Mero Sabda

रंगमा हराएको चित्र


–कृष्ण बराल

निस्किएँ । उभिएको नायककथामा छु ।

घटित केही घटनाहरूबाट उभिन पुगेको खलनायक पनि छु । रङ्गहरू, रेखाहरू, आकृतिहरू– त्यो तयार भएको चित्र जीवनकै हो । जीवन चार दशक बढी हिंड्दै अगाडि, कुदेर पनि होला थाकेको थिएछु । नहुनु थाहाले भएका सम्झना तीहरू रमाइला हुन् । अटाएका स्मृतिमा रहेछन् कति घटनाहरू, दुर्घटनाहरू– रोमान्चितै भइन्छ । भण्डार त्यो कत्रो स्मृति अटाउने । चलायमान चलचित्रझैं टाँसिएर चित्रहरू, दृश्य दृश्यनै दृश्यहरू । हेर्दैछु ।

भण्डारबाट तीहरू झिकौं र राखौं– काम लाग्नेहरू ।
झिकौैं र फालौं– काम नलाग्नेहरू ।

निफनेर, केलाएर सम्झानाको एउटा चाङ– सम्पूर्ण आफू–आफू उभिन नायक खोजेका रहेछन् । भन्दारहेछन् त्यही भनाइहरू पनि, सुन्दैछु । नचाहनु खलनायक हुन, स्वभाविक छ । भएन त खलनायिका कोही कसै पनिद्वारा ? उभिनु नायक कसरी ? खुट्याएर व्यावहारमा त्यो खलनायकी आफ्नैको ठम्याएँ । उभियो नायक पनि । लेखिंदै गरेको कथामा रहेछु । सम्झँदै । सम्झनु भनेको त ‘रिप्ले’ हुनु हुँदोरहेछ विगततिर । उभिन्छु औल्याएर आफैलाई बरू । खबरदारी अरूलाई छैन । उभिएर वर्तमान कथामा सम्झँदै लेख्दै विगतका गल्ति कमी–कमजोरीहरू छु । सम्झँदा विगत हुन्छ, कल्पिंदा भविष्य हुन्छ । बाँच्नु त्यो बीचमा । जन्म–मृत्युको सीमा साँध र ‘म’ । ‘म’ हुनुको अर्थ खुलेझैं उज्यालिएको भएँ । छ्याङ ।

जन्मिएर पर्खिरहेको मृत्यु रहेछु ! यो अँध्यारो, ठम्याउँदा मृत्युबोध । अहो…..त्यहीं त रहेछ नि टुङ्गो…….गन्तव्य अज्ञानताको । कहाँबाट यसरी हुर्किन्छ त………. निस्पृयता जीवनसँगको । नियाल्दै धानिएका जीवनहरू उम्रिन्छ चेतना अँहँ….. त्यो हुर्कनु हुँदैन पनि लाग्यो । ‘म’ मरें भने के होला ? मृत्यु, मृत्यु नै मृत्युहरू, कल्पिए पछि आफ्नै मृत्यु । अन्तिम सत्य त्यो भविष्यको कल्पिएपछि– के हुन्छ ? जे पनि हुन्छ । अजम्वरी त हैन नै ‘म’ !

आफैंलाई औंल्याएर उभिन्छु भनेको थिएँ । औंल्याएछु मृत्यु आफ्नै, मृत्यु उभियो अगाडि आफ्नै–उभिएकै ठाउँ– छोरो उभिइन्छ । बाबु उभिइन्छ, श्रीमान उभिइन्छ, ज्वाइँ, मामा, काका, भाइ, दाजु, छिमेकी के–के उभिइन्छ उभिइन्छ । देशकै नागरिक भएर बौद्धिक र सामाजिक प्राणी भएर उभिइन्छ । सम्बन्धितहरूले उभिएर कति विघ्न जेलिएको जीवन, कति विघ्न जिम्मेवारीहरूले थिचिएको यो काँध । पुरिएको पो रहेछ जीवन उम्किन नै नपाइने गरी ।

फेरि रङ्गहरू, फेरि रेखाहरू, आकृतिहरू– जीवनचित्र । तुनिएर कतिथोकहरूबाट बुनिएको जीवन रहेछ । ब्युँझिएका पाठकैपाठकहरूले घेरिएएर वरिपरि ‘म’ रहेछु । फेरि लेखक उभिएँ– लेखक भएर । ठम्याउँदै अँध्यारो । नियाल्दै उज्यालो । उज्यालो खोज्ने– मानिसै मानिसहरू, मानिसै … मानिसहरू अँध्यारोमा रहेछन् ।

हेर्दै चिम्लँदै, चिम्लँदै हेर्दै यीआँखाहरू थिएछन् । भर्खर उघ्रियो आँखो । त्यो मनभित्र हुँदोरहेछ । कहाँ–कहाँ निमेशभरमै फर्किएर पुगिसकेको छु त्यहीं । उघ्रिँदा मनको आँखो, नदेखिँदो सबै देखिँदो रहेछ । देख्दैछु– हिँड्दैछन् । हिँडिरहेछन् विचारहरू, सिद्धान्तहरू गलेर लखतरान घुमाउरा गोरेटाहरूमा । खोज्दैछन् चौतारीहरू, विसौनीहरू– गलेका छेपारीहरू चढ्न नसक्ने हुँदारहेछन् उकालीहरू, ओर्लन नसक्दा रहेछन् ओरालीहरू ।

त्यो पुरानो र ठूलोघर खण्डहरू भयो नभत्कँदा । यो नयाँ ठडिएको दह्रो र अग्लो घर काम लाग्ने गरी टिकिरहला र सदा काल ? घर बनाइ–बनाइ खेलिरहने छन् मान्छेहरू । गाडी कुदाइ–कुदाइ खेलिरहेछन् मान्छेहरू । भात पकाइ–पकाइ खेलिरहेछन् मान्छेहरू । हिँड्न सक्ने, खेल्न सक्ने, सोच्न सक्ने गुडियाहरू हुन्– यी मान्छेहरू । हेरें…. लुक्दै छिप्दै लुकीछिपी खेलिरहेका– यी मान्छेहरू ।

सोध्यो– ‘के गर्दै हुुनुहुन्छ ?’
भनें– लेख्दैछु– कथा हो यो ।
भन्यो– ‘ए… ! तपाईं लेखक पो !’ कस्तो कालो रङ्ग छ्याप्न खोज्यो ।
सोधें– ‘के गर्दै हुनुहुन्छ आजकल ?’
भन्यो– ‘राजनीति ।’ कस्तो कालो रङ्गको उसको अनुहार ।

उसको नागरिकता हो कि, लाइसेन्स हो कि, राहदानी कुन चाहिंको ‘हुलिया’ लेखिएको कोलममा– ‘गहँुगोरो’ लेखिएको छ ।
गहुँगोरो हुनु कि दानादाना परेको हुन्छ बिर्सिएँ । बिर्सिएको, लेखक भएपछि हो ।

फेरि भन्यो– ‘ओ लेखक ! पुरस्कार थाप्नु भयो ?’
भनिनँ, अकमकाएँ । कुन मापन गर्न खोज्दैछ ?
पुनः भन्यो– ‘सम्पर्क गर्दै गर्नुहोला ।’
हिँड्यो, हैन, गुड्यो नै । गयो कालोमा फिरफिर फिरफिर फर्फराउँदै थियो रातोनीलोमा घेरिएको सोतोसोतो भएको बीचमा अगाडि एउटा सिन्का जस्तोमा ।
लाग्यो हराएको रहेछ, ऊ राजनीतिमा ।
ट्विङ्कल टिवङ्कल लिटल स्टार हाउआई वण्डर ह्वाट यू आर ।
त्धष्लपभि त्धष्लपभि ष्तितभि कतबच, जयध क्ष् धयलमभच धजबत थयग बचभ– सुनें । सानो बच्चो रहेछ हेरेर नै देख्दा ।
कस्तो रङ्गिन उसको अनुहार– रातो, पहेँलो……के–के सप्तरङ्गी । सातओटा रङ्ग भनेको इन्द्रेणी हो । रङ्गहरू जति सबै इन्द्रेणीकै सात रङ्गमा समाहित छन् रे । यो बालकको रङ्ग मन प¥यो । आहा ! जीवनको यो रङ्ग ! पुगेँ फर्किएर ठ्याक्कै ठाउँमा हुँदाकै बालक ।

अहो ! कत्रो पीडा थियो सुत्न नपाएकोमा आमासँग । बहिनी जन्मिएर थपिएको । निस्केको थिएँ एक दिन खेल्न भेटेर सलाई गोजीमा हालेर । उद्देश्य भाँडाकुटी, भात पकाइ खेल्नुको रहेछ । सम्झँदैछु । कथा हो । लेख्दैछु ।

सम्झिएको घटना सानो हो– दुर्घटना भएको थियो । पुगेको त्यही बेलामा छु अब– लेख्दै, सम्झँदैं । भेला गरेको थिएँ फुटेका घैलाको भाँडाकुटी । पकाउनु थियो– दाल, भात, तरकारी । पकाउनलाई चाहिने आगो हो– गोजीमा बोकेकै थिएँ । घोडा तबेलामा घोडा थिएन । त्यसको मतलब बुबा घरमा हुनुहुन्न थियो । ढुक्कझैं रहेछु भएको । विहानी खाना सिध्याइवरि भान्सा उठिसकेको थियो । धामी साँइलादाइ (गोठालो) वस्तुभाउ फुकाएर खोरियामा लिएर गइसकेका थिए । दिदीभाउजूहरू पनि धन्दा सिध्याएर बाहिरी काममा जुटिसकेका हुन् । बिरामी आमा बहिनी च्यापेर आराम गर्ने सुरले नयाँ घरभित्र पस्नु भएको थियो । सायद मैले नै दुःख दिन्छु भन्ना खातिर मेरी दिदीले ढोका बाहिरपट्टिबाटै साङ्गलो भिडाइ दिनु भएछ– खेल्न जानुअघि विचारेको थिएँ ।

यो आफ्नो मात्र संसार विचित्रको हुन्छ । मस्त थिएँ पकाइ–पकाइ खेल्नमा । चम्का गाडीवरि चुलो बनाइसकेको थिएँ । भाँडाकुटी ठीक थिए । बालुवा–चामल थियो । झारपात– तरकारी (साग) ठिक्क पारेको थिएँ । दाल पनि त्यस्तै के ठिक्क थियो । घोडा तबेला माथिल्लोपट्टि खर काटेर बिटाका बिटा ठड्याएर राखेका थिए । आगो सल्काउँदा दिदीभाउजूले बँदिया (खर) प्रयोग गरेको देखेको थिएँ । गुजुल्ट्याएर हालेँ चुलामा र कोरेँ सलाई । अब के थियो, सारा थोक भुलेर म पकाउनमा तल्लिन भएँ । खर तानेर आगोमा झोस्दै पनि थिएँ– आगो बलिरहेथ्यो ।

अचानकै देखेँ आगो खरको विटामा पनि सरेछ । निभाउन खोजेँ– किन सक्थें । सक्दै सकिनँ । कताको भाँडाकुटी र पकाइ–पकाइ खेल्नु, भागें । गएर धारो भए ठाउँ बसें । आगो मुस्लिएर त्यहाँबाट पनि देखिन थाल्यो । पुनः कुद्दै घरतिर लागें । छेउमै लैनो मालीगाई र (झालिमाली) बाछी गोठमा थिए । खतराको संकेत पशुले पनि पाउँदो रहेछ । ड्वाँ–ड्वाँ कराउँदै तन्किँदै थिए । बाछो खोल्न खोजें, सकिन । माउतिर तन्किएको तन्किएकै थियो । माउलाई खोलिदिएँ । माउ बारीतिर कुद्यो ।

धामी साँइला दाइ आइ पुगे, दिदीभाउजूहरू आइ पुगे । हाहाकार भयो । भनें– ‘माउ त खोलिदिएँ साइँला दाइ । छिटो, लौ न बाछी खोलिदिनु, त्यसलाई पोल्यो होला ।’

धामी साइँला दाइले बाछी खोलिदिए । कुद्द्रै माउ भए ठाउँ पुगेर दुध खान थाल्यो । मु ढुक्क भएँ । दिदीले साङ्गलो खोलिदिनु भयो । आमा ‘राम.. राम.. राम.. यो के भयो नि’ भन्दै बहिनी च्यापेर निस्कुन भयो । घरबाट सामानहरू बारीमा फ्याँकिन थाले । मानिसहरू कता–कताबाट दोहोरीलत्तो आउन थाले । लाइन लागेर धाराबाट गाग्रा, भाँडा जे–जेमा पानी ओसारिन थालियो केही लाठेहरू धुरीमा नै चढेका पनि थिए । आगोले घोडातबेला सिध्याइवरि पालीघरको धुरीमा नाच्न थालेको थियो ।

परबाट हेरिरहेको थिएँ । रमाइलोझैँ पनि लागेको थियो । आमा खोजी रहेथेँ । सायद बुबा पनि आइपुग्नु भएको थियो क्यार । छाडिएको घोडा लगाम सहित हिनहिनाउँदै थियो । यसलाई चढेर कुदाउन पाए पनि हुने ? सोचेछु ।

आमा माथि बारीको डिलमा लुगा थुपारेको ठाउँमा बहिनी च्यापेर बस्नु भएको रहेछ– देखेँ र त्यहीं पुगेँ । सायद भन्नु भयो क्यार– ‘बाबु सबै सकियो !’

भनेँ– ‘माउ त खोलिदिएँ, बाछी खोल्नै सकिनँ । भरे साइँला दाइ आएर खोलिदिनु भयो । नभए त हाम्रो बाछीलाई पोल्ने थियो होला हो कि ?’ आमाले मेरो टाउकामा मुसारेर छेऊमा तान्नु भयो । म आमाको काखमा घुस्रिएँ । बहिनी छेउमै मस्त सुतिरहेकी थिई । गन्ध कस्तो–कस्तो चारैतिर फैलिएको थियो– अन्न डढेको गन्ध, लुगा डढेको गन्ध । आगोमा पानी खनाउँदाको गन्ध । एकैछिनमा खर डढेझैँ घर डढ्यो । सबै सकिसकेर, खरानी र कोइला जस्तो चाङबाट धुँवा सहितको वाफ उठिरहेथ्यो ।

सोध्यो आमालाई– कसरी लाग्यो ?
सोध्यो बुबालाई– हैन कसरी लागेछ ?
‘खै कसरी लाग्यो लाग्यो, एकैचोटि धुरीमाथि आगो देख्यौँ’ –दिदीले भन्नुभयो ।
मलिन अनुहारहरू देख्दै थिएँ । आमाको, बुबाको, दिदी–भाउजूको । मानिसहरू फर्किदै थिए । निदाएछु काखमा आमाकै । ब्युँझिंदा गाउँले सबै गइसके पनि आफन्तहरू भने आमालाई घेरेर थिए । सोधिरहेथे– ‘कसरी लाग्यो, आगो कसरी लाग्यो ?’
भन्दै हुनुहुन्थ्यो– ‘खै कसरी लाग्यो लाग्यो । दशा लागेपछि जसरी पनि लाग्छ ।’
उठेर बसिसकेको थिएँ । सोचेँ– भाँडाकुटी खेल्दै थिएँ, यो के भयो ? उठेर घुमेँ । कालो खरानी र अँगारको थुप्रो मात्रै थियो । छामे सलाइको बट्टा गोजीमै थियो । जिरिङ आङ भयो । डराएछु । यसलाई नदेख्ने गरी कसैले पनि कतातिर फ्याँक्नु ।

भोलिपल्ट मानिसहरू आएका थिए । बुबासँग कुरा गर्दै थिए । काठ चिर्न थाले, बाँसहरू काट्न थाले । घोडातबेला, पालीघर निर्माण हुनथाल्यो । बाँसका साना–साना भाँटा चिरेर टाट्नु बनाइ खेल्दै थिएँ, गोठ बनाइ खेल्दै थिएँ । एउटा चिर्दै गरेकोले भन्यो– ‘हैन ! यो आगो चाहिं कसरी लागेछ ?’

मनमनै सोचें– मैले भनेकै छैन कसरी थाहा पाउँछन् । फेरि भन्नेवाला पनि त होइन म । टाट्नु भत्किएछ, फेरि बनाउन थालें, भाँटाहरू थप्न थालें । सोधिन्– ‘अघिदेखि के लेखिरहेको ? खाना खाने बेला भयो । अफिस जाने हैन ?’

द्रुतगतिमा एकैपटक हानिएर आइपुगें । फेरि निस्किएँ ।

रङ्गहरू, रेखाहरू, आकृतिहरू– जीवनचित्र । चित्र नै चित्रको जंगलमा हराउन । हराएको रहेछु, रङ्गहरूले कोरिँदै रेखाहरूले पोलिएको रङ्गले आकृति छोपिएर थिएछु चित्र । यो जीवनको चित्र छोपिएर हराएछु ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।