२०७८ असार ४ शुकर्बार
Mero Sabda

घरको सम्झना


कविता (मन्दाक्रान्ता छन्द)

– भुवन आदिम तिम्सिना

जोडेको त्यो अमर पिरती बीचबाटै भुलेर ।
त्यागी फुल्ने रहर मनको मग्मगाई खुलेर ।
जानै पर्ने निज घर भुली दूरको देश पार
जीतेँ मैले र पहिरिदिए हार की यो छ हाररु

मिल्दा पीडा, कठिन परदा साथ साथी नआए ।
रुन्छे मेरी प्रणय पुतली रोज देख्नै नपाए ।।
गै जा पन्छी खबर छ भनी प्रेम मेरो तँ लैजा
उन्को मीठो मधुर पिरती लेर झट्टै उडी आ ।।

उड्दाखेरी गननन गरी यान आकाशमाथि ।
कुद्ली छोरी चउरतिर त्यो हेर्न आयो कि साथी ।।
खाना खाँदा बलतल जसै सम्झनाले सतायो –
नाच्या, हाँस्या, मनमन रम्या खेलको याद आयो।।

छोरो सानो सयनपलमा छैन बाबू छुँदो हो –
फोटो हेर्दै हुँकहुँक गरी भित्र भित्रै रुँद‍ो हो ।
बज्दा बाजा सुर लय कसो तालमा ताल राख्छर ?
सोच्दा छाती भतभत भई पीरले ताप जाग्छ ।

आफ्ना मान्छे नजिक नहुँदा घातले पोल्छ छाती
देखेँ उस्तै कुटिल सपना मर्न लागेछु राती ।।
आँखामा छन् जनक जननी डुब्न लाग्या छ घाम ।
चाँडै भेट्ने अवसर मिलोस् आश तेरो छ राम ।।

प्रतिकृया व्यक्त गर्नुहोस् ।