२०७८ असार ४ शुकर्बार
Mero Sabda

बैशालीकी नगरबधुः एक मिमांशा


– शान्तिप्रिय ऋषि

प्रमूख पात्रहरु तथा स्थानहरु

वैशालीका

महानामन्,  देवी अम्बपाली, सिंह,  युवराज स्वर्णसेन, युवराजको साथी सूर्यमल्ल, दस्यु बलभद्र (सोमप्रभ), कृतपुण्य सेठ (हर्षदेव), कृतपुण्य का पुत्र भद्रगुप्त, महाबलाधि‍कृत सुमन, सेनापति सिंह, उपसेनापति, संधि‍वैग्राहिक जयराज, रशायनशास्त्री गौड़पाद, वेश्या भद्रनंदिनी (कुंडनी), एउटा कालो छाँया, गणदूत काप्यक, वादरायण मठका अधीश्‍वर भगवान् वादरायण आदि ।

मगधका (राजधानी : राजगृह)

राजा: बिम्बिसार वा श्रेणि‍क, अमात्य: वर्षकार, राजकुमार अभयकुमार, आचार्य शाम्बव्य काश्यप, मातंगी, सेनापति सोमप्रभ, कुंडनी (जो बिषकन्या हुन्छिन), आम्बपाली । कुंडनी मातंगीकी छोरी हुन्  उनका बाबु – आर्य वर्षकार । सोमप्रभ कुंडनीको भाइ तर बाबुचाही बिम्बिसार हो ।  मगधको महासेनापति चंडभद्रिक ।

अन्यत्रका

कोसल: राजधानी – श्रावस्ती । राजा : प्रसेनजित्, उनका पुत्र: विदूडभ, विदूडभकी आमा दासी थिइन्, जो पछि राजमाता नंदिनी बनिन्, सेनापति: कारायण, आचार्य अजित केसकम्बली।

चम्पा: राजा: दधि‍वाहन, राजकुमारी राजनंन्दिनी।

अवन्तिकाः राजा चंडमहासेन प्रद्योत, मथुराका राजा अवंतिवर्मन, कौशाम्बीका राजा उदयन, कुशीनाराका योद्धा बंधुल मल्ल, गांधारकी कलिंगसेना, जो श्रावस्तीमा बस्थिन्।

कथाको सारांश

बैशालीको सैन्य सेवाबाट बयालिस वर्षको सेवावधी पछि अवकास भएका बृद्ध महानामन् समक्ष उनकी पुत्री आम्बपालीले राम्रो रेशमी चोली किनिदिन जिद्धि गरेपछि उनले त्यसका लागि बैशालीको यात्रा गर्नुपर्छ । छोरी साथमा लिएर । यसको मूलकथा यहीबाट शुरु हुन्छ ।उनी जे कुराका डरले बैसाली छोडेर गाँउमा लुकेर बसेका थिए, आखिर बैसाली गए पछि त्यही भयो । घटना क्रमले उनलाई बैशालीमै रोक्यो । अठार वर्ष उमेर पूरा भए पछि नगरकी सर्बश्रेष्ठ सुन्दरी भएका कारणले आम्बपालीलाई बज्जीसंघको कानून मान्य बाध्य बनाइन्छ । उनका बाबुले पनि कुनै दिन बैशालीको नुन खाएकोले त्यो विषय टाल्न सक्दैनन् । आम्बपालीले गणसभामा यो कानूनलाई खुलेआम धिकृत कानून घोषणा गर्दछिन् । उनले आफूलाई सप्तभूमिप्रासाद, त्यस भवनका सम्पूर्ण वैभव तथा नौ कोटी स्वर्णभार बज्जीसंघले दिनुपर्ने,  उनको आवासलाई दुर्गझैं व्यवस्थित गरी सजाइनुपर्ने तथा उनको आवासमा आउने अतिथिहरुलाई गणकाध्यक्षले चेकजाँच गर्न नपाउने तीनवटा शर्त प्रकटमा राखेर तथा बज्जीसंघ गणराज्यको नै नष्ट गर्ने अप्रकट संकल्प गर्दै आफ्नो रुप, यौबन, सतित्व, स्तृत्व तथा सम्पूर्ण देह बज्झीसंघलाई साझा रुपमा सुम्पने घोषणा गर्दछिन् ।

आम्बपाली बैशालीको कानूनलाई अत्यन्तै घृणा गर्थिन् । एक दिन बैसालीबाट राजगृह जाने बाटोमा जब उनले बादरायण ब्यासको  कुटीमा सम्राट बिम्बिसारलाई भेट्छिन । उनले उक्त कुरा बताउछिन् । बिम्बिसारलाई आम्बपाली प्रति प्रेम हुन्छ तर उनले आफ्नो हैसियतका कारण राजालाई प्रेम गर्न सक्दिनन् । तर राजाको याचनाको गहनता बुझेर यदि आफूबाट जन्मेको सन्तान मगधको सम्राट हुन्छ भने म प्रेम स्वीकार गर्छु भन्छिन् ।त्यहाँ दुबैले बैशालीको पतन गर्ने सङ्कल्प गछन् । उनले आफूलाई जवरजस्ती बेश्या बनाउने राज्य प्रति निष्ठा देखाउन सक्दिनन् ।

आम्बपालीको भब्य दरबारमा एक दिन कौशाम्‍बीपति संगीतज्ञ महाराज उदयन आए।उनले महान् वीणा बजाए । उनको तीन ग्राम एकसाथ बज्ने बाध्यको धुनमा विवश भएर देबी अम्बपालीले अलौकिक नृत्य गरिन् । राजाले यस्तै बिणा बजाउनेका अघिल्तिर मात्र नाच्नु भनेर आम्बपालीलाई सजग गराए ।

मधुपर्वको दिन वैशालीमा अम्‍बपालीको सवारी निस्कियो । त्यो यात्रामा युवक तथा नगरबासीहरुको अत्यन्त ठूलो भीड लागेको थियो । यात्रा मधुबन पुगेर रोकियो । उनले युवकको भेषमा युवराज स्वर्णसेनको साथमा शिकार खेल्न जाने निधो गरिन् । पुरुष-भेषमा घोडसवार देवी तथा स्वर्णसेन धेरै टाढा घना जंगलमा पुगे । यसैबीच स्‍वर्णसेनले प्रणयका लागि प्रस्ताब राख्यो । दुबै बिच केही कुरा हुँदा हुदै अचानक एउटा सिंहले देवीमाथी आक्रमण गर्यो । यो दृश्यको सामना गरेका युवराज भागेर मधुवन पुगे र देबीलाई सिंहले खाइदिएको खबर दिए । सर्वत्र शोक फैलियो । खोजि गर्दा पनि नगरबासीले आम्बपालीलाई भेटाएनन् ।

जब अम्‍बपालीको होश आयो, उनले सिंह मारिएको देखिन् । उनका अगाडि एक चित्रकार खडा थियो । ऊ अरु कोही नभएर सोमप्रभ थियो ।  सोमप्रभकै कुटीमा उनले त्यसपछिका केही रातहरु बिताइन् । सोमप्रभले राजा उदयन भन्दा राम्रो वीणा बजाउथे र त्यो बीणा त्यहा देखेपछि उनले सोमप्रभको अघि नृत्य गरिन् । सोमप्रभले कयौ दिन लगाएर नृत्याँगना देबो आम्बपालीको चित्र बनाए । दुबै बिचमा प्रेम भयो । आम्बपालीले सोमप्रभको कुटीलाई नै आफ्नो घर सम्झन थालिन् । आफ्नो दरबारलाई घृणित स्थानको दर्ज सोमप्रभले दिएकाले उनले आफ्नो चित्र बनाउन त्यही रोकिनु परेको थियो । चित्र पुरा भए पछि अरुचि पूर्वक उनी नगर फर्किइन् । अम्‍बपाली फर्किए पछी बैशालीमा त्यौहार मनाइयो । देवी आम्बपालीको जय जयकार गरियो ।

सोमप्रभ र कुण्डनी अविबाहित माता मातंगीका सन्तान थिए । सोमप्रभ तक्षशिलाबाट स्नातक गरी फरकिएका बिर योद्धा थिए भने कुण्डनीलाई आचार्य शम्बाब्यले शर्पदंश बिधिबाट बिष कन्या बनाएका थिए । उनीहरु मगधका रक्षकका रुपमा नियुक्त गरिए । सोमप्रभ र कुण्डनीले असुरपुरीका असुरहरु र चम्पाका राजा दधिबाहनलाई मृत्युचुम्बन र अनेक यत्नद्वारा हराई यी देशहरुलाई आफ्नो राज्यमा बिलय गराएको रोचक कथा उपन्यासको महत्वपूर्ण कथांश हो ।

चम्पा विजय पछि सोम, कुंडनी, असुर पुरीबाट उद्धारित शम्‍ब तथा चम्‍पाकी राजकुमारी राजनन्दिनी श्रावस्‍ती गए । बाटोमा राजकुमारीलाई दास ब्यापारीहरुले अपहरण गरी दास हाटमा बेचिदिन्छन् । संयोगबास उनी कोशलकी राजा प्रसेनजीतको हातमा बेचिएकी हुन्छिन् । स्त्रीलम्पट राजा प्रसेनजितले गन्धार पुत्री कलिङ्गसेनासँग विवाह गर्दै हुन्छन् । बिवाहमा रानीलाई उपहार दिन भनी किनिएकी दासी आखिर चम्पा राजकुमारी राजनन्दिनी हुन्छिन् ।

सोमप्रभ, कुण्डनी र शम्बले महाविर जैन तथा नवविवाहित रानी गान्धार पुत्री कलिङ्गसेनाकै मद्दतले राजनन्दिनीको उद्दार त गर्छन् । तर कोशल राजकुमार बिदुडभले राजनन्दिनीको अभिभाभकत्व ग्रहण गर्छन् र सोम र राजनन्दीनीको मधुर प्रेमसम्बन्ध बिघटित हुन्छ । राजकुमार विदूडभ र राजा प्रसेनजीतको अन्तरद्वन्द तथा सोमले प्रसेजिनका दासीपुत्रका तर्फबाट जन्मिएका राजकुमार विदुडभलाई गरेको सहयोग र राजनन्दिनीको त्यागलाई उपन्यासमा ज्यादै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

यसपछि सोम, कुण्डनी तथा शम्‍ब वैशाली आए ।त्यतिबेला बैसाली र मगधको सम्बन्ध बिग्रन शुरु हुदै थियो । बैशालीका कमजोरी पत्ता लगाउन अनेक गुप्तचर सकृय थिए ।यसै भित्र प्रभन्जन नामक एक हजाम पर्दथे भने कुण्डनीले बेश्याको रुप धारण गरेर बसेकी थिइन् ।बिम्बसारसँग बिवाद भएर अमात्य वर्षाकार पनि यति खेर बैशालीमा बसेका थिए  । उनी दक्षिण ब्राह्मण कुंडग्राममा सोमिल श्रोत्रिय का अतिथि भएर बसेका थिए । लुटेरा दस्यु बलभद्रको रुपमा सोमप्रभ पनि बैशालीमा लुटपाट मचाउन सकृय भए । देबी आम्बापालीको जन्मोत्सबका अवसरमा उनले तिनै देबीसँग मिलेर सामन्त, सेठ, निगम तथा त्यहाँ उपस्थित हरेक धनी नागरिकहरुको आभुषण र रत्नाभरण लुटी गरीब किसानहरुलाई दिएको कथाको वर्णनले जो कोही पाठकलाई रोमाञ्चित बनाउछ ।

उपन्यासमा त्यसपछी थुप्रै कथा उपकथाहरु आउछन् । अन्तिमका चौथाई खण्ड मा रहस्य, विज्ञान, चमत्कार र युद्ध रणनीति तयारी आदिको प्रसंग आँउछ । जसमा एउटा कालो छायाले नगरमा मच्चाएको आतंक  बढी रोचक छ । बैशालीमै आफ्ना मृत छोराका चार बुहारीहरुका लागि गोप्यरुपमा सन्तान लाभका लागि एक ब्राह्मणीद्वारा प्रयोग गरिएका कृतपुण्यले कसरी सम्पत्ति कमाए भन्ने कथा उपन्यासको अर्को महत्पूर्ण अंश हो । कृतपुण्यले समुद्रबाट आठ असाधारण घोडा ल्याएको थियो ।

रसायनशास्त्री गौड़पाद आफ्नो प्रयोगशालामा देश-विदेशका विद्यार्थीहरुलाई रसायनशास्त्र पढाउथे ।त्यसैबेला उनले कृतपुण्यको छोरा देवजुष्‍ट सेट्ठिपुत्र भद्रगुप्त लाई देखे । उनले कालोछायाँको शक्ति खिचेको रहस्य पत्ता लगाए ।तर त्यसै कालो छाँयाको बलले सेट्ठिपुत्रले बेश्या भद्रनन्दिनीको भेष धारण गरेर बसेकी बिसकन्या कुण्डनीलाई आफ्नो माया जालमा पारेर जुठो मद्य तथा चुम्बनद्वारा मार्न सफल भए ।

नगरका विभिन्न घटनाहरुले युद्धलाई आमन्त्रण गरिरह्यो । बैशालीबाट गुप्तचरहरु मगध गए ।सन्धीबैग्रहिक जयराज समेत यसैमा सामेल थिए । जयराजको बिम्बिसारसँगको साक्षात्कारले झनै आगोमा घ्यू थप्ने काम गर्यो । अन्त्यमा युद्ध भएरै छाड्यो ।

केही कमजोर भए पनि एउटा रहस्य/आश्चार्यका कारण बैशाली ठूलो पराजयबाट जोगिन्छ र मगधमा बिलय हुन पाँउदैन । यद्यपि बैशालीको भूगोलमा दुबै देशका गरी ९६ लाख सैनिक योद्धा मारिनु र सताब्दियौंसम्म पनि नभरिने गरी धन बैभब तथा सम्पदाको क्षतिको घाउ यी दुई देशले सामना गर्नुपर्छ ।

बैशालीको पराजयलाई रोक्ने आश्चार्य भनेको राजा बिम्बिसार देबी आम्बपालीलाई पाउनका लागि मात्र लडेको कुरा उनकै छोरा सोमप्रभले थाहा पाँउछ, जुन अनुचित थियो । लडाइ मगध राज्यकालागि मात्र हुनुपर्छ । देशभन्दा ठूलो राजा र राजाको प्रेम हुन सक्दैन भन्ने सोमप्रभको दृढ मत थियो । त्यसो त उनी आँफै पनि देबी आम्बपालीलाई आफ्नो बनाउन चाहन्थे । यस कारण सोमले आफ्नो बिजय सुनिश्चित हुँदा हुँदै अनायसै युद्ध अन्त्यको घोषणा गरिदिन्छन् । यस पछि दुई बाबु छोराको बिवाद हुन्छ   सोमप्रभले बिम्बिसारलाई कैद गर्छन । तर त्यो बिवाद त्यतिबेलै अन्त्य भैहाल्छ, जब राजालाई सोमप्रभ आफ्नै छोरा भएको थाहा हुन्छ । राजाले आम्बपालीलाई दिएको बचन सम्बन्धमा सोमप्रभलाई बताउछन् । सोमप्रभ किंकर्तब्यबिमुढ बन्छन् । आफु राजाको पुत्र हुँ भन्ने जीवनभर थाहा नपाएका सोमप्रभको भाग्यमा सँधै अरुलाई नै जिताउने र आफू त्यसैमा सन्तुष्ट हुने लेखिएको पाउछन् । जीवनमा उनको प्रेमयात्रा पनि कहिल्यै पूरा हुँदैन ।

पराजय नब्यहोरे पनि अपरिपक्व नेतृत्व, खुलेआम बेश्यावृत्ति, ब्याभिचार र मदको ब्यापार संस्कृति मौलाएका कारण बैशालीको बिक्रिति अवर्णनीय बन्छ र राज्य नै धराशायी हुन्छ अनि उपन्यासको ढोका बन्द हुन्छ । उपन्यासको अन्त्यमा देबी आम्बपाली र उनका भाइ सोमप्रम बुद्ध भगवानको शरणमा जान्छन् ।

सम्बाद

उपन्यासको सम्पूर्ण कथाबस्तु बज्जिसंघ गणराज्यको राजधानी बैशालीको धिकृत कानूनद्वारा बलात् रुपमा बेश्या वा नगरबधु बनाइएकी देबी आम्बपालीको वरिपरी घुमेको छ । मूल भाषा हिन्दीमा लेखिएको  बुद्धकालिन पौराणिक कथाबस्तुमा आधारित भएकोले यसको भाषा पनि संस्कृतका तत्सम शब्दहरुले भरिपूर्ण छ । यसलाई देव भाषाको नाम दिन पनि सकिन्छ । पात्रहरुको सम्बाद मीठो, औपचारिक र देववाणी युक्त छ । यसमा प्रयुक्त केही सम्बादलाई उदाहरणको रुपमा हेरौं (अनुबादित)-

आम्बपाली – “भन्ते ! तपाईको  आदेशमाथि मैले बिचार गरेकी छु । म बज्जीसंघको धिकृत कानूनलाई स्वीकार गर्छु ।  यदि गणपरिषदलाई मेरा शर्तहरु स्वीकार छन् भने ।…. भन्ते !  यी शर्तहरु गणपतिले तपाईलाई बताइदिनुहुनेछ ।“

आचार्य शाम्बवय – “अरे यो त तिमीले त्यस शाक्य श्रमण गौतमबाट सिकेका हौला, आयुष्मान !  ऊ आर्य धर्मको प्रबल विरोधी हो । उसले वेद प्रतिपादित श्रेणी विभागलाई मान्दैन । ऊ आर्य अनार्यलाई  समान पद दिन्छ । ऊ ब्राह्मणहरुको बिरोधी हो । यज्ञहरुलाई हेय बताउँछ । स्त्रीहरुलाई निर्वाणको अधिकार दिन्छ ।“

आयुश्मान आनन्द – “भन्ते ! तथागत-प्रवेदित धर्म- विनयमा घरबाट बेघर भएर प्रव्रजित भई स्त्रीहरुले अहर्त फललाई साक्षात गर्न योग्य हुन्छन् भने भन्ते !  भगवती आम्बपाली यसका लागि सर्वथा उपयुक्त छिन् ।“

सामाजिक परिवेश

उपन्यासमा तत्कालिन समाजको चित्रण गरिएको छ । समाजमा नारीको अत्यन्त दयनीय स्थान दर्शाइएको छ । नारी  कि त गृह बधु हुन्छे , या त नगरबधु हुन्छे । यस अलाबा नारी दासी हुन्छे । समाजमा भएका गरीब समुदाय राज्यलाई बलि दिन पनि पछि पर्नु नहुने /नपाइने बैशालीको कानून  छ भने मगधमा केही बढी मात्रामा स्वतन्त्रता छ । गान्धारमा नारी स्वतन्त्रता र मानबीय मूल्य बढी नै भएको कुरा कलिङ्गसेनाले ब्यक्त गर्दछिन । त्यहा दासीहरु हुदैनन् भए पनि उनीहरुको स्वतन्त्रता धेरै बढी छ । दासबजारमा भएको दास दासीको क्रय बिनिमय तथा बिक्रीका लागि ल्यायिएका दासहरुसँग उनीहरुको मालिकले गरेको कुराकानी ग्राहकले दासीको गुणस्तर जाँच गर्न उनका हरेक अँङ्गमा छाम्नु तथा मुखभित्र औला समेत छिराएर क्षमता, उमेर, आदिको मूल्याङ्कन गर्नु जस्ता कुराहरु अहिलेको समाजमा खसी बोकाको खरिद बिक्री गर्दाको दृश्यसँग तुलना गर्न सकिन्छ । यसर्थ दासहरु बोल्न सक्ने, सबै काम गर्न सक्ने, मान्छे नै भए पनि उनीहरु मान्छे थिएनन्- मूल्य पशुको तुल्य थियो । यवनीहरुलाई पनि (मुस्लीमधर्म मान्ने मानिसहरु) दास दासीको रुपमा बैशाली, कोशल र अन्य राज्यमा पनि बिक्री गरिन्थ्यो । श्रावस्तीमा त दासहरुको हाटबजजार अति नै प्रख्यात थियो ।

गौतम बुद्ध तथा महाविर जैनको ज्ञान प्रसारण र त्यसको प्रभाव

आर्यहरुको पुरै बर्चस्व रहेको त्यतिखेरको समाजमा सामाजिक नियमहरुको अभावमा समाज  अब्यवस्थित थियो । भएका नियम तथा कानुनहरु धिकृत थिए । त्यसलाइ ब्यवस्थित गर्नका लागि आर्य ब्राह्मणहरुले पाञ्चालहरुको परिषद बोलाए ।  जसमा कुरुसंघ राज्यका धनञ्जय र स्रुतसोम,अस्सकका राजा ब्रह्मदत्त, कालिङ्ग राज सत्तभु, विदेहका रेणु, काशीराज धत्तरथ,मद्रराज, कोशलका पाँचै जना सामन्तपुत्रहरु, कपिलबस्तुका धन्यकण्टक, त्यस्तै गरी नालन्दा, लक्षशिला, कन्नौज, काँशी उज्जयिनी, मिथिला, मगथ, राजगृह प्रतिनिधिहरु, ब्राह्मणका प्रतिनिधिहरु, श्रोतृय भारध्वाज, कात्यायान, शौनक, बोधायन, गौतम, अपस्तम्भ, शाम्बव्य, जैमिनी, कणाद, औलुक, बशिष्ठ सांख्ययान, हारित, पाणिनी बैशम्पायन, पैल र अथर्ब अंगीरस आदि उपस्थित भएर समाजमा चलेका आठप्रकारका विवाहहरुको ब्याख्या गरेका छन् । यिनको नाम दिएका छन् ।  बिधवास्त्रीलाई सन्तानप्राप्तीको लागि गुरुजनहरुको आज्ञा लिएर देवरसँग ऋतुगमन गर्न सकिने प्रावधानहरु खडा गरेका छन् । उनीहरुले छ प्रकारका कन्याहरुको नामङ्कन तथा विधि स्थापना गरेका छन् ।  यो प्रभाब शाक्यमुनी गौतम र जैनको बढ्दो प्रभाबलाई रोक्नका लागि पनि आवश्यक थियो । तर त्यसले त्यति धेरै काम गर्न सक्दैन ।

तत्समय काँशीमा श्रमण गौतमले बोधी सत्व प्राप्त गरेर ज्ञानको रश्मी फिजाउदै हुन्छन् भने महाविर जैन पनि आफ्नो धर्म प्रचार र शिक्षामा सकृय रहेका हुन्छन् ।मानिसहरु बुद्ध र महाबिर जैन प्रति क्रमश आकर्षित भइ परम्परागत ब्राह्मण तथा आर्यहरुको आतमकेन्द्रित र स्वार्थप्रेरित  रुढीबाद र ढोंगयुक्त ज्ञान भनिएको सिद्धान्तप्रति विकर्षित भइरहेका हुन्छन् । आफ्नो जीवनभरी अनगिन्ति कृति तथा उपन्यास लेखेपछि दशौं वर्ष सम्म हिन्दु, जैन तथा बौद्ध धर्मशास्त्र, साहित्य तथा दर्शन पढेर यस अघि लेखिएका सबै कृतिहरु खारेज गर्दै यो उपन्यास पहिलो हो भनी घोषणा गरेका आचार्यले आर्यको  धर्म  नीच र सँस्कृति भ्रष्टता उन्मुख छ भनी प्रष्ट्याउने कोशिष गरेका छन् । यसै प्रसंगमा उपन्यासको एक पात्र भन्छन्-  “यो आर्यको पूरानो नीचता हो । लोभ लालच देखएर कुमारीहरु किन्नु,  छल बलले उनीहरुलाई बसमा पार्नु, रुदै गरेकी बेसाहारा कन्याको बलपूर्क हरण गर्नु, मुर्छित तथा बेहोसको कौमार्य भंग गर्नु आादि जस्ता कुराहरुलाई समेत आर्यहरुले विवाहको श्रेणीमा राखेका छन् ।“

यसको सट्टा अनार्यहरुलाई उच्च श्रेणीमा राख्दै सर्वजित निग्रन्थ महावीर जैन तथा शाक्य पुत्र गौतमले आर्यधर्म धराशायी बनाइदिएको कुरा उल्लेख गरेका छन् । उनीहरुका मतमा नयाँ धर्मचक्र प्रवर्तनको माध्यमबाट सामाजिक क्रान्ति शुरु भएको घोषणा गरेका छन् जहाँ बेद छैन, ईश्वर छैन थुप्रै दक्षिणा लिइ पापको समर्थन गर्ने ब्राह्मण छैनन् । ब्रह्मा र आत्माको पाखण्ड छैन । उनीहरुले जीवनको सत्यता देखेका छन् र यही प्रचार गरिरहेको  भनेका छन् ।

विज्ञान र बैज्ञानिकहरु

उपन्यासमा रसायनशास्त्री गौडपादले विभिन्न रसायनहरुको समिश्रण गरेर जीवनोपयोगी प्रयोगमा ल्याउन सक्ने भनी देखाइएको छ । गौडपादको शिक्षालयमा रासायन शास्त्र र भौतिकशास्त्रहरुको चर्चा र ज्ञानादान प्रदान हुने गर्छ ।मगधका आचार्य शाम्बव्य अनेक जन्तुहरुको  विभिन्न अंग तथा जनावर आदिबाट निस्कने रसायनहरुको संकलन गरेर यसको परीक्षण गर्दथे । उनले सर्पदंश बिधिबाट मातंगीबाट जन्मेकी अबैध पुत्री कुण्डनीलाई बिषकन्यामा परिणत गरेका छन्  । उपन्यासमा थुप्रै विद्वानहरुको चर्चा छ जसले विज्ञानसम्मत परीक्षण गरेको होस ।

कुटनीति / बैदेशिक सम्बन्ध / सौर्यता

युद्ध वर्णन/ बिरता/ सौर्यताः युद्ध बर्णन , बिरता र सौर्यता उपन्यासको  प्रमुख आकर्षण हो ।  असुरहरुको नगरीमा सोम र कुंडनीदले देखाएको युद्कौशल, सोमप्रभले चम्पामा प्रस्तुत गरेको युद्ध कला, राजकुमार बिदुडभलाई जलकारागृहबाट  उद्धारका लागि गरेको यत्न तथा उपन्यासको अन्त्यमा भएको बैशाली मगध युद्धको तयारी, युद्धका पोतहरु, युद्ध कला अद्वीतीय ठहर्छन् । हरेक देशमा सन्धिबैग्रहिक को व्यवस्था गरिएको छ जसले राजदुत भएर कुटनीतिकको रुपमा कार्य गर्छ । मागध जयराज यसका उदाहरण हुन ।

संगीत / कला / ललितकला

उपन्यासमा अति मीठो बज्ने उच्च कोटीको  बिणाको प्रसंग छ । शुरुमा राजा उदयनले लोपाञ्जन विद्याद्वारा (अरुसामू अदृश्य हुने)  आफू आम्बपालीको दरबारमा प्रबेश गरेपछि उनले त्यी बीणा बजाउछन् । त्यो बीणाको संगीत अलौकिक हुन्छ । तीन ग्राममा एकै साथ बीणा बजाउने राजा पनि ओस्ताद नै हुन्छन् । राजको बादन र देबी आम्बपालीको नृत्यको प्रसारण उपन्यासकारले बहुतैं सुन्दर तरिकाले गरेका छन् ।पछि सिंहको आक्रमणबाट मुक्त गरी देबी आम्बपालीलाई आफ्नो कुटीमा बसाएर त्यही बीणा द्वारा नचाउछन् । अघिल्लो भन्दा पछिल्लो बादन र नृत्य अझ श्रेष्ठ ठहरिन्छ ।कुण्डनीले असुपुरीमा असुरहरुलाई आफ्नो नृतयद्वारा आकर्षित  गरेर मध्य पान गराइ मृत्यूचुम्बन गर्दै असुरपुरी ध्वस्त गरेको र सोही प्रक्रियाद्वारा चम्पा नरेश दधिबाहनलाई मारेको प्रसंग उल्लख्य रहेका छन् । नगरको दुर्गसंरचनाहरु प्रासादहरु पुस्करिणीहरु, बगैचा तथा आन्तरिक सजावटका सामग्री, सुगन्धित घ्यूको बातीमा बलेका सुगन्धित दिपहरुको वर्णनले उपन्यासमा बर्णित सबै नगरहरु हर प्रकारका कलाले सम्पन्न प्रतित हुन्छन् । सोमप्रभलाई आँफै देबी आम्बपालीको नृत्यको हरेक भावभंगीको चित्र अलौकिक रुपले बनाउनसक्ने भनी बर्णन गरिएको छ ।राजनन्दिनीले बनाएको सोमप्रभको चित्रमा उनीहरु दुइ प्रेमका प्राणी छुट्ने बेलामा झरेको आँशुले भिझाइदिन्छ । यसरी उपन्यासकारले मानब मनका कोमलतम भावनाहरुलाई सबै प्रकारका कलाहरु, संगीत, नृत्य, चित्रकला आदिका माध्यमबाट प्रस्तुत गरेका छन् ।

कौतुहलता

उपन्यासलाई जम्मा १५६ वटा अलग अलग शिर्षक दिएर कुशलता पुर्वक विषयबस्तुलाई पेश गरिएको छ ।प्रत्येक शिर्षकबाट उपन्यासको कथा अब आउने अघिल्लो कथामा के होला वा कसको कथा आउला भन्ने पाठकको कौतुकताले कतिखेर उपन्यास मध्यभागमा पुग्छ कतिखेर सकिन्छ थाहै हुँदैन । तैपनि  साना धैर्यताले यो पुस्तक पढ्न मुस्किलै पर्छ । एकै बसाइमा सिध्याउनु पर्छ भन्ने मान्यता राख्ने पाठकका लागि त्यो अलि व्यवहारिक नहुन सक्ला तथापी अघिल्लो कथाको कौतुकताले कुनै पनि पाठकलाई बाँधेर राख्ने क्षमता यस कृतिमा रहेको छ ।

ऐतिहासिकता

बैशालीको अतिरिक्त यस उपन्यासमा मगध राम्राज्यको बिशेष महत्व दर्शाइएको छ । एकातिर बैशाली संघीय गणराज्य हो भने अर्को तिर मगध साम्राज्य राजतन्त्रात्मक शासन व्यवस्था भएको । राजाको ईच्छा नै मगधको कानून हो ।मगध राजा सँधै आफूलाई दिग्बिजयी र  बिक्रमादित्य भएको हेर्न चाहन्थे । यो साम्राज्य आँफैमा शक्तिशाली र वैभवले सम्पन्न थियो । तथापि बैशालीको बल भनेको प्रत्येक ७ वर्षमा हुने चुनाब, त्यहाँको जातीय विविधता र जनताको उक्त देश माथिको देशभक्ति थियो । बैशाली पनि कम शक्तिशाली भने थिएन ।यो कुरा भारतीय प्राचीन इतिहासले पनि पुष्टि गरेको छ ।

आचार्य चतुरसेनले  त्यस समयको गणतन्त्र र राजतन्त्रको राम्रा तथा विक्रित पक्षहरुलाई समेटेर मिहिन रुपले तुलना गरेका छन् । ऐतिहासिकतामा समसामयिकता पनि सान्दर्भिक देखिनु भने कृतिको कालजयी विशेषता ठहर्छ । उपन्यासमा चतुरसेन सँधै बैशालीको पक्षपाती देखिन्छन् । उपन्यास शुरु भएदेखि अन्त्य सम्ममा बैशालीको बढ्दो बिक्रिति र मागधहरुको बढ्दो उन्नतीको स्तरमा अघि बढेको देख्न सकिन्छ । उपन्यास घटनाहरुको वर्णनमा आधारित छ । तत्समयको ऐतिहासिक स्रोतहरु र प्रमाणिकतालाई  सकेसम्म नबिगारी जतनले औपन्यासिकता दिएकाछन् आचार्यले ।

भौगोलिकता

उतीबेला बज्जीसंघ अष्टकुलहरुको बसोबास भएको संयुक्त गणराज्य  थियो । यसलाई विश्कै सबैभन्दा पुरानो गणराज्य मानिन्छ । अष्टकुलमा विदेह, लिच्छबी, क्षात्रिक, बज्जी, उग्र, भोज, इच्छ्वाकु र कौरब गरी आठ कूलहरु पर्दथे । अघिल्ला चार प्रमूख राज्यहरुको राजधानीहरु क्रमशः मिथिला, बैशाली, कुण्डपुर, कोल्लाग थिए भने बैशाली समग्र गणराज्यको राजधानी थियो । पुरै भारतवर्षमा कूल १६ वटा जनपदहरु (देश) थिए । ती देशहरुमा  मगध साम्राज्य, कोशल गणराज्य,  मथुरा, गान्धार, अंग, बंग, कालिंग चम्पा आदि प्रख्यात थिए । उपन्यासमा बज्जीसंघसँग  उक्त  देशहरुको आपसी सम्बन्ध, त्यतिबेलाको समाजको रीतिस्थिति, परम्परा, महिला र दासदासीहरुको अवस्था, दानव, देब र राक्षस गण भनी मानिएका सम्प्रदायहरु, लिच्छबी, ब्राह्मण आदि र तिनीहरुको आपसी सम्बन्धको बारेमा प्रकाशित गरिएको छ ।

औपन्यासिकता

कथाले एउटा छोटो कहानी र त्यसमा बिलुप्त समाजको अवस्था, कुनै नैतिक दर्शन वा केही सानो संझ्‌यालबाट देखिने दृश्य वा परिवेशको चित्रण गर्छ भने त्यसको तुलनामा उपन्यास एउटा बृहत बहु आयामिक र बहुपात्रको जीवनी  समेटेको बहु घटनाको वर्णन वा विश्लेषण मार्फत सम्पूर्णता प्रदान गर्ने कृति हो । यसमा कथानक, पात्र/चरित्र, दृष्टिबिन्दु, परिवेश तथा भाषा शैली जस्ता औपन्यासिक तत्वहरुको रहन्छन् । अन्य तत्वहरुको कुरा गर्नै पर्दैन । तृतीय पुरूष प्रधान बाह्य दृष्टि बिन्दुको प्रयोग गरिएको भए पनि कथामा उपन्यासकार आफ्नो कथनीय वा सम्प्रेशणीय उद्देश्यमा सफल र कालजयी भएकाछन् ।यसमा उनलाई  यसैमा प्रयुक्त देबवाणी जस्तै लाग्ने भाषा शैली र शैलीगत माधुर्यताले साथ दिएको छ ।

निष्कर्ष

आफ्नो जीवनकालमा चारसय पचास भन्दा बढी कथा र बत्तीसवटा भन्दा बढी उपन्यास लेखेका भारतका प्रसिद्ध लेखक आचार्य चतुर्सेनको उपन्यास बैशालीको नगरबधु आज भन्दा करीब ७० वर्ष भन्दा अघि लेखिएको एक शास्त्रीय उपन्यास हो । मूल भाषा हिन्दीमा लेखिएको उपन्यासलाई मञ्जरी पब्लिकेसनले रोशन दाहालद्वारा नेपाली भाषामा अनुदित पुस्तकको रुपमा प्रकाशनमा ल्याएपछि मात्र पढ्दा आँफैले आँफैलाई झण्डै गाली नै गरुँ झैं लाग्यो । के हिन्दी अबोध्य थियो र हालसम्म नपढेको ?  वा किन यस्तो गहन कृति पढ्नलाई बाँकी राखेको ?  यस्तै केही भनेर । त्यसैले पनि अहिलेसम्म नपढेका पाठकहरुका लागि पढ्ने उर्जा मिलोस् र यस्तो पुस्तकको अध्ययनबाट जो लाभ मिल्नु पर्ने हो मिलोस् भन्नका खातिर यो समालोचनात्मक लेख प्रस्तुत गर्ने धृष्टता गरिएको छ ।नत्र त  एउटा अन्तरराष्ट्रिय रुपमा स्थापित विद्वान उपन्यासकारको उपन्यास माथि मिमांशा गर्नु सूर्यलाई बत्ती देखाउनु झैं हो ।

र अन्त्यमा उपन्यासकारको प्रवचनको यो अंशः अपने जीवन के पूर्वान्हमे – सन् १९०९ में जब भाग्य रुपैयों से भारी थैलियो मेरे हाथों में पकडना चाहाता था – मैंने कलम पकडी । ईस बातको आज चालीस वर्ष बीत रहे हैं । ईस बीच मैंने छोटी बढी ८४ पुस्तकें विवध विषयों पर लिखीं । अथच १० हज्जार से अधिक पृष्ठ विविध समसामयिक पत्रिकाओंमे लिखें । ईस साहित्य साधना में मैंने पाया कुछ भी नहीं, खोया बहुत कुछ – धन बैभव आराम और शान्ति । इतना हि नहीं यौवन और सम्मान भी । इतना मूल्य चुकाकर निरन्तर चालिस वर्षों की अर्जित अपनी सम्पूर्ण साहित्य सम्पदा को आज मैं प्रसन्नता से रद्द करता हूँ । और यह घोषणा कर्ता हुँ- कि आज मैं अपनि पहली कृति   बिनयाञ्जली सहित आपको भेट कर रहा हुँ । ……

  • अस्तु –
प्रतिकृया व्यक्त गर्नुहोस् ।