Mero Sabda

दैवले खुशी खोसेको त्यो दिन


– ऐतराज नेम्वाङ ‘सन्तोष’

२०४६ को जनआन्दोलन चलिरहेको थियो । कहिले स्कूल बन्द गर्थे त कहिले नारा जुलुस आउँथ्यो । मदन नेम्वाङले चाहिं घरमा भिडियो लगाइ दिन्थे । स्कूलका केटाकेटीहरु सबै त्यतै भीड हुन्थे अनि स्कूल त खाली । त्यस बेला खुदुनाबारीमा विद्युतको कुनै सुविधा नै थिएन । मदन नेम्वाङले जेनेरेटर चलाएर पनि भिडियो देखाइ दिन्थे । त्यो नै आन्दोलनलाई उहाँको अप्रत्यक्ष सहयोग थियो ।

म चाहिं त्यतिखेर मिस्त्री उत्पादन गर्ने गरी करारमा सरकारी जागिर खाएको मान्छे । भद्रपुरको कार्यालयबाट उर्दी थियो– आन्दोलनमा सरिक नहुने । होला नि भन्दै गजक्क परेर ड्युटी जान्थें । नारायण चोकदेखि माथि लाग्दा बाटोमा हिंडिसक्नु थिएन । बाटोमा एकोहोरो पानी बगिरहेको हुन्थ्यो । फेरि त्यसमा गोरुगाडा निरन्तर चल्दा त हिलो हुन्थ्यो नै । फुलमती खोला तरेपछि खुदुनाबारीसम्म नै त्यस्तै दुरवस्था थियो । साइकलमा जानु प¥यो भने ठाँउ–ठाँउमा डो¥याउनु पथ्र्यो ।

जेनतेन छ महिना प्रशिक्षक भएर जागिर कटाइयो । त्यहाँ म डकर्मीको प्रशिक्षक, अर्का सिकर्मीको पनि प्रशिक्षक थिए वीरबहादुर कार्की भन्ने । उनले त्यहीँ धेरै समय तालिम दिए । प्रजातन्त्र प्राप्तिपछि उनी त्यहाँबाट बर्ने गए भन्ने सुनें ।

त्यो बेला गोसखानमा अशोक अधिकारीको बुबाले दोकान राख्नु हुन्थ्यो । सेल रोटी, अण्डा, रम, चना, मुराई, चिउरा यी सबै बिक्री हुन्थ्यो । शनिबार विदा हुन्थ्यो । अशोकको बुबाको बदलामा उसको दिदी अनिता बस्थिन् । अनिता र म एकै दिन जन्मेको अरे । म बिहान जन्मेको र अनिता दिँउसो जन्मेको अरे । सँगै स्कूल पढ्थ्यौं । तर आफ्नो त स्कूल छुटी सकेको थियो । उनी चाहिं स्कूल पढ्दै थिइन् तर पनि हाम्रो गफ मिल्थ्यो । उनको दोकानदेखि पल्लो दोकानमा सिस्नेबाट एक जना केटी आउँथिन् । उसको हाउभाउ देखेर अनिता र म बिस्तारै कुरा गर्दै हाँस्थ्यौं । हामीले हाँसेको देखेर उ पनि हाँस्थिन् । प्रतिउत्तरमा हामी झन् हाँस्थ्यौं । त्यसको परिणाम त भयंकर पो भएछ पछि पो थाहा भयो ।

मेरी दिवंगत श्रीमती जति बेला हाम्रो विहे भएको थिएन । उनीहरुको जात मिल्थ्यो र आफन्तहरु पनि नजिकै रहेछन् । आफन्तको घर जाँदा पो थाहा भयो, ती केटीले त ‘त्यो केटा सा¥है मनपर्छ । उसले पनि मन पराउँदछ अरे । सरकारी जागिर छ अरे । मलाई विहे गर्ने रे’ भनेको सुन्दा म र मेरी श्रीमती धेरै हाँस्यौं । यस्तोसम्म हुँदोरहेछ । जिस्काउँदाको भ्रम । विचरीलाई मैले आजसम्म भेटेकै छैन । त्यसै समयमा एक–दुई पटक जम्काभेट त भएको हो तर न ऊ बोल्थ्यो न त म बोल्ने । विचरीलाई भ्रम नै परेको रहेछ भन्ने लाग्यो ।

कोही मानिस बाँच्नु र बाँच्न चाहानुमा धेरै फरक हुन्छ । यस्तै एक पात्रको अतीत मैले यहाँ खोल्न चाहें । हुन त कसैको अतीत खोतल्न मलाई अनुमति छैन तर पनि एक मजदुरको कहानीमा उसको जीवनसँग मेल खान गएर उसलाई पनि यसै लेख मार्फत् समावेश गर्न चाहें ।

त्यो एक व्यक्ति प्रेम समाल नाम गरेको एक नव युवकको कथा हो । जो स्कूले जीवनदेखि नै खेलकुदमा निकै दख्खल भएको मानिस हो । शनिश्चरे बजारमा तत्कालिन डाइनामाइट फुटबल क्लबबाट गोलकिपर भएर हरेक स्थानमा प्रथम भएर पुरस्कार पाएको मानिस हो । जिल्ला खेलकुदमा फुटबल होस् या ह्यान्ड बल होस् सधैं अब्बलमा गनिने खेलाडी थियो । अग्रपंक्तिमा रहेर खेलेका खेलाडीहरु प्रेम समाल किपर छ भनेर ढुक्क साथ खेल खेल्थे । भनौं ऊ एक आदर्श नागरिक सरह बाँचिरहेको एक मानिस ।

जब उसले अन्तरजातीय विवाह ग¥यो, तब घरबाट बाहिरिनु प¥यो । आफ्नो परिवार लिएर अन्त कतै नगएर आफ्नै गाँउमा नै घरभाडामा बस्न थाल्यो । एउटा–दुई वटा गर्दागर्दै दुई छोरा र एक छोरीको बाबु भयो । अब उसलाई बाँच्नु भन्दा बाँच्न चाहानुमा जीवन गुजार्नु प¥यो । उसले के गरेन र । फिल्मको वितरक पनि भयो । निकासी र पटके कर पनि उठाउन थाल्यो । त्यो सँगै फुटबल त खेली नै रहन्थ्यो । रहरले हो या बाध्यताले हो हरेक फुटबल प्रतियोगितामा डाइनामाइट फुटबल क्लबबाट सहभागी भइरहन्थ्यो । केही समयपछि डाइस पनि खेलायो । स्टाइगर पनि खेलायो । पछि भुटानी शरणार्थी आउँदा राम्रैसँग रुपैयाँ कमाउँथ्यो । तर त्यस्तो छक्कापञ्जाको पैसा कहाँ बाँच्दो रहेछ र । अन्त्यमा हातमा लाग्यो शुन्य । अब अन्त्यमा के गर्ने ? उसको र उसको परिवारको अगाडि यस्ता प्रश्न जन्म थाल्यो । अब के गर्ने ? बाँच्न त प¥यो ।

एक दिन मलाई भेटेर काम गर्ने कुरा भन्यो । म एक क्षण शुन्यमा टोलाएँ । के भन्ने ? धेरै बेरपछि ‘ठीकै छ त, आउन’ भनेर जवाफ दिएँ । त्यति बेला मेरो छिमेकीको ट्वाइलेट बनाउन एक हजारमा ठेक्का लिएको थिएँ । उसले भोलिपल्टदेखि नै काम गर्न शुरु ग¥यो । पहिलो दिनमा मलाई धेरै संकोच भएको थियो । आफ्नो साथीलाई लेवरको रुपमा काम गर्न लगाउनु प¥यो । उसले केही अप्ठ्यारो नमानी काम ग¥यो । त्यसपछि त निरन्तर काममा आउन थाल्यो । सायद त्यसबेला दिनभर काम गरे बापत पच्चीस रुपैयाँ पाँउथ्यो जस्तो लाग्छ ।

यसको साथ साथै कुमार कार्की, प्रकाश आचार्य, साजन राई, टंक समाल पनि निर्माण क्षेत्रमा हामा फाल्न आए । गाउँका साथीहरु एकै साथ एउटै क्षेत्रमा काम गर्दाको मज्जा बेग्लै हुन्थ्यो । दिनभर काम ग¥यो, बेलुका भेला भएर हल्का सोमरस चढाएर गितार मादल बजाउँदै भेला हुँदाको क्षण बिर्सी नसक्नुको छ । त्यति बेला न दुःख थाहा हुन्थ्यो, न पीर ।

एक तमासको जिन्दगीमा बाँच्नु भनेको केलाई भनिन्छ भनेर प्रश्न तेर्सियो भने म त्यही समयलाई भन्थें । त्यसै क्रममा मैले पनि बिहे गरें । ‘मैले पनि बिहे गरें’ भन्दा आफूलाई किञ्चित लाज लागेर आउँथ्यो । लाग्थ्यो– अब म पनि समाजसँग पौठेजोरी खेल्न सामथ्र्य राख्ने भएँ । आफूलाई माया गर्ने र मेरो ख्याल राख्ने श्रीमती पाउँदा म आफूलाई भाग्यमानी नै सम्झन्थें । तर समय एकैनास कहाँ हुँदोरहेछ र । सड्चालिस सालमा श्रीमतीलाई प्रसव वेदनाले च्याप्यो । म त्यस समयमा जयपुरमा बस्थें । कार्तिक एक गते दशैंको रमझममा अस्पताल लानुपर्ने । सबै जना टीका लगाउने व्यस्तमा छिमेकीको गोरुगाडा मागेर हस्पिटल ल्यायौं । अहिले जस्तो सवारी साधनको सुविधा थिएन । जसोतसो हस्पिटल ल्याइयो । त्यस बेला शंकर हस्पिटल निकै नाम चलेको हस्पिटल थियो ।

भित्र कोठामा लगेको केही बेरमा ’च्याँरऽऽ..’ आवाज आयो । डाक्टर निस्केर ‘छोरी भयो’ भन्ने कुरा सुनाउनु भयो । म झन् लजाएँ । बुबा हुनुको खुशी थामी नसक्नुको थियो । केही बेरमा घर लानु भन्ने आदेश आएपछि हामी फेरि गोरुगाडामा सुत्केरीलाई राखेर नारायण चोक, तत्कालिन ठकुरी गाउँमा आइपुग्यौं । ठकुरीको दोकानमा चियानास्ताको लागि केही क्षण रोकेको थियौं । त्यसै समयमा खै के भो कोनी सुत्केरीले आँखा, मुख बटार्न थाल्यो । अब प¥यो आपत् । यता मेरो वडाबाकोमा ल्याएर राख्यौं । डाक्टरलाई बोलायौं । उहाँले ‘हामीबाट केही हुँदैन’ भन्ने जवाफ सुनेर म छाँगाबाट खसें ।

उता विरामी वेहोस, यता एक दिनको नवजात छोरी काखमा भोकले रुन थाली । धामी ल्याएर झारफुक गरियो । रातभर जाग्राम बसेर भोलि बिहान सबेरै फेरि हस्पिटल लिएर जाँदै गर्दा हस्पिटल नपुगी उसले प्राण त्यागी । नवजात शिशुलाई तृप्त हुने गरी स्तनपान पनि गराउन पाइन ।

यसरी नै दिन बित्दोरहेछ । मैले चाहेर पनि आफूलाई नै खुशी दिन सकिनँ । मैले धेरै खुशी मागेकै थिइनँ । धन, सम्पत्ति, ऐश्वर्य मैले केही चाहेको थिइनँ । केवल एक अँगालो खुशीमा रमाउन चाहान्थें । त्यही पनि दैवले खोस्यो । ल ठिकै छ, मलाई त दैवले अन्याय ग¥यो तर त्यो एक दिनको नवजात शिशुको के गल्ति थियो र ? त्यसले आमाको स्तनबाट तृप्त हुने गरी स्तनपान गर्न समेत पाइन । आमाको न्यानो अँगालो पनि सौभाग्य प्राप्त भएन । दैव पनि कति निठुरी । आमा त खोस्यो तर छोरी पनि पाँच महिनामा खोसेर लग्यो । त्यसपछि त म एक्लो केवल एक्लो ।

आजभन्दा पन्ध्र वर्षअघि एउटा मेरो जीवनसँग मेल खाने कविता प्रवासमा छँदा प्रकाशन गरेको थिएँ ।

हुट्टिट्याउँको सागर थाम्ने
प्रयासको कथा झैं
मैले पनि
कर्तव्यको सागर थाम्ने
अथक प्रयासमा
कति दिन बिते
पत्तै भएन
घामको रापले पोलेर
प्यासमा छटपटिएर
म वेहोस भएछु ।
सायद म मरेछु क्यार
तर एक दिन अचानक
चिसो पानीको थोपा
गालामा तप्प चुहिँदा
म ब्युझिएँछु
आँखा खोलेर हेर्दा
छोरीहरुको नरम हातले
मेरो गाला मुसार्दै सोध्दै थिई
‘बाबा के भो ?’

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।