२०७८ असार ४ शुकर्बार
Mero Sabda

छोरी चाहिं किन चाहिंदैन ?


– प्रजिता शिवाकोटी

सर्बप्रथम त मलाई गर्व लाग्छ कि म यस धर्तीमा छोरी भएर जन्म लिन पाएँ । तर दुःख पनि लाग्छ छोरीहरुलाई अवहेलित गरिएको खबरहरु अर्थात् घटनाहरु सुन्दा । किनकि कतिपय मानिसहरुले छोरीहरुलाई नराम्रो दृष्टिले हेर्ने गर्छन् । यसै कारणले होला छोरीहरुले आफ्नो जीवनमा भनेको वा चाहेको कुरा गर्न क्षमता भएर पनि असमर्थ हुन्छन् । किनकि मानिसहरु र समाजको डरले गर्दा ।

हाम्रो बाजेपुर्खाहरुले भन्ने गर्थे कि यदि रात्रीको समयमा छोराहरु घरदेखि बाहिर गयो भने केही हुँदैन तर छोरीहरुलाई चाहिं मानिसहरुले नराम्रो सोच्ने गर्थे अरे । त्यसैले छोरीहरुले घरबाहिर निस्कन पाउँदैनथे, घरमा नै बस्नु पथ्र्यो ।

पहिलाको समयमा मानिसहरु शिक्षित हुँदैन थिए, त्यसैले गर्दा छोरीहरुलाई शिक्षा दिन आवश्यक ठान्दैनथे । भन्ने गर्थे कि छोरीहरुले शिक्षा प्राप्न गरेर केही काम लाग्दैन । किनभने उनीहरुले पछि आफ्नो घरपरिवार समाल्नु पर्छ । यस्तै सोचका कारण छोराको शिक्षालाई मात्र महत्व दिने गर्थे । तर समय बित्दै जाँदा मानिसहरुको सोच बदलिंदै गयो । सबै जना शिक्षित हुँदै गए । अनि आफ्नो गल्तीहरु सुधार्दै जान थाले । पहिला छोरा र छोरीबीच भेदभाव गर्थे तर बिस्तारै सबै घट्दै गयो ।

अघिका मान्छेहरुले भन्ने गर्थे कि छोराहरुले छोटा लुगा लगायो भने ‘फेसन’ अरे, त्यही छोटा लुगा छोरीहरुले लगायो भने इज्जत नभएको बेइज्जती अरे । तर अहिले त्यो सबै भेदभाव घट्दै गएको छ । छोरालाई मात्र होइन, छोरीहरुले पनि बराबरीको शिक्षादीक्षा दिन थाले । जसले गर्दा आजको दिनमा छोरीहरुले पनि प्रत्येक कुरामा सफलता प्राप्त गर्न समर्थ भएका छन् । छोरीहरु अनेक क्षेत्रमा प्रगति गरिरहेका छन् । जस्तै डाक्टर बनेका छन्, कति वकिल, इन्जिनियर, पाइलट, वकिल, पुलिस, आर्मी, ठूला–ठूला अफिसर साथै अन्तरिक्षसम्म छोरीहरु पुगेका छन् । अर्थात् छोराहरु पुगेका हरेक क्षेत्रमा छोरीहरु पुगेका छन् ।

यो सबको कारण भनेको मानिसहरुको बदलिंदो सोचले गर्दा नै भएको हो । तर अहिले पनि कतिपय ठाउँहरु छन्, जहाँ अझै पनि उन्नति भएको छैन । त्यस्ता ठाउँहरुमा अझै पनि छोरी जातिलाई नराम्रो व्यावहार, शोषण, अत्याचार गर्ने गर्दछन् । तर उनीहरु केही बोल्न सक्दैनन्, कारण यदि उनीहरुले त्यसको विरुद्धमा बोल्यो भने आफ्नो इज्जत जान्छ भन्ने डरले गर्दा उनीहरुले त्यो कुरालाई आफूभित्रै दबाएर वा गुप्त राख्ने गर्दछन् ।

आजको दिनमा सरकारले पनि छोरीहरुको लागि राम्रो–राम्रो सुविधा र सुरक्षाका कानूनहरु ल्याएका छन् । जसले गर्दा उनीहरु आफूलाई केही मात्रामा भए पनि सुरक्षित अनुभव गर्न सक्दछन् । पहिले पहिले मानिसहरुले सोच्ने गर्दथे कि छोरीहरुले केही गर्न सक्दैनन् । तर आजका छोरीहरु शिक्षित भएकाले गर्दा छोराहरुको बराबरीमा आएका छन् ।

संसारमा सबै मानिसलाई आमा, दिदी, बहिनी, स्वास्नी चाहिन्छ तर छोरी भन्ने चाहिं कसैलाई चाहिंदैन । किन यस्तो चाहिं ? आज पनि कतिपय ठाउँका मानिसहरुले छोरा जन्मियो भने खुशी मनाउँछन् तर छोरीलाई भने आमाको गर्भमा हुँदाहुँदै नै मारिदिन्छन् । तर संसारमा कतिपय यस्ता मानिसहरु पनि छन्, जसले छोरीलाई देवीको रुपमा मान्ने गर्दछन् । छोरी धर्ती हो, जसले सिर्जना गरेर मानिसहरु जन्मिएका छन् ।

अन्त्यमा यही भन्न चाहान्छु कि, छोरीलाई छोरी जस्तो व्यावहार गरौं, बच्चाले खेल्ने खेलौना जस्तो होइन ।

अर्जुनधारा, झापा

(लेखिका कक्षा आठमा अध्ययनरत् किशोरी हुन् । यो उनको पहिलो लेखन प्रयास हो ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।