२०७८ असार ४ शुकर्बार
Mero Sabda

सडक निर्माण… मेयरलाई विन्ती


– रामबाबु सुबेदी

धुलाम्मे भद्रपुर रोडमा बाटामा लामो हरियो गाउन लगाएकी, कालो रेबनको चश्मा भिरेकी र मास्कले मुख छोपेकी एउटी केटी हिंड्दै छे । मास्कबाहिर हरियो स्कार्फले मुख र टाउको नदेखिने गरी छोपेकी केटी हिंड्दै गरेको देखेर रेश्माले अमृतालाई देखाउँदै भन्छे– ‘हैन, यो मुना हैन?’

‘खै होइन होला हौ । म पनि झुक्किएँ ।’

‘हैन, यो त मुना नै हो । मलाई यसको शारीरिक बनावट थाहा छ ।’

(रेश्मालाई हेर्दै) ‘धत मोरी । कहाँ हुनु हौ यो मुना । ऊ यसरी सबै ढाकी हिंड्ने केटी त हैन त ।’

‘उसको हिंडाइ र त्यो लगाए कि हरियो गाउन राम्ररी हेर त । हामी पछिल्लो पटक भेट्दा उसले यही लगाएकी थिई ।’ रेश्मा निर्धक्क अमृतालाई भन्छे ।

‘अँ… हो हो । हो नै भने यसलाई बोलाउँन त, अनि कन्फर्म हुन्छ ।’

‘ठीक भनिस् । पख म बोलाउछु । रेश्मा मुना तर्फ हेर्दै डाक्छे– ‘ओई मुना…..! ओई मुना….!! ’

सबैजना हिंडिरहेका बटुवा चिच्याइ रहेकी रेश्मालाई ठाडो नजरले हेर्छन् । एकैछिन्मा सबै आफ्नै कामका लागि अगि बढछन् । मुनापछि फर्की हेर्छे । ‘ओहो रेश्मा, अमृता ! तिमीहरु यहाँ ? अनि के छ खबर ? कता हिंडेका ?’

‘हामी यहीं मार्केट, अनि तँ कता हिंडेकी ?’ अमृता प्रश्न गर्छे ।

‘म नगरपालिकासम्म । आज मेयर सा’बलाई भेटौं भनेर नि ।’ मुना जवाफ दिन्छे ।

‘अनि त कस्ती नचिनिने भएर हिंडेकी, आज के भएको ? सबै ढाकेर हिंडेकी छेस् त?’ रेश्मा जिज्ञासु बन्दै सोध्छे ।

‘म स्थानीय निकायमा यो भद्रपुर रोडको स्तरोन्नति र ढिलासुस्ती सम्बन्धी गुनासो बोकी जाँदैछु । तिमीहरु फुर्सदमा छौ भने मसँग हिंडन । हुँदैन ?’ मुना सटिक छोटो स्पष्टिकरण दिंदै रेश्माको जिज्ञासा शान्त पार्छे ।

‘हो है मुना ! तँ जहिले कलेजमा पनि अग्रसर हुँदै हामीहरुको प्रतिनिधित्व गर्दै अघि बढेकी छेस् । यो निर्णय पनि ठीक हो । यस सडकको विकास नहुँदा धुलो र प्रदुषणले स्वास्थ्य जोखिमदेखि लिएर दुर्घटना पनि बढाएको छ । हामी पनि सजक नागरिक हौं । यसले ठेकेदारको लापरबाहीदेखि सुस्त ब्यवस्थापन कमजोरी प्रस्ट पारेको छ । बुझिस् रेश्मा हिंड जाउँ हामी पनि सँगै ।’ अमृता मुनाको नेतृत्वलाई समर्थन गर्दै थप जोश भर्छे ।

‘होनि ठीक भनिस् अमृता ! हामी सबै एक आवाज लिएर जाँदा कस्तो सुनुवाई नहँुदो हो ? मेयरले आफ्नो माछापोखरीमा जाने बाटो पूर्ण कालोपत्रे गरिसके छोटो समयमा ।’ मुना बल दिन्छे ।

रेश्मा पनि सही थप्न कम्मरमा हात लाउँदै भन्छे– ‘त्यही त, एकातर्फ विकास हुन अगि विनास हुनु त ठीक हो । तर लामो अवधिसम्म पनि काम कछुवा गतिमा दौडनु उचित हैन । यहाँ भ्रष्टाचार र अनियमितताले गाँजेको प्रस्ट देख्न सकिन्छ नि । त्यहींमाथि दिनहुँ हुने दुर्घटना, अस्त–ब्यस्त बजार ब्यवस्थापन, पैदलमार्गमा समस्याले पनि अफ्ठ्यारो बनाएको छ । कहिलेसम्म मुकदर्शक बन्ने होला हामी सर्बसाधारण ?’

‘खुल्ला ढल बनाउँदा यहाँ दिनहुँ कहिले मानिसको सामान नालामा झर्ने त कहिले मानिस नै नालामा पर्ने डरले गाँजेको छ । प्रशासन कति मौन बसेको होला है । फेरि आजकलको पत्रिकाले यी सब देखेर पनि किन धेरै काम सकियो भनी मेयरले भनेका छन् भन्दै प्रचार गरेर साँचो कुराको भने नजर अन्दाज गरेका होलान् । फेरि एकैपटकमा चार–पाँच किमी बाटो खन्ने बित्तिकै कहीं विकास देखिन्छ र ? आफै भन त ?’ अमृता प्रश्न खडा गर्छे ।

‘त्यही त । अब यस्तो तालले हुँदैन । कति सहनु । हाम्रो शहर कुरुप बन्दै गएको र निकास नपाएको देख्दा मनमा पीडा हुँदोरहेछ केटी हो ।’ मुना सशक्त बचन बोल्छे ।

‘हाम्रो शहर मात्र यस्तो हो कि ? नेपालका अन्य शहर पनि यस्तै हुन् ?’ अमृता थप प्रश्न गर्दै सोध्छे ।

‘हाम्रो देशको विडम्बना, केही अपवाद बाहेक निरन्तर काम भएर सडक निर्माण सकिएको उदाहरण त्यति राम्रा छैनन् । फेरि काम गर्ने शैली र ब्यवस्थापन कमजोर भएकाले सडकमा बेला–बेला एस्काभेटर चलिरहन्छन्, देखेकी छैनस् ?’ अलिक दूरीमा फाइभरका लागि पाइप बिछ्याउन खाडल खन्दै गरेको देखाउँदै मुना प्रमाण दिन्छे ।

‘त्यही त, के गरेका होलान् ? अब त पेलेर अलकत्र हाली कालोपत्रे गर्लान् भन्ने सोचेको । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भयो । फेरि बाटोमा खन्न थालेछन् । कहिले बुद्धि आउला प्रभु यस्तो कार्यशैलीमा अग्रसर हुने ब्यक्तिको ।’ रेश्मा थप चिन्ता प्रकट गर्छे ।

‘यहाँको आवश्यक्ता पूर्ण हुन नसक्नु, नागरिक समाजले बेला–बेला नझक्झकाउनु, सामाजिक संस्था मुकदर्शक बन्नु, स्थानीयले चासो दिए पनि कार्य सम्पादन छिटो नगराउनु, प्रशासनिक कमजोरी, ब्यवस्थापन कमजोरी, आर्थिक पाटो आदि विविध पाटोले गर्दा काम छिटो समापन हुँदैन हाम्रो नेपालमा ।’ मुना निराश भावमा भन्छे ।

‘ठीक भनिस् तैंले । त्यति मात्र कहाँ हो र अपारदर्शिता, अनियमितता र भ्रष्टाचारले छोएको हाम्रो मुलुकमा पैसा खान र ख्वाउन पाए जस्तै काम पनि बन्ने निश्चित देखिन्छ नि ।’ अमृता मुनाको समर्थन गर्दै भन्छे ।

‘खै ! थोरै बाटो छाडिदिनुन ।’ एकजना बटुवाले उनीहरुको ध्यान भङ्ग गराउँदै अलिक बाटोबाट साइड लाग्न भन्छ ।

‘कति बज्यो हँ ?’ मुना आँत्तिदै पर्सबाट मोबाइल निकाल्न खोज्छे ।

‘दुई बज्यो’ रेश्मा हातको घडी हेर्दै भन्छे ।

‘लौ ढिला भयो । जाउँ–जाउँ अहिले फेरि मेयर निस्किन्छन् तीन बजेसम्ममा । म पनि आज एउटा मिटिङमा जानुछ बेलुका । अरु कोही जाने भए बोलाउँ, अनि झन् दबाब दिन मिल्छ ।’ मुना हतार लाउँछे ।

‘अरु त भन्न सकिँदैन । तर हाम्रो विन्तिपत्र र गुनासो मेयरसम्म राख्यौं भने एक दिन त कसो सुनुवाई नहोला ? मेयरले आफ्नो विकास गर्न पाउँछन् तर स्थानीय तह अन्तर्गत अति आवश्यक भौतिक पूर्वाधारको पनि त विकास गर्दा राम्रो हो ।’ रेश्मा मत अभिब्यक्त गर्दै भन्छे ।

‘ल–ल जाउँ हिंड । अब मेयर सा’बबाटै के जवाफ पाइन्छ, सुनौं ।’ अमृता घडी हेर्दै रेश्माको हात समाउछे ।

‘मलाई त बेला–बेला कोरोना आएर ठीक ग¥यो जस्तो लाग्छ देशमा, किन थाहा छ ?’ मुना अमृता र रेश्मालाई हेर्दै अगि बढ्दै भन्छे ।

‘किन’ दुबै एक साथ प्रश्न गर्छन् ।

‘यो कोरोना आएपछि मान्छेले मास्क त लाउन थालेका छन् कमसेकम । त्यही मास्क लगाउँदा यो भद्रपुर रोडमा धुलो त खान परेको छैन । नभए सोच त केटी हो, पहिला झैं भएको भए हामीले कति धेरै धुलो खान्थ्यौं होला ? कोरोनाले डर देखाएर मास्क त लाउन बाध्य बनाएको छ ।’ मिना हाँस्दै ठट्टा गर्छे ।

सबै गललल हाँस्छन् । उनीहरु मेयरको कार्यालय तर्फ अगि बढ्छन् ।

यतिकैमा रेश्माले सामाजिक सञ्जालमा पोस्ट गरेकी छे– ‘जागरुप नागरिकले स्थानीय सडक निर्माणमा ढिलासुस्ती र प्रदुषण वृद्धि गरिरहेकाले स्थानीय तहलाई झक्झकाउने समय आएको छ । सबै नगरपालिकाको कार्यलयमा तीन बजे भेला हौ ।’

म त त्यही पोस्ट हेरेर नगरपालिका जान लागें, अनि तपाईं नि ?

विर्तामोड, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।