२०७७ फागुन १७ सोमबार
Mero Sabda

शरणार्थीले सबै क्षेत्रमा दखल दिए


– ऐतराज नेम्वाङ ‘सन्तोष’

धेरै टाढा आकाशमा तारा टुक्रिएर झर्दा आँखा चिम्लिएर वरदान माग्ने हामी, तर मानिसका सपनाहरु तुहिएर छाती टुक्रिदा कसैले केही प्रतिक्रिया जनाउँदैनन् । लाग्छ सपना तुहिनु र टुक्रिनु एक सामान्य घटना होला । हुन पनि एक सपना तुहिदैमा संसार नै रित्तिने त होइन । एउटा सपनाको अन्त्य भए पनि त्यसको केही समयपछि अर्को सपनाको शुरुवात् त हुन्छ नै । तर पनि भित्र मनमा कतै त्यो सपनाको सम्झनाले झस्काइरहेको हुँदोरहेछ । त्यो सम्झना कहिलेकाहिं बल्झिएर आँसु नै झर्ने गरी दुख्दोरहेछ ।

म एक सामान्य परिवारको मान्छे । मन बहलाउने अरु केही साधन मेरो लागि आकाशको फल नै थियो । त्यो मन बहलाउनुको एउटै विकल्प आफू त्यही निर्माणको काममा व्यस्त हुन मात्र थियो । श्रीमतीको मृत्युको घटनापछि मलाई सामान्य अवस्थामा फर्कन केही दिन लाग्यो । त्यसपछि सदाझैं निरन्तर काम गर्न थाले ।

अब म हाजिरा गर्न छाडेर ठेक्का लिन थालेको थिएँ । मेरो पहिलो घरको ठेक्का कञ्चनवारीको टीका कोइराला दिदीको घर थियो । भनौं भने मैले दोस्रो खुड्किला टेक्न थालेको थिएँ । यता घरमा बुबाआमाले पुनः विहे गर्ने दबाब दिन थाले । आफूलाई चाहिं यति चाँडै विहे गर्ने रहर थिएन । तर घरबाट दबाबको हदै नाघ्न थाल्यो, अन्त्यमा म विहे गर्न राजी भएँ ।

एक दिन केटी हेर्न गइयो । त्यति बेला मेरो कपाल लामो लामो थियो । स्याहार त्यति हुन्थेन । किनकि जति स्याहार गरे पनि सिमेन्ट लागेर हालत उस्तै हुन्थ्यो । त्यसैले मैले कपालको स्याहारनै गर्न छाडी दिएँ । मेरो कपाल देखेर केटी डराएको थियो रे । बुबाले पनि केटी मन प¥यो भनेर तोक लगाइ दिएपछि केटीको पक्षले पनि केटीलाई विहे गर्न दबाब दिन थालेछन् । त्यति बेला ऊ आफ्नो काकाकाकीको घरमा थियो र भोलि घरमा गएरै कुरा गर्नुपर्ने छलफल भएर त्यो दिन घर फिरियो ।

भोलिपल्ट एक जना साथी लिएर उसको घरैमा गयौं । घरमा उसको आमा मात्र हुनुहुँदोरहेछ । कुरा मैले नै शुरु गरें । मैले सिधै भनिदिएँ– ‘मलाई विहे गर्न त्यति रहर छैन । घरको दबाबमा परेर म विहे गर्दैछु । पर्सि बुधबारसम्म छोरी दिने भए दिनु, नत्र होस् ।’ त्यति भनेको मात्र थिएँ सासु आमैले ‘हुन्छ’ भनिदिइहाल्नु भो । बुधबार बेलुका हामी त्यहाँ गयौं र साधारण तरिकाले विहेको कार्य सकेर राति नै पैदल घरमा भित्र्याइयो । आजसम्म हामी सँगै छौं । खुशी छौं र सुखी छौं ।

तत्कालिन बुधबारे गाविस, हाल बुद्धशान्ति गाँउपालिकामा एक पटक खोइ कसको सक्रियतामा हो, हामीलाई सांगीतिक कार्यक्रमको लागि बोलाइएको थियो । म, प्रेम समाल, प्रकाश आचार्य, भविश्वर सुब्बा, चन्दन श्रेष्ठ, भक्ति सिटौला र दुर्गा सिटौला त्यहाँ कार्यक्रमको लागि गयौं । भक्ति सिटौला र दुर्गा सिटौला नृत्यमा निपूर्ण थिए, अनि हामीहरु बाँकी चाहिं वाद्यवादनको लागि गएका थियौं । त्यो कार्यक्रममा पिनाकी कोइराला (भालेकाजी)को समूह चाहिं नाटकतर्फ भाग लिएको थियो ।

त्यहाँको पुरानो सिनेमा हलमा कार्यक्रम गर्ने स्थान तोकेको थियो । शुल्क तिरेर प्रवेश गर्नुपर्ने थियो । दिनभर अभ्यास ग¥यो, साँझ ५ बजेदेखि कार्यक्रम शुरु गरिन्थ्यो । अन्दाजी दुई घण्टाको कार्यक्रम सकेपछि खाना खायो, फेरि अभ्यास ग¥यो, अनि सुत्न गयो । यसरी नै तीन–चार दिनसम्म कार्यक्रम गरियो । सीमित वाद्यवादन, सीमित साउण्ड सिस्टम र स्थानीय कलाकारको कार्यक्रम हुँदा पनि त्यो हल भरिभराउ भएको थियो ।

अर्को अविष्मरणीय कुरा के भने भविश्वर सुब्बा सुटुक्क अपरेटर रुममा गएछ र जहाँबाट फिल्म देखाइन्थ्यो, त्यहाँबाट फिल्म देखाउने मिसिनबाट लाइट चलाएर रातो निलो हरियो प्लाष्टिक राखेर रङ्गीचङ्गी स्टेज बनाइदिएको थियो । म मादल बजाउँदै थिएँ अचानक रङ्गिन प्रकाश आएको देखेर जिल्ल परें । प्रेम समाल ड्रम बजाउँदै थियो, ऊ पनि जिल्ल परेर मलाई हेर्दै बजाउन थाल्यो । केही क्षण पश्चात् थाहा भो, यो प्रकाश कहाँबाट आएको हो भनेर ।

हामी रमाइलो मान्दै वाद्यवादन बजाउँदै थियौं । त्यसको केही बेरमा गर्मी बढेर आयो । खासमा त्यो प्रकाशबाट गर्मी आउँदो रहेछ । हामी त पसिना पसिना भयौं । प्रेम समालले ड्रम छोपेको रातो कपडाले मुख पुछ्दै थियो । हलमा भएको दर्शक पनि रमाइलो मान्दै ताली बजाउन थाले । केही बेरपछि हाम्रो बाजा बजाउने पालो सकिएर बाहिर निस्केको प्रेमको अनुहार त रातै भएछ । कारण त्यही ड्रम छोपेको कपडाको कारणले रहेछ ।

दोस्रो दिन हामी कार्यक्रम सकेर फेरि अभ्यास गर्न गयौं । कति साथीहरु खाना खान होटल गए छन्, पत्तै भएन । धेरै बेरपछि हामी दुई–तीन जना खाना खान होटल पुगेको खाना सकियो भन्ने कुरा सुनेर हामी त छक्क प¥यौं । कुरा के भएछ भने पहिला गएर खाने साथीहरुले ‘हामी मात्र छौं, अरु सबैले खाएर गइसके’ भनिदिएछन् । त्यसैले हामीलाई नराखी दिएको रहेछ । त्यस रात चाउचाउ खाएर चित्त बुझाउँदै सुतियो ।

यसरी नै तीन–चार दिनसम्म कार्यक्रम गरियो र घर फिर्ती भइयो । खै त्यस समय कति पारिश्रमिक पाइयो, अहिले हेक्का रहेन । तर पनि केही पायौं । मैले यहाँ यो लेख्नुको कारण के भने प्रेम समाल बहुप्रतिभाशाली मान्छे थियो । संगीतमा पनि निपूर्ण, फुटबलमा पनि निपूर्ण । तर धेरै बाठ्ठो । हामीले उसलाई जिस्क्याउनु प¥यो भने (ज्याकल) स्याल भनेर जिस्क्याउँथ्यौं ।

उसले मबाट लेवर काम शुरु गरेको मान्छे ऊ, चाँडै नै मिस्त्री काम पनि सिक्यो । पछि गएर हामीले मिलेर काम ठेक्का पनि लियौं । एकसाथ काम मात्र गरेनौं, अन्य थुप्रै कार्यक्रमहरु पनि सँगै हुन्थ्यो । हामीलाई कसैले यस्तै कार्यक्रम गर्दा बोलाउँथ्यो, सँगै जान्थ्यौं ।

जीवन बाँच्न कहाँ सजिलो हुँदोरहेछ र ? एउटा काममा एकनास निरन्तरता दिइयो भने केही समयपछि अनुभवी हुँदो रहेछ । त्यसको निम्ति अरु कुनै वहानाहरु पनि खोज्नुपर्ने रहेछ । नयाँ–नयाँ अवसरहरु खोज्न बाध्य हुनुपर्दो रहेछ । कहिले हर्ष खोज्ने वहानामा केही सम्झौता गरियो । कहिले सम्झौता गर्दागर्दै विस्मातमा पनि परियो । तर यो होइन कि वेल पाक्दाको कथासँग जोडिएको काग हुँ । म त जिन्दगीको रनभुल्लको कुहिरोमा रुमल्लिएको काग मात्र हुँ ।

यही क्रममा हामीले दाउरा लिन जाने जंगलमा भुटानी शरणार्थीको आगमन शुरु भयो । त्यहाँ भन्दा पहिला कनकाई खोलाको किनारमा बसोबास गराइएको थियो । त्यहाँ उनीहरुको दुर्दशा देख्दा र सुन्दा आफैलाई मानिस हुनुको धिक्कार लाग्थ्यो । विचराहरु खोला किनाराको वगरमा आफ्नो जन्मभूमीबाट खेदाइएर पशु सरह एउटा सानो पालमुनि खोलाको चिसो हावा खाँदै बस्न बाध्य । सायद उनीहरु शरणार्थी हुनुको दुर्भाग्यमा त्यहाँ त्यसै रछ्यानमा फालिएका हुन् ।

बालबालिकाहरु कुपोषणको अवस्थामा दिनदिनै चार–पाँच जनाको मृत्यु वरण गर्न बाध्य । न गतिलो कपडा न त राम्रो खान–पिउन पाउनु । न त शौचालयको राम्रो बन्दोबस्त । देख्न त पाइएन तर सुनेको, कतिले त त्यही पुलबाट हामफालेर आत्महत्या पनि गरे रे । हेर्दा लाग्थ्यो कुनै नरक जस्तो । तर पछि समयसँगै विदेशी सहायताहरु आउन थालेछ र बन्दोबस्ती साथ हालको कैदले वनमा ल्याउन थालेको थियो । जहाँसम्म मलाई थाहा छ, यसको श्रेय तत्कालिन वन राज्यमन्त्री श्री वीरमणि ढकालज्यूलाई जान्छ । उहाँले शरणार्थीलाई त्यस ठाँउमा ल्याउनु नै खुदुनावारीको भाग्य बदलिनु थियो ।

किनकि नारायण चोकको फूलमती खोला तर्ने बित्तिकै हातमा चप्पल बोकेर खुदुनाबारी पुग्नु पथ्र्यो । त्यही पनि धेरै अप्ठ्यारा बाटोहरु हिँड्दै । कतै आलीमा हिँड्नुपर्ने । कतै खाल्डाखुल्टी छिचोल्दै खुदुनाबारी पुगिन्थ्यो । जब त्यहाँ उनीहरुको आगमन केही बाक्लै हुनथालेको थियो । उनीहरुको बस्ने घरहरु बनाउन धेरै मजदुर चाहिने भयो । कतै हस्पिटल बनाउनु पर्ने, कतै अफिस बनाउनु पर्ने । त्यसका निम्ति हामीलाई पनि कसैले सिफारिस गरिदिएको थियो र म, प्रेम समाल र अरु दुई–चार जना साथीहरु पनि त्यस स्थानमा काम गर्न गयौं । त्यस समयमा पत्रकार कृष्ण हुमागाईंलाई पनि त्यहाँ काम गरिरहेको देखेको थिएँ ।

बाँसको साना–साना घर । दुई कोठा एक परिवारलाई दिइन्थ्यो । केही दिन मिस्त्री काम गरेपछि प्रेम समाललाई (फोरमेन) बनाइ दियो । उसमा धेरै प्रतिभा देखेर होला उसको हातमा रजिस्टर थमाइ दियो ।

तर हामी चाहिं त्यही मिस्त्री काम गर्न थाल्यौं । त्यहाँको अफिस, हस्पिटल, स्कूलहरु धेरै बनाइयो । बिस्तारै बिस्तारै ट्वाइलेट बनाउने समूहका अरु धेरै साथीहरु पनि थपिए । समय बित्दै जाँदा अब त्यहाँ धेरै शरणार्थीहरुको आगमन भइसकेको थियो । मान्छे धेरै भएपछि केही नराम्रो हल्लाहरु पनि हुन थाल्यो । त्यस क्याम्पको वरिपरि बजार पनि लाग्न थाल्यो । राँगा, सुँगुरहरुको बिक्री बढ्न थाल्यो । होटल धमाधम खुल्न थाल्यो । विकृतिले डेरा जमाउन थालेको थियो । हुन पनि किन नहोस् । रातारात आफ्नो जन्मभूमीबाट रित्तो हात खेदाउँदा मानसिक तनाव एकापट्टि र आफूसँग सम्पत्तिको नाममा केही पनि नभएपछि खर्च चलाउन विकृति त अवश्य नै जन्मिने भइहाल्थ्यो नि । तर म चाहिं त्यसबाट अछुत नै रहे ।

त्यहाँ काम गरेको केही महिनापछि उनीहरु पनि त्यही काम गर्न थाले । उनीहरु प्रायःलाई मिस्त्री काम थाहा थिएन र प्रायःले त्यति बेला नै काम सिके । भनिन्छ नि जहाँ समस्या त्यही उपाय । बिस्तारै बिस्तारै उनीहरु गाँउतिर पनि जान थाले । कोही खेती किसानीमा जान्थे, कोही निर्माण कामको लागि । कोही व्यापार गर्थे त, कोही बोर्डिङतर्फ शिक्षणतर्फ जान्थे । किनकि उनीहरुको अङ्ग्रेजी एकदम राम्रो थियो । भनौ उनीहरुले प्रायः क्षेत्रमा दखल दिन थाले । त्यसको प्रत्यक्ष प्रभाव स्थानीयबासीमा पर्न थाल्यो । मजदुर, शिक्षण, खेतीकिसानी, संगीत लगायत हरेक क्षेत्रमा उनीहरुको सस्तो उपस्थितिले स्थानीयलाई ठूलो असर ग¥यो । जसले एक किसिमको असन्तुष्टि र द्वन्द्वको सिर्जना शुरुवात् भयो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।