Mero Sabda

नाति पुस्ताको खेल


– कृष्ण बराल

यो मौन कोलाहल, आफैभित्रको गुम्फन । सोचिरहेको यसरी किन हो ?

जीवन त ह्वात्तै हामफालेर कहिलेदेखि रहेछ, समयको अन्त्यहीन समुद्रमा । कसरी अनवरत् उठेका यी छालहरू माथि–तल, तल–माथि जीवनका । ज्वाराभाटा नै उठेका छन्, कहिले काँही त आँधी चलेर । त्यहीं तिनको झैं एउटा उत्रिएको, तैरिएको हुँ, यो हराउदो अवस्थाको जाँगर साथमा लिएर ।

समय, समुद्र र यो मानव सागर– कहाँ छ र विश्राम ? चलिरहेको, बगिरहेको, पौडिरहेको सबै प्रकृया निरन्तर रहेछन् क्षण भरको नलिएर आराम पनि । नटक्टकिएको विचारमा पनि धेरै भइसकेछ कि क्याहो धुलो । मन, दिमाग दुबैबाट ओसिलो सोच्दै थिंएछु ।

नातिले हठ झैं झिकेको अघिदेखि थियो– ‘बुबाहजुर ! खेल्न जाने, खेल्न जाने नि बुबाहजुर !’ उसको मन वहलाउन कथा हाल्दै थिएँ– त्यही ठूलो जंगलको घमण्डी बाघको, चोर स्याल र त्यही चलाख सानो खरायोको ।

नाति भन्दै थियो– ‘यी ’डेट–एक्स्पायर’ भइसकेका कथा हुन्– नसुन्ने, अब त जंगल ठूलो छैन, स्याल र खरायो हुन त मुस्किल ? बाघ कहाँ हुनु ? भो खेल्न जाने ।’

पुगिसकेको आँगनसम्म रहेछु– सँगै । डो¥याएर नातिलाई पुग्या हुँ कि, नातिले डो¥याएर पुग्या आँगनसम्म हुँ ? यो नै विषय जिज्ञासिलो भएर उब्जिएको प्रश्न थियो आफ्नै मनमा । आँगनलाई नै छोएर गएको बाटो मूल सडक सम्म छ । यो सडक कहाँसम्म तन्किएर पुग्ला हँ ? एउटा विचार खेल्यो मनमा । छिचोल्न संसार सकिन्छ निस्किएपछि होला । तर.. तर परदेश भइसकेछ आँगन– सुन्थिएँ पहिला–पहिला । भोगिरहेको हुँ लाग्दैरहेछ अहिले ।

‘म साथीहरूसँग खेल्छु, बुबा– हजुर यहीं कुरेर बसिराख्नु है ।’ अनुमति मागेको हो कि ? अह्रायो नातिले बुझिनँ । कुदेर गयो । विस्फारित नेत्रहरू उसैको कुदाइमा लत्रिएका थिए । तन्किन खोजेका दृष्टिहरू अलिक परतिर फूल बगैंचामा झरे । यो बगैंचा फूलैफूलको बारी । विभिन्न रङका फूलहरू फुलिरहेका देखिए । ती हावामा हल्लिएर झुलेका छन्– राम्रा । जीवन कसरी फुल्छ, झुल्छ हँ ? एउटा प्रश्न मडारिएर गयो मनमा ।

हेर्दाहेर्दै देखें– बगैंचाको बिचोबीच त्यो निमको रुख आधा सुकेको– हरियो । कुन रुप हो यो सृष्टिको ? आधाआधा देख्नलाई हेरिरहें । पूर्णको– अर्धस्वरुप हुनसक्छ उभिएको यो सृष्टिको । खोजेर बिरुवा ल्याएको कहाँदेखि थिएँ– सम्झिएँ । बुझेर यसको त पात, हाँगा, बोक्रा, जरा सबै गुणकारी छन् । हावा नै यसले त शुद्ध बनाएर फ्याँक्छ । माटो बनाइओरी रोपेकी उनले थिइन् ।

मेहनतले मलपानी र गोडमेल गरेका थियौ । हुर्किएको झ्याम्म हरियो थियो यो । त्यसको छहारी तलतिर झ्याम्मिने गरेका त हामीहरू पनि थियौं– हामी, हाम्रा छोराछोरी थपिएर ज्वाइँ, बुहारीहरू पनि हुन्थियौं । हाँगाबिंगा फैलिए झैं नातानातिनीहरू पनि थिए । नदेख्न सकेर पनि हेरिरहें त्यसलाई त्यस्तै भरिपूर्ण झैं नभएको अहिलेलाई ।

सँगै बाँच्ने सँगै मर्ने कसम सोचेथ्यौं । कस्तो भ्रम थाहा नपाएर पालेका थिएछौं । कत्रो विश्वास ! त्यो झ्याम्म सँधैभरि झाँगिएकै हुन्छ सयाँलमुनि हामी झ्याम्मी नै रहने छौं । कसरी अठोटहरू चुँडिएर फुस्कदारहेछन् । विश्वासहरू भत्कदारहेछन् । उनी बरण्डामा चामल केलाउँदा–केलाउँदै ढलिन् । बाटामा जुलुस कुदिरहेको नामसँगै उनको नाम पनि लेखिएको थियो ।

डिउटी गएको छोरो फर्किएन । सेनाको एक टुकडी आर्यघाटमा तैनाथ थियो । छेउमा कपडाले छोपिएर लमतन्न सुतेका निर्जीव ज्यानमाथि झण्डा ओडाइयो, सलाम ठोकियो । समाचार बाचिकाले वीरगति पाउनेको नाम पढेर सुनाउँदा आफ्नै छोराको नाम सुन्न पाइयो । उसले वीरगति पाएको यही माटोमा आफ्नै दाजु–भाइसँगको मुठभेडमा थियो ।

ज्वाइँ लापता भएको बर्ष दिन बितिसकेको थियो । छोरीका आँसु के बिग्न हुन् बगेर सुक्दै नसुक्ने । ज्यान पत्ता लगाउन मानवअधिकारवादी लागिपरेका पर्यै छन् । उनीहरूलाई कहिल्यै धन्यवाद भन्न पाइएन ।

निमको रुख– आधा सुकेको हरियो । मेहनतले रोपेको हुर्काएको बगैंचा माझ कस्तो प्रष्ट बुझिने भाषाझैं ठडिएको भएर रहेछ– जीवनको ।

कस्तो पूरा गर्न नसक्ने बाचाबन्धनमा फसेका रहेछौं यो रुख र हामीहरू । सुकेपछि हरियो हुनु नपर्ने । मर्नेले बाँच्नु नपर्ने । बाँच्नेले मात्रै मर्नु पर्ने । प्रष्ट छ यो निमको रुख हरियो रहिरहन सक्दैन ।

यो सोचिरहँदा अनुहार भरि थरिथरिका भावहरू चिप्ल्याउँदै उभिएको आँगनको एक छेउमा थिएँ । अब त अढेसो खोजिन्छ बस्ने ठाउँमा पनि । एउटा टेक्ने लठ्ठी जरूरी झैं हुन्छ, जोह चाहिन्छ । घुमेर चारैतिर आँखाहरूले हेरें पाँच वर्षे नाति र उसका दौंतरी छिमल भुराहरू आँगनकै चउरभरि, फूलबँगैचाभरि, त्यही निमको रूखमुनि चारैतिर छरिएर पोखिएका थिए । ती बालसुलभ क्रिडा–केलीहरू, ती विभिन्न रूप र आकृतिहरू जीवनकै स्वर्ण, सुनौलो भाग देखेर एकोहोरो हर्षका हेराइहरू हेर्दो भएँ । अचम्मले विभोर भएँ । नाति पुस्ता र म बीच–समयको त्यो अन्तराल । बनिएको खाडल कत्रो ठूलो, फराक रहेछ । जीवनकै उत्कृष्ट स्वर्ण ।

‘ए ! फूलका बोटहरू भाँचिएलान् ।’ मुखले बोलेंछु तर मन भने पुस्त्यौनी त्यो दूरी फड्को मारेर कल्पनाको घोडा चढेर बुर्कुसी मार्न खोज्दो भएँ । माथि नागीमा भेडीगोठ खेल्थ्यौं हामीहरू । साधु, चोर–पुलिस, लुक्दै छिप्दै खेल्थ्यौं उन्यु झाडीमा । पल्टियो कुनै दिन मेरो इतिहास ।

‘बुबाहजुर ! भोक लाग्यो । ‘क्याटवरी’ खान्छु, तिर्खा पनि लाग्यो ‘कोक’ पनि ।’ पसिनैपसिना भएर आएको नातिले भन्यो । अनायासै गोजीतिर हात पसाएको थिएँ । सोच भने नागीबाट गलेर लखतरान घर फर्कदैं थियो । आमाले दिएका भुटेका मकैले भोक अघाउँदै थियो । बाक्लो मोहीले प्यास मेटाउँदै थियो । समयको त्यो दूरी, त्यो ठूलो खाडल यहीं कतैबाट लम्बिएर फरक भएको थियो कि ?

‘बुबाहजुर ! आज मेरो ‘बेबलेट’ले सबैको ‘बेबलेट’लाई उछिनेर हरायो ।’ ‘क्याटवरी’ सिध्याएर कोक पिउँदै नाति भन्दै थियो– ‘मेरो गनबाट ‘बुलेट’ नै ढिलो छुट्छ । त्यो सोनीदादा छ नि– ऊ त्यो माथिल्लो घरको, उसको ‘ड्याडी’ले ल्याइदिएको ‘स्ट्याण्ड’ भएको ‘मेसिनगन’ छ, थुप्रो ‘बुलेट’ जान्छ र छिटो–छिटो छुट्छ पनि । हामी ‘सेना’ भर्सेज माओवादी ‘वार’ खेल्दै थियौं । उसको ‘मेसिन’ गनबाट छुटेको ‘बुलेट’ लागेर झण्डै हाम्रो हार भयो । फेरि मेरो ‘गनको’ ‘मोडेल’ नै पुरानो छ । ‘मोडेल’ पुरानो भएर मैले सधैं सेना । उनीहरू लुकेर बस्न पाउँछन्, लुकेर नै हान्न पाउँछन् । हामी सेना भएकाहरू देखिने ठाउँमा बस्नु पर्छ, छलिएर हान्न पनि पाउँदैनौं । जथाभावी हान्न पनि पाउँदैनौं । ‘सिविल’लाई लाग्ला भन्न्छन् ।’ नाति एकैछिन् सास फेर्न रोकियो । म उसकै अनुहार नियालेर थिएँ ।

मलाई पनि बाबालाई भनिदिएर ठूलो, धेरै ‘बुलेट’ जाने ‘मेसिनगन’ नै किनिदिनु है, ‘डिपार्टमेण्टल’ स्टोरमा पाइन्छ । नातिले मेरो मुखतिर ताक्यो र फेरि भन्न थाल्यो– ‘राम्रो गन भएन भने त सेनाको पनि ‘सेण्ट्री’ बनाएर राख्छन् । त्यो हर्के छ नि, त्यो लुते–सिकुटे क्याउसको नपड्कने, ‘बुलेट’ पनि नछुट्ने ‘गन’ छ, उसलाई सधैं सेण्ट्री बनाउँछन् । विचराले खेल्नै नपाइ कति चाँडै मरिदिनु पर्छ ।’ नाति उसको खेलको वृत्तान्त सुनाउँदै थियो । म ए–ए भनेर सही थाप्न पनि सकिरहेको थिइनँ ।

‘त्यो शंकर छ नि– काले ढड्डु, त्यसलाई हिन्दी पनि बोल्न आउँछ । हो– त्यो त सबै जनालाई सधैं पो जित्छ त । त्यसले मलाई खालि ‘जर्जबुस’ बन्न लगाउँछ । ‘ओसामाविन’ त अर्कैलाई बनाउँछ । अस्ति छ नि, म ‘बुस’ भएको ‘ट्वियन टावर’ पक्डेर बसेको थिएँ । ‘लादेन’ का गुरिल्लाहरूले कताबाट हो कताबाट थाहै नपाई ‘एट्याक्’ गरेर टावर नै ढाल्दा झण्डै मलाई नलागेको । त्यो काले ढड्डु सधैं ‘सद्दाम’ बन्छ र सुरक्षित लुकेर बस्छ । पक्डिएपछि पनि उसलाई हान्नु नहुने रे ? ‘बुस’ बन्न लाएर मलाई चाहीं चारैतिरबाट ‘एट्याक्’ मात्रै गर्छन् । जोगिँदा कै दास्ती । मेरो ‘गन’ सबै भन्दा राम्रो भयो भने त म पनि ‘लादेन’ हुन पाउँछु । माओवादी कमाण्डर हुन पाउँछु । अनि त लुकेर जस–तसलाई ड्याम–ड्याम हान्न पाउँछु । त्यो साले मोटे ढड्डुलाई म एकै तालमा ढालिदिन्छु के !’ नातिका खेलका कुरा सुनेर म मेरा आफ्ना सारा सोचाइहरू लथालिङ्ग बनाएर आश्चर्यचकित र अचम्मित घोरिएको थिएँ । विचारहरू आँटी नआँटी धुवाँझैं हुँडलिएर गुम्सिएका थिए ।
– यी डिपार्टमेण्टल स्टोरहरू कस्ता मात्रै खेलौनाहरू बेच्छन् हँ ?
– कुन खेल सिक्दैछ मेरो नाति र उसका दौंतर पुस्ता ?
– कसरी जाने यस्तो खेल खेल्न ती दौंतर छिमलहरूले ?
– कलम समाउने ती कलिला हातहरू के समाएर खेल्न सिक्दैछन् हाम्रै अगाडि र हेरिरहेछौं हामीहरू ?

यस्तै के–के सोच्दै घरतिर लागेको म, मेरो बाल्यकाल सम्झदै थिएँ । बाल्यकालमा खेलेका खेलहरू सम्झदै थिएँ । तर नाति भने एकोहोरो उसलाई चाहिएको गनको फलाको लगाइरहेको थियो । उसको बाल चाहना परिपूर्ति गर्न डिपार्टमेण्टल स्टोर जानु त म ? कि उसलाई सम्झाउनु ? सम्झाउँदा सम्झिएला त ? के भोलि ऊ उसका साथीहरू खेलिरहँदा त्यस्तो खेल नखेलेर हेरिबस्छ त ? मैले ऊसँग खेल्ने सबै भुराहरूलाई सम्झिएँ, उनीहरूका हजुरबाबुहरूलाई सम्झिएँ । के उनीहरू पनि मैले सोचे जस्तै गरी यी नाति पुस्ताको खेलदेखि सचेत हुन खोज्लान् त ?

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।