Mero Sabda

प्रवासन


– निरज आचार्य

कुहिरोले ढाकेको कुनै यस्तै बिहानी थियो त्यो
सपनाको औंला समाएर मैले गाँउँ छाडेको पल
दशक बितिसकेछ यसबीच

त्यो गोरेटो जसमा दौडेर मैले हिंड्न सिकेको थिएँ
आज सायद सडक भइसक्यो होला
पराले झुपडीहरु आज पक्की घर भइसके होलान्
हामीले खेल्ने गरेको चौतारी अझै छ कि नासियो होला ?
चौतारीको वरपिपल अझै छ कि मासियो होला ?
ढुङ्गेधाराबाट पानी आउँछ कि आउँदैन होला ?
सुन्छु जताततै मूलहरु सुक्दैछन् रे
मेरो गाँउले पेटभरि पानी खान पाउँछ कि पाउँदैन होला ?

गोठाला जाँदा खाने गरेका काफल, ऐंसेलु
भेट्छु कहिलेकाहिं विदेशका स्टोरहरूमा ‘अग्र्यानिक’का नाउँमा
गाउँहरु त युवा शुन्य छन् रे
आजकल खाइदिने मान्छे पो छैनन् कि गाउँमा
बाढी–पहिरोका कुरा पनि सुनिन्छन्
वेंशींको धान खेत बगायो कि सग्लै छ कुन्नि ?
मैले कखरा पढेको विद्यालय उस्तै छ कि बेग्लै भो कुन्नि ?

अस्ति टेलिभिजनमा देखेको थिएँ –
मेरो आँगनबाट देखिने हिमाल
अलि कालो भएछ
शायद बूढो भएर पो हो कि
केही भन्न खोजे झैं देखिन्थ्यो
गाउँका अग्रजहरु पनि त बूढा भए होलान्,
बुढ्यौलीसँगै एक्ला भए होलान्
केही भन्न खोज्दा हुन् तर सुन्ने कोही छन् कि छैनन् ?
सयपत्री त फुल्दो हो आँगनमा,
माला बुन्ने कोही छन् कि छैनन् ?

म जस्तै सपनाको औंला समाएर
मेरो पुस्ता पनि त हेलियो होला गाँउ बाहिर
कुहिरोले ढाकेका यस्तै कुनै बिहानीहरुमा ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।