Mero Sabda

हत्या गर्ने पार्टीसँग म आवद्ध हुन्न


– लिलक सिटौला

दिनभरि हामी धेरै साथीहरु खेलेर थाकेका थियौं । खेतबालीमा धान पाकेर पहेंलपुर थियो । बाली थन्काउनेहरु बाली काटेर थन्काउने होडबाजीमा थिए । मुसाले धान चोरेर लाने पनि त्यही समय थियो । किनभने मानिसले त आफ्ना बालबच्चा पालनपोषण गर्नका लागि जोहो गर्नुपर्दछ भने मुसा लगायत अन्य जन्तुले पनि आफू र आफ्नो सन्तानलाई पुग्ने गरी एक बर्ष अर्थात् एक मौसमको लागि खाने कुराको बन्दोबस्ती गर्दा रहेछन् ।

हामी गलेका थियौं । साँझ पख खाना खाएर निधाएका थियौं । तर बिहानपख हामी छिट्टै जाग्दथ्यौं । शनिश्चरेमा मान्छेले मान्छेलाई मारेको खबर सन्सनी फैलिसकेको रहेछ । बजारदेखि करिब डेढ–दुई किलोमिटर पूर्व सालबारी जंगल पर्दथ्यो । हामीले अंगेरी खाने जंगल त्यही थियो । त्यसै जंगल पूर्वपट्टि एक साधारण किसानलाई डाकाहरुले काटेर मारे भन्ने हल्ला चलेको थियो । त्यो हल्लाले यस क्षेत्रमा बस्ने सबैलाई र हामी केटाकेटीको मनमा पनि एक किसिमको डरले डेरा बसाएको थियो । मर्ने मान्छेको थरि चौधरी थियो भने नाम बुटन थियो । बुटन चौधरीलाई के कारणले मारे भनेर बुझ्न हामीहरु पनि सालबाडी गएका थियौं ।

मानिसहरुको घुइँचो थियो । लास लडिरहेको थियो । आफ्ना परिवारजन रुनैमा व्यस्त थिए । हामी र अरु सबै रमिते थिए । प्रहरीको बाक्लो उपस्थिति थियो । बुटन चौधरीका ज्वाइँ बत्तु चौधरीको इसारामा एक–दुई जना मानिसलाई प्रहरीले पक्राउ गरिसकेको थियो । हामी भन्दा ठूला दाइहरु डराएर फर्किन थाले । किनभने प्रहरीले को–कोलाई समात्छ टुङ्गो थिएन । त्यो त्रासले हामी पनि फर्कियौं । बजार आएपछि पो हामीलाई थाहा भो, डाकाले होइन कम्युनिष्टका नाममा पो मान्छे मार्ने अभियान शुरु गरेका छन् कसैकसैले । सामन्तिहरुलाई मास्ने त्यो बेलामा अलि हुनेखानेलाई सामन्ति भन्दा रहेछन् कम्युनिष्टहरुले ।

मेरो मस्तिष्कमा भने बुटन चौधरी त्यति धनी मान्छे थिएनन्, उनी एउटा साधारण किसान थिए । किन मारेको होला, मलाई नमिठो लाग्यो– मान्छेले मान्छेलाई काटेर मारेको, पशुबलि दिए जस्तै । शनिश्चरेमा सानातिना घटनाहरु घटी रहन्थे । अब आतकंको शुरुवात् भए जस्तो लाग्न थाल्यो । हत्याका घटनाहरु हाम्रै शनिश्चरेबाट शुरु भएको जस्तो लाग्न थाल्यो त्यसपछि मलाई । किनभने लगातार हत्याका श्रृङ्खलाहरु बढ्न थाले । धेरै सुन्न थालियो । विष्णुप्रसाद विमली, ईश्वरप्रसाद चुडाल, कर्णबहादुर गौतम, उद्रकान्त राजवंशी, धर्मप्रसाद ढकाल, ज्ञानीराम ढकाल लगायतलाई मारेको कुरा सुनियो । कुनै हत्या भएको ठाउँमा आफै गएर देखियो ।

त्यो दृश्य देखेपछि मेरो मन र मस्तिष्कमा नराम्रो चोट लाग्यो । कम्युनिष्टहरुले मान्छे काट्दा रहेछन् । राजा भएको देशमा नक्सलवादीको चलखेल भएको थियो । नक्सल भनेको कुन ठाउँ हो, थाहा थिएन । थाहा पाउँदा त त्यो ठाउँ त भारतमा रहेछ । देशको सीमानामा रहेको मेची नदी भन्दापनि पाँच–सात किलोमिटर पर ।

त्यहाँबाट धेरै मजदुरहरु हाम्रो शनिश्चरेमा आएर काम गर्दथे । कृष्णमिल, नेपालमिलका कुल्ली क्वाटरमा धेरै कुल्लीहरु बस्दथे । मजदुरी काम गर्ने मानिसहरुलाई कुल्ली भन्दथे । हामी नेपालीहरु कति धनी थियौं । हाम्रामा काम खोज्दै आउने मानिसहरु धेरै जसो भारतीय नै थिए । अहिले हामी भारतमा गएर मजदुरी गछौं । अनि बहादुर र कान्छा भन्ने नामले कहलिएका छौं ।

हत्याका घटनाका कारणले मलाई कम्युनिष्ट मन परेन । किनभने म सानो झुपडीमा जन्मेको थिएँ । परिवार गरीब थियो । तर पनि शनिश्चरेको हित हुनपर्छ भन्ने लाग्थ्यो । यस क्षेत्रको उन्नति र प्रगतिमा काम गर्ने धर्मप्रसाद ढकाल, बुटन चौधरी जस्ता मान्छेको हत्या गरेको मेरो आँखैले देखेको थियो । त्यसले दिमागमा एकदमै नकरात्मक प्रभाव पार्यो । बजार र समाजको विकास गर्ने विकासप्रेमी मानिसहरुको हत्या गर्ने पार्टीसँग म कहिल्यै आवद्ध हुन्न भन्ने अठोट मनमा उब्जियो । त्यसैले कहिल्यै त्यस पार्टीसँग नजिक भइनँ ।

धेरैले मलाई फकाए । ‘तिमी गरीब परिवारको केटो कम्युनिष्ट पार्टीमा लाग । कम्युनिष्ट पार्टी भनेको गरीबहरुको पार्टी हो’ भनेर आउने प्रथम व्यक्ति थिए आदरणीय दाइ टंक उप्रेती । मेरो सहपाठी हस्त कार्कीहरु लगायतहरुले पनि मलाई त्यो पार्टीको सदस्य बनाउन ठूलो कसरत गरे । त्यो बेलामा एउटा ठूलो मान्छे आएका थिए । झापामा त्रिपाल काण्ड गरेका व्यक्ति भन्थे । मेरो दिमागमा स्पष्ट त छैन, तर सायद ती व्यक्ति मदन भण्डारी हुनुहुन्थ्यो जस्तो लाग्छ । उनले पनि मलाई पार्टीमा लाग्न निक्कै फकाए । म टसमस भइनँ । किनभने मेरो कलिलो दिमागमा त्यो पार्टीप्रति नराम्रो छायाँ बसिसकेको थियो । पशुलाई जस्तै मान्छे काट्ने सिद्धान्त भएको व्यक्तिसँग मेरो सहमति हुँदैन थियो र कहिल्यै हुँदैन पनि ।

त्यो घटनापछि बजारमा अर्कै किसिमको माहौल बन्यो । हाम्रो सानो झुपडीघरको पूर्वपट्टि तुतबारी पैनी थियो । त्यो पैनीको पूर्वपट्टि पटवारी साहेव अर्थात् हरिविलास बनको बस्ने गद्दी थियो । शनिश्चरेमा नाम कहलिएका व्यक्तिहरु त्यही गद्दीमा आएर बस्न र सुत्न थाले आफ्नो ज्यान बचाउनका लागि । किनभने बजारमा अलिक बढी बाक्लो बस्ती थियो भने प्रहरी चौकी पनि त्यहीं नजिकै थियो । हाम्रो घरको पूर्वपट्टि साँझमा धेरै हल्लाखल्ला हुन्थ्यो । सायद ठूलाबडाहरु सबै मालपानी खाएर राति ठूलोठूलो स्वरमा बोल्थे होला । मलाई के मतलब म भने उनीहरुको हल्लाखल्लामा नै सुतिदिन्थें ।

धर्मप्रसाद ढकालको हत्यापछि मान्छे मार्ने काम अलिक सेलाएर गयो किनभने उहाँ ठूलो पहुँच भएको होनहार मान्छे हुनुहुन्थ्यो । ठूलो राजनीतिक पहुँच भएकाले तत्कालिन सरकारले कडा कदम चालेको थियो । पछि सुन्नमा आयो पंचायतका शासकहरुले नै नक्सलवादीहरुलाई सगाएका हुन् कांग्रेसहरुलाई समाप्त पार्नका लागि । हुन त हरिराज आङ्दाम्बे र श्रीथर खरेललाई पनि हत्या गरेका थिए अरे, तर यी दुबैको हत्यालाई भने हत्या गर्ने पार्टीले जिम्मा लिएका थिएन ।

उनन्तिस सालभरि यस्तै खबरले बजार तात्थ्यो । यस्तै खबरका बीच पनि बजार भने मज्जाले लाग्दथ्यो । एउटा बिहारी मान्छेले एउटा बाँदर र एउटा बाँदर्नी लिएर बजारमा आयो । उनीहरुको नाच देखाउन थाल्यो र मान्छेको भीड गरायो । धेरै बेर नचाएर बाँदरलाई एक जोडी नयाँ लुगा लगाइ दियो । झोलाबाट झिकेर बाँदर्नीका लागि नयाँ लुगा भुइँमा राखिदियो । अनि भन्न थाल्यो मदारीले– ‘अरे बाँदर्नी ! इस बन्दर से शादी करोगी ?’ बाँदर्नीले टाउको हल्लाउँछे । ‘गर्छु’ भने जस्तै भान दर्शकहरुलाई भयो । त्यसपछि डम्बरु खुब बजायो । त्यो लुगा बाँदर्नीलाई लगाइ दियो र विवाह गरिदियो । उनीहरुको विवाहको खर्च भने दर्शकहरुले भरिदिए । विवाह भोज भने होटलमा आफूआफूले पैसातिर खाए ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।