Mero Sabda

टाढा हुन्छौ किन ?


– मन्जु विमली

मेरो याद आउदैन रे, फेरि तिमी रुन्छौ किन
रुन्न भन्दै परेली त्यो, आँसुले नै धुन्छौ किन ?

मुटु भित्र छैन भन्छौ दया माया मेरो लागि
पल्टाउदै सिरानी, मेरै तस्बिर छुन्छौ किन ?

दिक्क मान्ने तिम्रा कान, मेरो बोली सुन्दासुन्दै
कुनै आवाज मेरै ठानी, फर्कि–फर्कि सुन्छौ किन ?

नङ्ग मासुको सम्बन्ध यो छुट्याएर छुट्टिदैन
चोट पार्दै आफैलाई फेरि आफै तुन्छौ किन ?

हात पाउ मिलाएर सँगै हिडौं भन्दाखेरि
मेरो कान्छु अर्कै छ भन्दै टाढा हुन्छौ किन ?

चण्डोल, काठमाडौं

प्रतिकृया व्यक्त गर्नुहोस् ।