२०७७ फागुन १७ सोमबार
Mero Sabda

बाल्यकालको त्यो रहर


– कमल बुढाथोकी

आज अनायस बाल्यकालीन पूर्वस्मृतिले चिमोटिरह्यो । भौतिक विकटतामा रुमल्लिएको त्यो बेलाको हाम्रो गाउँ–ठाउँमा भोग्नु परेको कष्टप्रद् जनजीवनसँग अन्योन्याश्रित अनुभव र अनुभूतिहरु सम्झना भए । जस मध्ये जान अन्जानमा भएको एउटा विचित्रको चित्र मष्तिष्कको प्रोजेक्टरले सिनेमाहलको पर्दामा चलचित्र झैँ देखाइ दियो । घटना र विषयवस्तु,, बाल इच्छाको प्रतिविम्व थियो । अमूर्त बालरहरको मूर्त अभिव्यक्ति थियो । देख्दा सामान्य लाग्ने त्यो घटना मेरो बालमष्तिष्कमा चेतना भर्ने स्रोत बन्यो ।

हाम्रो घर तात्कालिक खुदुनाबारी गाउँ पञ्चायत नौ नम्बर वडाभित्रको कैंदलेमा थियो । गाउँ पञ्चायतको कार्यालय, हालको फाल्गुनन्द चोकदेखि अलिकता पश्चिम इलाम जाने बाटोसँगै रहेको श्री जनता निम्न माध्यमिक विद्यालय प्राङ्गण छेउमै थियो । विद्यालयको पुस्तकालय भवनलाई नै गाउँ पञ्चायत कार्यालयको रुपमा प्रयोग गरिएको थियो । पछि तात्कालिक प्रधानपञ्च डिल्लीविक्रम नेम्वाङले कार्यालय भवन निर्माणका लागि निःशुल्क जमीन उपलब्ध गराउनुभएपछि उक्त जमीनमा नयाँ कार्यालय भवन निर्माण गरी स्थानान्तरण गरिएको हो । पञ्चायकालिन अवस्थामा दुई कार्यकाल जननिर्वाचित प्रधानपञ्चको पदमा रहेर सामाजिक तथा न्यायीक क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ । नेतृत्वकारी भूमिका अविस्मरणीय छ । केही बर्षअघि उहाँको भौतिक अवशान भयो । अहिले उहाँ हामी माझ हुनुहुन्न । तर स्वर्गीय डिल्लीविक्रम नेम्वाङ (माइलाकाजी) लाई खुदुनाबारीबासीले सदा सम्झिरहेका छन्, सम्झिरहने छन्।् ।

शुरुमा काठका बेराबारा र च्यादरको छानोयुक्त कार्यालय भवन, निर्दलीय र निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना हुँदै लोकतान्त्रिक गणतन्त्रको परिवर्तनकारी यात्रा सँगसँगै आजको स्थितिमा आइपुग्दा संरचनागत हेरफेर भएर अर्जुनधारा नगरपालिका वडा नम्बर तीनको भौतिक सुविधा सम्पन्न वडा कार्यालयको रुपमा देख्न पाएका हौं । वडाबासी नागरिकले सहज ढंगबाट सेवा–सुविधा लिन पाएका छौं ।

राजतन्त्रात्मक पञ्चायतकालिन व्यवस्था र अवस्थामा मुलुक र मुलुकबासीको हित अनुकुल थिएन । संविधान थियो, कानून थियो, कार्यान्वयन थिएन । राजाको हुकुम नै सबथोक हुन्थ्यो । न्याय र स्वतन्त्रता थिएन । राजा, राजपरिवारका आसेपासेहरु नै व्यवस्थाका परिपालक थिए । सभा, संगठन, विरोध जुलुस गर्न कानूनत बर्जित मानिन्थ्यो । व्यवस्था विरोधीले दमन, धरपक्कडको शिकार हुनुपथ्र्यो । सामाजिक–जातीय विभेद चरम उत्कर्षमा थियो । मुलुकको सामाजिक तथा आर्थिक विकास कछुवा गतिमा थियो । भौतिक पूर्वाधार विकासको हालत झन् खराब । त्यसैले स्थानीय नेतृत्वले चाहेर पनि समग्र विकास असम्भव प्रायः जस्तै थियो ।

भौगोलिक विकटताले सीमित परिधिमा खुम्चिएको खुदुनाबारीको आमूल कायापलट दिवास्वप्न झैं हुन्थ्यो । बाटोघाटो, पुलपुलेसा, विद्यालय, स्वास्थ्य केन्द्र जस्ता आधारभूत क्षेत्रको विकास नहुँदा खुदुनाबारी साँच्चै नै पिछडिएको थियो । खुदुनाबारीबासीले देशका अन्य विकट ग्रामीण भेगका जनताले जस्तै दुःख र सास्ती खेप्न बाध्य थिए ।

लामो दूरीको प्रस्तावित शनिश्चरे–इलाम सडक नक्सा जस्तो मात्रै, क्षत्विक्षत् अवस्थामा थियो । अहिले पनि भग्नावशेष अवस्थामा रहेको छ । स्तरोन्नति हुनसकेको छैन । पुलपुलेसा नहुँदा बर्षायाममा शनिश्चरेसम्म जान सक्ने स्थिति थिएन । शाखा बाटाघाटा विरलै पाइन्थे । सारो–गाह्रो बिरामी पर्दा स्वास्थ्य उपचारका लागि झोलुङ्गोमा बोकेर लैजानु पर्ने बाध्यता पथ्र्याे । शैक्षिक संस्थाको नाममा चार–पाँच वटा मात्र विद्यालयहरु संचालित थिए । ती मध्ये खुदुनाबारी चोक नजिक श्रीजनता निम्न माध्यमिक विद्यालय रहेको थियो । जुकेखाडी, सिस्ने, भिमले र झेलेनीमा रहेका सबै प्राथमिक विद्यालय थिए ।

तिनताका हाम्रो जस्तो अल्प विकसित मुलकका विकट ग्रामीण भेगको जनजीवन कति कष्टकर थियो होला । सबैले सहजै अनुमान गर्न सकिने विषयहो । अझ त्यो भन्दा विकट पहाडी, हिमाली भेगमा बसोबास गर्ने गाउँबासीहरुको जनजीवन कस्तो थियो होला कल्पना मात्र गर्दा आङ्नै सिरिङ्ग हुन्छ ।

खुदुनाबारीमा रहेको श्रीजनता निम्न माद्यामिक विद्यालयले हाम्रो पालामा सामुदायिक स्तरबाट आर्थिक– भौतिक स्रोत जुटाइ माध्यमिक तहको पढाइ संचालन शुरु गरिसकेको थियो । उक्त शैक्षिक अभियानमा तात्कालिक समयमा उपप्रधानपञ्च एवं विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष आदरणीय भक्तबहादुर गौतम, सामाजिक अगुवाहरु आदरणीय हर्कनारायण श्रेष्ठ, लक्ष्मीप्रसाद इङ्नाम, रुद्र बहादुर कटुवाल, स्व. डिल्लीविक्रम नेम्वाङ, स्व. धर्मलालाल लिङ्देन लगायत अन्य थुप्रै समाजसेवीहरु, शिक्षक, अभिभावकहरुको असाधारण भूमिका रहेको थियो ।

माध्यमिक तहसम्मको पढाइ आफू अध्ययनरत् विद्यालयमै सूचारु हुने भएपछि हाम्रो व्याच र हामीपछिका व्याचहरुले शनिश्चरे वा अरु विद्यालयमा धाउनु पर्ने अवस्था सदाको निम्ति अन्त्य भएको थियो ।

शुक्रबारे भनेर चिनिने हाम्रो ठाउँलाई पछि मात्र खुदुनाबारी नामाकरण गरिएको हो । हाल फाल्गुनन्द चोकको नामले सुपरिचित, साविक भीमसेन चोक नै खुदुनाबारीको मूख्य केन्द्र मानिन्थ्यो । सो क्षेत्रमा मात्र अलिक बाक्ला घरहरु थिए । गरुवा चोकमा औंलामा गन्न सकिने घरहरु रहेका थिए । यी दुबै चोकमा जति पनि घरहरु थिए, टिनको छानो र काठपातको बेराबारा भएका कम, खरको छानो र कच्ची बेराबारा भएका ज्यादा थिए । ठूलो–अग्लो घरको प्रतिनिधित्व स्व. खड्गविक्रम नेम्वाङ (डबलसुब्बा) को पिरामिड आकारको टुङ्सीघरले गरेको थियो । अलिकपछि फाल्गुनन्द चोकलाइनमा शान्तिराम पौड्याल, धर्मलाल लिङ्देन लगायत अरु स्थानीयले बुट्टेदार, रङरोगनयुक्त आकर्षक घर निर्माण गरेपछि मात्र आधुनिक खालका घरहरु बन्ने क्रम तीब्र हुनथालेका हुन् ।

खुदुनाबारीमा त्यसबेला अहिलेको जस्तो हाटबजार लाग्दैनथ्यो । शुक्रबारका दिन मात्र पहाडी भेग इलाम, पाचथर, ताप्लेजुङका मानिसहरु शनिबारे हाट भर्न बाक्लै ओह्रालो झरेको देखिन्थ्यो । दौरासुरुवाल, ढाकाटोपी लगाएका, काँधमा गल्फन बेरेका, कम्मरमा पटुका, पटुकाभित्र खुकुरी भिरेका बूडापाका, तरुणहरु, साडीचोलो र नाकमा बुलाकी लगाएका महिला, तरुणीहरु देखिन्थे । पहाडमा उब्जाइएका चिजबिजहरु अलैंची, अम्लिसो, अदुवा, घ्यू ,छुर्पी, सुन्तला, कागती, ज्यामिर, नास्पाति, चिउरी लगायत अरु थुप्रै खाले उपभोग्य वस्तुहरु ढाकरमा बोकेर ल्याएको मनग्ये देख्न सकिन्थ्यो ।

खुदुनाबारीमा केहीक्षण भारी बिसाएर, चियाखाजा खाने, गफिने जमात कम हुन्थेन । चियाखाजा खाने समूह कुनै सिटौलिनी आमै, कुनै खड्किनी आमै त कुनै रायानी आमैको पसलमा बाँडिएका देखिन्थे । अरु बेला सन्नाटा छाउने चोकमा शुक्रबारको दिन रौनकता छाएको देखिन्थ्यो । शनिवारे हाटबजार भरिसकेर फर्की नसकुन्जेल र भोलिपल्ट आइतबारका दिनसम्म छिटफुट रुपमा मानिसहरुको आवत्जावत् बाक्लै देख्न्न सकिन्थ्यो । त्यसको अलावा धुलाबारीमा सोमबार लाग्ने पशुहाटमा बिक्री गर्नका लागि पहाडबाट झारिएका पशुचौपायहरु बग्रेल्ती देख्न्न पाइन्थ्यो । त्यो बाहेक हाटबजार र शहरी रौनकता हेर्न शनिश्चरे नै धाउनुपर्ने अवस्था थियो ।

अहिले आइतबारे हाटबजारले बृहत रुप र आकार ग्रहण गरेको छ । खुदुनाबारीले अप्रत्याशित ढंगले काँचुली फेरेको झैँ भान हुन्छ । यस्तो बदलाव आउनुमा मुख्यतया चार कारण छन् । पहिलो– कैजले बन क्षेत्रमा भुटानी शरणार्थीको बसोबास हुनु । दोस्रो– विद्युत विस्तार । तेस्रो– आइतबारे हाटबजार व्यवस्थापन । चौथो– टाङटिङ–बिरिङमा पुल निर्माण । त्यसपछि पूर्वाधार विकासको क्षेत्रमा जनप्रतिनिधिहरुको चासो र पहलकदमीले उल्लेख्य प्रगति हासिल गरेको भन्न सकिन्छ । परिवर्तित समय र सन्दर्भ अनुरुप विकासको यो गतिले स्थानीयबासीको आकांक्षालाई मूर्तरुप दिन थुप्रै काम गर्न बाँकी नै देखिन्छ ।

स्थानीय तहमा बीस बर्ष जननिर्वाचित नेतृत्व नहुँदा दलीय भागबन्डामा रुमलिएर विकासले धिमा गति लिएको थियो । जति काम भए दलीय नेतृत्वको विकासप्रतिको तीब्र इच्छा र जनताप्रतिको दायित्ववोधले नभई समयको माग र आवश्यकताको सिद्धान्त अनुसार जबरजस्त भए । साँच्चिकै भन्नु पर्दा इमानदार नेतृत्वको खडेरीले उर्वर खुदुनाबारी मरुभूमी झैँ बन्न पुगेको छ । सिंचाइको सुविधा छैन । खानेपानी शीर्षकमा बार्षिक करोडौंको बजेट विनियोजन हुन्छ । तर उपलब्धि हात लाग्यो शुन्य छ । धारा बाँडिन्छन्, पानी बाँडिदैन । नियति अत्यन्तै दुःख लाग्दो छ । दलीय सेटिङले जनताका हक खोसिएका छन् । जनसरोकारका संघसंस्थामा दलीय भागबन्डामा बेइमान नेतृत्व हावी छन् । नियमन र नियन्त्रणको अभावमा नेता भनाउदाहरु झन् सारो नकच्चरो बनेका छन् । प्रचुर स्रोत साधन भएर पनि अर्जुनधारानगरको खास गरी साविक खुदुनाबारी सुनको थालीमा भीख मागिरहेको छ ।

शहर र हाटबजार घुम्न जान पाउनु, नौलानौला कुराहरु हेर्ने पाउनु उति बेला हामी जस्तो केटाकेटी निम्ति आकाशको फल झैं हुन्थ्यो । बाबुआमाको पछि लागेर एक–दुई पल्ट शनिश्चरे हाटबजार घुम्ने मौका के मात्र मिलेको थियो मलाई, हरेक हप्ताको बजार हेर्ने तीब्र रहरले डेरा जमायो । सधैं जान पाउनु सम्भवै थिएन । लिंढेढिपीले गर्दा कति चोटी सिर्कना खाइयो, कति चोटी लबटो, हेक्का राखिएन । यदाकदा मात्र मागको सुनुवाइ भएर जान पाइन्थ्यो बजार । आँखा नटाउन्जेल बजारको रौनक हेरिन्थ्यो, घुमिन्थ्यो, आनन्दविभोर हुइन्थ्यो । आमाले दिएकोदुई रुपैयाँले जुलवी, खुर्मा, दालमोठ, बरफ खान भ्याइन्थ्यो । खुशीले भुइँमा खुट्टा हुँदैनथ्यो ।

दशैंको अघिल्लो हाट भने बेरोकटोक जान पाउथें । सनपाटको भारी बोकेर हिंड्ने बाबु, दाजु र दिदीको पछि दगुर्थें । बेच्नलाई पालो कुर्नु पथ्र्यो । धेरै त होइन पाँच–छ मन जति हुन्थ्यो होला । मनको कति रुपैयाँ मिल्थ्यो ठ्याक्कै याद भएन । तर हामीलाई लुगाकपडा र दशैंको सौदापात गर्न पुर्याएको पूरै याद छ । लुगाकपडा दामी चाहिं लगाउन पाइँदैनथ्यो तर पनि चित्त बुझाइन्थ्यो । गच्छे अनुसार लाएर–खाएर चाडबाडमा रमाइलो गरिन्थ्यो । चाडबाड बाहेक विद्यालय, घरगाउँ या गोठालामा खेलेर मनोरञ्जन गरिन्थ्यो ।

दशैंका लागि किनिएका लुगा रेडिमेड नभएर सिलाउनु पर्ने थानका कपडा हुन्थे । शरीरमा लगाउन मिल्ने गरी सिलाउन मसक्के दर्जीबाकोमा नापजाँच गरी सिलाइ सकेर घरमा नल्याउन्जेल निद्रा पिटिक्कै नलागेर हैरान । नयाँ लुगा लगाउन टीकाको साइत नै कुर्नु पथ्र्याे । दशैंको टीकाको अघिल्ला दिन र रातहरु पट्यार लाग्दा र लम्बेतान लाग्थे । घडीको सुई सुस्त गतिमा घुमिरहेको झैं भान हुन्थ्यो ।

नयाँ लुगा लगाउन पाएपछि फुकाल्न मनै नलाग्ने । दैनिक जसो लगाउनै पर्ने । फेरि बर्ष दिनसम्म जतन पनि गर्नैपर्ने । पथ्र्यो फसाद । दिनहुँ जसो लगाएपछि जतन कहाँ हुनु, बर्ष दिनसम्म के को टिक्नु । पाँच–छ महिनाको अन्तरालमै पाइन्टको पछिल्लो भाग र घुँडाको अघिल्तिर फाट्न शुरु भइहाल्ने । स्कूल ड्रेस अनिवार्य लगाउनु पर्ने हुनाले नियमित रुपमा तिनै प्रयोग गर्नुपर्ने । बर्ष दिनसम्म टिकोस पनि कसरी । टालटुल गरेर भए पनि लगाउनुको अर्काे विकल्प हुदैनथ्यो । अँ ! हिउँदयामको चिसो ठिही छल्न खरिद गरी यदाकदा ल्याइदिने लिलामीका न्याना कपडाले अलिक समय भरथेग गर्थे ।

अहिले पनि खेतीपाती गर्ने किसानलाई राज्यद्वारा संरक्षित नीतिनिर्माण र त्यसको व्यावहारिक कार्यान्वयन नहुन्जेल किसानवर्गको जीवनस्तरमा खासै परिवर्तन नहुने कुरा सिद्ध भइसकेको छ । झन् त्यतिबेला परम्परागत ढंगले खेतीपाती गर्ने ग्रामीण भेगका किसानको जीवनस्तर कति दयनीय रहेको थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । आयआर्जनको अन्य स्रोत नभएको निम्नमध्यम वर्गीय हाम्रो परिवारलाई बर्ष दिन मनग्य धान्ने अन्नपात हुँदैनथ्यो । बेचबिखन गर्ने नगदेबाली नगण्य परिमाणमा हुन्थ्यो । परिवार धान्न मुस्किल । छोराछोरीलाई भनेजस्तो मिठोमसिनो खानदिने, राम्रो लुगा लाउन दिने, सुकिलो–मुखिलो बनाउने रहर कुन चाहिं बाबुआमालाई हुँदैन होला । आर्थिक सामथ्र्यले नभ्याएपछि रहर त रहरमै मात्र सीमित हुन्थ्यो होला । जे–जस्तो खान र लगाउन पाए पनि चित्त बुझ्थ्यो । अरुको देखासिकी गर्न जानिएन । ज्ञानले हो या डरले करकर गर्न आउँदैनथ्यो ।

एक–दुई पल्ट शनिश्चरेस्थित शनिवार लाग्ने हाटबजार, चुथाई र विर्तामोड, बाबुआमाको पछि लागेर जान भ्याएको हुँदोहुँ । शहरबजारमा लस्करै ठडिएका पाश्चात्य शैलीमा निर्मित चित्ताकर्षक लाग्ने आधुनिक घरटहराहरु, उपभोग्य सामग्रीका ठूल्ठूला पसलहरु, फरक–फरक वर्ण, लवज, पहिरनमा छ्यासमिसिएका मानिसहरुको भीडभाड, सिनेमाघर, फ्याक्ट्री धित नमरुन्जेल हेर्न पाएको हुँदोहुँ । चुथाईमा हजुरबुबा हजुरआमाले टीका लगाएर हातमा थमाइ दिने कटकटिएको नयाँ दुई रुपैयाँको नोट समाउन पाउँदाको खुशी जताएको हुँदोहुँ । वरिपरि बरबगान, आकर्षक कलेवरमा सजिएको पक्की तथा आधुनिक घर, फराकिलो कोठा–चौटा त्यहाँ रहने संभ्रान्त परिवारको सुसभ्य, सुसँस्कारी बानी–व्यवहार, आगन्तुक पाहुना प्रतिको ईज्जत, खानपान बारे थोरबहुत ज्ञात भएकै हुँदोहुँ । चुथाईको त्यो घरपरिवारप्रतिको आस्था, विश्वास र मोह चानचुनको थिएन मेरो लागि । यस्तो अनुभूति हुनु अस्वाभाविक पनि थिएन । ग्रामीण परिवेशमा हुर्केको एक किशोरलाई ।

प्रकृतिको बरदान भएर पनि भौतिक, सामाजिक एवं आर्थिक विकासको दृष्टिले पिछडिएको खुदुनाबारीमा जन्मेर हुर्कदै गरेको किशोर, म भित्र हुर्किरहेको भौतिक सुविधा सम्पन्न ठाउँ, शहर, हाटबजार प्रतिको तीब्र मोहसँगै हिंड्डुल गर्ने, नौलानौला कुराहरुको दृश्यभोग गर्ने, सुखी परिवारसँग एकाकार भएर सुखभोग गर्ने अमूर्त इच्छाले गर्दा एक दिन एउटा अनौठो घटना सामना गर्न बाध्य हुनुपर्यो ।

शनिवारको दिन थियो । हिउँदयामको जाडो रहलपहल रहेको फाल्गुनीमास । घरमा रोइलो गरेपछि हाटबजार जाने मौका मिलेको थियो । त्यसबेला म नौ बर्ष उमेरको बालक थिएँ । संयोगबस् भाइ विष्णु कटुवालको पनि त्यही दिन साइत जुरेको रहेछ । हामी दुबै मिलेर धोको पुगुन्जेल घुम्यौं । दुबै जनाका आमाले दिनु भएको दुई–दुईको नोटले गरम खल्ती चिसो नबनुन्जेल खायौं, पियौं । घर फर्कने बेला हुनलागेको थियो । आमाहरुसँगै नरहेको मौका छोपी मलाई चुथाई भागेर जाने रहर जाग्यो । बिष्णुलाई फकाएँ, मनाए पनि ।

हामी भागेर हाम्री आमाको साख्खै जेठा मामा लेफ्टिनेण्ट केशरबहादुर प्रसाईँको घर चुथाइ पुग्न सफल भयौं । हजुरबुबा र हजुरआमाले आश्चर्य मिश्रित हाउभाउमा कसरी आइपुग्यौं भनेर मात्र सोध्नु भयो । केरकार गर्नु नै भएन । हामीले पूर्व सल्लाह अनुसार बजारमा हराएर घर जान डर लागेपछि यता आएका हौं भनेर ढाँट्यौं । साँच्चै हाम्रो गाउँ जाने बाटोघाटो त्यस्तै पनि थियो । रात–साँझ एक्लै–दोक्लै हिंड्नै डरलाग्दो । झन् हामी केटाकेटी पर्यौं । त्यसैले हामीले ढाँटेको कुरामा विश्वास गर्नुभएछ क्यार । घरको हालखबर बाहेक अरु सोधनी भएन । अघिसम्म ढाँटेको कुरा पोल खुल्ला कि भन्ने भयले सुकेका ओठ रसिला भएर आए ।

एकसरो आङ मात्र ढाक्ने लुगा, खुट्टामा हवाईचप्पल लगाएका नातिकेटाहरुलाई छिछि–दूरदूर नगरी दयामाया प्रकट गर्नु भो । एकछिन्पछि हजुरआमाले न्यानो रेडिमेड कपडा निकाल्दै लगाउन सुझाउनु भयो हामीले त्यसै गर्यौं ।

त्यत्रो घरमा उहाँहरु बाहेक घरेलु कामदारहरु मात्र थिए । मामा, सानीमाहरु अध्ययनको सिलसिलामा कोही ईलाम, कोही काठमाडौं । कोही पनि हुनुहुन्न थियो घरमा ।

बेलुकाको खानपिनपछि एकछिन् मात्र सामान्य कुराकानी गर्ने मौका मिल्यो । सम्भवत साना नानीहरूसँग धेरैबेर गफिनुको अर्थ नरहेर होला । बेलैमा हजुरआमाले सुत्ने कोठाको बन्दोबस्ती मिलाइ दिनु भयो ।

फराकिलो, पहेंलो गेरु रङरोगनयुक्त चम्किलो कोठा, पश्चिम भित्तामा जडित जोरै रहेका बिजुलीका बल्ब, एउटा ट्युबलाइट, एक सिलिङ फेन, बास्नादार बिछ्यौना, बेडबाटै अन–अफ गर्न मिल्ने गरी राखिएको स्वीचवोर्ड बत्तीस लक्षणले युक्त कोठा झैँ लाग्यो । त्यतिको भौतिक सुविधा सम्पन्न कोठामा सुत्न पाउँदाको आनन्द नै बेग्लै । भर्खर–भर्खर मात्रै हाम्रो घरगाउँमा देख्न, भोग्न पाएको हुँदोहो । नत्र रातमा कोठाचौटाको अन्धकारमा उज्यालो पार्न टुकीको सहारा लिनुपर्ने अवस्था भोगिरहेको केटोलाई भौतिक सुविधा सम्पन्न परिवेशले खुबै लोभ्याएको थियो । चित्र–विचित्रका कल्पना उदाउँथे– अस्ताउँथे निमेषभरमै । गफिदै, बत्ती बाल्दै, निभाउँदै गर्ने कृया निकैपल्ट गरियो । त्यतिको सुखानुभूति सायदै गरिएको थियो त्यो भन्दा अघिपछि । त्यसैले हुनुपर्छ अबेरसम्म निद्रा लागेन ।

भोलि पल्ट बिहानको खाना खाइसकेपछि घर फर्कने निधो गरियो । घरका अभिभावकले आफूहरु हराए भनेर कति पिरोलिए होलान् भन्ने चेतना बल्ल आयो । भागेर हिड्ने गल्तीले बाबुको हातको चड्कन अवश्य खाने भइयो भन्ने कुराले पिरोल्यो । घरबाट दाजुहरु खोज्दै आइपुगे भने ढाँटेको कुराको पोल खुल्ने भयले ओठ र तालु सुके । त्यसैले हजुरबुबा–हजुरआमासँग बिदा माग्यौं । ‘बाटो नअल्मिलिकन जाओ है नाति हो’ भन्दै दुबै जनाको हातमा थमाइ दिनुभएको दुई रुपैयाँका नयाँ नोट खल्तीमा राख्दै फुरुक्क हुँदै लुरुलुरु बाटो लाग्यौं ।

जयपुर–बुधबारे जाने दोबाटोनेर हामी आइनपुग्दै माल्दाजु र कान्छा मामाले भेटिहाल्नु भो । हामीले भाग्ने आँट गरेनौं । उहाँहरु दुबैले एक–एकजनाको हात च्याप्प समातेर एक–एक चड्कन लगाइ हाल्नु भयो ।अरे बाफ रे ! तोरीको फूल नै देखेँ । त्यसपछि सरासर हिंडाएर शनिश्चरे स्थित प्रहरी चौकीमा लग्नुभो । प्रहरी भनेपछि उसै त सातोपुत्लो जाने, डरले लुगलुग कामेँ म । बिष्णुको हालत उस्तै । प्रहरीजवानको केरकार र सम्झाइ–बुझाइले अलिक राहत महसुस भयो । घरमा आएपछि बाबुको खप्की, आमाको रोदनले भत्भती मन पोल्यो । यसरी बाल्यकालमा भौतिक सुविधा सम्पन्न सहर, हाटबजार हुँदै नौला कुराहरु हेर्ने रहर र भोग्ने जीजिविषाले चुथाइसम्म भागेर जाने जुन दुस्साहस गरियो, त्यसले निम्त्याएको परिणाम, भोग्नु परेको संकट सम्झँदा आजभोलि आफैंमाथि दया लागेर आउँछ ।

खुदुनाबारी, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।