२०७८ असार ४ शुकर्बार
Mero Sabda

पंचायतलाई जीतेको त्यो दिन


– लिलक सिटौला

शनिश्चरे स्कूलमा पढ्ने जो कोही होस्, उनीहरुले आफ्नो सँस्कार र इमान बचाएका थिए र छन् पनि । नयाँ शिक्षा लागू भएपछि शनिश्चरे माध्यमिक विद्यालयलाई पनि त्यस बेलाको पंचायती व्यवस्था अनुरुपको श्री ५ को सरकारबाट अनुदान आउँथ्यो । हामीलाई के मतलब कहाँबाट पैसा आउँछ आउँदैन । हामी पढ्ने अनि चकचक गर्नेमा मस्त । मेरा धेरै साथीहरु भएका थिए, किनभने म धेरै पल्ट फेल भएको थिएँ । फेल भएकै उपाधि मैले राम्रो पाएँ । त्यसैले गर्दा सबैले मलाई भेटे ।

मलाई धेरै माया गर्ने शिवप्रसाद दहाल र मोहन जोशी सर हुनुहुन्थ्यो । मेरो आफ्नो भने मोहन शिवाकोटी सर हुनुहुन्थ्यो । उहाँले मलाई राजनीति गर्न उक्साउनु हुन्थ्यो । जीवनको हरेक घटनासँग मैले हारे पनि डराउने संकल्प गरिनँ । जसले जे गरे पनि आफूले पढेको स्कूल सबै भन्दा प्यारो हुँदोरहेछ । कसैले पनि बिर्सन सक्ने अवस्था नै रहेनछ । जे होस् आफूले पढेको विद्यालयको माया अधिक हुँदोरहेछ । बाबु र आमाले आथारो लगाए जस्तै शिवप्रसाद दहाल सरले भने गम्भीर तरिकाले नेपालको राजनीतिको कुरो गर्नुहुन्थ्यो । बरु मोहन शिवाकोटी सरले भन्दा पनि शिवप्रसाद दहाल सरले मलाई गहिरो र गोप्यसँग राजनीतिको कुरा बुझाउनु हुन्थ्यो । मोहन सर भने खुल्लमखुल्ला हिसाबले राजनीति गर्नुहुन्थ्यो । दहाल सरले भने मलाई पत्याउनु भएको रहेनछ । किनभने मलाई उहाँले सानो केटाकेटी मात्र देख्नुु भएको रहेछ ।

एक दिन मलाई पनि झोंक चल्यो । शिवप्रसाद दहाल र म गुरुचेलाको हैसियतमा थियौं । स्कूल छुट्टी भएपछि दहाल सर बारदशीदेखि फुलमती खोलासम्म नदीयारी माछा मार्न निस्किनु हुन्थ्यो । माछा उहाँले मारेको स्थानमा म र मेरो साथी रामबहादुर डाँगी पनि पुग्यौं । हामीसँग पनि बल्छी र एउटा बाँसको टाँगो थियो । मैले भनें– ‘सर ! हामी पनि माछा मार्छौं ।’ उहाँले भन्नु भो– ‘राम्ररी मार ।’ हामी दुबैको मुखमा बिर्को लाग्यो । सरलाई निचो देखाउनु हामी गएका थियौं । उहाँले हामीलाई सरल बनाइ दिनुभयो । हामीले के माछा मार्नु । दहाल सरको देब्रे हातमा भने नदीयारी माछाको झुप्पो थियो । दाहिने हातमा बाँसको पातलो टाँगो भएको बल्छी थियो ।

समयको चालसँग संसारका प्राणीहरुको चलहपहल हुँदोरहेछ । स्कूलमा हामी पनि छिप्पिसकेका रहेछौं । साथीभाइहरुसँगको संगठन धेरै गरिसकिएको रहेछ । मैले र हामीले भनेका कुराहरु सबै साथीहरुले मान्थे र पालना पनि गर्थे । त्यो बेला त्यस्तै थियो । राजनीतिक चेतना आएको हुँदा पंचायती व्यवस्थाको विरोध गर्ने बानी भएको थियो । हामीलाई मन पनि लाग्दथ्यो । म बजारको बीचमा जन्मिएको हुँदा त्यो बेला मेरो अलिक फुटानी चल्थ्यो । म जस्तै अरु धेरै साथीहरुको पनि चल्थ्यो ।

घटना विचित्रको भयो । स्कूलको घण्टी लाग्यो खाजा खाने गरी । अहिलेको जस्तो स्कूलमा खाजा लिएर बुबाआमा, दाजुदिदी आउने चलनै थिएन । त्यो बेला पैसा हुनेले किनेर खान्थे, नहुनेले नाटक गर्नु पथ्र्यो । मंगरु साहूको दोकानमा हामी साथीहरु विष्णु ढकाल, मोहन शिवाकोटी, ज्ञानीहरु ठाँटसँग सिंगडा र छोला खाएर भागेको सम्झना अझै आउँछ । मंगरु दाइ ‘है है .. साला..’ भनेर हामीलाई लखेटिरहन्थे । मानौं मंगरु दाइ हाम्रा भिनाजु भए जस्तै हामीलाई ‘है साला’ भन्थे तर हामीलाई केही गर्दैनथे । अरु बेला खान जाँदा गोजी छामेर मात्र दोकानमा प्रवेश गर्न पाइन्थ्यो ।

कक्षा आठमा अध्ययनरत हामी विद्यार्थीहरु धेरै कुराबाट सवल र सक्षम भएका थियौं । हुन त शनिश्चरे हाइस्कूलमा धेरै विद्यार्थीहरुले अध्ययन गरेका थिए । अर्को अचम्मको कुरो हुन्थ्यो त्यस बेला । जुन स्कूलमा बढेर स्कूल पास गर्थे, पछि सक्षम शिक्षक भएर त्यही स्कूलमा पढाउन आएका सरहरु पनि थिए । जस्तै डिल्लीराम दहाल, मदन ढकाल, शेखरनाथ अधिकारी, भरत विष्ट, हस्त परियार, भरत विमली, पुण्य भट्टराई, बासुदेव ढुङ्गेल, कृष्ण धराबासी, कृष्ण पौड्याल, पदम खनाल, सरोज काफ्ले आदि । धेरै विद्यार्थीहरुको समर्पण यसै स्कूलमा भएको थियो ।

त्यस बेलाको व्यवस्था पंचायती थियो । राजाको नाममा पंचहरु र त्यसको भातृ संगठनहरुले माजमस्ती गरेका थिए । सबैभन्दा खतरनाकहरुलाई हामी मण्डले भन्दथ्यौं । राजाको नाममा देश लुटेका थिए । पंच र मण्डलेको वास्तविकता अर्को पनि थियो । सही पंच पनि थिए तर ती असल पंचहरु अल्पमतमा थिए ।

पंचदेखि अर्थात् व्यक्ति पंच भए पनि व्यवस्थाकै नाम पंचायती भएको हुँदा हामीलाई धेरै रिस उठ्थ्यो । त्यसैले हामी पंचायती विरोधी भइसकेका थियौं । हुन त शनिश्चरे बजारमा देश र जनताको पक्षमा बोल्ने पंचहरुको कमी थिएन । जयप्रसाद पौड्याल, गोविन्द काफ्ले, लवकुश गिरी, इत्यादिको कमी पनि थिएन । र पनि हामीलाई पंचायत मन पर्न छाडेको थियो ।

त्इस बेलामा हामीलाई पंचायतको किताब पढ्नु पर्ने वाध्यता थियो । मन नपरे पनि पढाउन सरहरु आउनु हुन्थ्यो । पछि शिक्षक संघ र संगठन खुलेको हुँदा अलि खुकुलो भएका थियो । त्यसले गर्दा बोल्न र विरोध गर्न पाइथ्यो । कृष्णप्रसाद शिवाकोटी, भरत विमली, शेखरनाथ अधिकारी, मोहनप्रसाद शिवाकोटी, भरत विष्ट सरहरुको राम्रो हेक्का चलेको थियो । उहाँहरु कांग्रेस समर्थक हुनुहुन्थ्यो ।

शनिश्चरेको वातावरणमा म र मेरा साथीहरु जानी–नजानी नेपाल विद्यार्थी संघसँग आवद्ध भइसकेका रहेछौं । स्कूलको घण्टी लाग्यो, कक्षा संचालन भयो । जोशी सरको प्रशासनले हामीलाई तह लगाउन पाँचौं पिरियडमा पंचायत पढाउने गरी हाम्रो आठ कक्षामा शेखरनाथ अधिकारी सर पठाउनु भयो । त्यो कुराको हेक्का मलाई थाहा भो किनभने पंचायती किताबको बहिस्कार मैले होस आएपछि गरेको थिएँ ।

शेखर सर कक्षामा प्रवेश मात्र के गर्नुभएको थियो, उहाँले भन्नु भयो– ‘आजको विषय पंचायत हो ।’ मैले सबै साथीहरुलाई मिलाएको थिएँ । उहाँले त्यति भन्ने बित्तिकै म प्रतिकारमा उत्रिएँ । मैले भनें– ‘तपाई शिक्षक संघको सर भएर पंचायत बढाउनु हुन्छ ?’ उहाँले ‘त्यसो भए के पढाउने त ?’ भन्नु भयो । सबै विद्यार्थीले ‘गफ गरेर बस्ने’ भनेपछि शेखरनाथ सरले ‘हुन्छ’ भन्नु भयो । त्यो दिन पंचायतलाई हाम्रो कक्षाका सबै साथीहरुले जीतेको महसुस गरेका थियौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।