Mero Sabda

पढ्ने रहर र कुरुवाको कहर


– कमल बुढाथोकी

माध्यमिक तह अध्ययनको समापन तथा उच्च शिक्षा अध्ययनको पहिलो खुड्किलो, एसएलसीको परीक्षा दिएर, नतिजाको प्रतिक्षारत् उच्च शिक्षा अध्ययन गर्ने कल्पनाकाशमा कावा खेल्दै बसेकोथिएँ । पठनपाठनमा न अब्बल विद्यार्थीको कोटीमै पर्थेँ, न त गोबरगणेश नै थिएँ ।दुइटैको सीमारेखा नाघ्न कहिल्यै सकिनँ । शिशुदेखि दश कक्षासम्म दशौं श्रेणी भन्दा माथिको अङ्कमा कहिल्यै उक्लिन सकेको थिइनँ । कक्षा आठमा पठनपाठन शुरु गरेदेखि , प्रगतिशील विचार प्रति सम्मोहित भएपछि पढाइमा भन्दा ज्यादा संगठनलाई महत्व दिने अखिलको कार्यकर्ता भएँ । हरेक दिन–रात कमरेडहरुसँगको बाक्लो उठबसले, बैठक, छलफल, प्रशिक्षण कार्यक्रमलाई ज्यादा समय दिने भएँ । लालबुझक्कड् बन्ने लालसाले, नेपालीमा उल्था गरिएका आयातित राता किताबहरु खुबै पढियो । गिनिएका नेपालका प्रगतिशील लेखकका रचनाहरु त झन् चाख दिएर पढिन्थ्यो । परिवर्तनको चाहनाले राजनीतिलाई नजिकैबाट नियाल्ने प्रयास गरेँ ।

राजनीति प्रतिको बढ्दो चाखले औपचारिक शिक्षा प्रति अरुचि पैदा गराइ पढाइ कमजोर बनायो कक्षा दशसम्म पुग्दा । त्यसैले परीक्षाको नतिजा प्रति संसयले अड्डा जमाएको थियो । आखिर आउनै पथ्र्यो प्रतिक्षाको क्षण अर्थात् परीक्षाफल, निर्धारित समयमा आयो नै । कुरो २०४७ सालको हो । त्यसभन्दा अघिको दुई ब्याचले लगातार आवश्यक प्रतिशत कटाउन नसकेर थला पर्न लागेको श्री जनता प्रस्तावित माध्यमिक विद्यालयका लागि हाम्रो ब्याचले बाउन्न प्रतिशत नतिजा ल्याउन सफल भयो । माध्यमिक विद्यालय स्वीकृतिका लागि बलियो आधार बन्यो हाम्रो परीक्षाफल । कुल एकाउन्न जना विद्यार्थीहरु मध्ये एकजना प्रथम श्रेणी, चौध जना द्वितीय श्रेणी ,बाँकी बाह्र जना तृतीय श्रेणीमा उत्तीर्ण हुन सफल भयौं । मेरो परीक्षाफल सोचेको भन्दा राम्रो आयो, द्वितीय श्रेणीमा उत्तीर्ण भएँ ।

तिनताका एसएलसी परीक्षामा उत्तीर्ण हुनेलाई निकै इज्जत् गरिन्थ्यो । अभिभावकका अलावा इष्टमित्रले समेत ठूलै ठाउँ, राम्रै कलेज र राम्रो विषय लिएर पढ्न सुझाउथे । हुनेखानेका छोराछोरी प्रायःजसो राजधानीमै पढ्न रुचाउँथे । हुँदाखानेका नानीहरु नजिकै रहेका कलेज धाउँथे । आफू हुँदाखाने बर्गभित्र पर्थेँ । ठूलो ठाउँमा, खर्चालु पढाइ धान्ने सामथ्र्य मेरा अभिभावकसँग नरहेको मलाई राम्रो हेक्का थियो । त्यसैले ठूलो ठाउँमा अध्ययन गर्ने जीजिविषालाई अन्तरकुन्तरमा थान्को लगाएर भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस भर्ना भइ पढ्ने निधो गरेँ ।

शुभचिन्तकहरुले कानून विषय पढ्न सुझाए पनि समाजशास्त्र विषय नै रोजेँ । कम खर्चमा पढाइलाई अगाडि बढाउने उद्देश्यले घरबाटै धाएर पढ्न शुरु गरेँ । त्यो बेला खुदुनाबारीदेखि शनिश्चरे जान अहिलेको जस्तो सहज थिएन । बाटो नक्सा जस्तो मात्र थियो, कच्ची र साँघुरो । हुन त अहिले पनिप क्की र फराकिलो बाटो निर्माणाधिन अवस्थामा रहेको छ । गतबर्ष पौष मसान्तभित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए अनुसार काम शुरु गरिएता पनि दुईतिहाइ काम बाँकी छाडेर ढेकेदार कम्पनी फरार छ । शनिश्चरे–खुदुनाबारी सडक अस्तव्यस्त छ । नियमन गर्ने सरकारी निकाय मौन छ ।

टाङटिङ र बिरिङमा पुल थिएन । हिउँदयाममा त्यो पनि सुख्खा मौसम हुँदा मात्र गाडीघोडा कुद्थे । बिर्तामोडसम्म साइकल गुडाएर, बिर्तामोडदेखि बस पक्डेर क्याम्पस पुग्थेँ । जिल्लाको सदरमुकाम भद्रपुर लाइनमा ठूला खालका र राम्रा अवस्थाका गाडी बिरलै चल्थे, अधिकांश लिलिपुटे र थोत्रा । सुरक्षित र आरामदायी यात्रा आकाशको फल झैं हुन्थ्यो । जहिल्यै भीडभाड र कोचाकोच । खुट्टा टेक्न पाए अहोभाग्य सम्झनु पथ्र्यो । झमक्क साँझ पर्दा मात्र सबै विषयको कक्षा सकेर घर आइपुग्थेँ । सधैं गलेर लोत हुइन्थ्यो । बेलुकीको खाना खायो सुत्यो । के को पढ्नु घरमा ।

दिनहुँ यसरी चार महिनासम्म कलेज धाउँदा वाक्कदिक्क भएँ । अघिका जोशजाँगर सब सेलाए । बर्खायाम शुरु भइसकेको थियो । रहरै हुँदा पनि धाउनु सम्भव थिएन खुदुनाबारीदेखि । भद्रपुर आसपासमा डेराजम गर्नुको अर्काे विकल्प नै थिएन मसँग । त्यसैले जेष्ठदेखि उतै डेरा बन्दोबस्त गरेर पढाइलाई निरन्तरता दिन शुरु गरेँ । तारा ईङ्नाम मेरो रुमपार्टनर थिए । उनी मेरा छिमेकी मात्र नभइ बाल्यकालदेखिकै मिल्ने साथी थिए । अध्ययनमा अब्बल थिए, राजनीतिमा राम्रो दखल राख्नुका साथै साहित्यानुरागी थिए । राम्रो सम्भावना बोकेका व्यक्तिका कोटीमा राख्दा फरक नपर्ने खालका । हाल हामीबीच छैनन् । अल्पायुमै गुमाउनु पर्याे उनलाई । भौतिक रुपले अवसान भएको डेढ दशक बितिसकेको हुँदो हो । उनको यादले घरिघरि निचोर्ने गर्छ ।

डेरा बसेर टाकनटुकुन दुई महिना मात्र पठनपाठन गरेको हुँदो हुँ । बुबाको स्वास्थ्य स्थिति बिग्रिएकोले उपचार नगराइ नहुने भयो । घरमुली नै विरामले थला परेपछि, उहाँको जीवन भन्दा मेरो पढाइ ठूलो ठानिनँ । घरमा ठूलोमान्छे भनेको आमा मात्र हुनुहुन्थ्यो । ठूल्दाजु बितेको तीन बर्ष भइसकेको थियो । गाडी दुर्घटनामा परि, खाउँखाउँ लाउँलाउँ भन्ने उमेर मै । माल्दाजु नेपाल प्रहरीमा जागिरे । दिदीको विहेवारी भइसकेको थियो । साल्दाजु मुङ्लानिया । आमालाई घरमा सघाउ पघाउ गर्ने ठूली भतिजी, जो सानै थिई । खाना बनाउनसम्म चाहिँ सक्ने भएकी थिई । म पढन्ते र काममा अलिकअल्छी । आमाले गर्ने घरेलु काम बाहेक सारा काम बुबाले भ्याउनु हुन्थ्यो । संगोलमा रहुन्जेल खेतीपातीदेखि लिएर हरकाममा ठूल्दाजु नै हुनुहुन्थ्यो, बुबाले गर्ने काममा भरथेग गर्ने । भाउजूले घरको सारा काम भ्याउनु हुन्थ्यो । मानो छुट्टिएपछि अर्थात् बेगल भएपछि कामको सबै भार बुबाआमा माथि थुप्रिएको थियो । बुबा नै ओछ्यान लागेपछि अब पर्याे विपद् ।

खुदुनाबारीमा एक–दुई क्लिनिक मात्र थिए । अहिले जस्तो सरकारीस्तरबाट चल्ने स्वास्थ्य चौकी थिएन । निजी क्लिनिकमा प्याथोलोजी ल्याव, एक्सरे जस्ता आधारभूत स्वास्थ्य उपकरण हुनु त परैको कुरा, दक्ष डाक्टर थिएनन् । केही जानकार छिमेकीले शनिश्चरे लगेर डाक्टर सकलदेव चौधरीलाई चेकजाँच गर्न सुझाएपछि, उनीहरुकै सल्लाह बमोजिम बिरामीलाई गोरुगाडामा शनिश्चरे लगियो र चेकजाँच गराइयो । चेकजाँचपछि डाक्टर चौधरीले मृगौलामा पत्थरिया रहेको हुनसक्ने अड्कल गर्दै आफूसँग एक्सरे तथा ल्यावका उपकरण नभएकोले उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजान सल्लाह दिए । शनिश्चरेमा पनि मानव स्वास्थ्य चेकजाँचमा प्रयोग हुने उपकरणहरु थिएनन् । कि बिर्तामोड, कि त भद्रपुरै जानुपर्ने बाध्यता थियो । अहिले सुन्दा पनि अनौठो लाग्छ ।

पछिल्लो दिन बेलुकैदेखि पिसाब जाने कृया रोकिएकोले बिरामीको छट्पटी बढिरहेको बुझ्न उहाँको रोदन सुन्दा गा¥हो पर्दैनथ्यो । यति भइसकेपछि हाँप र झाँप गर्दै उहाँलाई भद्रपुर लग्यौं । सार्वजनिक सवारीसाधनबाट बडो कष्टले । साथमा आमा र भिनाजु हुनुहुन्थ्यो । अस्पतालको बिरामीको अवस्था बुझेर तुरुन्तै भर्ना लियो । प्राथमिक उपचार अन्तर्गत रोकिएको पिसाब बाहिर निकाल्ने काम भयो । त्यसपछि मुत्रनलीमा मुलायम रबरको थैलोयुक्त नली मार्फत पिसाब रोकिने समस्या तत्काल रोकथाम गर्न अस्थाई व्यवस्था मिलाउने काम भयो । चेकजाँच, दबाइपानीका लागि कुरुवाले गर्नुपर्ने र अह्राए जति सब काम लुरुलुरु गरेँ । सरकारी अस्पताल न हो चुस्त व्यवस्थापनको कमी थियो । विरामीको चाप ज्यादा डाक्टर कम । डाक्टर पिताम्बरलाल यादव एकजना मात्र शल्यक्रिया गर्ने सर्जन थिए । बेलुकीको भिजिटमा आउँदा बल्ल डाक्टरको मुहार देख्न पाइयो । दिउँसो तयार भएको मेडिकल रिपोर्ट सरसर्ति हेरिसकेपछि भने– ‘मुत्रथैलीमा स्टोन छ, मेजरअप्रेसन गर्नुपर्छ । यहाँ सम्भव हुन्न, बिरामीलाई बिराटनगर या धरान लैजानु ।’

अलिकता आठोपाँजो र जोरजाम्म गरेको रकमकलम निख्रिनै लागेको थियो यताउता गर्दागर्दै । घरगाउँमा सरसापट खोजखाज गर्नु थियो । फेरि ठूलो ठाउँ, अस्पतालमा बिरामीलाई उपचार गराउने बारे मेलोमेसो थाहा थिएन । भोलिपल्ट बिहानको एघार बजेतिर विरामी हेर्न भनि शनिश्चरेबाट माइला मामा, खुदुनाबारीबाट साइँला सानाबा टुप्लुक्क आइपुग्नु भयो । मलाई ठूलो सास आयो । आमाले मामालाई– ‘ल है माइला अब के गर्ने हो ? कता लैजानु पर्ने हो ? कान्छोले त्यति भेउ नपाउला ठूलो ठाउँमा’ भन्नु भयो ।’ ‘ठीकै छ, भिनाजुलाई विराटनगर लैजानु पर्छ, हामी जान्छौं । तिमी, ज्वाइँ र कान्छा घर जानू । पैसाको जोगाड गरेर कान्छालाई भोलि पठाउनु ।’ मामाले भन्नु भयो । त्यसपछि बुबाको डिस्चार्ज गर्ने काम सकेर उहाँहरु विराटनगर लाग्नुभयो, हामी घरतर्फ लाग्यौं ।

त्यसको पर्सिपल्ट मात्र विराटनगर जाने चाँजोपाँजो मिल्यो । उताबाट ‘अप्रेसन हुने भयो, रुपैयाँपैसाको जोहो र रगत चाहिने भयो’ भन्ने तारनतारको खबर आयो । लक्ष्मी दाइ, प्रेम भाइ र म गरी तीन भाइ त्यस तर्फ रवाना भयौं विहान सबेरै । हामीअस्पताल पुगेपछि यावत् उपचार सम्बन्धि विषय बारे सुझाउनु भयो उहाँहरुले । जरुरी काम परेको जनाउ दिंदै घर फर्कनु भयो दुबै जना ।

अस्पतालमा रहेका बिरामीका सेवासुश्रुषामा अहोरात्र खट्दै आएका नर्सहरुले ‘बाको भोलिअप्रेसन हुन्छ, ओ पोजिटिभ ग्रुपको दुई पौण्ड ब्लड स्ट्याण्डवाई राख्नु’ भनी सुसूचित गरेपछि हामी ब्लडबैंक गयौं । शुरुमै दाइ र मेरो रक्त समूह चेक गर्याैं । संयोगवस ठ्याक्कै मिल्यो र ब्लड जम्मा गर्ने काम पनि फत्ते गर्याैं र अस्पताल फर्कियौं ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जनरल वार्डबाट अन्तै सारिंदो रहेछ । त्यो वार्ड अलिक सफा र व्यवस्थित थियो जनरल भन्दा । कुरुवालाई पनि अलिकता सहज हुने खालको । बेलुकी पख त्यता सारियो । बिरामीलाई रातिदेखि निराहार रहने उर्दी भयो, त्यसै गर्याैं । यो गर, त्यो गर आदेश हुन्छ, आज्ञाकारी बनेर यता कुद्यो, उता कुद्यो गलेर हत्तुहैरान हुने । वार्डमा टुसुक्क बसेर उघ्न धरि नपाइने । एक बिरामीको दुई जना कुरुवा बस्नै नपाइने । नर्सहरुले कराएर बाहिर निकालिहाल्ने । आलोपालो बाहिर–भित्र गर्नुपर्ने । बार्ड बाहिर दुर्गन्ध र मच्छडले खपिनसक्नु । कष्टले रात काटनु पर्ने ।

पाँचौं दिन, बिहान सखारै बिरामीको विवरण सहित अप्रेसनको निम्ति नम्बरिङ गरिएको प्लेकार्ड बेडमा झुण्ड्याइयो । विवरणमा उल्लेख भएअनुसार बुबाको अप्रेसन गर्ने पालो दोस्रो नम्बरमा थियो । निकै हर्षित् थिएँ रे त्यो बिहान । अप्रेसन थिएटरभित्र लगिएको बुबालाई केहीबेरमैअप्रेसन नगरी फर्काएर पहिलेकै वार्डमा ल्याइएपछि, ओठ र तालु सुकेका थिए रे मेरा । चश्मदिद गवाह बनेका लक्ष्मी दाइले अझै भन्नु हुन्छ । अस्पतालको त्यो हर्कतले निराश भएँ । मनभरि नानाभाँतीका कुरा खेले । किन गरिएन शल्यक्रिया ? के हुनै नसक्ने अवस्था हो ? संसयले मनभित्र डेरा जमायो ।

झट्पट शल्यक्रिया नहुनुपर्ने कारण बारे सत्यतथ्य बुझ्ने अभिप्रायले स्वास्थ्य परिचारिकालाई सोधिहालें– ‘शल्यक्रिया किन भएन सिस्टर ?’ ‘हामीलाई थाहा भएन, डाक्टर सा’प आएपछि उहाँलाई नै सोध्नु।’ उताबाट टर्राे जवाफ पाएँ । दाइले उसै गरी सवाल गरिरहनु भयो, चित्तबुझ्दो जवाफ आएन, हामी अवाक् भयौं । मनभित्र शंकैशंकाको ओइरोपहिरो खस्क्यो ।भयले तन रुग्ण बन्यो । आफूसित भएका रुपैयाँपैसा पनि सिद्धिन लागेको थियो, शल्यक्रियाका लागि चाहिने सरसामान खरिद र दबाइपानीमा खर्च गर्दागर्दै । अब डाक्टर कमरुल हकको कुरा सुन्नमात्र रह्यो । समस्याको जड पहिल्याउन उनकै प्रतिक्षामा रह्यौं ।

डाक्टर हक आए, नियमित समयमा । वार्डका सबै विरामीको अवस्था जाँचबुझ गर्नेक्रममा हाम्रो बिरामीलाई हेर्न भ्याए । सहयोगी टिमलाई खासखुस गर्दै के के भने बुझिनँ । मैले प्रश्न गर्नुअघि नैमलाई सम्झाउने पाराले भने, ‘बिरामीको उमेर बढी र कमजोर शरीर भएकोले मेजरअप्रेसन गर्दा ब्लिडिङ बढी भएर मृत्यु हुनसक्ने, रिस्क लिने हो भने मात्र अप्रेसन गरिदिने’ भनेपछि तीनछक्क परेँ । थिएटरमा लैजानुअघि कुरुवाले गर्नुपर्ने कागजमा सहिछाप गरेकै थिएँ ।फेरि किन यस्तो कुरा गरिरहेका छन् डाक्टर ? उनले भनेकै कुरा सत्य हो या अरु कुनै कारण छ ? मनमा खुल्दुली भइरह्यो ।

‘भोलि नौ बजेभित्र रिफरलेटर तयार पारिदिन्छु, लिएर वीर अस्पताल (काठमाडौं) लैजानु बिरामीलाई’ डाक्टर हकले भने । ‘डा. साप यदि यहाँ उपचार सम्भव थिएन त शुरुमै किन भन्न सक्नु भएन ? हामी जस्ता गरीवलाई यतिका दिनसम्म उपचारको भरोसा दिलाएर यतिका खर्च गराउनु न्यायोचित भयो र ?’ आक्रोशित हुँदै मैले सवाल तेर्साएँ ।

बेरोकावट मेरो सवाल सुनेको नसुने झैं भए । मलाई जवाफ दिन आवश्यक देखेनन् क्यार । एकार्कातिर मुखामुख गर्दै अर्काे बिरामी हेर्न अगाडि बढे । मेरो केही जोर चलेन । चलोस् पनि कसरी । अस्पतालमा डाक्टरको निर्णय नै सर्वाेपरी हुन्छ, एकछत्र हुकुम चल्छ । बुबालाई अब काठमाडौं कुन खर्चले कसरी लैजाने, त्यहाँ पनि उपचार हुने हो होइन भन्ने कुराले खुबै पिरोल्यो । मनमा अनेकन तर्कनाहरु उब्जिएर त्यो रातभर आँखा झिमिक्क पारिएन ।

छैटौं दिन, बिहानै धरानमा रहनु हुने माल्दाजुलाई टेलिफोन मार्फत यावत् विषय बारे जानकारी गराएँ । लक्ष्मी दाइ घर फर्कने हुनुभयो, खर्चबर्चको तम्तयारीका लागि । खुदुनाबारीमा टेलिफोन सेवा नभएकोले एक जना घर नफर्की नहुने बाध्यता परेको हामीलाई । त्यसैले घर तर्फ बाटो लागे प्रेमलाई साथमा लिएर । टेलिफोन गरेको दुई घण्टा बित्दा–नबित्दै माल्दाजु आइपुग्नु भो । अस्पतालमा गर्नुपर्ने सारा काम सकेर हामीलाई काठमाडौं जाने बस चढाएर बाटो लाग्नु भयो ।

जेष्ठको महिना थियो, मनसुन चाँडै सक्रिय भएछ क्यार, नारायणगढ कटेपछि पानी पर्न शुरु भयो । ड्राइभरले गाडीको गति तीब्र पार्याे । पहाडको पेटैपेट, त्रिशुलीको तिरैतिर, नागबेली सडक, गाडीको तीब्रगति निकै डर लाग्यो, पहिलो पटकको यात्रा भएर पनि त्यस्तो लागेको हुनुपर्छ । पानी नै नपरिकन बेलाबखत खस्किने कृष्ण भीर खस्किएर जाममा परियो । बिरामी लिएर गएको बेला जाममा बस्नु पर्दा कति छट्पटी भयो होला ? भनिसाध्य छैन ।
सातौं दिन, बिहान मात्र जाम हट्यो, यातायात सुचारु भयो । रातभरि जाममा बाटाभरि तेर्सिएका गाडी थानकोट नपुन्जेल धिमागतिमा गुडेको झैं लाग्थ्यो । कमिलाका ताँती छुटेजस्तै देखिन्थे । थानकोट कटिसकेपछि नागढुङ्गा, नैकाव, कलङ्कीहुँदै त्रिपुरेश्वर पुग्दासम्म जाममा पर्नुपरेको थियो । कष्टकर यात्रा टुंग्याउदै टुँडिखेल छेउमै रहेको बसपार्कमा उत्रियौं । त्यो दिन र रात बसपार्कै छेउमा रहेको लजमा बिताइयो ।

वीर अस्पतालमा बिरामी भर्ना हुनै मुस्किल । लगातार एघार दिनसम्मको फलोअपसँगै तत्कालिन झापा क्षेत्रनं. २ का सांसद माननीय देवीप्रसाद ओझाको सहयोगले बल्लतल्ल बिरामी भर्ना गर्न सफल भइयो । उपचारको क्रममा आदरणीय मामा विपिनकेशर प्रसाईं र माइजूको साथ सहयोग अतुलनीय छ । दाइ लक्ष्मीप्रसाद कटुवाल, मित्र उपेन्द्र आलेको साथ सहयोग बिर्सनै नसकिने रह्यो । अझ अस्पतालको लामो बसाइले स्वयंलाई जण्डिस रोगले समाएको बखत मेरो स्वास्थ्य सुधार गर्न मूख्य भूमिका निर्वाह गर्ने मामामाइजूप्रति नमन गर्छु ।

भर्ना भएको चार दिनपछि बुबाको सफल शल्यक्रिया भयो । डा. विश्वराज दलीर, डा. अर्जुनदेव भट्ट, जो शल्यक्रियामा सहभागी प्रमुख चिकित्सक हुनुहुन्थ्यो । स्वास्थ्य परिचारिकाहरु जो विशुद्ध सेवाभावले अहोरात्र बिरामीको उपचारमा खटिरहे,उनीहरुकै सहयोगले बुबालाई मृत्युको मुखबाट बचाउन सकियो । परिवारमा खुसी पुनर्बहाली भयो । वीर अस्पतालमा भर्ना गरिएको आठ दिनभित्र नै बुबाको सफल शल्यक्रिया र डिस्चार्ज भयो । घर छाडेको पुगनपुग महिना दिनपछि सकुशल अवस्थामा घर फर्काएर ल्याउन पाउँदा परिवारमा खुसीको सीमा रहेन । तर पठनपाठनमा एक बर्षपछि धकेलिनु पर्दा भने मन अमिलो भयो ।

खुदुनाबारी, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।