Mero Sabda

भैरव दाइ भएपछि केको डर ?


– लिलक सिटौला

एक दिन बिहान म उठेको मात्र के थिएँ शनिश्चरको बजारमा एउटा ठूलो हल्ला आयो । हल्लैहल्लाको बजार थियो यो । बजारबाट दक्षिण करिब तीन किलोमिटरमा एउटा काठको पुल थियो । त्यहाँ ठूलो गाडी दुर्घटना भएछ । दास भन्ने ड्राइभर थिए । ट्रक पल्टिएर उहाँलाई थिचेको थियो । ट्रकभरि मुसुरी दालको बोरा थियो । त्यो ट्रकमा देबनारायण साहको प्रिय छोरा मदन पनि चेपिएका थिए । हामी सबैले त्यो दृश्य हेरेका थियौं । हामी त कुदेर पुगेका थियौं ।

दास ड्राइभरको नाम के थियो, मलाई थाहा छैन । त्यसपछि त्यो ट्रक पल्टिएर ती दास ड्राइभरको मृत्यु भएको स्थानको नाम नै फेरियो । त्यहाँका जनताले त्यस ठाउँको नाम नै दासपुल राखिदिए । दुर्घटनामा मृत्यु भएर पनि त्यो स्थानको नामले ती ड्राइभरलाई सबैले सम्झने गरी इतिहास बन्यो । तर उनीसँगै मरेका अर्का मान्छे मदन साहुको नाम हरायो । उहाँ ठूलो ब्यापारी हुनुहुन्थ्यो । मर्ने दुबैको नाम लेखिदिएको भए हुन्थ्यो । तर जनताको अगाडि कसको के लाग्दछ र ।

हुन त शनिश्चरेमा गाडी चलाउने मानिहरुलाई त्यतिखेर धेरै इज्जत गर्ने चलन थियो । त्यस बेलामा उहाँ लोकप्रिय र भलाद्मी हुनुहुन्थ्यो । हामी स्कूलमा पठाउनेलाई गुरुबा–गुरुआमा भन्थ्यौं । गाडी चलाउने मान्छेहरुलाई पनि गुरुजी भन्ने चलन थियो । साच्चिकै हामीलाई अर्थात् समाजलाई पढाउने गुरुवा जस्तै । शनिश्चरेको त्यो बेलाका गुरुजीहरुमा जेवी माझी, इन्द्रजीत देवान, विन्देश्वरी, एक जना सापकोटा पनि थिए, वृहस्पति घिमिरेहरुको नाम रमाइलो र चर्चित लाग्थो ।

घटनाक्रमहरुसँग नै जीवन चल्दो रहेछ । शुक्रबार स्कुल छुट्टी भयो । दक्षिण तर्फ तित्रीको बोट थियो । हाम्रो टिम स्कूल छुट्टी भएपछि तित्रीको बोटमा चडेर पाकेका तित्री खान्थ्यौं । क्या मज्जा । हामीले जस्तो जीवनमा मज्जा अरुले गरे जस्तो लाग्दैन थियो । तित्री पाकेको थिएन, अल्पकाचो मिठो लागेन । हामी सबै लगभग छ भाइ दयार गाउँको गुलियो आँप खान गयौं । दयार गाउँ भनेको शनिश्चरे बजारबाट उत्तर–पश्चिममा पर्दथियो ।

आँप काचो भए पनि गुलियो थियो । आँप खाने र आफै टिपेर ल्याउने भूमिका खेल्ने साथीहरु थिए, म त परिनै गएँ । अरु साथीहरुमा प्रशन्न श्रेष्ठ, रविन खड्का, टंक बस्नेत, ध्र्रुव थापा, अलक फुयलको उपस्थिति थियो । त्यो आँप खाएर मात्र पुगेन, घर पनि ल्यायौं । त्यो बदमासी गरेपछि दयार बुढालाई रिस उठेछ । उहाँले स्कूलमा निवेदन दिनुभएछ ।

वास्तवमा हामीले कृष्ण चरित्र देखाएका मात्र थियौं । प्रहरी चौकीमा निवेदन हालेको भए हामी बाच्दथियौं । तर आफ्नै घरमा हालेको कारणले हामीलाई रामधुलाई भयो । जोशी सरले ‘घुँडा टेक’ भन्नु भयो । दयार बाबैको नम्बरी जग्गामा नै हात हालेछौं ।

अरु सबैले घुँडा टेके स्कूलको अगाडि, म र प्रशन्नले टेकेका थिएनौं । हामीले दुबै हात थाप्यौं । दाहिने र देब्रे गरी लाठीले दश–दश बेत कुटाइ खायौं । गल्ती हाम्रो नै थियो । दयार बूढा मान्छेसँग धरै सम्पत्ति थियो । बज्या आँप नै खाँदा कत्रो रिस उठेछ । तित्री, थाकल, बयर, अङगेरीका त्यो बेला मालिकहरु थिएनन् । काशीनाथ गुप्ताको आँप, दुर्गा मन्दिरको जमुना, सूर्यपुरी आँपहरु खादा कुटाइ खाइएन । दयार गाउँको आँप भने कडा रहेछ । साथै आँप पनि मिठो थियो ।

कस्तो जमाना थियो भने भयंकर रिस उठ्यो त्यो कुराले । कुटाइ पनि खाइयो । बचपनमा सुन्तला चोरेर खाइयो, नास्पाति पनि खाइयो, कहिलेकाहिं पहाडको आलु पनि । शनिश्चरेमा घाँस पनि काटेर बेचेका थियौं । कसैले केही भनेका थिएनन् । दयार गाँउको आपले दिमाग खराब गरो । मारधुलाइ खाइयो । स्कूल छुट्टी भयो, किनभने स्कूलको समय हुन्थ्यो । कसैको केही चल्दैनथ्यो, स्कूलको आफ्नो समयभित्र घण्टी बज्यो, छुट्टी भो ।

हामीले धुलाइ खाएको कुरा घरमा थाहा दिने बानी मेरो थिएन । बजारमा आएर हामीले एउटा जुक्ति गर्यौं आज दयार बूढालाई ठोक्ने । तर कसरी ठोक्ने ? मैले साथीहरुलाई भनें– ‘यस ठाउँमा एउटा दादा छन्, उनीसँग मेरो राम्रो छ ।’ सबै साथीहरुले ‘ओके’ गरे । ग्याङ पार्टीले ‘हुन्छ’ भनेपछि मैले दादासँगको सम्पर्क बढाएँ । म गएँ, उहाँ सुर्जमल बिहानीको गल्लीमा माल खाएर बस्नु भएको थियो । म पुगें ।

उनले सोधे– ‘किन आइस् ?’
मैले सबै बिस्तारमा बताएपछि ‘चिन्ता नगर, हिंड्’ उहाँले भन्नु भयो । उहाँको कुरा सुनेपछि मैले भनें– ‘कता दाइ ?’

भैरव थापाले भन्नु भो– ‘जमुनाको माछो र मुराई, अनि सोफी रक्सी खानुपर्छ ।’ मैले ‘हुन्छ’ भनें । हामीलाई के भुत्रोको डर, भैरव थापा दाइको पछिपछि हिंडियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।