Mero Sabda

विहेघरको कुखुरा चोरेर भोज


– लिलक सिटौला

शनिश्चरे बजारमा मेला लागेको थियो । मेला शनिश्चरेदेखि उत्तरतिर पृथ्वी बुढाथोकी दाइको खेतमा थियो । मेलामा सबै किसिमका खेलहरु थिए । त्यतिखेर जिल्ला बाहिरका विकसित ठाउँ सहित हिन्दुस्थानदेखि पनि मान्छेहरु मेला भर्न आउँथे । हामी पनि बाहिरबाट आउने मान्छेहरुलाई अलिक इज्जत गर्दथ्यौं । किनभने अन्य ठाउँहरु हाम्रो भन्दा अलिक विकसित पनि थिए । आफूभन्दा ठूलाको सम्मान शनिश्चरेबासीले गर्दथे । त्यो हाम्रो चलन थियो । हाम्रो संस्कार पनि त्यही हो ।

मेलाको सबैभन्दा ठूलो पक्ष तास, जुवा, डाइस, छत्तिसा, मौतका कुवा, धेरै किसिमका खेलाहरु हुन्थे । खानेकुराको कमी थिएन । सेलरोटी, जुलवी, खुर्मा, मटरको सब्जी, रक्सीमा दुधिया, सोफी, रातो रक्सी, कोदाको जाँड, तोङ्वा आदिको भरपुर स्वादको मेला हुन्थ्यो ।

मेलामा जुवातास आदि–इत्यादिका पारखीहरु विशु पानवाला, जमुना कुर्मी, अर्याल दाइ जसलाई जिस्काएर सुलसुले बाहुन पनि भन्दथे थिए । यी सबैलाई संचालित गर्नेमा भुवन सिंह देवान, मेरा दाजु पूर्ण सिटौला र काजी भण्डारीहरुले मेलाको ठेक्का लिएका थिए । बजारभित्रका सबै दोकानहरु मेलामा नै जान रमाउँथे । किन रमाउँथे मलाई थाहा छैन । भैरव थापा मेरो आदरणीय अभिभावक हुनुहुन्थ्यो । मेलामा जाने उहाँको त्यति शोख थिएन । उहाँको हात छिटो चले पनि मनमा मायाको सागर थियो । जुवातास आदि इत्यादि उहाँको रुचीको विषय थिएन । मालपानी चाहिं अलिअलि चलाउनु हुन्थ्यो र खुवाउनु पनि हुन्थ्यो ।

भैरव दाइ मेला छोडेर खै कता जानु भयो । हामीलाई भन्नु भएको थियो– ‘भोलि गाउँको बिहेमा जानु पर्छ है केटा हो ।’ बिहे कसको हो थाहा छैन । म मेलामा लागें । पैसको जोहो नहुँदा सारो दिक्क लाग्थ्यो । पैसा खोज्ने क्रममा आफ्नै दाजु पूर्णहरुको तास खेलाउने खाल हुन्थ्यो । तास खेलाउने स्थानलाई खाल भन्थे । फलास खेल हुन्थ्यो– तीनपत्ति तास । त्यस खालका मालिकहरु भुवनसिंह देवान र मेरा दाजुहरु पूर्ण सिटौला र यामनाथ सिटौला हुन्थे ।

यामनाथको छेउमा एउटा बाक्सा हुन्थ्यो । कारण के रहेछ भने तासेहरुको हारजीतको आधारमा बाक्सामा पैसा हाल्नु पर्ने नियम रहेछ । पैसा उठाउने जिम्मा यमनाथको थियो । रातभरि जुवातास हुन्थ्यो । यमनाथले राजा महेन्द्रको फोटो भएको नीलो गुलावी रंग भरिएको एक रुपैयाँ दिएर ‘घर जा’ भन्यो, म शुरुक्कै चल्दिएँ । हाम्रो पसल पनि मेलामा नै थियो भनेर यमनाथलाई त्यो पनि थाहा रहेनछ । एक रुपैयाँको मस्ति सकियो ।

जाडोको बेला थियो । मन मानेन, रातको एघार बजेको थियो । म फेरि मेलाभित्र रमाउन पुगें । किनभने घर नै मेलामा थियो, बजारको घरमा ताला लागेको थियो । काम के थियो र, फेरि पैसाको लोभमा तास खेल्ने ठाउँमा पुगें । तास खेलेको हेरिइ मात्र रहें । मेरा आँखा टक्क अडियो । सुलसुले दाइले दलसको नोट गल्लामा हाल्नु पर्ने गोजीमा हाले । सुलसुले दाइ माल पनि खानुहुन्थ्यो । गोजी भरिएपछि उहाँ परालको ओछ्यानमा बर्को ओडेर सुत्नु भो । गल्लामा पालैपालो फेरिएर बस्दथे । सबैको मिलेमतोमा गल्ला भरिएपछि पैसा चोर्दै सुत्ने काम हुँदोरहेछ । म छक्क परें, तर घाटा थिएन । गल्ला भरिएपछि ठेकेदारहरु मालामाल ।

म पनि के कम, सुलसुले दाइसँग जाडोको बेला ‘दाइ’ भन्दै सुतें । दाइले पनि ‘कान्छा सुत्’ भन्नु भयो । उहाँ मालपानीले पनि मातेका थिए । भस्सै निदाउनु भयो । मैले उहाँले चोरेको दश रुपैयाँ चोरेर बिस्तारै उठें । उहाँले मरे थाहा पाए पो ! त्यसपछि मेरो कामै के थियो र, भागें ।

बिहान भो, मेलामा ठूलाठूला चुल्हाहरु थिए । आगो ताप्न सारो मज्जा आउथ्यो । दशको नोट भएपछि संसारको अर्थात् शनिश्चरेको सबैभन्दा धनीमान्छेको सूचीमा आफूलाई ठानेको थिएँ, त्यो पैसा चाहे मेहनतले कमाएको होस् या चोरी गरेको होस् । पाँच रुपैयाँ खाएरै सकियो, अब पाँच मात्र बाँकी रह्यो । बचपनको उमेर पैसा, सम्पत्तिको लोभ थिएन । बुबाआमाहरु थिए । भोकले पेट भरिंदैन थियो ।

त्यही बीच एउटा घटना घट्यो । मैले डाइसमा पाँच रुपैयाँ हारें । मन मन पनि दुख्यो । मेलामा ककसले के कति चोरे, त्यो थाहा हुँदैन थियो । मेलाको कमाल नै त्यही थियो । मैले भुवनेश्वर देवान दाइलाई भनें– ‘दाइ ! मैले पाँच रुपैयाँ हारें ।’ उहाँले मलाई झण्डै हिर्काउनु भयो । भन्नु भयो– ‘जाँठो कान्छा ! कहाँबाट ल्याइस् त्यत्रो पैसा ?’ मैले ढाटें– ‘जोगाड गरेको पैसा ।’ उनले भने– ‘कहाँ हारिस् ?’ मैले भनें– ‘डाइसमा ।’ देवान दाइले मलाई डाइस खेलाउने ठाउँमा लिएर जानु भो । मैले त्यो डाइस देखाइ दिएँ ।

उहाँले डाइसमा पैसा राख्नु भयो, छ वटा ईंटा पल्टियो । डाइसवालाले पाँचको दश भनेर पैसा दियो । तर देवान दाइले ‘पैसा गनेर मात्र दे’ भन्नु भएको के थियो, पाँचको नोटभित्र बेरेर पच्चिस रुपैयाँ रहेछ । त्यत्रो पैसा तिर्ने हैसियत डाइसवालासँग थिएन । भाको पैसा र डाइसका गोटी सहित चिंडी–मुकुटको फर्दी पनि लिएर देवान दाइ हिंड्नु भयो । म उहाँको पछिपछि लागें । मलाई डर लागेको थियो– मैले चोरेको पैसाको हिसाब अब देवान दाइले माग्ने छन् । वास्ताविकता त्यो रहेनछ । कसले कसको चोरो, मेलामा त्यो थाहा नै हुँदैन रहेछ । दाइले मलाई पाँचको सट्टा छ रुपैयाँ दिनु भयो । म गमक्क परें । हारेको पैसा उहाँले उठाइ दिनु भयो । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ ।

भोलिपल्ट बिहेमा जानु अनिवार्य थियो । बिहे जो–सुकैको भए पनि त्यतिखेर जान पाइन्थ्यो भैरव दाइसँग हामी । रातिको विवाह हुन्थ्यो त्यतिखेर । साँझ छ बजे शनिश्चरे बजारबाट हिंडेर फुलमती खोला पारी ककवाली गाउँ पुगेका थियौं हामी, निम्तो नै बेगर । विवाह कसको थाहा भएन । त्यो विवाहमा भैरव दाइलाई निम्तो रहेछ, हामी उनको लहैलहैमा पुगेका मात्र । निम्तो विनाकामा म सहित बाबुराम प्रधान, बस्नेत दाइ (उहाँलाई घिचुक्के बस्नेत भन्थे), ठकुरी दाइ, लोकबहादुर मगर लगायत थियौं ।

भैरव दाइ के खालको मान्छे । ‘खोरमा कुखुरा छ, झिक्’ भन्नु भयो । उहाँले भनेपछि कुखुरा झिकियो । दुई–तीन वटा पोथी रहेछन् । झिकेर टाउको निमोठियो । निमोठिएका माउ कुखुराहरु लोकबहादुर मगर र बस्नेत दाइले बोके । त्यो बोकेर बिहेमा सहभागी भएका मात्र के थियौं, कुखुराका चल्लाहरु बिहेको जग्गेमा माउ खोज्दै निस्किए । लोकबहादुरले ज्याकेटमा लुकाएको कुखुराको खुट्टा घरधनीले देखेछन् । त्यसपछि हामीलाई बिहेबाट लखेटियो । धेरै मान्छेहरुले हामीलाई खेदे ।

भैरव दाइ भने अगि नै घर पुगिसकेका थिए । भैरव दाइको टीमले कुखुरा चोरेको थियो । आधा घण्टापछि टीम भैरव दाइको काठको ठूलो घरमा थियो । भान्सा घर पनि ठूलै थियो । त्यही भान्सामा चोरेको कुखुराको मासु पकाएर हामीले खायौं । अरुले मालपानी खाए । त्यो सभामा पानवाला विशु पनि थिए । बिहेघरबाट कुखुरा चोरेर भैरव दाइको घरमा भोज खाएका थियौं ।

त्यो घटनाका कलाकार र पात्रहरु जे जस्ता भए पनि आज हामी माझ बस्नेत, मास्टर, भैरव दाइ, विशु पानवाला हामी माझ यो संसारमा हुनुहुन्न । उहाँहरुसँगका रमाइला ती पलहरु मनभरि सजिएर बसेका छन् । स्मृतिले घरिघरि रमाइलो र प्रेममय ती क्षणहरुको अनुभूति गराइरहन्छ । त्यस घटनाका तीन पात्रहरु ठकुरी दाइ, लोकबहादुर मगर र म यही शनिश्चरे बजारमा सँगै छौं । भेट हुँदा कहिलेकाहिं रमाइलो गर्दै ‘ए कुखुरा चोर’ भनेर भन्ने गरेका छौं एकअर्कालाई । सबै हाँस्छौं र रमाइलो गर्छौं । विगतका कतिपय बदमासीहरु नै भविष्यमा मुक्त भएर रमाउने आधार हुँदोरहेछ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।