Mero Sabda

धराबासीलाई कुट्ने हाम्रो योजना


– लिलक सिटौला

पारस टाकिजमा फिल्म फेरियो । फिल्मको नाम थियो– जय सन्तोषी माँ । हिरो शशी कुमार र हिरोइन कनान कौशल थिइन् । गीतको बोल थियो– मैं तो आरती उतारुँ रे सन्तोषी माता की, जय जय सन्तोषी माता जय जय जय । ।

सन्तोषी माताको प्रचार धेरै पहिले भएको थियो । शुक्रवार सन्तोषी माताको नाममा ब्रत बस्ने चलन थियो । चना, गुँड, मुराईहरुको प्रसाद चढाउनु पथ्र्यो । माताको पूजापाठ गरेपछि सबै दुःखकष्टहरु पार लाग्नछ भन्ने हाम्रो हिन्दु परम्परा अन्तर्गत विश्वास थियो । त्यसैले हामी सबै सन्तोषी माताको भक्त भएका थियौं । गरीब, दुःख पाएका धेरैहरु सन्तोषी माताको ब्रत बस्ने चलन थियो ।

फिल्म हलमा चलाउने ठेकेदार भने हाम्रा आदरणीय दाइ भक्तबहादुर खड्का हुनुहुन्थ्यो । ‘जय सन्तोषी माँ’ फिल्म हिट भयो । कम्तीमा पनि एक महिनाभन्दा धेरै चल्यो । हामीले पनि त्यो फिल्म हेरेका थियौं । फिल्म हेर्ने साथीहरु दीपकसेन भट्टराई, विष्णु ढकाल अर्जुनधारा, गोविन्द गिरी खुदुनावारी, मेघनाथ भट्टराई जयपुर, ज्ञानु मगर शनिश्चरे लगायत धेरै साथीहरुले माताको आशिर्वाद पाएका थियौं ।

गोविन्द गिरी खुदुनावारी जाने बाटोको बाह्रदशी खोलाको पुलपारि बस्दथ्यो । ऊ र म धेरै मिल्ने साथी थियौं । फिल्म हरेर चित्त बुझेन । उसैसँग बस्ने एउटा पहाडबाट आएको विद्यार्थी साथीलाई नाइट सोको फिल्म देखाउनु पर्ने भो । सेकेन्ड क्लासको टिकट लियौं । त्यसको लागि तीन जनालाई जम्मा दुई रुपैयाँ पच्चीस पैसा लाग्थ्यो । एक जनाको भागमा पचहत्तर पैसा पथ्र्यो । फिल्म हेर्दै थियौं, हाफ भयो । एउटा खुट्टा खोच्याउँदै पापड बेच्न आउने मानिसलाई मैले पापड मागें । उसले ‘म तँलाई पापड दिन्नँ’ भन्यो । मलाई रिस उठ्यो । हलभित्रै मैले त्यसको पापडको टोक्रीमा फ्ल्याङ्किक हानें । त्यसका पापडहरु सिनेमाहलको सेकेन्ड क्लासभरि छरिए । गोविन्दले मलाई ‘भाग लिलक’ भन्यो, म भागें । गोविन्द पनि मसँगै भाग्यो ।

कुद्दाकुद्दै शनिश्चरे स्कूलअगाडिको पिपलको बाटोमा आएर एकछिन् आराम ग¥यौं । चकचके बानी थियो । गोविन्दलाई मैले भनें– ‘यो पंचायत लेखेको बोर्ड उखालेर फाल ।’ गोविन्द बलियो थियो । पिपलको बोटको दक्षिणपट्टि रहेको पंचायतको कार्यालयमा गोविन्द चड्यो र बोर्ड निकालेर तल झार्यो । हामी दुबैले बोर्डलाई कच्याककुचक पारेका मात्र के थियौं, पुलिसले देखिहाल्यो । उसले हामीलाई लखेट्यो । हामी दुबै कुद्नमा के कम । त्यो बेलाका भुँडे पुलिसले हामीलाई भेट्नै सकेन । पुलिसहरुको भुँडी ठूलो भएकै कारण हामी भाग्न सफल भएका थियौं । अहिले पनि पुलिसहरु त्यस्तै छन् धेरै, त्यसैले बदमासहरु समात्न सक्दैनन् ।

अमरबहादुर श्रेष्ठको घर उत्तर तर्फ एउटा छात्राबास जस्तै थियो । त्यहाँ खुदुनावारी, पाराखोपी, जयपुर, बुधबारेका विद्यार्थीहरु भाडामा बस्दथे । इलामको जीतपुरबाट हामीसँग सिनेमा हेर्ने साथी इन्द्र बराल पनि अध्ययनकै क्रममा गोविन्दसँगै बस्थ्यो । बदमासी गरिसकेर हामी त्यहीं उनीहरुको कोठामा आयौं । गोविन्दले खाना पकायो । खाना खाएर हामी सुत्यौं । फिल्म छुटेपछि इन्द्र पनि आएर सुतेछ ।

भोलिपल्ट उज्यालो भयो । रातपछि उज्यालो हुनु अनिवार्य नै हो । उज्यालो हुनलाई न रातले छेक्दो रहेछ, न त समयले । उज्यालो हुनु थियो, भयो । पहाडबाट मधेश पढ्न आएको केटो इन्द्र बिहानै उठेर लालचिया बनाएर हामी समेतलाई खुवाउन लिएर आयो । दुःखसुखका कुरा गरेर चिया खाँदै थियौं, इन्द्रले हामीसँग गुनासो पोख्यो । उसको गुनासो पनि साँचो थियो । उसको गुनासो थियो– फिल्म हेरे पनि उसले फिल्म केही बुझेनछ । हिन्दी नबुझेकाले फिल्म हेरेको र नहेरेको उस्तै भएछ उसलाई । फिल्म हेरेको पैसा खेरा गयो भन्ने उसको कुरा रहेछ । हामीलाई पनि रातिको काण्डले सताइरहेको थियो, उसको गुनासो भने अर्कै थियो । हामी दुबैले ‘तेरो व्यवस्था हामी आजै गरिदिन्छौं, चिन्ता नगर’ भन्यौं । उसका कुराले हामीले धेरै नै हासो उठेको थियो ।

त्यो दिन हामी स्कूल गएनौं । पुलिसले हामीलाई जे पनि गर्न सक्छ भन्ने हामीलाई लागेको थियो । त्यो डरले रातिको सबै घटना इन्द्रलाई बतायौं र उसलाई जासुसको रुपमा स्कूलमा बुझ्न भन्यौं । बेलुका स्कूलबाट ऊ डेरामा आयो । उसले ‘हिजोको घटना बारे चालचुल नै नभएको’ खबर ल्यायो । त्यसपछि हामी पनि के कम, नाइट सोमा फेरि फिल्म हल जाने भयौं, त्यो चाहिं फिल्म हेर्न होइन, फिल्म हेरेर पनि साथीले फिल्म नबुझेकोले पैसा फिर्ता माग्न ।

पारस टाकिजको टिकट दिने स्थानमा लोकनाथ घिमिरे दाइ बस्नु हुन्थ्यो । मलाई सानैदेखि उहाँले राम्ररी चिन्नु हुन्थ्यो । काउन्टरको ढोका खोलेर म भित्र पसें । अनि उहाँलाई सबै कथा बताएँ । मेरो कुरा सुनेर उहाँले ‘ए हो र ! केही बुझेन ?’ भन्नु भयो, अनि ‘चार आना दिन मिल्दैन, आठ आना लिएर अहिले नै जाइहाल, यस्ता फिल्म नबुझ्ने मान्छेलाई हाम्रो हलभित्र लिएर नआउनु’ भन्नु भयो । म बाहिर निस्किएँ, दुबै साथीहरु बाहिर थिए । इन्द्रलाई आठआना दिएर खुशी पारें । गोविन्द पनि छक्क पर्यो ।

भोलिपल्ट स्कूल जाने कि नजाने भन्ने कुरा चल्यो । मैले भनें– ‘जानें ।’ एकदिन स्कूल नजाँदा पनि सरहरुले धेरै गम्भीर भएर हेर्ने चलन थियो । हामी स्कूल गएर प्रार्थनासभामा उभिएको मात्र के थियौं, प्रार्थनागीत बज्यो– ‘श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापि भूपति …. ।’ कक्षाकोठामा हामी पुगेका थियौं । हामी नौ कक्षामा हुँदाको कुरा हो यो । मसँग पढ्ने पुराना र नयाँ विद्यार्थीहरु धेरै थिए । मलाई छाडेर जानेहरु गइहाले, सँगै हुने पनि केही थिए र पछ्याउने क्रममा दुर्गा सुबेदी जस्ता भाइहरु पनि धेरै थिए । मोहन जोशी सरलाई म र मेरो टीमका साथीहरुप्रति अलिक रिस थियो । किनभने हामी नराम्रो कामको ठाडो प्रतिकारमा उत्रन्थ्यौं ।

स्कूलको अफिस कोठामा सरहरुको मिटिङ बस्यो । मिटिङले बजारे गुण्डाहरुको दबदबालाई ठेगान लगाउनका लागि जीतबहादुर भुजेल सरलाई उनीको कक्षा कोठामा पठाउन पठाउने निर्णय पास ग¥यो । तर जीतबहादुर सरले ‘कृष्ण धराबासी लिलकसँग पढेको हुँदा कुरो मिलाउन सक्छ, उसलाई पठाउनु पर्छ, म त्यहाँ जान्न’ भन्नु भएछ । त्यसपछि जोशी सरले मैसँग पढेको मेरो बालखकालदेखिको साथी कृष्णलाई म लगायत हामीलाई पढाउन पठाउने निर्णय गर्नुभएको खबर हामीलाई प्राप्त भयो ।

त्यो सुनेपछि मैले सबै साथीहरुलाई भनें– ‘मेरो रक्षा गर्नु सबैले । म र ऊ सँगसँगै पढेको हो, आज ऊ मलाई र तिमीहरुलाई पढाउन आउँदैछ ।’ सबै साथीभाइहरुले मलाई साथ दिए । धराबासीलाई कक्षामै रामधुलाई गर्ने बारे सहमति भयो । त्यो दिन उसले दरो धुलाइ खाने पक्कापक्की भयो । धराबासी कक्षा कोठामा प्रवेश मात्र के गरेको थियो, म जुरुक्कै उठेर उसको छेउमा गएको मात्र के थिएँ, उसले भन्यो– ‘हे साथी ! म पढाउन आएको होइन, खैनी खान आएको, खै खैनी ख्वाउ’ भनेपछि उसलाई धुलाइ दिने कुरा नै सकियो । सबै साथीहरु मज्जाले हाँसे । धराबासी मेरो असल साथी थियो । तर आफूसँगै पढ्ने साथी आफूलाई नै पढाउन आउने भएपछि रिस उठेको थियो । उसको एउटै कुराले सबै रिस सकियो । एकपाँक खैनी खाएर पूरा पिरेड नै सकियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।