२०७७ फागुन १७ सोमबार
Mero Sabda

पेटका लागि यात्रा गर्छन् मजदुरहरु


– ऐतराज नेम्वाङ ‘सन्तोष’

धेरै माया दिँदा रहेछन् मुटु जोडेर जानेहरु
पर्खाइमा मर्दा रहेछन् मुटु जोडेर बस्नेहरु

विछोडिनु केवल चार शब्द । तर मलाई यही चार शब्दले धेरै रुवाएको छ । कुनै बेला पलपल तड्पाएको छ । न त यसको कुनै औषधि, न त कुनै उपाय । यो त केवल एक आभाष हुने कुरा हो । तर यो विछोडिनुको पीडा त कसैको अधिनमा छैन र हुँदैन पनि । यसको अनुभव मैले व्यहोरेको छु । यो यति पीडादायी हुन्छ कि यसको शब्दमा बयान गर्न सकिंदैन । न त कसैलाई पैंचो दिन मिल्ने रहेछ । यो विछोडको वेदनाले सताउँदा मुटु निचोरेर आउँदो रहेछ । अनि शरीरका सारा खुन आँशुमा परिणत भइ आँखाबाट झर्दोरहेछ । जब आँशु बनेर केहीबेर बगेपछि मन केही हलुङ्गो हुँदोरहेछ । यो अनुभव मैले धेरै रात, धेरै दिन र केही महिना गर्दै केही वर्ष कटाएको छु । पलपल मरेझैं भएको छु । आज यो समयसम्म आइपुग्दा आज पनि प्रार्थना गर्न चाहन्छु कि ‘हे भगवान ! यो विछोडिनुको वेदना अरु कसैलाई नदिनु होला ।’

अब त यो छाती पनि जस्तोसुकै वज्र आइपरे पनि विचलित हुने छैन । अहिले यो छाती यति कठोर भइसक्यो कि सानो–ठूलो जस्तो चोट पनि सहन सक्ने भएकोे छ । सुख पाउनु न मेरो अधिनमा थियो, न त सुखसयल चाहेथे । म त केवल दुई दिन खुशी साथ बाँच्न चाहन्थें । तर त्यो पनि दैवले देखी सहेन । खैर छाडीदिउँ यी कुराहरु । जसरी पनि दिन त बिती नै रहेको थियो । म आफ्नो कार्य क्षेत्रमा एक तमासले लागि रहेथें । जे हुन्छ जसो हुन्छ भोलि हेरौंला भन्दै म त केवल आजको दिन सम्झेर आफ्नो कर्तव्य निभाइरहेथें ।

हेर्दाहेर्दै नारायण चौकदेखि खुदुनाबारी जाने बाटोको स्तरोन्नति भइरहेको थियो । विदेशी दातृ संस्थाले बाटो बनाउन सघाइरहेको थियो । त्यसको केही महिनामा नै त्यो सडक स्तरीय स्तरको बनिसकेको थियो । विदेशी संस्थाहरु लुथरन विश्व सेवा, कारितास, डब्लुएचओ, सेफ द चिल्ड्रेन जस्ता संस्थाहरुको सवारी साधन धेरै नै दौडिन थालेका थिए ।

तर मलाई त्यो बाटो बनिनुमा तत्कालिन् वन राज्यमन्त्री श्री वीरमणी ढकालकै देन जस्तो लाग्छ । जसले जे भनोस्, काम गर्ने मानिसको चर्चा त गर्नैपर्छ । नत्र त कोही–कोही सांसदहरु यो क्षेत्रबाट जितेर गएपछि अनुहार देखाउनै नआउने, कोही आफ्नो कार्यकालभरि केवल डीपीआर मात्र गर्नेहरु आएका थिए । जे होस्, विकासका काम गर्नेलाई जस त दिनै पर्छ । हिजो चप्पल हातमा लिएर हिँड्नु पर्ने बाटोमा केही समय पश्चात् साइकल र मोटर साइकल अनि मोटर गुड्न थालेको देख्दा हामीले केही सन्तोषको श्वास फेर्न थाल्यौं । म मात्र होइन त्यस क्षेत्रका वासिन्दाहरुले पनि ढुक्कसँग हिँड्डुल गर्ने भएका थिए ।

क्याम्पका मानिसहरु गाँउतर्फ लम्कन थालेका थिए । कोही निर्माण क्षेत्रमा त कोही खेतीको काम गर्न । फाट्टफुट्ट लेबरहरु हाम्रै साइडमा पनि काम गर्न आइपुगे । केही समयपछि गढीमा गुनासाका गाइँगुईं सुनिन थाल्यो । एक सय रुपैयाँ हाजिरा पाउने ठाउँमा उनीहरुले पचास रुपैयाँमा नै काम गरिदिन थाले । जसले गर्दा स्थानीय कृषि मजदुरहरु बेरोजगार बस्न थाले । तर खेतीवालहरु चाहिं सस्तो ज्यालामा मजदुर पाएँ भन्ने कुरामा मख्ख थिए । मैले एक–दुई जनालाई सोध्दा ‘हामीलाई दाल, तेल चामल त दिन्छन् तर मासु खानका लागि मात्र हामीले काम गरेको हो’ भन्ने स्पष्टिकरण दिएका थिए । बिस्तारै बिस्तारै उनीहरुले निर्माणक्षेत्रमा पनि प्रभाव पार्न थालेका थिए । हामीले लिने ठेक्काको आधा दाममा नै उनीहरुले काम गर्न थाले ।

हामी निर्माणकर्मीहरु एकजुट भएर छलफल गर्न थालेका थियौं । मैले यता आफ्नै तरिकाले विरोध गरिरहेको थिएँ । कहिले उनीहरुको सामान खोस्ने, कहिले उनीहरुले लगाउने कपडाको झोला खोसेर फ्याली दिने त कसैलाई झप्पु नै लगाउने अवस्था भएको थियो । एवम् रीतले संघर्षहरु अघि बढाउँदै लैजाने क्रममा कतैकतै स्थानीय जग्गावालासँग नै हाम्रो बाझाबाझ हुन्थ्यो । त्यस बेला आफू जवान, कोसँग डराउनु ? यसरी नै धेरै जनासँग वादविवाद भइसकेको थियो ।

जब हदहरु सीमा नाघ्छ, तब एउटा नेतृत्वले जन्म लिँदोरहेछ । निर्माणकर्मीमा आक्रोस बढिसकेको थियो । त्यसैको परिणाम, एक जना दमकको अन्तलाल धिमालको नेतृत्वमा स्वतन्त्र निर्माण मजदुर संगठनको एउटा संगठन निर्माण भयो । शुरु शुरुमा धेरै बैठक भयो, सबै जना उत्साहित भएर यसमा लागे । स्वतन्त्र निर्माण मजदुर संगठन, जुन खासैमा स्वतन्त्र थियो जस्तो लागेको थियो । कुनै राजनीतिक पार्टीको हस्तक्षेप बेगर नै यो संगठन चलिरहेको थियो ।

त्यसै समय २०४९ सालमा बाग्मती नदीमा बाढी आएको थियो र त्यस बाढीले सर्लाही जिल्लामा तवाही मच्चाएको थियो । त्यसको केही महिना पश्चात् एलडब्लुएसका एक जना चिनेका कर्मचारी भाइले ‘दाइ ! सर्लाहीमा स्कूल बनाउनु छ । दुई–चार जना लिएर जाउँ’ भने । मैले पनि ‘हुन्छ’ भनेर हामी तीन जना, म मेरो फुपूको छोरीको श्रीमान् र कुमार कार्की मिलेर जाने भइयो । दैनिक हाजिरा एक सय बीस रुपैयाँ दिने र लेबरलाई साठी रुपैयाँ दिने शर्तमा हामी चैत महिनाको सुरुवात्मा बाटो लाग्यौं । बिर्तामोडमा आएर काठमाडौं जाने रात्रीबसमा चढ्यौं । फेरि विछोडिनुको पीडाले रातभर गाडीमा निदाएनौं ।

बिहान तीन बजे नयाँ रोड भन्ने ठाँउमा ओर्लियौं । अँध्यारो हटेकै थिएन । मधेसको ठाँउ मानिसहरुको आवत्जावत् शुरु भइसकेको थियो । हामी एउटा चियादोकानमा चिया खाँदै बसिरहेको थियौं, अचानक यत्रो ठूलो आगोको ज्वाला दौडेर बाटो मुन्तिर लाग्यो । हामी त तर्सिएर एक अर्कालाई हेराहेर ग¥यौं । हेर्दाहेर्दै त्यो आगोको ज्वाला एउटा घरभित्र पस्यो । एक क्षणपछि थाहा भयो, कसैले बिरालोलाई आगो लगाइ दिएछ र त्यो बिरालो आगोको ज्वाला सहित दौडेको रहेछ । विचरा बिरालो को के दोष थियो ? आगोमा पोलिनु परेछ ।

नयाँ ठाँउ । चिनेको कोही थिएन, कसलाई सोध्ने ? यस्तै अनुत्तरित प्रश्न बोकेर उज्यालो बनाइयो । अनि कागजमा लेखेको ठेगाना हेरेर सोध्यौं । ‘अब केहीबेरमा त्यहाँ गाडी आउँछ, अनि त्यसमा चढेर जानु’ भन्ने जवाफ सुनेर गाडी आउने ठाँउमा बस्यौं । केहीबेरमा नै गाडी आयो र हामी पनि चढ्यौं । हामी पहिला पुग्नुपर्ने ठाँउ वरहथवा रहेछ । त्यहाँ पुगेर गाडीबाट ओर्लेर एलडब्लुएसको कर्मचारीको प्रतिक्षामा बस्यौं । हामी पुगेको त्यो दिन त्यहाँको हाट लाग्ने दिन रहेछ । केहीबेर बजार घुमघाम ग¥यौं ।

त्यहाँ बाग्मती खोलाको माछाको परिकार धेरै प्रख्यात् रहेछ । हल्का रस हालेको माछा । सानो बटुकामा रस सहित पस्केपछि तौलिंदो रहेछ । एक सय ग्रामको एक कनुवा भनिंदो रहेछ । एक कनुवाको पाँच रुपैयाँ पर्दोरहेछ । हामीले देख्यौं धेरै जनाले खाँदा रहेछन् । हामीले पनि एक एक कनुवा किनेर मुराईसँग खायौं । साथमा सोमरस पनि बेच्न राखेका रहेछन् । सख्खरको रक्सी, महुवाको रक्सी पहिलोपटक त्यो ठाँउमा गएकोले देखियो । कोही चिनेजानेका थिएनन् । हामीले पनि महुवा खाने विचार ग¥यौं तर डर लागेर आयो । नयाँ ठाउँमा भरे के हुने हो ?

दिनभर व्यस्त भइयो । जब साँझ प¥यो तब चिन्ताले सताउन थाल्यो । हामीलाई लिन कोही पनि आएनन् । अब प¥यो फसाद । खाने कहाँ ? सुत्ने कहाँ ? कोसँग सम्पर्क गर्ने ? सूचनाको माध्यम पनि थिएन । साँझपख हामीले आँट गरेरै एक बोतल महुवा तुर्काइयो । मज्जा आयो । एउटा दोकानमा गएर खाना खाइयो । अब सुत्ने ठाँउको समस्या । धन्य त्यो होटलको मान्छेले एउटा घरको छतमा गएर सुत्दा हुन्छ भनेको थियो । हामी त्यही घरको दोस्रो तलाको छतमा सुत्यौं । निन्द्रा कहाँ लाग्थ्यो र । त्यस बेलाको घर छोडेर हिँडेको पहिलो दिन हाम्रा लागि । त्यो विरानो ठाँउमा । कस्तो ठाँउ हो ? अझै कहाँ पुग्नु पर्ने हो ? यस्तै चिन्ताले निदाउन सकिएन रातभर । हामी तीनै जना यस्तै छलफलमा बितायौं । बिहानको उज्यालोले धर्ती चुम्ने बित्तिकै हामी आफ्नो सामान बोकेर बाटोमा उभियौं । सायद कोही आइ पुगिहाल्छन् कि ?

धेरै बेर उनीहरुको प्रतिक्षामा बस्यौं । अब त हदै भयो । अब पैदल नै जाने सल्लाह गरेर छेउको दोकानमा गएर ठेगानामा भएको ठाउँ सोध्यौं । उसले हामीलाई इशाराले नै बाटो देखायो । घरबाट कमाउन हिंडेको मान्छे अब फर्किन सकिंदैन, जे होला अब पैदल नै हिंड्ने भनेर आँट गरियो । चैतको महिना । लामो दिनमा बिहानको साढे छ बजेको थियो । हामी त्यहाँबाट बाटो लाग्यौं । आफ्नो आफ्नो झोला एकातर्फ भिरेको । ओछ्याउने ओढ्ने कपडा पछाडि पोको पारेर बोकेको कस्तो अनौठौ देखिएको थियो । केही पर पुगेपछि उराठ लाग्दो ठाउँ देखिन थाल्यो । लामा–लामा सिमेन्टले बनाएको नहर । बाटोको दुबैतर्फ उखुको खेती । जहाँसम्म नजर पुग्थ्यो, त्यहींसम्म उखुकै खेती । कतै–कतै त्यही उखु पेलिरहेको । हिंड्दा हिंड्दा थकाइ लागिसकेको थियो । आराम गर्ने ठाउँ कतै थिएन । बीच–बीचमा कतै रुख भेटेपछि केहीबेर आराम गर्नका लागि उभिन्थ्यौं । अरु जाने बाटो कति टाढो थियो केही जानकारी थिएन । हिंडेको छ, हिंडेको छ । बाटोमा त्यहींको वासिन्दाले हामीलाई लाम लागेर हेर्थे । लाग्थ्यो हामी कुनै अर्को ग्रहबाट आएका हौं ।

भोक–प्यास त कति लागेको थियो कसलाई बताउने ? कसलाई माग्ने ? एक लाथ्रा उखु माग्दा पनि डर लाग्थ्यो । लाग्थ्यो हामी मृगतृष्णाबीच हिंडिरहेको एक यात्री हौं । यात्री पनि कस्तो अन्जान, पुग्नु पर्ने गन्तव्य कता हो ? केही जानकारी थिएन । अहिले जस्तो भए फोन गरेर बोलाइन्थ्यो होला तर त्यो बेला फोन कता पाउनु ।

दिन ढलेर साँझ पर्न लागिरहेको थियो । एकनास पाइला चालिरहेका थियौं । अचानक केही पर उज्यालो देखियो । मानिसको गाईंगुईं पनि सुनिन थाल्यो । हाम्रो मनमा केही आशा जाग्यो । जति नजिक पुगियो, त्यति मन खुशी भएर आयो । त्यहाँ पुगेर थाहा भयो, त्यहाँ त सानो बजार रहेछ । त्यहाँ हामीले प्याजी र चप खायौं । पानी पियौं । तब शरीरमा तागत आयो ।

त्यहाँको मान्छेलाई हामी जाने ठाँउको ठेगाना सोध्यौं । लक्ष्य त्यहीं नजिक रहेछ । खुशीको सीमा नै रहेन । खुट्टामा तागत बढ्यो । अब चाहिं पाइला पनि हतार हतार चल्यो, चल्न थाल्यो । रातको सात बजे बल्ल ठाउँमा पुगियो । अनि आफ्नो झोला र कपडाको पोका फ्यालेर छेउको खाटमा कसैलाई नसोधी ढल्कियौं ।

त्यो दिन सम्झिंदा आज लाग्छ– मजदुरहरुको घर छाडेर हिंड्ने यात्रा सधैं अनिश्चित, अन्यौल र त्रासदियुक्त हुन्छ । उनीहरुको त्यो यात्रा कुनै मनोरन्जनको लागि हुँदैन, आफ्नो र परिवारको पेटको भोकले निरन्तर यात्रा गराइरहन्छ । तातो माड पेटले पाएपछि मुहारमा देखिने चमकभन्दा सुखमय क्षणको अर्को हुँदैन । त्यही असिम आनन्दलको लागि मजदुरहरु काँधमा आशा बोकेर जहाँको पनि यात्रा गर्न तयार हुन्छन्, हामीले पनि त्यही गरिरहेका छौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।