Mero Sabda

एक थान ‘म’


– ऐतराज नेम्वाङ “सन्तोष”

त्यतिखेरसम्म निर्माण कार्यमा धेरै निपूर्ण भइसकेको थिएँ । दार्जिलिङको वातावरणमा रमिएर बाँच्न सिकिसकेको थिएँ । छुट्टिएर एक्लै बस्दा केही पट्यार चाहीं लाग्दो रहेछ । आफै खाना पकाउनु । साँझ परेपछिको सुनसान साइडमा एक्लै बस्दा दिक्क पनि लाग्थ्यो । दिनभर साथीहरुसँग काम गर्दा समय बितेको पत्तै हुन्थेन । तर साँझ परेपछि एकान्त बास झैं हुन्थ्यो । मधेशबाट गएको भएकाले पनि पारि डाँडामा हिँउ पर्दा जाडोमा एक्लै ‘सिउसिउ गर्दै’ रात बिताउँथे । हात ठिडि¥याएर पञ्जा लगाएर खाना पकाउँदा पञ्जामा सब प्वाल परिसकेको थियो ।

बेलुकी एक्लै बस्दा साथीको रुपमा चुरोट पिउने आदत बसिसकेको थियो । नयाँ–नयाँ सिक्दा स्वाट्ट–स्वाट्ट चुरोटको सर्को तान्दा टाउको नै रनन पारेर घुमाउँथ्यो । तर बिस्तारै बिस्तारै नजानि–नजानिदो तरिकाले आदत बसेको पत्तै भएन । म बसेको केही मास्तिर गुम्बाडाँडा भन्ने सानो बजार थियो । त्यहाँ भिडियो देखाउँथ्यो । कहिलेकाहीं त्यहाँ गएर फिलिम हेरिन्थ्यो । कहिले त्यो भन्दा माथि रिम्विक बजार गइन्थ्यो । रिम्विक बजारमा हाम्रो ठेकेदारको घर थियो । घरैमा किराना दोकान थियो । त्यस समयमा किराना दोकानमा सबै कुरा पाइन्थ्यो । जस्तै कपडाहरु पनि पाइन्थ्यो । म त्यहीं गएर कपडा र आफूलाई चाहिने चामल, तेल आदि किनेर ल्याउँथे ।

चौध–पन्ध्र वर्षको किशोर अवस्थामा मायाप्रेमका लागि अपरिपक्व समय हो, तर पनि नजानिदो तरिकाले कुनै युवती म तर्फ आकर्षित भएको रहेछ । त्यो कुरा म त्यहाँ आएपछि थाहा पाएँ । एक जना सोल्टिनीले मलाई मन पराएको छ अरे भन्ने खबर पाएँ । अब म विचरा अन्यौलमा परें । के भन्ने ? के खबर पठाउने ? हस् भन्ने ? हुन्न भन्ने ? त्यो खबर सुनेर मैले केही प्रतिक्रिया जनाए जस्तो त लागेन । म विन्दास आफ्नै कामको धुनमा रहें ।

एकपटक माघे संक्रान्तिको दिन परेको थियो । सबैजना हाइड्रोपावरको सुरुङ हेर्न जाने सल्लाह भयो । म पनि जाने भएँ । आफू एक्लै भएकोले बजारबाट आधा केजी सुँगुरको मासु ल्याएर अलिकति पकाएर खाएँ । बाँकी रहेको मासु भाँडामा उसिनेर राखें । भाँडामाथि ढक्कन, ढक्कन माथि डाडु र काठको टुक्रा राखेर सुरुङ हेर्न लागे । केही बेरपछि सुरुङ खनेको ठाँउमा पुग्यौं । सुरुङको केही भित्रसम्म पनि गयौं । बाहिर मानिसको धेरै भीड थियो । त्यो भीडमा त्यही सोल्टिनी पनि आएकी रहिछ । ऊ मलाई हेर्दै थिई तर मलाई लाज लागेर हो या उसको इशारा नबुझेर हो मैले ऊसँग बोल्ने आँटै गरिनँ । म आफ्नो धुनमा यताउता गर्न थाले । यस्तै रमाइलो र घुमघाम गर्दागर्दै हामी फि¥यौं । खै उनीहरु कति बेला फिरे मलाई थाहै भएन । कोठामा आएर त्यतिकै सुतियो । बिहान सबेरै उठेर खाना पकाउन भान्सातिर छिरेको म त छक्क परे । भाँडामा छोपेको ढक्कन आधा खुलिएको थियो । डाडु र काठको टुक्रा चुल्हाभित्र थियो र मासु सब गायब ।

बिरालोले खायो भनौं भने आधा ढक्कन खोलेर डाडु र काठको टुक्रा कसरी चुल्हाभित्र पस्यो ? यदि मान्छेले हो भने त्यति नाथे मासु चोर्न को आएछ ? चाहे जे होस् मासु राम्ररी खान पाइएन । काम गर्ने समय आएपछि सबै जना भेला भए । हिजोको बारेमा सबैले आ–आफ्नै वर्णन गर्न थाले । मैले पनि हिजोको घुमाइको वर्णन गर्न थाले । तर अचानक एक जनाले ‘हिजो सोल्टिनीसँग किन नबोलेको अरे’ भनेर खबर सुनायो । सोल्टिनी रिसाएको छ अरे भन्ने पनि सुनियो । अब मैले के भन्ने ? सायद म अपरिपक्व थिएँ होला यो मायाप्रितीको मामलामा । त्यस विषयमा मलाई न त जिज्ञासा थियो, न त केही रुची थियो । मैले केहि प्रतिक्रिया जनाइनँ । आज पनि सोच्छु ‘साँच्चै त्यो दिन म किन नबोलेको ? यदि त्यो दिन अहिले जस्तै सोचाइ भएको भए म बोलाउँथे । दुबै जना भएर कहीं एकान्त गएर बस्थ्यौं । मिठा–मिठा कुरा गर्ने थियौं । एक अर्काको मुटु साटासाट गथ्र्यौं ।’

तर त्यो किशोर अवस्थामा यो सबै सोचाइ आएन । आएको भए राम्रो हुन्थ्यो या नआएर राम्रो भयो ? अझै पनि यो प्रश्नहरुले मलाई झक्झकाउँछ । महिनाको पाँच सय चालिस रुपैयाँ थापेर सिक्किम (सोमबारे) हिँडेर गइन्थ्यो । आउन जान पनि चार–पाँच घण्टा लाग्ने । हाइड्रोपावर बनाएको राङभाङ खोला तरेर जानुपर्ने । तर पनि खै के रहर हो ? एकपटक पुगेर आउँदा गलेर भुतुक्कै ।

त्यति महिना काम गर्दा अब त धेरै निपूर्ण भइएछ । पुराना मजदुरहरुलाई हटाएर मलाई मात्र राखेको थियो । एक जना मजदुर राखेर त्यस साइडको सम्पूर्ण काम मैले नै सम्पन्न गर्नुपर्ने भयो । त्यो समय भनेको मेरो लागि चुनौतिपूर्ण थियो । कामले काम सिकाउँछ भन्थे । ठयाक्कै त्यस्तै भयो । त्यो साइडमा जे–जे गर्नुपर्ने थियो, मैले विना अवरोध काम गर्दै गएँ ।

सायद मेरो काम र कौशलमाथि ठेकेदारले धेरै विश्वास गरेछन् । घरबाट हिंडेको धेरै भइसकेको थियो । घरको यादले सताउँथ्यो । मेरी दिदिबहिनी, दाजु र बुबा के गर्दै होलान् ? गाउँ कस्तो भयो होला ? यस्तै कुराले छाती पोल्थ्यो । त्यस समयमा सूचना आदान–प्रदानको अन्य केही माध्यम थिएन, चिठी मात्र एक विकल्प थियो । कहिलेकाहीं चिठ्ठी लेखिन्थ्यो । त्यति नै हो खबर प्राप्त गर्ने माध्यम । मैले ठेकेदारलाई घर जाने भनेर अनुरोध गर्दा ‘अब यतिका सबै काम ग¥यौं । अलिकति काम बाँकी छ सबै सकेर जाउ’ भन्थे । दिन त जसोतसो बित्थ्यो, तर रात छट्पटिएर बित्थ्यो ।

यस निर्माणक्षेत्रमा पनि हामी जस्तो मजदुरले इमानदार साथ काम ग¥यौं भने र कामको सम्मान ग¥यौं भने इज्जत अवश्य नै पाइदोंरहेछ । यदि यसैमा आफ्नो कर्मक्षेत्र बनाउने हो भने आफ्नो कर्मक्षेत्रलाई सम्मान त गर्नैपर्छ । यस क्षेत्रलाई सम्मान र दामको लागि खुड्किलो बनाउँदा जीवनको बाटो सहज हुने रहेछ । किनकि अहिलेसम्म म यसै क्षेत्रमा इमानदार साथ काम गरेकै कारणले इज्जत साथ बाँच्न सकेको छु । र आफै पनि यसरी नै यस निर्माण क्षेत्रमा रहेर जीवन जिउने रहर छ । मेरो इच्छा त यही छ, तर हेरौं कहाँसम्म पुगेर टुङ्गिने हो, समयले कहाँ पु¥याउने हो ।

मेरो अनुरोध सुनेर हो या काम सकिएर हो, ठेकेदारले घर जाने विदा दियो । तर पैसा दिने बेलामा ‘फेरि फर्केर आउनु नि ’भन्यो । मैले पनि ‘हस्’ भनेर मुन्टो हल्लाएँ । मेरो खुशीले खुट्टा भुँइमा थिएन । केही वर्षपछि घर जान पाउनु भनेको मेरो लागि धेरै खुशीको दिन थियो । बहिनीलाई यो लगिदिन्छु, दिदीलाई त्यो लगिदिन्छु अनि दाजु त्यहाँ थिएन । पहिला नै भुटान गएको थियो । मनभरि यस्ता कुरा धेरै पलायो । म हतारिएर दाजुको घरमा पुगे । सोल्टी–सोल्टिनीहरु निराश मुद्रामा देखिन्थ्यो । कतिले यतै बसौन भने । कसैले म पनि साथमा जान्छु भने । सोचे जस्तो कहाँ हुँदोरहेछ र । न म त्यहाँ बस्ने विचारमा थिएँ, न त सोल्टीहरुलाई मसँग जान दिए । अन्तत म सबैलाई विदा मागेर ओरालो लागें । सोल्टी–सोल्टिनीहरु तल बाटोसम्म पु¥याउन आएका थिए । मैले पछि सुने– मलाई मन पराउने सोल्टिनी धेरै रोई अरे । त्यो सुन्दा मेरो मन नै रुएर आयो । मलाई मायाप्रेमको कख थाहा नभए पनि मन परेको मान्छे छुट्दा मन कति छट्पटिन्छ भन्ने कुरा चाहीं थाहा थियो ।

यहाँ घर आइपुग्दा विरक्त लाग्यो । बुबाले कान्छी आमा बिहे गर्नुभएको थियो । दिदीको बिहे भइसकेको रहेछ । कान्छीआमापट्टि एक भाइ र एक बहिनी भएर परिवार जसोतसो चलिरहेको रहेछ । त्यतिका वर्षपछि आफ्नो जन्मभूमि टेक्दा आफैलाई नियास्रो लागेर आयो । सधैं खेल्ने साथीहरु कोही कता पुगेछन् । आधा जति यतै गाँउमा नै रहेछन् । बिस्तारै यहाँ बस्न अभ्यस्त भएँ । उताको कर्मभूमि छाडेर यता आफ्नो जन्मभूमिमा आएर यतै फेरि कर्मभूमि बनाउन तम्तयार थिएँ । अहिले हिसाब गर्दा अन्दाजी अठ्तिस वर्ष भइसकेछ । फेरि फर्किएर जान पाइएन । अहिले पनि यसो सोच्छु– ‘के त्यो ठाउँ पनि थियो र ?’ जस्तो लाग्छ ।

यसरी नै प्रश्नैप्रश्नको तहका बीचमा आफूलाई अहिले पनि उभिएर जीवनको तीतो र मिठो प्रश्नहरु खोज्न बाध्य छु । प्रश्न म गर्छु तर जवाफ समयले कहिले देला र म आफू ढुक्क भएर जिउने छु । यस्तै अनुत्तरित प्रश्नको बीच बाँचेको एक थान ‘म’ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।