Mero Sabda

गरीबका सपना सामान्य हुन्छन्


– ऐतराज नेम्वाङ “सन्तोष”

जन्मभूमिमा भए पनि दार्जिलिङबाट फर्किएपछि नयाँ परिवेश र नयाँ समाजबीच कावा खाँदै, बाँच्ने बहाना खोज्दै जीवन कुहिरोको काग जस्तै बनेकाले म पनि रुमल्लिरहें । केही दिन पश्चात् म आफ्नो निर्माण क्षेत्रमा लागे । मलाई पहिला काम सिकाउने गिरी काका र नेपाले बाबै दुवै जना अझै पनि निरन्तर काम गर्दै हुनुहुदोरहेछ । मलाई नलिने त कुरै भएन । त्यस बेला यस क्षेत्रमा केही नयाँ अनुहारहरु पनि देखियो । सन्थाल जातिहरु पनि धेरै जना यस क्षेत्रमा प्रवेश गरेका रहेछन् । जसमा कोही–कोही निकै राम्रो मिस्त्री भइसकेका रहेछन् । उदाहरणमा शम्भू हेमरम, वुडका हेमरम । तर धेरै जस्तो मजदुर नै थिए । पहाडेमूलका पनि धैरै थिए । तर एक दुई जना चाहीं पलायन भए जस्तो लागेको थियो । जस्तै नेपाले बाबैको माइलो छोरो मदन दाइलाई त्यहाँ देखिन । सायद अन्तै कतै गएका थिए होला ।

त्यस समय भने फाट्टफुट्ट निर्माणका कामहरु भइरहन्थ्यो । घरहरु निर्माण हुन थालेको थियो । सायद नयाँ युग जस्तो लाग्छ । किनकि पहिला यहाँ हुँदा प्राय शुन्य जस्तै थियो तर अहिले मजदुरको संख्या धेरै बढेर आए जस्तो लाग्यो । मनमा नयाँ जोस, नयाँ उमङ्ग साथ म पनि यसै लहरमा होमिएँ । अब जे होला समयले जहाँ पु¥याउला । जहाँ पु¥याए पनि पुगौंला, जहाँ ठोक्किए पनि ठोक्यौंला । अब म यसैमा आत्मसमर्पण गरेर होमिए । एउटा अठोट साथ अनि इमान्दारी साथ ।

एक दिनको कुरा हो । घरमा बहिनी र म मात्र थियौं । त्यसै समयमा हाम्रो बडाको छोरा कामु आइपुग्यो । केही क्षण पश्चात् बहिनी पनि बाहिर लागिन् । अब हामी दुईजना मात्र रह्यौं । त्यसै समयमा एउटा भाले पोथीलाई पछ्याउँदै हाम्रो घरभित्र छि¥यो । हामीले एक अर्कालाई हे¥यौं र दैलो थुनेर त्यो भाले समात्यौं । समात्यौं मात्र होइन मुन्टो बटारेर मारेर कुनामा राख्यौं । अब हामीलाई रातिको प्रतिक्षा भयो ।

जब रात प¥यो, हामी फेरि भेला भयौं र ठूलो भाँगामा पानी तताउनको निम्ति आगो बाल्यौं । त्यसको केही बेरमा बडीआमा आउनु भो– ‘ए केटा हो, के गरेको’ भन्दै कराउनु भो । मैले पनि– ‘चिया खान पानी तताएको’ भन्दा पत्याउनु भएन । ‘यत्रो ठूलो भाँडामा पनि कही चिया पकाउँछ’ भनेर अविश्वास गर्नु भो । होइन नुहाउनको लागि तताएको भनेर जवाफ दिएँ । बडीआमाले ‘ए’ भनेर आफ्नो घर लाग्नु भो ।

‘हैट ! तेरो आमाले झन्डै पक्डेको’ भन्दै मैले तातेको पानी उतारें अनि कुखुरा भुत्ल्याउन थाल्यौं । त्यस समयमा विद्युतको सहज थिएन । सानो बत्तीमा मट्टितेल हालेर पाटाको सलेदो बनाएर बाल्नु पथ्र्यो । हामी कुखुरा भूत्ल्याउन तल्लिन थियौं । त्यसै समयमा ‘ए ! के गर्दैछौ ?’ भनेर भेना आइपुगे । हामीले हत्तपत्त बत्ती निभायौं । केही होइन भेना बत्तीमा तेल सकेर तेल हाल्न लागेको भनेर जवाफ दियौं । उनी पनि ‘ए’ भन्दै घरतिर लागे । भेना भन्नाले हाम्रो बडाको छोरीसँग बिहे गरेको त्यही छिमेकको दाइ हो तर दिदीसँग बिहे गरेपछि भेना भनेको हो । हाम्रो घर अगाडि बाटोपारि नै उहाँको घर थियो । श्रेष्ठ थरको । योगेन्द्र श्रेष्ठ । कामुको साख्खै भेना ।

कुखुरा काटकुट पारेर आगो बालेको अलिक चिसो दाउरा परेछ । बल्दै नबल्ने । कराइ बसाएर तेल हाल्यौं अनि मासु ओइराएको दबाई पनि गरेन । सायद तेल तात्तिएको थिएन होला । मसला खोर्सानी केही थिएन । नून हालियो बस यति नै । केही बेर पकाएपछि अब पाक्यो भनेर निकाल्यौं । त्यसै समयमा भेना टुपलुक्क आइपुगे । अब प¥यो फसाद । उसले पनि केही हकारे जस्तो गरेर एउटा बटुको निकाल्यो र ‘भर्ती हाल’ भनेर थाप्यो । हामीले चुपचाप एक बटुको मासु दिएर पठायौं । त्यसपछि हामी लामो श्वास फेर्दै मासु खान थाल्यौं ।
केही दिनपछि म आफ्नो निर्माण कार्यमा जान थालें । केही महिना फुपाको साथमा काम गरेपछि म उहाँबाट अलग भएर काम गर्ने विचार गरें । कारण के भन्दा त्यही पैसाको बारेमा । मेरो हाजिरा कति हो वास्तवमा मलाई नै थाहा थिएन । मन लागि थाप्नु पर्ने । एउटा निश्चित हाजिरा थिएन । त्यस समयमा शनिश्चरे खानेपानीको कार्य सुरुवात् हुँदै थियो । म पनि त्यसमा लागें । अन्दाजी त्रिचालिस–चौवालिस सालतिर होला । त्यसको कम्पाउण्डको वाल लगाउने कार्य सुरु भएको । ठूलो बजेटको कार्यक्रम काम गर्ने स्थलमा काम गर्नेको धेरै भीड हुन्थ्यो । मैले पहिलो पटक हो त्यस्तो मानिसको भिडमा काम गर्न पाएको । खुबै रमाइलो हुन्थ्यो । दिन बितेको पत्तै हुन्थेन । फेरि त्यसमा म सत्र–अठारको लक्का जवान । भर्खर जुँगाको रेखी बस्न थालेको समय । कस्तो जाँगर हुन्थ्यो होला । एउटा नयाँ उमंग । नयाँ जोश । काम गर्न त जानेकै थियो । त्यसमा पनि फुर्ति ज्यादा । केमा कम थिएँ र ।
भन्छन् नि पाकाहरु ‘उडेको चरा समाउने बेला’, हो त्यस्तै बेलाले हौस्याएको समय । हाजिरा त्यस्तै बीस रुपैयाँ दिनको थियो होला । त्यस बेला चार रुपैयाँ किलो चामल पाइन्थ्यो । बीस रुपैयाँ हाजिरा पाउँदा पनि सन्तुष्ट भइन्थ्यो । आफूले परिवार त पाल्नु पर्दैन थियो । बुबा, आमा हुनुहुन्थ्यो । जेनतेन गरेर परिवारको गुजारा हुन्थ्यो । अलिअलि खेती गर्थे बुबाआमाले । आफूलाई चाहीं खेतीकिसानी काम भनेपछि मनै मरेर आउँथ्यो । सायद कर्ममा निर्माण मजदुर नै हुनु भनेर लेखेर ल्याइएछ कि जस्तो लाग्थ्यो । किनकि जति नै गारो भए पनि मजदुरी गर्दा रमाइलो लाग्थ्यो । एक प्रकारको सन्तुष्टि मिल्थ्यो । त्यो खानेपानी कार्यालयको पर्खाल लगाइयो । त्यसपछि त्यहाँ भएका भवनहरु पनि बनाइयो ।

त्यो भवन बनाउने क्रममा एउटी राम्री युवती मलाई भेट्न आउँथी । मेरै उमेर कि । निकै सजिएर मुस्कुराउँदै आउँथी । मलाई चुरोट र अरु खानेकुराहरु ल्याइ दिन्थी । म पनि के कम, त्यो सामान लिएर ऊसँगै केही क्षण बसेर गफ गरिदिन्थें । ऊ लजाउँथी, म गमक्क पर्थें । सायद प्रेम भनेको यही नै होला । प्रेमको यो पहिलो अनुभव मिठै लाग्यो । मलाई लाग्यो– म अब तन्नेरी भएछु ।

त्यस समयमा हामी पहाडेमूलकाहरु पनि यस निर्माण क्षेत्रमा लाग्न थालेका थिए तर मेरो उमेरको चाहीं खासै देखिनँ । मजदुरी गर्दागर्दै पनि कुनै युवतीले मलाई मन पराउनु भनेको त म आफूलाई भाग्यमानी ठान्थें । त्यो भवन निरन्तर बनिरहने क्रम चल्दै थियो । अन्त्य अन्त्यमा आएर धेरै जनाले काम छाडी सकेका थिए । शम्भू हेमरम र म थियौं । सायद सम्पूर्ण काम नसकिनै ऊ पनि कामदेखि बाहिरियो । र अन्त्यमा रहेको काम सम्पन्न गरेर मात्र म हिंडेको थिएँ ।

त्यो साइडको काम पनि सकियो, यता मेरो प्रेमीका पनि खोई किन हो सम्पर्कमा आउन छाडी । सायद उसले मसँग केही धेरै नै अपेक्षा राखेकी थिई कि ? वा त्यस्तै अरु केही कारण हो ? कि त वैंसको लहैलहैमा प्रेम गरिएको हो ? वर्खाको भेल झैं ऊ आई र हिँउदोमा खोला सुके जस्तै भएर हराएर गई । मलाई त्यसमा त्यति ठूलो पीर र सन्ताप केही लागेन । म केही कुराको पनि पीर नलिने विन्दास खालको मान्छे परेछु । न केहीको चिन्ता, केवल आफ्नो कर्मक्षेत्रमा एकनास तल्लिन । कहिले काहीं केही रमाइलो गरिन्थ्यो, त्यो त हरेक युवाहरुको दिनचर्या नै हो । यसै क्रममा त्यो घटना सबै बिर्सिएर गइयो ।

२०४५ सालको अन्त्यतिरको कुरा हो । मनोज बुढाथोकीकोमा काम गरिरहेको समयमा अचानक डिल्लीविक्रम नेम्वाङ ‘माइला काजी’ले खबर पठाएछन्– ‘चाँडो भन्दा चाँडो मलाई भेट्नु’ भन्ने । खबर पाएपछि हतारिएर खुदुनाबारी पुगियो । पुगेपछि जानकारी भयो– श्रमिक आपूर्ति केन्द्र भद्रपुरबाट छ महिने अल्पकालिन डकर्मी तालिमको लागि प्रशिक्षक चाहिएको छ ।

नागरिकता लिएर भद्रपुर जानु भन्ने सुनेपछि म दौडिएँ भद्रपुर । त्यहाँ पुगेर सम्पूर्ण कागजहरु मिलाएर फिरें । छ महिना डकर्मी तालिम गराउनुपर्ने । मासिक तलब एक हजार बीस रुपैयाँ पाइने । प्रशिक्षार्थीलाई पनि मासिक दुई सय रुपैयाँ उपलब्ध गराउने भए । त्यसपछि म प्रशिक्षकमा नियुक्त भएँ । यसो कल्पना गरें– नपढेको मान्छे भएर पनि आफूले सरकारी जागिर पाइयो । हर्षले मन गद्गद् भयो । बीस वर्षको कलिलो उमेरमा सरकारी जागिर पाउनु भनेको मेरो लागि सगरमाथा चढेझैं लाग्यो । प्रशिक्षण गर्नुपर्ने साविक खुदुनाबरीको गाँउ पञ्चायत भवनमा रहेछ । प्रशिक्षार्थी आठ जना जम्मा भए ।

त्यस समयमा खुदुनाबारीमा इँटाको गा¥हो लगाएको घर कहींकतै थिएन । जसोतसो सामान भेला गरेर तालिम शुरु गरियो । नयाँ सिकारुहरुलाई पहिला पहिला काम सिकाउन धेरै गा¥हो । न सामानको नाम थाहा हुने, न त नाप्न आउने । सिमेन्ट बालुवा मोल्न पनि आफैले गरेर देखाउनु पर्ने । एक दिन इँटा जोडाइमा ‘तीन पावा ले’त’ भनेर मागेको विचराले उचालेर जोख्दै थियो ।

त्यसै साल प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन शुरु भएको थियो । पञ्चायती व्यवस्थाको हिमायतिहरुको त्यही कार्यालयमा कार्यक्रम हुन्थ्यो । राजाको जन्मोत्सव पुस १४ गतेको कार्यक्रम त्यही कार्यालयमा भव्य साथ मनाएको थियो । आफू त परियो प्रशिक्षक, उपस्थिति त हुनै प¥यो । त्यस समयमा राजनीति के हो ? भन्ने बुझेकै थिइनँ । भनौं त्यति खासै चासो हुन्थेन ।

सीमित आय, मध्यम वर्गका हामीलाई अहिले जे छ त्यही नै सबै थोक थियो । न मलाई ठूलो सपना देख्नु थियो, न त वैभवको कल्पना गर्नु थियो । म सानो सानो खुशीमा खुशी हुन चाहन्थे । अन्यले के चाहन्छन् मलाई मतलब हुने कुरा भएन । अहिले पनि म जस्तो छु र पहिला जस्तो थिएँ । त्यस्तै रहन्छु र रहन पाउँ । गरीबका सपनाहरु सामान्य हुन्छन् । पेटभरि खाना, पानी नचुहुने र हावाले नउडाउने घर, विरामी हुँदा उपचारको व्यवस्था, बालबच्चालाई शिक्षा, यस्तै सपना भित्र बाँच्नेहरुलाई ठूला ठूला सपनाले विटुल्याउँछ मात्र जस्तो लाग्छ आज पमलाई ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।