२०७८ असार ४ शुकर्बार
Mero Sabda

महिला दीर्घायुको कुनै चाड छ ?


– आरती आचार्य

कुनै एक मात्र भए पनि नेपाली चाड जहाँ सम्पूर्ण पुरुष जातिले नारी जातिको दीर्घायुको कामना गरी मनाउन पाइयोस् । त्यस्तो कुनै चाड छ ? नेपाली समाजका हरेक चाडमा बीचमा खोई कताबाट निमित्त देवी घुसाइन्छ, जसको अस्तित्व तस्बिरमा मात्र हुन्छ । हरेक चाडमा पूजा गरिने देवीलाई वास्तविकतामा स्वीकार्न सकिदैन भने म त भन्छु देवी पूजा नगरौं । वास्तवमा एउटा पनि चाड छैन, जहाँ नारी जातिको रक्षाको, सुस्वास्थ्यको कामना गरिएको होस् । तीजलाई नारी जातिको पर्व भनिन्छ तर तीज आफैमा पतिको दीर्घायुको कामना गर्दै निर्जल व्रत बस्ने दिन मानिन्छ । यस अर्थमा तीज नारीको पर्व या नाम मात्र नारी जातिको ? महिनौं पहिलेदेखि वियर खाएर मनाउने तीज त विकृतिको रुपमा भित्रिएको न हो ।

हिन्दु सँस्कारको हरेक पर्वहरुमा नारीहरुको अस्तित्व दाजुभाइ या श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्दै या कुनै पूजा गर्दै सकिन्छ । यदि यसो होइन भने मलाई कुनै चाड देखाइदिनुस् जहाँ दाजु या भाइले दिदीबहिनीको रक्षाको निम्ति नर्के चतुर्दशीको चिसा ठिहिर्याउने रातमा नर्के नुहाएर नर्के बगाउन् । दाजुभाइले दिदीबहिनीका बाधाअड्चन फुकुन् भन्दै सँघारमा ओखर फुटाउन्, धारा हालुन् या सब गरून् । जस्तो दिदीबहिनी गर्छन् । दशैंका दुर्गाहरु हुन्, तिहारका लक्ष्मीहरु हुन् या श्रीपञ्चमीका सरस्वतीहरु, ती सबै तस्बिरमा सजाइएका अस्तित्व हुन् । जसले वास्तविकतामा अलिकति पनि अर्थ राख्दैनन् ।

नेपाली समाजमा जुनसुकै चाड आओस्, त्यो महिला वर्गको लागि आउँदैन । हरेक चाडमा महिलाहरु भान्सेकारुपमा खटिएका जनशक्ति मात्र लाग्छन् मलाई । होइन भने दशैंमा पाहुना उम्काउँदा उम्काउँदा हैरान परेका आमाहरुलाई सोध्नुस्, तिहारमा हरेक सामान ठिक्क पार्दा–पार्दा दिक्क परेका दिदीबहिनीलाई सोध्नुस् । घरका अरु सदस्य तास या रमाइलोमा रमाइरहँदा कति आमाहरु होलान्, जो ती रमाइलोमा समावेश भएका हुन्छन् ? हामीलाई त ‘आमा ! फलानो खानेकुरा चाहियो, छिट्टै पकाउनु’ भन्दैमा फुर्सद छैन । आमालाई किन मिसाउने हाम्रो रमाइला गफहरुमा ? हरेक चाडपर्व, जसले खुशी बोकेर आउँछ भन्छौं हामी, अक्सर ती चाडहरु महिला वर्गका (विशेष आमा या बुहारी वर्गको) लागि झन्झटिलो काम हो ।

हाम्रो समाजमा कति त्यस्ता आदर्श परिवार होलान्, जसले महिला र पुरुषको समान सहभागितालाई ब्यावहारमा उतार्न सकेको होस् ? तपाईंले देख्नुभएको छ ? मैले त छैन है । हो मेरो प्रश्न यहींबाट उठ्छ । सदियौँदेखि चलेर कयौं वर्षदेखि परिष्कृत गरिएका चाडपर्वमा त नारीको अस्तित्व एक भान्सेको भन्दा माथि उठेको छैन भने तत्कालिन परिवेश कस्तो हुँदोहो ? त्यो पितृसतात्मक समाज कतिसम्म बर्बर हुँदोहो ? यो प्रश्न त्यही व्यवस्थालाई जसले हरेक पर्वमा नारी विद्रोह शान्त पार्न देवीको अमूर्त रुप घुसाइदियो । खोई त उही अस्तित्व ? किन नारीका सुस्वास्थ्यका, नारीका विजयका, नारीका दीर्घायुका कामना गरिने चाडहरु छैनन् ? के तत्कालिन समाज यसको आवश्यकता ठान्दैनथ्यो या आफू शक्तिशाली कहलिन चाहन्थ्यो ? यदि त्यसो होइन भने श्रीमान्ले श्रीमतीको दीर्घायुको कामना गर्दै व्रत बस्ने कि नबस्ने ? दाजुभाइले दिदीबहिनीको असल जिन्दगीको कामना गरेर केही समय दिने कि नदिने ? हामीले चाडपर्वलाई हेरिरहेको दृष्टिकोण बाहेक अरु कोणबाट हेर्ने कि नहेर्ने ?

वास्तवमा यदि चाडपर्वले सद्भावना ल्याउँछन् भने हरेक वर्गलाई ल्याउनुपर्छ, खुशी हरेक ठाउँमा फुल्नु पर्छ । रक्षाबन्धनमा दाजुले बहिनीलाई बाँधिदिए पनि हुन्छ होला नि राखी ? आखिर जसको भए पनि लामो आयुको कामना गर्ने न हो । अबका हरेक चाड यी दुई वर्गको समान अस्तित्वलाई सम्बोधन गर्ने गरी आओस् । हरेक चाडमा आमाहरु भात पकाउँदै, दिदीबहिनीहरु घरका माकुराको जालो सफा, गर्दै भाँडा धुँदै र पुरुष जातिहरु तासमा झुम्दै नआओस् । मलाई त यो पटक्कै स्वीकार्य छैन । अनि तपाईलाई ?

मलाई यस्तो लाग्छ– विवाह नामको संस्था आफैमा विभेदकारी छ । सिन्दुर र चुराको सौभाग्य भिराइदिएर समानताको अस्तित्व खोसेर लान्छ र भित्र्याइ दिन्छ पितृसत्ताको एउटा दलदलमा । लिङ्गकै आधारमा कोरिदिन्छ मर्द र नामर्दको सिमाङ्कन रेखा अनि कोरिदिन्छ भोलिको सत्ताका उत्तराधिकारी सुनौला अक्षरले । यी नमिलेका समानताको ग्राफ तपाईलाई पनि चित्त बुझ्दैन भने आउनुस् हामी पनि आवाज उठाऔं र मागौं पुरुष केन्द्रित यी चाडपर्वका स्पष्टिकरण । मागौं अलकति सहयात्राका पैदल यात्राहरु । ए तिमी ! उनी तिम्रा निम्ति व्रत बस्दै गर्दा तिमी पाउको जल खानुपर्ने सर्त नराखिदेऊ । मिल्छ भने दिदी तिहारको माला उन्दै गर्दा तिमी सियोका सम्भावित खतराबाट बचाऊ । चाड तिम्रो मात्र होइन हाम्रो पनि हो, यो आभाष देऊ न है ?

बेनी

प्रतिकृया व्यक्त गर्नुहोस् ।