Mero Sabda

स्कूलमा त्रिपल एक्स काण्ड


– लिलक सिटौला

विद्यार्थीको जीवनमा सबै भन्दा आनन्दको दिन नै आफ्नै स्कूलको खेलकुद र विविध कार्यक्रम नै थियो । हाम्रो स्कूल शनिश्चरेको सबै कार्यक्रम सकिए पनि कहिलेकाहिं भाडामा फुटबल खेलाडीहरु लिएर स्कूलमा खेलाउने चाँजोपाँचो हुँदोरहेछ । किनभने हाम्रो स्कूलको खेल्ने ठाउँ नै ठूलो थियो । फुटबल खेलाडी आएपछि स्कूलको घण्टी लाग्दथ्यो छुट्टीको । हामी सबै फुटलब हेर्ने तयारीमा बस्थ्यौं ।

खै कुन–कुन क्लवबाट गोल लिएर आउँथे खेलाडीहरु । हाम्रो स्कूलको चाहना भने आफ्ना विद्यार्थीहरुले राम्रो फुटबल हेरेर शनिश्चरेको नाम राख्ने मात्र थियो । हामी सबै फुटबल हेथ्र्यौं । खेलमा त्यो बेला पनि फुटलब धेरै आकर्षक थियो । वास्तवमा फुटबल बडो घमासान हुन्थ्यो । धेरै जसो एक–शुन्यले हारजीत हुन्थ्यो । त्यस्तो फुटबल हामी खेल्न सक्दैनथ्यौं ।

नक्सलवाडी, मोहनबगान, कालेङ्गपुङका खेलाडीहरु शनिश्चरे आउँथे । हिन्दुस्थानका खेलाडीहरुलाई शनिश्चरे भित्र्याउने सायद अम्बर दास नै होला जस्तो लाग्छ । उहाँ पनि गोलकिपर खेल्नु हुन्थ्यो । कालेङ्गपुङका खेलाडीहरुको अर्फन मगरले जिम्मा लिन्थे । खेलाडीहरुको जिम्मा लिने जति प्रायः गोलकिपर खेल्थे ।

वास्तवमा शनिश्चरेमा खेल्ने भन्दा पनि खेलाउनेहरुको भूमिका महत्वपूर्ण रहेछ । खेल खेलाउने प्रमुख श्री रणबहादुर बुढाथोकीको ठूलो योगदान थियो । घर छेउमा स्कूल भएको हुँदा सेतो हाफपेन्ट र टिसर्ट लगाएर स्कूलको मैदानमा फुटबल खेलाउन सिटी बजाउँदै आउनु हुन्थ्यो । उहाँ शनिश्चरेको अभिभावक हुनुहुन्थ्यो । स्थानीय खेलाडीहरु पनि कम थिएनन् । कमल प्रधान, नारद कोइराला, उमाकान्त शिवाकोटी, जीवनमणि ढकाल, भैरव थापा, रिद्धी खड्का, इन्द्र कार्की, प्रजापति कोइराला, अम्बर बंगाली, ठाकुर शिवाकोटी, चन्द्रभक्त बुढाथोकी, मोहन शिवाकोटी, बाबुलाल प्रधान, रवी बंगाली, खुशबहादुर खड्का, दिलकुमार थापा, अर्जुन थापामगर, धनबहादुर काफ्ले, सुरेन्द्र बुढाथोकी लगायत अग्रजहरुले फुटबलमा त्यो बेला शनिश्चरेको इज्जत थामेका थिए ।

त्यो बेला जसले फुटबललाई मर्ने गरी हानेर आकाशमा धेरै माथि पु¥यायो, त्यही हिरो हुन्थ्यो । थप्पडीको बर्षात् हुन्थ्यो । गोल पोष्टमा हान्ने भन्दा पनि आकाशमा धेरै उडाउने गर्थे खेलाडीहरुले । जुध्न आउनेको नलीखुट्टामा काँडैकाँडा भएका जुत्ताले हानेर प्रतिद्वन्द्वीलाई घाइते बनाउने खालको खेल हुन्थ्यो । जसले बढी रफ खेल्यो, प्रायः त्यही टीमले खेल जित्थ्यो ।

कहिलेकाहिं त शनिश्चरेको टीमले हार्दा पनि आयोजक समितिको मंचबाट नै पित्तले शिल्ड जबरजस्ती खोसेर हाम्रा आयोजकहरुले ‘हिपहिप हुर्रे ..’ भन्दै ‘यो जीत कसको ? शनिश्चरेको ..’ भन्दै बजार तर्फ दौडिंदाको मज्जा नै अर्को थियो । कति सुखद जीवन थियो । वास्तवमा कुनै मान्छे धनी होस् या गरीब होस्, बाल्यकालको संगत बढो आनन्द र सुखमय थियो, ठूलो थियो । माथि उल्लेखित नामका फुटबल खेलाडीहरु शनिश्चरेका लोकल खेलाडीहरु थिए । त्यसैले उहाँहरुले जे भने पनि हामी मान्दथ्यौं ।

स्कूलमा बाहिरबाट आएका खेलाडीहरुका खेल हेर्नमा हामी तल्लिन थियौं । अचानक शनिश्चरे स्कूलमा एउटा समूहको जन्म भयो । हुन त शनिश्चरे हाईस्कूलको सबै प्रक्रिया राजनीतिक नै रहेछ । यस स्कूलमा पढ्ने मान्छेहरुको उन्नति नै भएको छ । किनभने हाम्रो स्कूलको सबैभन्दा राम्रो पक्ष भनेको पढाउने गुरुबा, गुरुआमाहरु असल, सक्षम र विद्यार्थीप्रति उत्तरदायी थिए ।

फुटबल चलिरहेको बेलामा कथाले अर्को पाटो मागेको थियो । अर्को नयाँ समूह जन्मेको थियो । संगठनको नाम थियो– त्रिपल एक्स । जम्मा थ्री एक्स । यो संगठनको काम थियो चोरी गर्ने । हामी पहिलो चरणको फुटबल हेरिरहेका थियौं बाहिरबाट आएका खेलाडीहरुको । बडो रोचकताको साथ फुटबल खेल सकियो । स्कूलमा एउटा आँतेसको सिर्जना भयो । विद्यार्थीहरुको किताब राख्ने झोला, खेलाडीहरुको लुगा हरायो ।

भोलिपल्ट मोहन जोशी सर र मोहन शिवाकोटी सरले मलाई मन्चको पश्चिमपट्टिको अफिसमा बोलाउनु भयो । कक्षाबाट निस्किएर अफिस पुगें । सबै सर–गुरुआमाको माझमा उभिएँ । मोहन जोशी सर हेडमास्टर भइसक्नु भएको थियो । मलाई उहाँले भन्नु भयो– ‘हाम्रो स्कूलमा कसरी सामान हरायो, भन बजारे गुण्डा ?’ मैले भनें– ‘यसमा मेरो कुनै हात छैन सर । मैले यो काम गरेको भए स्वीकार्थें । मैले नगरेको काममा किन मलाई दोषी सम्झिनु हुन्छ ?’ मैले प्रतिकार गरें ।

सबै सरहरु छक्क परे । झा सर अर्थात् गुणानन्द झाले ‘यसले बजारमा जे गरे पनि यो विषयमा यसले केही गरे जस्तो लाग्दैन’ भन्नु भयो । त्यसपछि शिवप्रसाद दहाल र मोहन शिवाकोटी सरले मलाई त्यो काम कसले गरेको हो, एक हप्ताभित्र पत्ता लगाउने जिम्मा मलाई दिनुभयो । म छक्क परें । मलाई पहिला पनि जासुरी फिल्म मन पथ्र्यो, त्यही जिम्मा पाएँ । मानौं डिआईजी भए जस्तै भयो । फुली थापियो, म दंग परेको थिएँ ।

त्यो काम सजिलो भने थिएन । धर्मढुकुटीको चोरीमा एउटा साथीलाई नियुक्ति गरे जस्तै यस काममा पनि कसैले नचिनेको नयाँ विद्यार्थीलाई मैले नियुक्ति गरें । त्यो साथीको नाम थियो जोनी, अर्थात् विष्णु ढकाल । हरिबहादुर ढकालका छोरा । विष्णु पाराखोपीबाट हाम्रो स्कूलमा पढ्न आएका थिए । उसलाई मैले सबै कुरा सम्झाइ–बुझाइ जिम्मा दिएको थिएँ । त्यही अनुसार काम भएन भने बजारेहरुको रामधुलाइ हुन्छ भन्ने भनेर बुझाएपछि उसले ‘हुन्छ’ भनेर आफ्नो जासुसी काम शुरु ग¥र्यो ।

म अन्जान तरिकाबाट हिंड्थें । मेरा जासुसहरु सक्रिय रुपमा थिए । अर्को साथी खुदुनावारीबाट आएको थियो– गोविन्द गिरी । उसलाई पनि खबरदारीमा पठाएको थिएँ । स्कूलको घण्टी बज्यो, खाजा खाने छुट्टी । सबै विद्यार्थी साथीहरु खाजामा व्यस्त थिए । खाजा खाएर कक्षामा जाँदा सबैको किताबदेखि झोलासम्म गायव भएको थियो । मैले स्कूलका सबै भागमा हेरें । लेखिएको थियो– ‘होसियार ! खबरदार !! एक्स एक्स एक्स, हा..हा.. हा.. ।’

मलाई भयंकर रिस उठ्यो । दिएको फुली नै फालुँ जस्तो भएको थियो । एकैछिन्मा मेरा जासुस विष्णु ढकालले मलाई कानमा त्रिपल एक्सको नाम भन्यो । म छक्क परें । ‘हो के ?’ भनेर सोधें, उसले– ‘हो, पक्का हो,’ भन्यो । सरहरुले दिएको जिम्मेवारी र मलाई लागेको दोषको उपर मेरो केही लागेन, मैले जोशी सरलाई उसको नाम भनिदिएँ ।

म आफ्नो काम गरेर कक्षा कोठातिर लागें । जोशी सरले मेरो सुराकीको आधारमा संजीव उप्रेतीलाई नराम्रोसँग कुटेको थाहा पाएँ । मलाई नमीठो लाग्यो । आफूले थाहा पाएपछि उसलाई भेटेरै सम्झाएर बचपनको साथीलाई त्यो घटनाबाट बचाएको पनि हुन्थ्यो लाग्यो । तर बुद्धि पुगेन, बचाउन सकिएन ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।