२०७७ फागुन १७ सोमबार
Mero Sabda

प्राथमिक शिक्षा पास नगरी क्याम्पसको अध्ययन


– ऐतराज नेम्वाङ ‘सन्तोष’

यसरी नै दिनहरु बितिरहेको थिए । कुनै ठाउँमा चुलाको बैना लिएर काम गर्न जान्थेन । काम गर्न नगएपछि कोही घरसाहु कोठामा नै आएर कराउँथे । तर साइँला दाइको दन्तेमोहनी थियो कि क्या हो, जस्तो रिसाएर आए पनि उनले मुसुक्क हाँसेपछि त्यो मान्छे नरम भइहाल्थ्यो । अनि ‘ठिकै छ, तर छिटै आएर बनाइदिनु है’ भन्दै आफ्नो बाटो लाग्थ्यो ।

मलाई एउटा साइकल दिएको थियो । त्यो साइकल लिएर गल्ली गल्ली घुम्थें । त्यति बेला पनि कुनै साहुले देख्दा ‘ओ चुलावाला भाइ ! हाम्रोमा नआउने ?’ भनेर कराउँथ्यो । म चाहिं ‘खोई ! दाइले भनेको अर्को चुला बनाइ सकेर आउने अरे’ भन्दै कुलेलाम ठोक्थें । हाम्रो त के लाग्थ्यो र, दाइले जाउ भन्दा जाने र नजाउ भन्दा नजाने त हो नि । कसैको खटनमा बसेर काम गर्दा त्यस्तै हुँदोरहेछ । दैनिक ज्याला पनि थिएन । न त मासिक तलब थियो । एउटै घरमा बसिन्थ्यो । खाना दिन्थे । कहिलेकाहिं केही खर्च गरिदिन्थे । हामीलाई दिने भनेको त्यही नै थियो । किनकि साइँला दाइले पनि ‘लाउ भाइ, यति पैसा राख भनेर’ कहिले पनि दिएनन् ।

कहिले धरान कहिले दुहवी गइरहन्थे । के कामले जान्थे, हामीलाई थाहै हुन्थेन । एकपटक विराटनगरमा अति नै पानी परेको थियो । सबैतिर जलमग्न भएको थियो । आँगन सबै हिलाम्मे । हामी बसेको घरको साहुको एउटा सेतो भाले थियो । त्यो दिन पनि साइँला दाइ दुहवी जान्छु भनी हिँडेको थियो । घरमा खर्च थिएन । हामीलाई मासु खान मन लागेको थियो । पानी परेर चिसो मौसम । त्यस्तोमा मासु खान मन लागि हाल्छ नि । घर साहु नभएको मौका पारि त्यो सेतोभाले काटेर तातोपानीमा डुबाइ त्यसको प्वाँखहरु बोरामा हालेर राख्यौं । र त्यसको भित्री आन्द्रा पनि निकालेर त्यही बोरामै हाल्यौं ।

अब कहिले रात पर्छ भनेर छटपटीमा दिन बितायौं । जब साँझ प¥यो म साइकल लिएर वरगाछी चोकमा पुगे । केहीबेर पर्खेपछि साइँला दाइ बसबाट उत्रिए । अनि मैले ‘साइला दाइ ! घर पुगेर लु यो मासु काटेर पका है मात्र भन्नु ल’ भनेर म घरतिर दौडिएँ । साइँला दाइ पनि लुरुलुरु घर आइपुगे र ‘सुजा (भाउज्ु) लु यो मासु काटेर पका त’ भनेर खाटमा पल्टिए । त्यति भन्नु मात्र के थियो, म आफँँै दिँउसो लुकाएको भाले निकालेर काटकुट पार्न थाले । केही बेर पश्चात् खाना खाने बेलामा घरसाहुलाई पनि बोलाइयो र प्लेटमा मासु दियौं । उसले मज्जाले खायो । खाइसकेर दाँत कोट्याउँदै ऊ आफ्नो कोठातिर लाग्यो ।

हामी पनि खाना खाइसकेपछि केहीबेर पर्खियौं । जब रात चकमन्न भयो । घरसाहुहरु पनि मस्तनिद्रामा परे, अनि हामीले त्यो बोरामा हालेको पखेटा र फोहोरहरु धेरै तल गएर बगिरहेको नालीमा फालेर आयौं । फर्केर आउँदा हामी दुईजना धेरै बेर हाँस्यौं । त्यो रात त्यतिकै बित्यो । जब भोलि बिहान भयो, घरसाहु यता र उता दौडिरहेको देख्यौं । कहिले गुनगुन गर्थे । कहिले लोग्नेस्वास्नी मुखामुख गर्थे । त्यो देखेर हामी चारै जना हेराहेर गरेर मुसुमुसु हाँस्दै उनीहरुको क्रियाकलाप हेरी बस्यौं । जब हद भयो सोध्यौं ‘के भयो दाइ ?’ उसले हैरान नजरले हामीलाई हेर्दै ‘हिजो बेलुकादेखि भाले हराइरहेको छ । कता गयो कता । तपाईहरुले देख्नु भएन ?’ भनेर हामीलाई प्रश्न गरे । हामीले पनि ‘ला हो र ? हामीले त देखेनौं है ।’ भन्दै पन्छिन खोज्यौं । उसलाई शंका भयो या भएन थाहा भएन । किनकि त्यो कुरो फेरि दोहोरिएन । हामी चाहिं कहिलेकाहिं त्यही विषय निकालेर बेस्कन हाँस्यौं ।

त्यो बेला कुसुमेरुमाल फिल्म भर्खर सुटिङ सकिएर प्रदर्शनको तयारी भइरहेको थियो । किनकि हामीले उद्धव पौड्यालको घरमा गएर चुला बनाउँदा ठूला–ठूला आकारका पोस्टरहरु घाममा सुकाउन फिंजाएका थिए । त्यस बेला फिल्मको पोस्टर मेसिनले छाप्ने होइन, हातले बनाउने चलन रहेछ । उद्धव पौड्यालको घर अगाडि सिनेमा हल पनि धमाधम बनाउँदै थिए । हामीहरु काम गर्न भन्दा त्यही पोस्टर हेर्नमा व्यस्त हुन्थ्यौं ।

उता हस्पिटल मोडमा एक जना डीएसपीको घरमा पनि चुला बनाएका थियौं । ती डीएसपीले साइँला दाइलाई चाइनिज नाम ‘छिन्छु’ भनेर राखिदिएका थिए । उहाँले सधैं ‘छिन्छु’ नै भनेर बोलाउनु हुन्थ्यो । साइँला दाइ पनि झट्ट हेर्दा चाइनिज नाम राखी दिएको जस्तै हुनुहुन्थ्यो । अर्को हुनुहुन्थ्यो कोइराला थरको । नाम चाँही ठ्याक्कै थाहा भएन । अग्ला मान्छे, हात पनि लामै । अरुको भनाइ सुन्दा वीपी कोइरालाको दाजुभाइ मध्येको कोही हुनुहन्थ्यो अरे । जलजला हलदेखि केही पूर्वमा पथ्र्यो घर । उहाँकोमा काम गर्न जाँदा चाहिं वरण्डामा पैसा सुकाएको देखेको छु । काम गर्दै जाने क्रममा गिरिजाप्रसाद कोइरालाज्यूकोमा पनि गएर चुला बनाएका थियौं । उहाँलाई चाहिं एकपटक मात्र देख्न पाएँ ।

खगेन्द्र ढकालज्यूको जेठीसासूको घर अगाडि अच्युत राइस मिल थियो । हामी त्यहाँ जान्थ्यौं र मिलबाट झर्दै गरेको चामलमा जम्प हान्थ्यौं । केहीबेर लडीबडी खेलेपछि मिल पछाडि रहेको पानीको ट्याङकीमा नुहाउँथ्यौं । हामी त्यहाँ रहँदा त्यहाँका स्थानीय युवाहरुसँग राम्रै सम्बन्ध रहेको थियो । त्यहाँ प्रचलित चाडहरुमा पनि हामीलाई सरिक गराउँथे । त्यहाँ वर्षेनी हुने कृष्ण झुलामा पनि सरिक भएको थियौं । कृष्ण झुलामा रात भर जाग्राम बसेर भोलि बिहान दुहवी पुगेर चतरा नहरमा मुर्ति बिसर्जन गरेको अझै पनि याद ताजै छ । अझै पनि मेरो मथिङ्गलमा त्यो कृष्ण झुलाको विषयमा प्रश्नहरु उब्जिरहन्छ । ‘के त्यो कृष्ण अष्टमी हो ?’ तर अब त वर्षौं भयो, सोध्ने कसलाई ? जे होस्, म अझै अन्योलमा नै छु त्यो कुन दिन हो भनेर ।

एक दिन विराटनगरको एयरपोर्टमा जेट विमान आयो भन्ने हल्ला सुने । हामी बसेकै माथिबाट गएर अवतरण गरेको थियो । त्यहाँ देखें, धेरै मानिसहरु एयपोर्टतर्फ दौड्दै थिए । म पनि के कम भनेर खाली खुट्टामै म पनि दौडिएँ । खेत, हिलो सबै छिचोल्दै दौडिएँ । दौड्दिै केहीबेरपछि म पनि अरु मानिससँगै एयरपोर्ट पुगे । त्यहाँ अवतरण गरेको जेट भन्ने विमान हेरे । खासै त्यस्तो नयाँ र आश्चर्यलाग्दो केही देखिनँ । तर पनि कौतुहलका साथ हेर्दै थिएँ अचानक पाइताला पोल्न थाल्यो । तल हेरेको म त खाली खुट्टामा धावनमार्गको पीचमा पो उभिएको रहेछु । हत्तपत्त छेउमा रहेको रेलिङ समाएर सिमेन्टले बनाएको डिलमा उभिएँ । हामीले धेरै बेर हे¥यौं । को को ओर्लिए, कति ओर्लिए, केही भेउ नै पाएनौं । केहीबेर पश्चात् हामी सबैजना घर फि¥यौं । त्यो दिन धेरै थाकिएछ । छिमेकीहरु मिलेर ‘यो जेट यस्तो हुन्छ, उस्तो हुन्छ, सानोतिनो एयरपोर्टमा बस्दैन’ भन्दै गफ गर्न थाले ।

म पनि सिनेमाको धेरै सौखिनमा परें । नयाँ सिनेमा कुनै लाग्नै नहुने । जलजला हल, हिमालय हलमा गएर दिँउसो पनि हेरिन्थ्यो, नाइट सो पनि हेरिन्थ्यो । यहाँ शनिश्चरेको पारस टाकिजमा सानो पर्दामा हेर्ने बानी परेको, त्यहाँ त ठूलो पर्दामा ठूलो–ठूलो हिरो हिरोइनको नक्सा आउँदा धेरै रमाइलो लाग्थ्यो । आवाज पनि सफा सुनिने । फिल्मका पात्रहरु मेरै छेउमा आएर गफ गरे जस्तो लाग्ने ।

साइँला दाइले त कहिलेकाहिं मात्र सिनेमा हेराउन ल्याउने । तर म चाहिं हातमा दश रुपैयाँ पायो कि कुदी हाल्नुपर्ने । त्यो बेला दश रुपैयाँ पाउन पनि पहाड चढेझैं लाग्थ्यो । खासमा त्यो बेला मलाई पैसाको त्यति वास्ता पनि लाग्थेन । ‘मसँग यति पैसा होस्, म सबैभन्दा धनी बनौं, पैसा साथमा भएपछि राम्रा राम्रा कपडा लगाउँ, यो गरौं त्यो गरौं’ त्यो सब मेरो सोचाइमा कहिले आएन । म सोच्थें, ‘म निर्माण क्षेत्रमा काम गर्ने एक निर्माण मजदुर, राति सुत्नुअघि एक छाक खाना होस् । खुशीले पेट भरेर आरामले निदाउन पाउँ, बिहान उठेपछि आफ्नो के काम हो त्यो काम गर्न पाउँ । आफूले परिश्रम गरे अनुसार आफूले पाउनुपर्ने हाजिर पाउँ । आफूलाई चाहिने साधारण किसिमका चिजहरु प्राप्त गर्न सकुँ । कहीं कतै जाँदा अवरोध नहोस् । मलाई कसैले अलिकति भए पनि चोखो माया गरोस् । चोखो माया भन्दा प्रेमिका कै हुनुपर्ने भन्ने होइन । कुनै मित्र या आफन्तहरुले निस्वार्थ माया गरिदिए हुन्थ्यो’ भन्ने चाहना जाग्थ्यो ।

प्रेमिकाको चाहना मैले कहिल्यै गरिनँ । किनकि म एक मजदुरलाई कसले पो प्रेम गथ्र्यो र ? त्यसैले मैले माया गर्ने प्रेमिकाको अपेक्षा नै राखिनँ । तर पनि गाउँमा बस्दा कसैसँग आँखा त जुधाउन मन लागिहाल्थ्यो । कसैसँग प्रेम गर्ने धृष्टता गरी हाल्थिनँ । सायद उमरेले होला । किनकि किशोर अवस्थामा त यस्तो भइहाल्छ नि भनेर चित्त बुझाउँथे ।

मसँग काम गर्ने साथी दिनभर काम गरेपछि बेलुका नाइट क्याम्पस जान्थे । कहिलेकाहिं म पनि उसँगै क्याम्पस जान्थें । क्याम्पसको ‘क’ पनि नदेखेको मान्छे म । साथीसँग क्याम्पसको कोठाभित्र पसेर उसँगै सिटमा बसेर प्राध्यापकले पढाउँदा म पनि गमक्क परेर सुन्थें । तर मन मनमा डर लाग्थ्यो । पढाउँदा पढाउँदै ‘किन आएको ? तिमी पनि क्याम्पस पढ्ने विद्यार्थी हो ? निस्किहाल’ भन्छन् कि जस्तो लाग्थ्यो । तर त्यस्तो भएन । आफू त सानैमा स्कूल छुटेको । त्यहाँ प्राध्यापकले के पठाएको बुझ्दिन थिएँ । तर पनि साथीसँग आरामले बसेर हेर्थें र सुन्थें । कहिलेकाहिं बुझेझैं मुन्टो हल्लाउथें । अनि आफूलाई गर्व गरेर क्याम्पस पढेझैं लाग्थ्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।