Mero Sabda

शनिश्चरेको पानी राम्रो


– लिलक सिटौला

खुदुनावारीको सिस्ने भन्ने ठाउँमा बगरभरि बयरका रुखहरु थिए । सिजनमा हामी त्यहाँ पुग्थ्यौं । हामी छुट्टीको बेलामा कहिले दहिझोडाको जंगलमा थाकल खान त कहिले अंगेरी खान पनि पुग्थ्यौं । दयार गाउँको काँचो तर गुलियो आँप पनि खान पछि परेका थिएनौं । त्यो दिन भने शुक्रवार थियो, त्यसैले स्कूल छिट्टै छुट्टी भएको थियो । म लगायत हाम्रा साथीहरु दीपकसेन भट्टराई, भरत बुढाथोकी, ध्रुव थापा, रविन खड्का, केदार गिरी, नारायण सिटौला लगायत बयर टिपेर खाने कार्यक्रम तर्फ लाग्यौं ।

बयर धेरै किसिमका थिए, घिऊ बयर, लोकल बयर लगायत । त्यहाँ धेरै प्रजातिका बयरहरु खान पाइन्थ्यो । घरहरु थिएनन् त्यहाँ । बगरैबगर मात्र थियो । त्यसैले होला बयरको भण्डार थियो । त्यहाँ भालुको डर भएकाकाले गर्दा हामी धेरै साथीहरुको टीम मिलाएर मात्र जान्थ्यौं । राम्रो फल भएको कारणले होला हामीलाई झाडापखाला हुँदैनथ्यो ।

शनिश्चरे बजारमा बस्ने हाम्रा लागि वरिपरि खाने कुराको व्यवस्था थियो । उत्तर तर्फ बयरघारी थियो भने दक्षिण तर्फ दयार गाउँको गुलियो आँप खान पाइन्थ्यो । पूर्व तर्फ सालबारीको जंगलमा अंगेरी फल खान्थ्यौं भने पश्चिममा जुकेखाडी र दहिझोडाको भव्य जंगलमा थाकल खान जुथ्र्यो । सिजनको बेला हामी स्कूलको छुट्टी मिलाएर ती खाने कार्यक्रमहरु मिलाएर त्यहाँ जान्थ्यौं ।

थाकलका बोटको पत्ताबाट आदिबासीहरुले घर छाउने काम गर्थे । थाकल र बयरका बुट्यानभित्र भालुको डर हुन्थ्यो । धेरै पटक भालुसँग हाम्रो जम्काभेट भएको थियो । त्यतिखेर भाग्ने बाहेक हामीसँग अर्को विकल्प हुँदैनथ्यो ।

पढ्ने क्रममा म कक्षा सातमा पुगेको थिएँ । साथीभाइहरुसँगको संगम र विछोडको सुमधुर सम्बन्ध चलिरहेको थियो । अरु साथीहरु एसएलसी परीक्षातिर लम्किदै थिए । हामी भने खेलकुद, नाटक, प्रहसन, भेषबदल्ने मै व्यस्त थियौं । किनभने त्यहाँसम्म पुग्न अझै तीन बर्ष लाग्दथ्यो । धराबासी र संजीव उप्रेती सायद नौ कक्षामा पुगिसकेका थिए होला ।

त्यो बेला विद्यार्थी संघ–संगठनहरु थिएनन् । तर पनि नेपालका चार सहिदहरु, जसले राणाहरु विरुद्धमा लडे अनि राणा सरकारबाट मारिए, उनीहरुकै नाममा स्कूलमा सदन छुट्याउने चलन थियो । म गंगालाल सदनमा छानिएँ । अरु साथीहरु केही धर्मभक्त, त कोही दशरथ चन्द, कोही शुक्रराज सदमा विभाजित भयौं । खेला रोचक हुन्थ्यो त्यस बेला । डण्डीवियो, पीटी, फुटबल, हाइजम्प, लंगजम्प, विभिन्न दौडहरु, साँस्कृतिक साहित्यिक कार्यक्रम, भलिवल लगायत धेरै किसिमका खेलाहरु थिए । त्यो पनि एक बर्षमा एकपल्ट स्कूलको बार्षिक उत्सवमा हुन्थ्यो । तीन–चार दिनसम्म लगातार आफ्नो योग्यता, क्षमता र रुची अनुसारको खेलमा सहभागी हुन पाइथ्यो । मज्जा आउँथ्यो ।

शनिश्चरे बजार शनिवार लाग्ने भए पनि शुक्रवार नै भरिभराउ हुन्थ्यो । पहाडबाट शुक्रवार नै आइपुगेका व्यापारीले बोकेर ल्याएको सुन्तला, कागती, रायाको साग, घिऊ, खसीबाख्रा लगायत धेरै चिजहरु तराईलाई दिएको हुन्थ्यो । तराईले पहाडको लागि तेल, चामल, नून, सुर्तिजन्य सामग्री, कपडा लगायत धेरै कुरा दिन्थ्यो । यही दोहोरा लेनदेनका कारण पहाड र तराईका मानिसहरुमा ठूलो मित्रता थियो ।

शनिवार फेरि सिनेमा फेरियो । फिल्मको नाम थियो– ‘एक फूल, दो माली ।’ मूख्य हिरो बलराज सहानी, हिरोइन भने साधना । अर्को थिए संजय खान । फिल्मको गीत थियो– ‘किस्मतका खेल निराले मेरा भैया, किस्मत मे लिखा कोही, कसैले टालेगा रे भैया ।’ फिल्म मार्मिक थियो । दर्शकहरु रोएका थिए । फिल्म हेर्ने पैसाको खाँचो भने हामीलाई हुन छाडेको थियो । बजार धेरै चलेको हुनाले हाम्रो चिया, रोटी, चनामटरको दोकान निक्कै चल्थ्यो । एक रुपैयाँ आमाले दिनुहुन्थ्यो ।

शनिश्चरे बजारमा खास गरी पाराखोपी, बुधबारे, खुदुनावारी मात्र नभएर झापा जिल्लाभरिका व्यापारी र मान्छेहरुको घुइँचो हुन्थ्यो । हाम्रो बजारमा केही न केही त हुनै पर्दथ्यो । किनभने नामै शनिश्चरे । भयो के भने मान्छेको खल्ती साफ हुन थाल्यो । भन्नुको मतलब पाकेटमारको बिगबिगी । पाकेटहरुको संगठनले आतंक मच्चायो । स्थानीय पाकेटमार, जिल्ला स्तरीय पकेटमार, राष्ट्रिय र अन्तर्राष्ट्रिय पकेटमारहरु यहाँ भित्रिए । उनीहरु त पालैपालो एक ठाउँबाट अर्को ठाउँ सर्दै पाकेट मार्दा रहेछन् । जसले गर्दा पाकेटमारहरु नै चिन्न गारो पर्दोरहेछ । गोजीमा भएको पैसा उनीहरुबाट जोगाउनै गारो । केही समय उनीहरुको बिगबिगी बढ्यो, अनि फेरि बिस्तारै हराउन थाल्यो । सायद प्रहरीहरुको सक्रियता बढ्यो होला ।

मोहन शिवाकोटी र मोहन जोशी सर स्कूलमा पढाउने शिक्षक भए पनि शनिश्चरे बजारभित्रको गतिविधिमा उहाँहरु ठूलो चासो राख्नु हुन्थ्यो । मोहन शिवाकोटी र शिवप्रसाद दहाल सर खास गरी राजनीति गतिविधिमा चासो राख्नु हुन्थ्यो भने मोहन जोशी सर भने स्कूलका विद्यार्थीको गतिविधिमा अलिक बढी क्रियाशील हुनुहुन्थ्यो ।

मोहन जोशी र मोहन शिवाकोटी सरलाई देख्ने बित्तिकै हामी विद्यार्थीहरु डरले भाग्ने गथ्र्यौं । किनभने उहाँहरुबाट धेरैजसो रामधुलाइको सलामी पाइन्थ्यो । उता दहाल सर भने विद्यार्थीहरुलाई कस्ने पक्षमा हुनुहुन्नथ्यो। माया गर्नु हुन्थ्यो । हामी जोकोही उहाँको नजिक पुग्थ्यौं । खोई किन हो मलाई दहाल सरले ‘ए साला’ भन्नेर बोलाउनु हुन्थ्यो । मानौं मेरो आफ्नै दिदी उहाँले विवाह गरे जस्तै ।

शनिश्चरे बजारको हामी सबै कुवा र इनारको पानीको खान्थ्यौं । त्यो पानी शुद्ध र सफा थियो । कोही पनि रोगी हुँदैनथे । पानी राम्रो थियो । सायद त्यही पानी राम्रो भएर होला शनिश्चरेबासीको सबैतिर पाइन थल्दथ्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।