२०७७ फागुन १७ सोमबार
Mero Sabda

मधेशी सँस्कृतिः हाम्रा लागि नयाँ


– ऐतराज नेम्वाङ ‘सन्तोष’

उनीहरु बिहानै उठेर आफ्नो–आफ्नो खेतीमा रहेको आफ्नो–आफ्नो सानो–सानो मन्दिर जाँदा रहेछन् । त्यहाँ पूजा गरेर खसि समेत काट्दा रहेछन् । त्यसपछि त्यो खसि आफ्नो घरमा ल्याउँदा रहेछन् । त्यो पकाएर खाएपछि मात्र घरबाट निस्कँदा रहेछन् । त्यसपछि आफ्नो गाँउको एउटा मूल मन्दिरमा भेला हुँदा रहेछन् । त्यसमा हामी पनि सरिक भयौं । गाउँका मुखियाले डम्फू बजाएर होलीका गीत गाउँदा रहेछन् । त्यस मूल मन्दिरमा धेरै बेर होलीको गीत गाएपछि गाउँका एक–एक घरमा गएर गाउने चलन रहेछ । जुन घरमा गीत गायो, त्यस घरका सदस्यले होली गीत गाउनेलाई बदाम, काजु, किसमिस हात हातमा दिँदा रहेछन् । यसरी नै कसैले रङ्ग पनि लगाइ दिंदा रहेछन् ।

होलीको यस्तो नौलो परम्परा देखेर हामी आश्चर्य भयौं । हामीले त झापामा बिहानैदेखि होली खेलेको, देखेको र आफै मनाएको भन्दा धेरै पृथक थियो मधेशको त्यो बसाइको होली । हामीले कल्पना नै नगरेको र नसोचेको होली । हाम्रो लागि अविस्मरणीय रह्यो । जीवनमा पहिलोपटक मधेसको होली देख्दा ‘यस्तो पनि हुँदोरहेछ ?’ भन्ने प्रश्न मथिङ्गलमा डुलिरह्यो । त्यहाँको रहनसहन देखेर ‘यस्तो रमाइलो पनि गर्दारहेछन्’ भनेर हामी धेरै दिन कुरा ग¥यौं ।

एक पटक बिहारका मुख्यमन्त्री लालु यादव आएर त्यस ठाँउमा मिटिङ गरेको दृश्य अझै पनि याद आइरहेको छ ।

लुथरन वल्र्ड सर्भिसले त्यो स्कूल बनाए बापत एक जना लेवर बराबर चार किलो चामल दिंदो रहेछ । एक दिन मुखियाको बुबा बिहानैदेखि हल्ला गरेको सुन्यौं । के भएछ भनेर हामी हेर्न गयौं । मुखियाको बुबा राता–राता आँखा पारेर कालोनिलो भएर बर्बराइ रहेका थिए । ‘अखनी मार देबे सारके’ भन्दै थिए । के भयो भनेर सोध्ने हिम्मत हामीसँग थिएन । ऊ दिनभर कराइ रह्यो । कसलाई गाली गरेको हो ? या कसैलाई सम्झाएको हो ? हामीले त्यहाँको भाषामा कराएकोले केही बुझ्न सकेनौं । पछि बुझ्दा थाहा भयो । त्यो लेवरलाई आएको चामल भ्रष्टाचार गरी गोरुगाडामा लोड गरेर भारततर्फ बेच्न लाँदै गरेको रहेछ र चेकपोष्टमा समाएछ । त्यही भएर ती वृद्ध क्रुर भएर कराएका रहेछन् । यो भ्रष्टाचार भन्ने जन्तु जहाँ पनि हुँदोरहेछ । तर कसरी हुन्छ ? र कस्तो हुन्छ ? त्यो चाहिं समय अनुसार र ठाउँ अनुसार हुँदोरहेछ ।

हामी त एक बबुरो मजदुर । आफ्नो परिवारको भोको पेट र नाङ्गो आङ ढाक्ने अभिलाषामा एक कुनै बिरानो गाउँ या कोलाहल बीचको शहर पनि जानुपर्छ । कहिले नौलो अपरिचित ठाउँ । कहिले आफ्नै गाउँ–छिमेक । यात्रा कहिले कहाँ र कसरी बढ्ने हो थाहा हुँदैन । सदा एक यात्री जीवन संघर्षमा अनवरत् फाटेका कुर्कुच्चाले हरेक ठाँउमा आफ्नो कलाको कौशलता देखाउँदै हिंडिरहेको हुन्छौं । कहीं विश्रामको त नामोनिसान नै देखिँदैन । किनकि यो निर्माणक्षेत्र भनेको सधैं एकै ठाउँमा बसेर गरिने काम पनि होइन । एक ठाँउ काम थाल्यो । धेरै भन्दा धेरै पाँच महिना ग¥यो, त्यसपछि त फेरि आफ्नो कुम्लोकुटुरो बोक्यो, अर्कोतिर लाग्यो । काम सकेपछि घरधनी कसैले धन्यवाद भन्छन् त कसैले मुन्टो बटारेर साइड लाग्छन् । लाग्छ हामी कुनै नचाहिएको एक पाहुना हौं । जाने बेलामा उहाँहरुको मन खुशी पार्न सक्यौं भने भोलि त अवश्य बोलाउँछन् तर कसैले उनीहरुको मन खुशी पार्न सकिएन भने जीवनभर फर्केर पनि हेर्दैनन् ।

त्यहाँ काम गर्दै जाँदा त्यो स्कूलको आधा काम सकिएको थियो । नयाँ साल शुरु भयो । अनि बैशाख दुई गतेका दिन अर्को गाउँको मुखियाले खाना खान बोलायो । त्यहाँको नियम अनुसार त्यो दिन कुनै दुधालो रुखको फेदमा बसेर खाना खानुपर्छ अरे । तर त्यहाँ कुनै दुधालो रुख थिएन, त्यसैले हामी सबै उसैको घरको बरण्डामा खाना खान बस्यौं ।

खाल्डाखुल्डी परेको बरण्डा माटोले राम्ररी लिपेको । हामी लस्करै बसेको थियौं । हाम्रो अगाडि कोलाको पत्ता ल्याएर ओछ्याइ दिए । त्यसपछि खाना ल्याएर हातैले निकालेर हालिदिए । सब्जी बटुकामा हालेको थियो । त्यो पनि हातैले निकालेर हालेका थिए । केहीबेर पश्चात् दाल ल्याए । त्यो पनि हातले हल्लाएर हाम्रो खानामाथि नै खन्याइ दिए । खाल्डा खुल्डी परेको ठाउँमा कोलाको पात पनि त्यसरी नै बसेको थियो उसीना चामलको भात । त्यसमा दाल हाल्दा किनाराबाट चुहिन थालेको थियो । पहिलो पटकको भात खाइसकेर फेरि थप्न खाना लिएर आए । त्यसरी नै भात र दाल हाली दिए । त्यसको केहीबेरमा दुध लिएर आइपुगे ।

मेरो छेउमा कुमार कार्की थियो । भातमाथि दाल र त्यसमाथि दुध हाल्दा खानाको किनाराबाट सेतो र पहेंलो तरल बाहिर बग्न थाल्यो । हाल्दै जाने क्रममा कुमारको खानामा हेरेको मलाई त हाँस उठ्यो । खानाबाट निस्केर सेतो पहेंलो झोल पत्ताबाट बाहिर बगेको देखेर मैले खान मन लागेन । दुध अस्वीकार गरिदिएँ । मलाई दुध हाली दिएन । खाना खाएपछि एकअर्कामा गफ गर्न थाल्यौं । ‘कमसेकम दाल हालेपछि दुध त गिलासमा दिएको भए हुन्थ्यो नि ।’ हामी जोड–जोडले हाँस्न थाल्यौं ।

हामीले सपनामा पनि कल्पना नगरेको ठाउँमा कस्तो परिबन्धमा परेर पुग्नु पर्दोरहेछ । बाध्यताले गर्दा आफ्नो कार्यक्षेत्र त्यस्तो ठाँउमा पनि बनाउनु पर्दोरहेछ । सिनेमामा देखेको मधेस र प्रत्यक्ष देखेको मधेसमा जमीन–आकाशको अन्तर देखियो । त्यहाँका बासिन्दाहरु प्राय नेपाली भाषा बोल्दैन रहेछन् । जो राजमार्गतिर धेरै आवतजावत गर्छन्, उनीहरु मात्र नेपाली भाषा बोल्दा रहेछन् । हामीले देखेको भुजेल थरका दाजुभाइ थिए, उनीहरुलाई नेपाली भाषा बोल्न आँउदैन रहेछ । यसरी नै यस्ता त्यहाँका वासिन्दाहरु धेरै थिए । तर बिस्तारै बिस्तारै त्यहाँका भाषा पनि जान्न थाल्यौं । र त्यहाँका जनताहरुसँग बोलचाल गर्न केही सहज भएको थियो ।

अनि त्यहाँको एउटा विशेषता चाहिं के रहेछ भने जसको हातमा एचएमटी घडी बाँधिएको छ, सम्झिनु उसले विवाह गरेको छ । अझै शंका लागेमा जो हिरो साइकलमा चढ्छ र हातमा एचएमटी घडी छ, त्यो चाहिं अवश्य विवाहित हो । उनीहरुको विवाहमा जन्ती जाँदा बेहुला डोलीमा चढेर जाँदा रहेछन् । जब बेहुली लिएर फर्कन्छन्, तब बेहुला हातमा घडी र साइकल चढेर फिर्छन् र बेहुली डोलीमा हुँदिरहिछन् ।

हामीले त्यहाँ काम गरेको समयभरि जति पनि बिहे देख्यौं, सबैको त्यस्तै देख्यौं । सायद हामी नयाँ भएर होला हामीलाई आश्चर्य लागेको । रितीरिवाज आफ्नो परिवेश अनुसार हुन्छ नै । उनीहरलाई पनि हाम्रो तिरको रीतिरिवाज अनौठो नै लाग्छ होला नि । म जस्तो हरेक स्थानमा जाने र पुग्ने मान्छेलाई त अचम्म लागेर आएको थियो । त्यो रीतिरिवाज देखेर । म अहिले पनि कहींकुनै स्थानमा अचानक त्यो दृश्यको बखान गर्छु । सुनेर साथीहरु ‘हो र ?’ भन्दै आश्चर्य चकित हुन्छन् । किनकि आजसम्म मैले अनुभव गरेको र साक्षात्कार भएको दृश्य थियो त्यो । त्यसैकारणले अरुले गरेको बखान भन्दा पृथक विषयको बखान हुन्थ्यो । साथीहरु बडो चाख मानेर सुन्थे । अनि म आफैलाई गर्व गर्थे । आफैलाई चन्द्रमा पुगेर आएको र त्यहाँको वृतान्त सुनाएझैं लाग्थ्यो । आज यस लेख मार्फत् सम्पूर्ण पाठकमाझ यो दृश्यको नालीवेली लगाइरहँदा त्यसरी नै चन्द्रमा पुगेको अनुभव भइरहेको छ ।
जिन्दगी जिउन त्यति सजिलै छैन । संघर्षदेखि भागेर जिन्दगी जिउने हो भने चाहिं सरल नै हो । तर संघर्षसँग पौठेजोरी खेल्दै जिन्दगी जिउने हो भने संघर्षको मैदान नै हुन्छ । अनि जिन्दगीसँग जति लिन चाहिन्छ, त्यति नै लिन सकिन्छ । कहिले सुख लिन सकिन्छ, कहिले दुःख लिन सकिन्छ । अनुभवका गुच्छाहरु समेट्न सकिन्छ । शान्तिका सागरमा पौड्न सकिन्छ । दुःखका पहाडहरु चढ्न सकिन्छ । सुखका बतासमा रुमल्लिन सकिन्छ । अनुभवका भङ्गालो सजिलै तर्न सकिन्छ । यो सबै प्राप्त गर्नलाई जिन्दगीलाई नजिकबाट नियाल्नु नै अवश्य पर्छ नि । तर जीवन जिउने बहानामा समयसँगै संघर्ष नगरी बाँचियो भने जिन्दगी जिउनुको अर्थ नै रहेनछ । मनमा आलस्य पैदा गर जिन्दगीलाई जिन्दगीकै हातमा छाडीदिए जिन्दगीले मानव जिन्दगी नै खोसेर लगिदिन्छ ।

मेरा यी भनाइहरु मेरा अहिलेसम्मको अनुभवको आधारमा भनेको हो । अब यसमा कसले कसरी र कुन हालतमा जिन्दगी जिउँछ, त्यो त हरेक मानवको हरेक तरिका हुन्छ । कोही जिन्दगी बाँचेर जिउला र कोही बाँचेर जिन्दगी जिउला । त्यो त आ–आफ्नो दृष्टिकोण हो । तर जे होस् मानव जिन्दगी भएपछि बाँच्नलाई संघर्ष त गर्नैपर्छ । मैले पनि जीवन जिउने वहानामा हरेस खाएर बाँचेको भए आज म यो अवस्थामा आइपुग्ने थिइनँ । जीवन संघर्षमा कति ठाँउ हार खाएँ होला, तर एउटा हारले म डराएर भागिनँ । फेरि प्रयास गरें र सफल भएँ । फेरि अर्को संघर्ष आइलाग्थ्यो, त्यसरी नै मैदानमा हौसलाको हतियार बोकेर युद्ध लडिहाल्थें । कति चोट लाग्यो । कति खुन बगे । कहिले देखिने चोट बोकेर हिँड्थे तर कहिले नदेखिने अदृश्य चोट लिएर हिँड्थें । बाहिरी चोट र भित्री चोट दुखेर अँध्यारो एकान्त कुनामा घाउको विष पखालिने गरी आँशु बगाएर बस्थें ।

कहिले रगतपच्छे भएर छट्पटिएर रगतसँगै लडिबडी खेलेको छु । तर मानिसहरुको अगाडि फिस्स हाँसेर आफ्नो पीडा लुकाइ हिँडेको पनि छु । म एक लोग्नेमान्छे त्यसैले रुनु हुँदैन भन्छन्, तर आँशु मेरो आँखामा पनि त छ । रुवाइ मेरो मनमा छ । तर व्यक्त गर्न धेरै गा¥हो । भन्छन् नि ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’ अब त्यो चरितार्थ त गर्नैप¥यो नि । नत्र त नामर्दको विल्ला भिरेर समाजमा कसरी बस्ने ?

हामीले त्यहाँको स्कूल आधा निर्माण गरेपछि घर फिर्ने भन्ने सल्लाह गरेर अफिसमा जानकारी दियौं । ‘हुन्छ तर यो स्कूल सम्पन्न गरेर मात्र जानु’ भन्ने जवाफ आएपछि हामी घर फिर्ने दिन कुर्न थाल्यौं । एक दिन हामीलाई एक–एक वटा साइकल दिएर घर फिर्ने वातावरण मिलाइ दिए । तर हाम्रो पैसा चाहिं लालवन्दीमा रहेको अफिसबाट लिने भन्ने आदेश आएपछि हामी साइकलमा नै लालवन्दीमा आइपुग्यौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।