Mero Sabda

नाटकघरलाई सहयोग गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता


– तुलसीप्रसाद निरौला

बिर्तामोड, मंसीर २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले क्षितिज नाट्य समूह झापाको अगुवाइमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । झापाको बिर्तामोड– १, देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको नाटकघरको अनुगमन तथा निरीक्षण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

युरोपतिर सभ्यताको परिभाषा नै त्यस देशका बासिन्दा कति पटक नाटक हेर्न जान्छन् भन्ने कुराले निर्धारण गर्ने भएकाले नेपालमा पनि सभ्यताको सूचक नाटकलाई बनाउनु पर्नेमा उनले जोड दिए । भ्याएसम्म आफू नाटक हेर्न जाने गरेको बताउँदै उनले ‘नाटकले समाजका विकृति विसंगतिको भण्डाफोर गर्ने’ बताए ।

काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेर नाटक पढाउने, संगीत पढाउने पाठ्यसामाग्री बनाउन लगाएको बताउँदै उनले क्षितिज नाट्य समूहलाई पनि पाठ्यक्रम विकाससँग जोडिन आग्रह गरे ।

सातवटै प्रदेशमा सातवटा संगीत र नाट्य विधाको एकेडेमी बनाएर त्यहाँको ऐतिहासिक, भाषा, साहित्य, सँस्कृतिको संरक्षण र सम्वद्र्धन गरिने समेत उनले जानकारी दिए । काठमाडौं पुगेपछि संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईसँग छलफल गरेर यस कार्यलाई पूर्णता दिने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै प्रदेश साँसद झलकसिंह दर्लामी ‘सन्देश’ले झापा नाटकघर प्रदेश नं. एककै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेकाले यसलाई पूर्णता दिन आफू लागिपर्ने बताए ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड ५० लाख रुपैयाँको लागतमा २०७६ साल असार ११ गतेबाट निर्माण शुरु गरेको र हालसम्म निर्माणको ५० प्रतिशत कार्य सकिएको छ ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई तथा सचिव माधव कल्पितले यो निर्माणको उद्देश्य, लक्ष्य र भावी योजनाबारे प्रकाश पारेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।