Mero Sabda

टाउकोमा गोली लागेको त्यो क्षण


– लिलक सिटौला

पैसा हुने धेरै मान्छेहरु पहाडबाट आएर शनिश्चरेमा जग्गा–जमीन जोड्दथे । नहुनेहरु भने आफ्नो परिवार पाल्नलाई नै धौधौ हुन्थ्यो । जुनसुकै व्यवस्था आए पनि हुनेखानेहरु उहिल्यैदेखि नै रजाईं गर्थे, अर्थात् बोलवाला उनीहरुकै हुन्थ्यो र भइरहेकै पनि छ । हामी हुँदाखानेहरु भने आफ्नो इमानदारितासँग काममा व्यस्त भयौं । भन्नुको मतलब कुखुराको पोथीले आफ्ना चल्लालाई जसरी अडेस लगाएर न्यानो दिन्छन्, त्यसरी नै हाम्रा आमाबुबाबाट हामी पनि बाँचेका थियौं ।

सम्पन्न परिवारमा जन्मनेहरु जम्दिै धेरै कुराहरु लिएरै यस धर्तीमा आएका थिए । जस्तै– सम्पत्ति, ऐस–आराम, खानपिन, लत्ताकपडा, ठूला–ठूला सपनाहरु, पढ्नलाई ठूला स्कूल कलेजहरुको सुविधा । क्या गजबको जिन्दगी । धनी परिवारमा जन्मिदै उनीहरु सुख, समृद्धि र सम्पन्न हुने तर गरीबका छोराछोरीहरु जन्मिदा चिसो भुइँमा भाग्यमा अभाव र दुःख लिएर आउँछन् । विपन्न बर्गमा जन्मिनेहरुको मूल्यांकन कहिल्यै कुनै समाजमा हुँदैन । तर शनिश्चरेमा मेरो अनुभव भने अलिक फरक थियो । यहाँ धनी, गरीब, जातपातको छुवाछुत केही थिएन । सबैले समानरुपमा शनिश्चरे स्कूलमा पढ्न पाउँथे ।

समय बित्दै गयो । समयसँगै शनिश्चरे स्कूलमा राजनीति प्रवेश ग¥यो । त्यसपछि हामी मोहन जोशी सरको काखमा आएका थियौं । नयाँ शिक्षा योजनाभित्र आकाश खुलेको थियो । २०२९ सालमा नै हेडसरबाट राजिनामा दिएपछि केदारमणि सर राजाबाट मनोनित भएर राष्ट्रिय पंचायतको सदस्य हुनुभएको थियो । त्यसपछि स्कूलको नेतृत्व मोहन जोशी सरको हातमा आएको थियो । जोशी सरले स्कूलमा सबै भन्दा पहिला प्राथमिकता शिवप्रसाद दहाल सर र त्यसै क्रममा मोहन शिवाकोटी सरलाई दिनु भएको थियो । जोशी सरकै प्रतिपक्ष जस्तो देखिने गुणानन्द झा सरलाई दोस्रो प्राथमिकतामा राखे जस्तो देखिन्थ्यो । त्यसपछि अनिल मण्डल, लक्ष्मेश्वर पाण्डे, डिल्लीराम दाहाल लगायत धेरै सरहरुलाई मोहन जोशी सरले प्रशासन मिलाउनु भएको थियो ।

वास्तवमा जोशी सर शिक्षा जगतका एक होनहार पारखी हुनुहुन्थ्यो । म उहाँको विद्यार्थी मात्र थिइनँ, भक्त पनि थिएँ । दिनचर्या त्यसै गरी चलिरहेको थियो । म पनि साथीभाइ भनेपछि हुरुक्कै हुन थालें । बजारे लाइनमा धेरै दुःखसुखका साथीहरुसँग संगत भए पनि अलिकपछि धेरै धनीमानी साथीहरु पनि मेरा साथी बने । जस्तै सुधिर विष्ट, भरत बुढाथोकी, दीपकसेन भट्टराई, रविन खड्का, गणेश काफ्ले, ध्रुव थापा, जुद्धमल, ज्ञानी थापा लगायत धेरुै साथीहरु थिए । असारु धिमाल, विष्णु ढकाल, उत्तम तुलाधार, रमेश ताम्राकारहरु थिए ।

अरु सबै साथीहरु मलाई छोडेर क्याम्पस पढ्ने भइसकेका थिए । मसँग रहेका, बचेका जति थिए, तीहरु थोरै थिए । शनिश्चरे माध्यमिक विद्यालयमा खेलकुदको कार्यक्रम थियो । दिन शुक्रवारकै थियो । हाफछुट्टी हुन्थ्यो । प्रार्थनासभामा बस्नु पर्दथ्यो । हुन त प्रार्थनासभामा धेरै गीतहरु गाएका थियौं । जस्तै– ‘सरस्वती माता, विणा पुस्तक धारणी’ भन्न लगाउँथे । जाने पनि, नजाने पनि मुख बजाइन्थ्यो । त्यसपछि अलिक बुझिने गीत हामीले गाएका थियौं । रचनाकार शिवप्रसाद दहाल हुनुहुन्थ्यो । गीतको बोल थियो– ‘हे दाजु वैनी दिदी भाइ, मिलेर हामी पढ्न जाउँ, नपढे आज मुर्ख भइ हेर्नुपर्ने छ गोरुगाई ।’ त्यसपछि ‘श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापि भूपति …।’ यी सबै गीत हामीले गाएकै हुन् ।

सबै कुरा भोगाइ भित्र पर्नेरहेछ । मलाई दशा लागेको रहेछ । सबै साथीहरु शिकार खेल्न गएका रहेछन् । शिकारीहरु बन्दुक मालिक सुधिर विष्ट, साथीहरु प्रशन्न श्रेष्ठ, भरत बुढाथोकी, गणेश काफ्ले लगायत । स्कूलमा बार्षिक उत्सव थियो । साथीहरुलाई खोज्नका लागि प्रार्थनासभाबाट नै कृष्ण बराललाई मैले फकाएका थिएँ । उसले ‘म घरबाट लुगा फेरेर आउँछु’ भन्यो । म प्रार्थनासभाबाटै भागें । सबै साथीहरुलाई जंगलबाट ल्याउनु पर्यो भनेर । जसले जे भने पनि मेरा सथाीहरु मस्तमस्ती खालका नै थिए, अहिले पनि त्यस्तै छन् ।

मलाई थाहा थियो, स्कूलको प्रार्थनासभाबाट दुईचार जना विद्यार्थी भागेको स्कूल प्रशासनले थाहा पाउँदैन भन्ने । त्यो बेला त्यस्तै थियो, विद्यार्थी धेरै थिए । म एक्लै जंगलतिर लागें । साथी दुखु बंगली पछि आउन खोज्दै थियो, मैले उसलाई आउन दिइनँ । उनीहरु दहिझोडा जंगलमा शिकार खेल्दै थिए । म पुग्दा केही मारेका थिएनन् । ‘हरिणलाई गोली हानेको भाग्यो’ भन्थे ।

त्यहाँबाट सबै साथीहरु फर्कियौं र टाङटिङ खोलामा नुहायौं । नुहाइधुवाइ गरी हामी घरतिर लाग्यौं । बाटामा हामी जिस्किंदै चल्दै आइरहेका थियौं । ‘टुटु बन्दुक’ प्रशन्न श्रेष्ठले बोकेको थियो । त्यो बन्दुकले बाघ नै मर्छ भन्थे । जिस्किंदै उसले ‘तँलाई गोली हान्दिउँ ?’ भन्यो । मैले पनि ‘हान्दे’ भनें । उसले ताकेको मात्र के थियो, बन्दुक पड्कियो । सायद बन्दुकमा गोली थियो भन्ने कुरा प्रशन्नलाई पनि थाहा थिएन । बन्दुकको गोली मेरो देब्रेतिरको गर्धनबाट छिरेर दाहिने आँखाको छेउबाट निस्किएर गएछ । म बेहोस भएँ ।

केही पछि मेरो होस खुल्यो । होसमा आउँदा प्रशन्नले मलाई थामेर बसेको थियो । उसको काखमा मेरो टाउको थियो । गोली लागेको ठाउँमा उसले थिचेर रगत बग्न दिएको थिएन । वरिपरि धेरै मान्छे भेला भएको देखें । केहीपछि कृष्ण बराल र ध्रुव थापाले त्यतिखेरको गाउँले एम्बुलेन्स गोरुगाडा लिएर आइपुगे । त्यसमा मलाई शनिश्चरेतिर ल्याउँदै थिए, बीच बाटोमा एउटा जीप आइपुग्यो । त्यसैमा हालेर मलाई लिएर आए ।

शनिश्चरेको बाह्रदशी पुलमा आइपुगेपछि शंकर डाक्टरको हुने कम्पाउण्डर छविलालले मलाई हेर्नु भयो र आस मारे जस्तो गर्नु भयो । मलाई मनमनै रिस उठ्यो । रिसले उनलाई देब्रे खुट्टा उज्याएँ । बजार बीचमा विद्यार्थी साथीहरु र स्थानीयबासीको भीड थियो । धेरै मान्छेहरु त्यहाँ आए जस्तो मैले महसुस गरेको थिएँ, त्यो पनि मलाई हेर्नका लागि । म होसमा नै थिएँ । उपचारका लागि मलाई विर्तामोड हुँदै भारतको सिलिगुडी लगिएछ । मलाई भने बागडुगुराको भारत पेट्रोलपम्पमा तेल हाल्दासम्मको कुरा याद छ । त्यतिखेरसम्म म होसमा नै थिएँ । त्यो गाडीमा लक्ष्मेश्वर पाण्डे र डिल्लीराम दहाल सर जानु भएको जस्तो मलाई लाग्छ ।

होसमा आउँदा म शिलिगुढीको सरकारी अस्पतालमा भर्ना भएको रहेछु भन्ने थाहा पाएँ । मलाई बचाउने डाक्टर थिए आरएन चटर्जी । त्यस अस्पतालमा एक महिना बसेपछि अरु दुई महिना मित्र नर्सिङहोममा बसेर उपचार गरेपछि म घर फर्किएँ । यो २०३२ सालको कुरा हो ।

त्यो घटनाले मेरो जीवनमा थुपै्र कुराहरुको परिवर्तन ग¥यो । शारीरिक रुपमा देब्रे हात अलिक कमजोर भयो । घाँटीको केही समस्याहरु स्थायी भए । तर मानसिक रुपमा प्रशन्नप्रति अथाह र प्रगाढ मित्रता बन्यो । उसले मलाई एक्लै मर्न छाडेन । प्राथमिक उपचार नपाइन्जेलसम्म मलाई समाएर नै बसिरह्यो । डराएन पनि, भागेन पनि । त्यतिखेर अरु साथीहरु जस्तै उसले पनि मलाई छाडेको भए आज म यति कुरा लेखिरहेको हुन्न थिएँ ।

शनिश्चरे, झापा

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।