२०७७ फागुन १७ सोमबार
Mero Sabda

मधेशको अनुभव र सादा होली


ऐतराज नेम्वाङ ‘सन्तोष’

केहीबेर पश्चात् त्यहाँ बसेका साथीहरुले खाना खान उठाए । थाकेको शरीर झपक्क निद्राले छोपेछ । आँखा मिच्दै खाना खान बस्यौं । निन्द्राले बटारिएका आँखा भए पनि पेटले खाना मागेको थियो । साथीहरुसँग खाना त खाइयो तर स्वादको केही अर्थ रहेन । केवल हामीलाई भोक मेटाउनु थियो मेटाइयो ।

खाना खाइसकेपछि फेरि घुप्लुक्क सुतियो । आधा रात भएपछि अचानक निन्द्रा खुल्यो । कसैले ठूलो–ठूलो स्वरमा हल्ला गरिरहेको थियो । सुनेको थिएँ– भारत र नेपालको सिमाना छ । राति डाका पनि आउन सक्छन् । मलाई त्यही कुराको चिन्ता लाग्न थाल्यो– लाऽऽ.. डाका पो आयो कि ? केही वेरपछि त्यो आवाज हरायो । सायद डाकाहरु फर्केर गए होला भन्ने सोचेर फेरि निदाइयो ।

बिहानको मिर्मिरमा नै त्यहाँका मानिसहरु उठ्दा रहेछन् । केही गाईंगुईं हल्ला सुनिन थाल्यो । हामी पनि सुस्तरी ओछ्यानबाट उठ्यौं । केहीबेरमा उज्यालो भएपछि रातिको कुरा सोधेको, एक जना ईंटाभट्टाको शिवाकोटी, जो एलडब्ल्युएसको कर्मचारी हुनुहुँदो रहेछ, उहाँले नै पो हल्ला गर्नुभएको रहेछ । हामी केही शान्तिको श्वास फेर्दै बस्यौं ।

हामीलाई त्यहाँ बोलाउने एक जना भाइ मिलन गुरुङलाई पनि त्यहीं भेट्यौं । हामीले हिजो दिनभरको कुरा सुनाएको उसले माफी माग्दै भन्यो– ‘दाइहरुलाई लिन पठाउन आँटेको गाडी आइ दिएन, त्यही भएर लिन आउन पाइएन ।’ उसका कुराले हामी केही निश्चिन्त भयौं । हिजोको दिन त्यति लामो बाटो हिंड्नुपर्ने, भोक र प्यासले दायाँबाँया केही हेर्नै पाइएको थिएन । तर त्यो बिहान चारैतिर नजर दौडाएँ । त्यो बाढीको समयमा आएको पानी रुखको टुप्पोसम्म पुगेको रहेछ । कति रुखका हाँगाहरु भाँचिएको थियो । ‘ऊ त्यो रुखको हाँगामा एउटा गाई अड्किएको थियो’ भनेर देखाए ।

खेततिर हे¥यो– सबैतिर धाँजा फाटेको थियो । उनीहरुको वृतान्त सुन्दा हामीले कल्पना गरेको बाढी भन्दा भयंकर थिएछ । सारा गाउँ तहसनहस भएको रहेछ । तराईको समतल फाँट । त्यहीं नजिकै चेकपोष्ट । त्यो पनि सानो गोठ जस्तो, जस्ता पाताले छाएको टाटीले बेरेको । दशगजा पनि छेउमै देखिन्थ्यो । दशगजामा नेपालतर्फ खाली छाडिएको थियो । तर भारततर्फ भने दशगजाको सीमानासम्म नै खेती गर्ने गरेका रहेछन् । सायद भारततर्फकाहरुको हेपाहा प्रवृत्तिले गर्दा होला । उनीहरुले जग्गाको एक फुट पनि छाडेको थिएन । हामी पुगेको ठाँउको नाम बलरा गाँउ भन्ने रहेछ ।

त्यहाँको गाँउहरु पनि अनौठो तरिकाको हुँदोरहेछ जस्तो लाग्यो हामीलाई । सानो सानो गाँउहरु मिलेर एउटा ठूलो गाउँ हुँदोरहेछ । त्यो ठूलो गाउँको एउटा मुखिया हुँदोरहेछ । त्यो मुखिया त्यस गाउँको सर्वेसर्वा हुँदोरहेछ । उसले जे नियम बनायो, त्यही हुँदोरहेछ । भनौं मुखिया नै त्यस गाउँको कानून हुँदोरहेछ । त्यसरी नै अन्य गाउँको अर्को मुखिया ।

अलिपछि सुनेको, एउटा गाउँको मुखियाले अर्को गाउँको मुखियाकोमा डाका डाल्न पठाउँदो रहेछ । अनि त्यसरी नै अर्को गाउँको मुखियाले अर्को गाउँमा डाका पठाउँदो रहेछ । त्यही बेला सुनेको कुख्यात डाकु फुलनदेवी त्यस ठाउँमा आएर बसेकी थिइन् रे । त्यो कहानी सुन्दा फिलिममा हेरिएको कुनै खुंखार गाउँ जस्तै लाग्यो । आफ्नो हरेक पाइलाहरु एकदम सोचेर मात्र चाल्नुपर्ने जस्तो लाग्यो । बोल्दा पनि विचार पु¥याएर बोल्नु पर्ने जस्तो । केही गलत बोलिएमा भरे बेलुकी कतै आइ पो हाल्ने हुन् कि ?

हामीलाई त्यस दिनको खाना खाएपछि काम गर्ने ठाँउमा पु¥याए । बाटोमा जाँदा चारैतिर सब्जी खेती, मुसुरी दालको खेती लगाएको हरियाली देखियो । कुनै ठाउँमा अझै पनि खेतमा धाँजा फाटेको देखिन्थ्यो । घरहरु साना साना झोपडी । माटोको खपडैल बनाएर छाएको । माटोको खपडैल प्रायःले आफ्नो घरैमा बनाउँदा रहेछन् । हामीले कल्पना गरेको तराईको तस्वीर त्यतिखेर प्रत्यक्ष देखियो । मन उराठ भएर आउने ।

केही घरहरु झुरुप्प हुँदोरहेछ । फेरि धेरै परसम्म खाली खेत । कतै–कतै आँपका, लिचिका बगान । त्यहाँको गर्मी सम्झिदा त्यही बगानमा दिनभर थकाई मेटौंझैं लाग्ने । चिन्ता बिसाएर शितलताको छहारीमा बस्ने मन कसलाई पो हुँदैन होला र । हामीले चाहेर पनि त्यो काम गर्न पाएनौं ।

आफ्ना परिवार छाडेर त्यति टाढा कमाउन आएको । आफ्नो भाग्यको रेखामा केही सुखदरेखाहरु कोर्न चाहानु मानिसको चाहाना हो, तर आफ्नो भाग्य आफ्नै हातले कोर्न त्यति सहज कहाँ हुन्छ र ? यदि त्यति सहज भए संघर्ष गर्दैमा सबैको भाग्य कहाँ बदलिन्छ ? भाग्यसँगै कर्म पनि चाँहिदो रहेछ । तर पनि मेरो भाग्य कुनै दिन त बदलिन्छ होला नि भन्दै आफ्नो क्षेत्रमा इमानदारी साथ निरन्तर लागि रहें । कहिले आफू हारेर त कहिले अरुलाई हराएर ।

जब हामी कार्यस्थलमा पुग्यौं, आफ्नो झोलाको भारी बिसाएर कार्यस्थलको निरीक्षण गर्न गयौं । गाउँका सबै आएका थिए । मुखिया पनि आएका थिए । अनि मुखियाको आसेपासे पनि थिए । अफिसका कर्मचारीले केही सम्झाए, मुखियाले पनि केही सम्झाए । केहीबेर पश्चात् हामीलाई त्यो स्कूलको ‘ले–आउट’ गरेर जिम्मा लगाए ।

त्यसको दोस्रो दिनबाट हामीले आफ्नो काम थाल्यौं । हामी तीनैजना मिस्त्री र गाउँका केही मानिसहरु मजदुरी काम गर्न आए । उनीहरुलाई दैनिक चार किलो चामल ज्यालामा पाउँथे । हामीलाई भने एक सय बीस रुपैयाँ ज्याला थियो । त्यही छेउमा ईंटाको थाक थियो । त्यही थाकमाथि तीन फूट गहिरो ईंटा निकालेर त्यसमाथि प्लाष्टिक ओढाएर हामी बस्ने ठाँउ बनाएका थियौं । दिनभर काम ग¥यो । बेलुका छेउमा रहेको रक्सी दोकानमा गएर दुई गिलास महुवा लगायो अनि खाना खाएर सुत्यो । हाम्रो दैनिकी यसरी नै बितिरहेको थियो ।

हामीले काम गर्ने ठाँउमा हप्ताको एक दिन हटिया लाग्दोरहेछ । तर त्यहाँ यता झापाको जस्तो बिहानैदेखि बजार नलाग्दो रहेछ । दिउँसोको चार बजेदेखि मात्र व्यापारीहरु आउँदा रहेछन् । सानो टुक्रे बजार भए पनि एउटा खसी चाहिं सकिदोरहेछ । हामीले भारु एक रुपैयाँको बिंडी किन्थ्यौैं । बीस वटा बिंडी दिन्थ्यो । तर त्यो बिंडी सल्काएर तान्यो केही ढिलो भयो कि निभिहाल्ने, पिई सक्न नै गारो । अनि फेरि सलाई को¥यो फेरि तान्यो । त्यहाँको बिंडी पिउनु भनेको केही काम नगरी आरामले बसेर पिए मात्र । नत्र नसोचे हुने ।

एक दिन मुखियाले हामीलाई खाना खुवाउने भन्ने कुरा सुन्यौं । हामीलाई बोलाइयो पनि । हामी डराइ–डराइ मुखियाको घरमा पुग्यौं । मुखियाहरु बसेर केही गफ गर्दै थिए । हामीलाई बस्ने इशारा गरेपछि केही पर गएर बस्यौं । केही बेरमा एक जनाले कोलाको पात लिएर आउँदै थिए । ‘किन ?’ भनेर मैले इशाराले सोधें । उसले ‘यसमा भात खान’ भनेर जवाफ दिए । हामीलाई अनौठो लाग्यो । कोलाको पातमा कसरी खाने ? हामीले ‘कोलाको पातमा नखाने’ भने पछि ‘ठिकै छ त थालैमा देउ नि’ भनेर मुखियाले भनेपछि हामीलाई थालमा खाना दिइयो । खाना खाएर हामी आफ्नो वासस्थानमा आयौं । पछि थाहा भयो त्यहाँ कुनै पाहुनालाई सत्कार गरेर खुवाउनु पर्दा कोलाको पातैमा खुवाइन्थ्यो रे ।

ओहो ! हामीले त मुखियाको अनादर गरेछौं, कतै मुखिया रिसाए कि ? जस्तो लाग्यो । पछि थाहा भो, मुखियाले त्यस्तो केही प्रतिक्रिया जनाएनछन् । त्यो कुरा थाहा पाएर हामी लामो श्वास फेरेर ढुक्क भयौं । चैतको महिना । तराईको ठाउँ । असाध्य गर्मी । परिवारसँगको छुट्टिनुको पीडा बेग्लै । कहिले यो स्कूल बनाइ सकिन्छ र घर फिरौं ? यही नै चिन्ताले मनमा बलिरहन्थ्यो । न त फोनमा सम्पर्क हुने, न त चिठीपत्र पठाउन पाइने । कहिलेकाहिं कुनै ग्याँसको चेम्बरमा फसेकोझैं अनुभूति हुन्थ्यो । तर काम गरेपछिको पैसा सम्झेर आफैलाई मनमनै सम्झाउनु बाहेक अरु के नै गर्न सकिन्थ्यो र ।

त्यो साल फागुपूर्णिमा चैत महिनामा परेको थियो । गाउँका केही स्थानीयसँग राम्रो चिनजान भइसकेको थियो । हामीलाई कसै–कसैको बालीबाट कहिले खोर्सानी, कहिले बैगुन त कहिले कोपी टिपेर ल्याइ दिन्थे । त्यसरी नै होलीको नजिक आएपछि ‘होली खेल्नु पर्छ है’ भने । होली त हाम्रो नशामा दौडिएको चाड हो । यहाँ हुँदा हरेक होली रमाएर खेल्थ्यौं । त्यहाँ त झन् भारत नेपाल सीमाना । कस्तो रमाइलो हुन्छ होला भनेर हामी मनमनै कल्पना गरेर रोमाञ्चित भइरहेका थियौं । होलीको दिन बिहान सबेरै उठियो । होली खेल्ने लुगा लगाएर तयार भइबसेका थियौं । सात बज्यो, आठ बज्यो, नौ बज्यो, कोही देखिएन । गाँउ सारा सुनसान । यता त हामी बिहान आठ बजेदेखि नै होली खेल्न सुरुवात् गथ्र्यौं । तर त्यहाँ त सबै चकमन्न ।

‘ला अब त होली नखेल्ने रहेछन्’ भनेर हामी खाना पकाएर खाएर आराम गर्न थाल्यौं । जब बाह्र–एक बज्यो, तब मात्र एक दुई जना गाउँमा देखिन थाले । बिस्तारै बिस्तारै चहलपहल बढ्न थाल्यो । उनीहरुलाई हे¥यो । सबैजना सादा । न रंग दलेका छन्, न त मातेका छन् । केहीबेरमा हामीलाई बोलाउन आए । अनि पो थाहा भयो । त्यहाँको होली कसरी मनाउँदा रहेछन् भनेर । हामी त जिल्ल परेर एक अर्कालाई हेराहेर ग¥यौं । भर्खर खाना खाएर बसेका थियौं हामी । जब उनीहरुले खानाको परिकार र रक्सी ल्याएर दिए अघाएका हामीले पेटल नमागे पनि जबरजस्ती खान थाल्यौं । खानेकुरा खाएपछि रङ लगाइदिन्छन् भनेर सोच्यौं । तर हाम्रो त्यो सोचाइ पनि गलत भयो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।