२०७७ फागुन १७ सोमबार
Mero Sabda

साइँला दाइ पनि मेरा गुरु


– ऐतराज नेम्वाङ ‘सन्तोष’

हामी निर्माण मजदुरहरु ठूला–ठूला महल ठड्याउन परोस् या साना–साना भौतिक निर्माणका कामहरु गर्नु परोस्, आफ्ना साना–साना औजारहरु हरबखत आफ्नै साथमा हुन्छ । जस्तै मार्तोल, कर्नी, रुसा, सावल, पाटा, सुता यही नै हुन् हाम्रो कर्मसँगै काममा प्रयोगमा आउने सामान हुन् । हाम्रा हरेक कार्यस्थलमा आफूले साथैमा लानुपर्ने । त्यो सामान हेर्दा केही जस्तो लाग्दैन तर त्यो औजारले ठूला–ठूला गगनचुम्बी महल ठडिन सक्छन् । दुनियाँमा समयसँगै हरेक चिजहरु आविष्कार हुँदैआएको छ । गगनचुम्बी महल ठड्याउनलाई पनि नयाँ–नयाँ प्रविधिको विकास भएको छ– ठूला–ठूला क्रेन, रड काट्ने मेसिन, बङ्ग्याउने मिसिन । तर त्यो कर्नी, सावल र मार्तोल जस्तो औजार चाहिं न पहिला बदलिएको थियो न त अहिले नै बदलिएको छ । यो औजार नै हो हामी निर्माण क्षेत्रमा सदा साथ रहने ।

बलराबाट हामी अन्दाजी पाँच या छ घण्टामा साइकल चढेर लालबन्दी आइपुग्यौं । त्यहाँ तत्कालिन् रानी ऐश्वर्याको बगैंचा भन्थे, त्यस कम्पाउण्डभित्र अफिस रहेछ । त्यहाँ गएर हामीले आफ्नो हिसाब गरेर पैसा लियौं र बेलुकीको बसमा चढेर घर फि¥यौं । मलाई अझै पनि सम्झना छ, लालबन्दीमा त्यस बेला पचास पैसा किलो टमाटर पाइदोरहेछ । हामीलाई लोभ लागेर आएको थियो तर त्यति टाढाबाट त्यति जाबो टमाटर के ल्याउनु भनेर सल्लाह गरेर किनेनौं ।

हामी निर्माण मजदुरहरुको यात्रा पनि कुनै निश्चित हुँदैन रहेछ । जहाँ अवसर मिल्यो, त्यही आफ्नो औजार बोक्यो हिँड्यो । जीवनको यात्रा र हाम्रो यात्रा एउटै लाग्छ । कुनै मोड आयो, घुम्यो । कतै उकालो भेट्यो, उक्लियो । सायद जिन्दगी नै यही रहेछ । न आफूले चाहेर मोडिनु पाउनु, न आफूले चाहेर उक्लिनु पाउनु । समस्याहरु भविष्यकै गर्भमा लुकिरहेको हुन्छ । जीवन बिसाउन कुनै चौतारो चिहाउनै नपर्ने । कैले धुलो फुकेर बस्यो, कतै ढुङ्गा ओछ्याएर बस्यो ।

यस्तो जिन्दगी पनि एक प्रकारको सुखद नै हुँदोरहेछ । केही दिनको घर बसाइपछि हाम्रो ज्वाइँ र राजकुमार कार्की फेरि उतै लागे, तर म चाहिं गइनँ । यतै बसेर काम गर्न थालें । गाउँमा बसेर काम गर्दा कहिले सानो काम त कहिले ठूलो काम गरिरहन्थें । त्यस समय विशेष गरेर चुल्हा बनाउनु परेमा मेरो धेरै खोजी हुन्थ्यो । चाइनिज प्रविद्यिको (स्मोकलेस) चुल्हो बनाउन मैले धेरै हण्डर खाएर सिकेको थिएँ । त्यस बेला मलाई चुला बनाउन सिकाउने नेपाली बाबैको साइँलो छोरा हुन्, जसको नाम कुमार सुब्बा हो ।

हामी सानै हुँदादेखि उसको व्यवहार हामीलाई आश्चर्य लाग्थ्यो । हामीले कोइला र बालुवाले दाँत माझ्दा उसले मञ्जन र ब्रसले दाँत माझ्थे । हामी निकै निहालेर हेथ्र्यौं । ‘के हो यो ?’ हाम्री एकअर्कासँग प्रश्न गथ्र्यौं । पछि त थाहा भइहाल्यो । लुगा लगाइको तरिका पनि एकदम चिटिक्क परेको हुन्थ्यो । कहिले कालो सर्ट कालो पेन्ट, कहिले सतो सर्ट–पेन्ट । जुत्ता देख्दा हामी हाँस्थ्यौं । कालो टिलिक्क परेको । अग्रभागमा केही चुच्चे उठेको । टाउकोमा क्याप ।

मान्छे केही होचो–होचो । हामी गाउँका केटाकेटीहरु उसको छेउमा झुरुप्प जम्मा हुन्थ्यौं, तब ऊ केही घिनाए जस्तो गरेर हामीलाई परपर भगाउँथे । हामी पनि ऊसँग डराउँथ्यौं । घर आउँदा पनि केही दिन मात्र बस्ने, त्यसपछि कहाँ जान्थे हामीले केही पत्तो पाउँदैन थियौं । केटाकेटी स्वभाव । आउँदा न याद गर्ने हो । गएपछि कसले याद गर्छ र ? हामी फेरि आफ्नै धुनमा मस्ति । केही दिनपछि ऊ फेरि आउँथ्यो । पछि थाहा भयो, ऊ त गोबरग्याँस कम्पनीमा काम गथ्र्यो रे । पहिला त ‘के हो गोबरग्याँस’ भन्थे । तर पछि थाहा भो । किनकि गोबरग्याँसको केही काम मैले पनि गरे । मेरो पहिलो अनुभव वीरमणि ढकालज्यूकोमा । उसले आएर बनाउँदा मैले त्यसमा काम गरेको छु ।

त्यस बेलाको सम्झनलायक क्षण छ । म त्यो खाल्टो (डोम) भित्र पसेर माटो निकाल्दै थिएँ । कलिला हातले त्यो डोमभित्रको माटो खोस्रेर निकाल्नु पर्ने । त्यो पनि निकासको लागि सानो २×४ को दुलोबाट । आफैंलाई गुम्सिएझैं लाग्ने । त्यस्तोमा माटो खन्दै बाहिर निकाल्दा निकाल्दा लखतरान भएर केही क्षण सुस्ताएको बेलामा वीरमणि ढकालज्यू त्यही दुलोबाट चिहाउन आइपुग्नु भएछ । अहिले मलाई लाग्छ– उहाँले मलाई कराउनु भएको जस्तो लाग्छ ।

विवशता थियो । काम त गर्नैप¥यो । गाली हप्काइ त हाम्रो लागि सामान्य झैं लाग्थ्यो । नलागोस् पनि कसरी । बाध्यताले मानिसलाई के–के गराउँदैन होला ? म आफैमा सर्बसम्पन्न भएको भए यदि कसैले औंला मतिर मात्र सोझ्याए त्यसको के हालत हुन्थ्यो होला । तर हामी प¥यौं सामान्य एक किसानको सन्तान र आफू परियो एक निर्माण क्षेत्रमा होमिएको एउटा किशोर ठिटो ।

जसोतसो त्यो खाल्डोको माटो निकाली सकेपछि तार–ब्रसले डोमको माटो खुर्कनु पर्ने । ओहो ! अनुहारभरि माटो, कपालभरि माटो । कहिलेकाहिं मुखभित्र पनि जान्थ्यो । त्यो काम गर्दा कति पसिना बग्यो, हेक्का नै हुन्थेन । सायद परिश्रमको फल भनेको त्यही पसिना बगाएपछि मात्र पाइँदो रहेछ । निधारबाट बगेको पसिना मुखमा पस्दा केही नुनिलो लाग्ने । झन् पसिना र माटो सँगै मिलेर मुखमा पस्दा धेरै चर्को लाग्ने रहेछ । फेरि हातका ठेला फुटेर पसिनाले भिज्दा आँखाबाट आँसु नै बग्थ्यो । त्यतिबेला सेफ्टी भन्ने चिज केही हुन्थेन । अहिले जस्तो सुरक्षाका सामान भए त्यतिका कष्ट हुँदैन थियो होला । तर बाध्यता भन्दा ठूलो अरु के नै हुन्थ्यो र ?

गाउँघरमा एउटा प्रश्न सुन्थें ‘हिरा भन्दा सारो के हुन्छ ?’ । त्यसको जवाफमा ‘नहुनु भन्दा सारो हिरा पनि हुँदैन’ भन्थे । साँच्चै हो रहेछ । सबैभन्दा सारो भनेको त नहुनु नै रहेछ । आफूसँग नभएपछि हात पनि खाली । मुखको वचन पनि खाली । हुँदा–हुँदा संसार नै खाली लाग्दोरहेछ । जसोतसो त्यो गोबरग्याँसको डोम सबै सफा गरेपछि साइँला दाइले त्यहाँको अरु काम सकाएको थियो ।

त्यसपछि चाइनिज चुला बनाउने भन्ने सल्लाह भयो । त्यो चुला चाहिं साइँला दाइले चाइनामा गोबरग्याँसको तालिम गर्न जाँदा देखेर र सिकेर आएको भन्थे । बिस्तारै बिस्तारै गाउँमा चाइनिज चुला बनाउने लहड चल्यो । केही ठाउँमा म आफैं गएर बनाउन गएँ । म आफै गएर बनाउँदा साइँला दाइ केही रिसाउँथे । त्यस समयमा एउटा चुला बनाए बापत दुई सय पचास रुपैयाँ लिन्थे । केही महिना त्यहाँ काम गरेपछि विराटनगर गएर चुला बनाउने भइयो म र साइँला दाइ ।

उनको श्रीमती र म विराटनगर गयौं । विराटनगरमा सबैभन्दा पहिला खगेन्द्र ढकालको जेठी सासूको घरमा गएर चुल्हा बनाइयो । शुरुशुरुमा केही चर्चा थिएन । काम गर्दै जाने क्रममा त्यहाँ अलिक चर्चा हुन थाल्यो । हामी वरगाछीमा डेरा लिएर बस्थ्यौं । हामीसँग एक जना सन्तोष नेपाल भन्ने जो विराटनगरमा नाइट क्याम्पसमा पढ्ने केटो पनि काम गर्न थाल्यो । दिनभर हामीसँग चुल्हा बनाउथ्यो अनि साँझ परेपछि रंगशालाको ठिक्क अगाडिको नाइट क्याम्पस पढ्न जान्थ्यो ।

विराटनगर नेपालको दोस्रो ठूलो शहर भन्थे । ठूला–ठूला महल । कसै–कसैले तेस्रो तल्लामा चुल्हा बनाउन लगाउँथे । त्यस बेला धेरै गा¥हो हुन्थ्यो । त्यो बेला स्ल्याव बनाएर चुल्हा बनाउने चलन थिएन । घरको भित्तामा तीनतिर वाल लगाइन्थ्यो अनि त्यसमा माटो भरेर मात्र त्यसमाथि चुला बनाइन्थ्यो । साँघुरो ठाँउ कताबाट माटो भर्नुपर्ने हो चिन्ता लाग्थ्यो । त्यो पनि तीन तलामाथि ।

एक पटक साइँला दाइले एउटा घरमा चुल्हा बनाउने क्रममा ‘भाइहरुले यो खाल्डो भर, म तिमीहरुलाई पचास–पचास रुपैयाँ दिन्छु’ भनेर हौस्याए । त्यस पश्चात् हामीलाई के चाहियो र, दिनभरमा भर्ने काम हामीले आधा दिनमा नै भरिसक्यौं । अनि आज्ञाकारी छोराछोरी जस्तै दाइको अगाडि उभियौं र ‘भरी सक्यौं’ भन्यौं भन्ने जवाफ दियौं । तर उनले पैसा दिएनन् । हामी जिल्ल परेर फर्कियौं । ‘ठिकै छ नि, अब दुई–चार दिनमा सकिहाल्छ । त्यसपछि त दिन्छन् होला नि’ भनेर हामी चुप लाग्यौं । तर हात्ती आयो, हात्ती आयो फुस्स । त्यो काम सक्दा पनि दाम हातमा परेन । ‘ठिकै छ’ भनेर हामीले माग्न पनि छाडी दियौं ।

साइँला दाइ अलिक होचो । हिँड्दा पनि केही कुप्रो परेर हिँडेको जस्तो लाग्ने । सधैं टिपटप लुगा लगाएर हिँड्ने । हामीले सानो छँदा देखेको साइँला दाइ अहिलेको साइँला दाइमा केही अन्तर नदेखेको । जुत्ता उस्तै टल्काएर लगाउनु पर्ने । कपडा पनि त्यस्तै कालो रङको पेन्ट लगाए कालै सर्ट । सेतो रङको पेन्ट लगाए सेतै सर्ट । काममा जाँदा त्यस्तै पहिरनमा जाने अनि काम गर्ने बेलामा अर्को लुगा लगाउने र काम गर्ने । काम सकेपछि फेरि त्यही पहिरन । अन्य कसैले पनि यो मान्छे मजदुरी काम गर्छ भनेर पत्याउनै गा¥हो ।

चुला बाउन सिमेन्ट (एसवस्टस)को पाइप चाहिन्छ । त्यो पाइप किनेर हामी आफैं ल्याउँथ्यौं । हामी दुई जना रिक्सामा बसेर दुई जनाको बीचमा त्यो पाइप ठड्याउँथ्यौं । त्यो पाइपलाई दुबै हातले समाउनु पर्ने । रिक्सामा बस्दा म भन्दा साइला दाइ धेरै होचो देखिन्थे । उनले ‘भाइ अलिक तल झरेर बसन’ भन्थे । अनि म पनि त्यसरी नै अलिक तल झरेर उनको र मेरो उचाइ बराबर हुने गरी बस्थें । अहिले पनि कहिलेकाहिं सम्झेर हाँस्ने गर्छु ।

जे जस्तो भए पनि मजदुरी क्षेत्रमा केही विधाहरुका लागि साइँला दाइ मेरा गुरु पनि हुन् । उनले सिकाएका केही सीपले त्यतिखेर मलाई रोजगार बनाएको थियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।