Mero Sabda

हंस नामक कृति बारे केही


– आश्वासन दाहाल

सिद्धहस्त लेखक संजीव उप्रेतीको अनेकौं साहित्यिक रचना भए पनि उपन्यासकै रूपमा भने ‘घनचक्कर’ पछिको दोस्रो उपन्यासको रूपमा ‘हंस’ नामक कृति पाठकहरू माझ आएको छ । नेपाली परिवेश, वैदेशिक यात्रा, पन्छीको आवाज र उनीहरूको संसार, वनस्पतिको जमघट, आप्रवासी यात्राको दृष्टान्त, जैविक विविधता संरक्षण, सिमसार, तालतलैयाको जीवन्तता, पर्यावरणीय क्षयीकरणको चासो, माया, प्रेम, सम्बन्ध, मानवीयता र अन्तरसम्बन्ध, नारी स्वतन्त्रता, भौगोलिक सीमितता, चराचुरुङ्गीको स्वतन्त्रता, प्रकृतिप्रेम, बाहिरी मुलुकमा आफन्त बन्ने र बनाउने कला, जलचर र जल सम्पदाको अन्तरसम्बन्धलाई समाहित गर्न सफल छ– यो कृति । प्रकृतिपूजा, सर्प, भ्यागुता, गड्यौला, हाँस र मानव जीवनसँगको सदियौं नातालाई चित्रण गर्न सफल यो कृतिलाई निम्न अनुसार संक्षेपमा समीक्षा गर्नु श्रेयष्कर देखिन्छ ।

व्यक्ति–व्यक्ति बीचको प्रेम र माया अनि भावना र अन्तरसम्बन्ध सदैव स्थायी हुँदैन, यस कृतिमा टौदहलाई भौगोलिक सेरोफेरो मानी लेखक बहेका छन् । यस कृतिमा मुलतः हाँसको सम्बन्धको वर्णन गरिएको छ । लहड़े हाँस र काली हँसिनीको मायाप्रेमलाई भौगोलिक सीमाले रोकेको छैन । माया त माया नै हो भने झैं निर्मल कञ्चन बहेको छ ।

हाम्रो समाजको अन्तरसम्बन्धलाई प्रतिविम्वित गर्न सफल छ– यो कृति । उपन्यासको केन्द्रविन्दुमा आमा, वृद्ध पुरुष र टौदह रक्षकको भूमिका, मुख्य भूमिकामा रहेको छ । प्रेम र सीमा, प्रेमको जार अनुज पाण्डे, वैदेशिक रोजगारमा अमेरिका भित्रिएका शेरसिंह, असरफ, रामकुमार र त्यसै गरी अनुज पाण्डेको जेठी श्रीमती माया र कान्छी श्रीमती सीमा बीचको कथा–व्यथालाई फेहरिस्त गरिएको छ । युवाहरुको क्रियाकलापलाई उडन्ते रुपमा लिइएको छ, जबकि काका बकुल्ला, महात्मा हाँसलाई विशेष जिम्मेवारीमा रहेका र अभिभावकको रुपमा हेरिएको छ । हाँस, बकुल्ला, कौवा अनि माछाको आफ्नै भाषा हुने र उक्त भाषालाई अनुभूत गर्न सक्ने क्षमता वृद्ध व्यक्तिले राखेका छन् ।

चराचुरुङ्गीको आफ्नै संसार हुन्छ, वनस्पतिको आफ्नै संसार हुन्छ, जलचरको आफ्नै संसार छ, मानव जाति बीचको मानवता र मानवीयनाता झैं नबोल्ने वनस्पति बीच पनि अन्तरसम्बन्ध छ । माछा–माछा बीच पनि सम्बन्ध छ, ठूला माछाले साना माछालाई निल्ने नियमलाई अप्रजातान्त्रिक ठहर गर्दै यौटा नियमले बाँधिएर पद्धति, थितिलाई टेकेर माछाको जिउन पाउने अधिकार सुरक्षित गरी प्रजातन्त्रको हक सुरक्षण गर्न सभा छलफल भएको तर्फ उपन्यासले ध्यान दिएको छ ।

परम्परागत मूल्य–मान्यतालाई नै निरन्तरता दिने आम प्रवृतिलाई सुधार गर्ने प्रयत्नमा लागेका अभियन्तालाई युवापुस्ताले टेरेका छैनन् । चाहे त्यो बकुल्लाको संसारमा होस्, चाहे त्यो हाँसको संसारमा किन नहोस् ? दहको पींधको इतिहासको खोजीमा नवपुस्ता आकर्षित नभयकोमा जेष्ठ समाज चिन्तित छन् । ज्ञान हस्तान्तरण त पुरानो पुस्ताबाट नयाँ पुस्तलाई हुने न हो तर मान्छेको समाजमा नयाँ पुस्ताले जिम्मेवारी लिन चाहँदैन । त्यसै गरी बकुल्लाको समाजमा नवपुस्ता जिम्मेवारीबाट बाहिरिँदैछ । त्यसै गरी हाँसको समाजमा पनि नवीनतम् खोजमा पस्न चाहँदैन । यस उपन्यासमा वातावरणीय क्षयीकरणलाई चिन्ताको रूपमा व्याख्या गरिएको छ । मानवीय पक्षलाई पनि सहज रुपमा चित्रण गरिएको छ ।

दुबै श्रीमतीको उपस्थितिमा अनुजलाई हरेकले आश्रय दिएका छन् । त्यसै गरी सीमा र माया बीच शुरुमा वाकयुद्ध भए पनि पछि उनीहरू बीचको अन्तरसम्बन्ध संयोगान्तमा टुंगिएकोछ । मधुर छ, मिठासपूर्ण छ ! ‘दुई श्रीमतीको पोइ, कुना पसी रोइ’ भन्ने कुरोले पिरोलेको छ अनुज पाण्डेलाई ।

प्रेम र उसको जार अनुज पाण्डे बीचको भेटघाट र अनुजको ब्याख्या अनि प्रेममा ऊप्रतिको क्रमागत रुपमा विकसित दृष्टिकोण पनि अर्थपूर्ण छ । हाम्रो समाजमा कसैलाई सिध्याउनु परे ‘जार काटे झैं काट्नु पर्छ’ भन्ने आहान छ । यहाँ प्रेम घरिघरि सिरुपाते भोजपुरे खुकरी झोलाभित्र छाम्छ मात्र अनि अनुजको शब्दचित्रणमा लट्ठिन्छ । कतिपय प्रसंगमा प्रेमले सीमालाई बुझ्न नसकेको जस्तो अनुभूति पनि हुन्छ, नारीमाथिको दमनमा नारी छैनन् भन्ने मान्यतालाई थप टेवा पु¥याउन सफल छिन्–सीमा । हातपात गर्ने श्रीमान्लाई त्यसपछिका दिनमा परित्याग गर्न सफल छिन् सीमा । त्यसै गरी अमेरिकामा शारीरिक आवश्यकता पूरा गर्ने साथीको रुपमा अनुजसँगको सहकार्य र उसबाट जन्मने बच्चाको जिम्मेवारी आफ्नै हुने उद्घोषबाट नारी कति स्वतन्त्र र आत्मनिर्णयको भागिदार छन् भन्ने पक्षलाई पनि उजागर गर्न खोजिएको छ ।

यसै गरी यस कृतिमा प्रेमको श्रीमती सीमामाथि अनुजको, बैंकको हाकिमको हातलाइमा नेपालको भूमी सीमामाथि भारतीय हस्तक्षेप अर्थात् सीमाको भूगोलमा अनुजको रमाइलो नेपाली भूमीमा भारतीय विस्तारवादको अध्याय तपÞर्m इङ्कित गर्न पनि खोजिएको पो हो कि ? त्यस्तै यस कृतिले कागले बच्चा कोरल्न नसके पनि, त्यसै गरी बच्चा कोरेली सके पछि पनि नयाँ जोडी रोज्न पाउँछ । हाँसको संसारमा पनि नयाँ जोडी रोज्न कुनै आइतबार कुर्नु पर्दैन तर यो छुट मानव जातिको समाजमा त्यति सहज छैन । मानव जातिको जोडी स्थायी प्रकृतिको हुने पाटोलाई पनि संयोजन गरिएको छ ।

यस कृतिले टौदह जस्ता पोखरी, सिमसारको संरक्षण, जलचर, पारिस्थितिकीय प्रणालीको संरक्षणका साथसाथै जैविक विविधताको संरक्षण जस्ता पक्षलाई पनि सारमा केलाएको छ । भाषा, शब्दावली, सन्देशको हिसाबले यो कृति पठनीय एवम् संग्रहनीय मान्न सकिन्छ । जनजिब्रोको शब्दलाई टपक्क टिपेर मौलिकता सहित शब्द बगैँचामा फुलाउन सक्नु लेखकको सबल पक्ष हो । यद्यपि आमपाठकले विषयवस्तुको गहनतम् पाटोलाई त्यति सहजरुपमा लिंदैनन् कि भन्ने पक्ष पनि सँगसँगै जोडिन सक्छ ।
कृतिको आध्योपान्त अध्ययनपछि निम्नानुसार बुँदालाई सहजताको लागि टिपोट गर्न सकिन्छ ।

– यो उपन्यास सामाजिक संरचनाको प्रतिविम्व हो ।
– प्रेमी र प्रेमिका बीचको सम्बन्धलाई कुनै वाद, विचार र भौगोलिक सीमाले बन्देज लगाउँदैन ।
– जवाफदेहिता कम र रङ्गिन सपनाको तानावानामा युवाहरु रमाउँछन् ।
– सत्य, तथ्य, वस्तुगत विश्लेषण सहित खोज–अनुसन्धानमा जानेलाई उपेक्षा गरिन्छ अर्थात् एक्लो बृहस्पति झुठो बनाइन्छ ।
– सामाजिक न्याय, रुपान्तरण र क्रियाशीलता भन्दा पनि परम्परालाई धान्ने प्रवृत्ति सामाजिक रुपमा हावी देखिन्छ ।
– बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने आहानलाई मुठीभर अगुवाहरु अधिनस्त गर्न चाहन्छन् ।
– पशुपन्छी र वनस्पति बीचको सहकार्यको तुलनामा मानवीय समवेदना कमी भएको महसुस गर्न सकिन्छ ।
– पीडा सबैलाई हुन्छ तर मान्छेले आफ्नो पीडा अरुलाई बाँड्दैन र पीडाको बोझ बोकिरहन्छ ।
– जैविक विविधता संरक्षणको दृष्टिकोणले पनि यो कृति महत्वपूर्ण छ ।
– ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’ भन्ने लोकोक्तिलाई महत्वपूर्ण अंशको रुपमा चित्रण गरिएको छ ।
– ज्ञान, सीप, प्रविधि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाने विषयलाई सहजरुपमा उल्लेख गरिएको छ ।
– गरे के हुन्न, आजै गर्ने, आफैंले गर्ने र अहिले नै गर्ने विषयमा जोड दिइएको छ ।
– सीमासँगको संसर्गलाई नेपाली भूमीमाथिको भारतीय विस्तारवादको रुपमा लाक्षणिक चित्रण पनि हुनसक्छ ।
– नेपालको राजनीतिमा हावी राष्ट्रवादी चिन्तनलाई राष्ट्रवादीको कथन र भट्टी पसलको यथार्थसँग जोडी व्यङ्ग्य गरिएको छ ।
– वैदेशिक रोजगारमा जाने युवाहरुको पीडा–व्यथा र आप्रवासीको यथार्थतालाई उदाङ्गो पारेको छ ।
– प्रवृत्ति आआफ्नो हुन्छ, कोही जात्रामा बस्न मन पराउँछन्, कोही हेर्न मन पराउँछन्, कोही शान्ति चाहन्छन्, कोही घुमफिरमा रमाउँछन् भन्ने घटनाक्रमलाई पशुपन्छी, जलचर र मानिसमा लागू हुने कुरालाई चित्रित गरिएको छ ।
– हाम्रो गौरव खोज्नु पर्छ, कथनको भरमा कुद्नु हुँदैन भन्दै दहमा डुब्दै, यसको पिंधमा रहेको इतिहास खोज्ने–बुझ्ने प्रयासको लागि अभिप्रेरित गरिएको छ । हामीले हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकताको ऐतिहासिकतालाई केलाउनै पर्छ ।
–माकुरामाथि देउताको बज्रप्रहारको रुपमा नेपालको राजनीतिमा विकसित शक्तिसंघर्षप्रतिको इंगितको रुपमा लिन सकिन्छ ।
– मानिसमा मात्र होइन, जीवजन्तु, पशुपन्छी र जलचरमा पनि प्रेम हुन्छ, माया–ममता हुन्छ भन्ने अर्थ सहित लहड़े हाँस र काली हँसिनीको प्रेम, नागरानी र डोब्रेसाप बीचको प्रेम–सम्बधलाई लिन सकिन्छ ।
– प्रेमको अर्थ के हो भन्ने प्रेम कहानी कविताबाचनबाट प्रेम र सीमा बीच आकर्षण बढेको तर प्रेममा देखिएको मानवीय संवेदनाको अभावमा सम्बन्ध परित्याग गरेको देखिन्छ ।
– मानिस बीच विमति हुँदा डिभोर्स गर्छन् तर ग्रलेग हाँस जीवनभर सँगै बस्छन्, यसबाट मायाप्रेमको यथार्थतालाई आँक्न सकिन्छ ।
–राष्ट्रियताको भावना उर्लने खालको नालापानी युद्ध र बर्मामाथिको हमलामा गोर्खालीको विजयगाथालाई पनि छुन भ्याएको छ ।
– चराको संसारमा भालेपोथी दुबै बच्चा कोरल्न, दाना संकलन गर्न र बच्चालाई खुवाउन सहकार्य गर्छन् भन्ने सन्देश दिइएको छ ।
– माछाको राज्यको रुपमा रहेको पोखरीभित्र पनि प्रजातन्त्र प्राप्तिको लागि बहस भइरहेको कथन औंल्याइएको छ ।
– उडन्ते हाँसको समाधि कथालाई एउटा अनन्त यात्राको रुपमा चित्रण गरिएको छ ।
– हाँस र मानव बीचको अन्तरसम्बन्धलाई अन्योन्याश्रित सम्बन्धको रुपमा ब्याख्या गरिएको छ ।

अन्त्यमा, यो कृति विज्ञान, भाषा, सँस्कृति, मूल्यमान्यता, परम्परा, आप्रवासीको कथन, पर्यावरणीय दृष्टिकोण, राष्ट्रिय जागरण, युवाजोस, अनुभवीको ज्ञान र सामाजिक संरचनाभित्रको खोतलखातलको अध्ययनका दृष्टिले अर्थपूर्ण छ ।

चितवन

प्रतिकृया व्यक्त गर्नुहोस् ।