त्यसैले दोस्रो संविधानसभाको चुनावले म जस्ता हजारौं मानिसलाई सरगर्मीको महसुस गराउन सकेन । कुनै गुट–उपगुटमा सामेल नभएको चुनावी हावाले समेत छुन नभ्याएको मजस्ता कार्यकर्तालाई चुनावी चहलपहल तथा उम्मेदवारको टिकट हत्याउने रस्साकस्सीको प्रभाव पर्ने कुरै थिएन । न जनविश्वास स्खलित भएको संविधानसभाका उम्मेदवारलाई आत्मदान गर्ने रहरै थियो । खेतीपातीको कर्म गरेर रोजी रोटी खाने एउटा किसानको छोराले पिता पुर्खाले गर्दैआएको कृषि पेशालाई निरन्तरता दिनु नै मुख्य कर्म र कर्तव्य ठानेको हुन्छ, जो धर्म निर्वाह गर्न कुनै कसर बाँकी राखेको थिइनँ ।

राजनीतिलाई कमाइ खाने पेशा हैन, समाज परिवर्तनको द्योतक, जनसेवाको मुख्य कडीको रुपमा बुझेको थिएँ । तर पार्टी पङ्तिका धेरैजसो नेता, कार्यकर्ताहरु खुरापात तथा खेलो फड्को गर्न ज्यादै खप्पिस हुन्छन् । असहज अवस्थामा पन्छने, सहजता देख्ने बित्तिकै नेतृत्वको होडबाजी गर्ने । अर्काे अर्थमा चुनौतिका पहाड देख्दा तर्सने, अवसर प्रति लालायित हुने । यो मानवीय स्वभाव नै हो । तर सिद्धान्त, संगठन र व्यवहारबीच तालमेल नहुँदा यस्ता खाले प्रवृत्ति निरुत्साहित हुने विश्वास किमार्थ गर्न सकिदैन ।

हाम्रो देशमा यी तीन चिजबीचको दूरी कायमै छ । दूरी घटाइ देश निर्माण गर्ने इच्छाशक्ति भएको इमानदार नेतृत्वको खडेरी छ । नेतृत्वकै सिको गर्ने हुन् सबैले । आश्चर्य मान्नु अस्वभाविक झैं हुन्छ । आफू चाहिं पद, पैसा, प्रतिष्ठाका लागि जे गर्न पनि तयार हुने, अरुले खुट्टा लम्काउने, आँखा चम्काउने बित्तिकै खनिखुत्रो लाग्ने प्रवृत्तिले आजित भइयो । आस्थाको भूतलमा उभिएर निष्ठाको ओत लाग्ने निकै चेष्टा गरियो । राजनीतिले बैतरणी तरेको हेर्ने अमूर्त जीजिविषा नेपथ्यमा थन्कियो । बेथितिले घोर असन्तुष्टि, असन्तुष्टिले बेचैनी एवं विरक्ति, विरक्तिले विद्रोही भाव पैदा गर्याे । र, संविधानसभाको दोस्रो निर्वाचनमा आत्मदान नगर्ने निधो गरें ।

घरको आर्थिक गर्जाे पनि टर्ने, विद्रोह अभिव्यक्त पनि हुने र बहिस्कारवादी ट्याग नझुण्डिइने निष्कर्ष निकालेर केही समय मुलुक बाहिर रहने निधो गरें । भारतको दक्षिणी प्रान्त केरलतिर हानिएँ । अर्थात् मुङलान छिरें । त्यो बेला ठीक गरें वा बिल्कुलै बेठीक अझै स्पष्ट छैन । तर स्मृतिले भने मन र मस्तिष्कलाई घरिघरि चिमोटिरहन्छ ।

खुदुनाबारी, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।