२०७७ फागुन १७ सोमबार
Mero Sabda

मित्र दाइको रक्सी चखाइ र मेरो पदवी


– लिलक सिटौला

हाम्रो शनिश्चरे स्कूलमा राम्रो र असल विद्यार्थीहरुको मात्र मूल्यांकन हुन्थ्यो । पढाइमा राम्रो, खेलमा अब्बल, साँस्कृतिक कार्यक्रममा धेरै राम्रो प्रदर्शन गर्नेकोको मूल्यांकन फरक हुन्थ्यो । स्कूल प्रशानले आफ्नो मेहनतको कमाइ विद्यार्थी बर्गमा नै खर्च गर्ने तरिका हाम्रो विद्यालयमा थियो, त्यो सिद्धान्त राम्रो पनि हो । त्यो कुरा मलाई पनि राम्रो र मज्जा लाग्थ्यो । तर त्यस बेला स्कूलका शिक्षकहरुको पनि केही दोष थियो । त्यो बेला ती कामहरुमा छनौट गर्ने बेलामा हाम्रो र राम्रो केटाकेटीहरु मात्र छानिन्थे । किनभने स्कूलले अनुदान पाउँदोरहेछ । हामी पर्यौं एकदम बदमास । जे भए पनि हामीले हाम्रो स्कूल र सँस्कृतिको नाम राखेका थियौं । हुन त प्रहसनमा आईबी भुजेलदेखि हरि खनाल स्कूलका रंगमन्चमा आउँदा सबै हाँसेर लोटपोट हुन्थे । त्यसपछि धेरै कलाकार जन्मिए, त्यसमा म पनि थिएँ ।

साँस्कृतिक कार्यक्रममा इन्दिरा भट्टराईको समूह थियो । राम्रो नृत्य गर्दथे । उनी नृत्यमा सधैं जसो प्रथम हुन्थिन् । मेनुका भट्टराईहरुले स्कूल कब्जा नै गरेका थिए भन्दा पनि हुन्थ्यो । इन्दिरा भट्टराईलाई म दिदी भन्थें । उनी उमेरमा म भन्दा सानी थिइन् । तर पनि इन्दिरालाई मैले दिदी मानेको थिएँ । हाम्रो टिम राम्रो थियो । विरोध हुँदैनथ्यो ।

खेलकुदमा सुधाराम मेचे र जगत कार्कीको रेश हेरेर हामी सबै डाहा गथ्र्यौं । उनीहरु कुद्नमा जहिले पनि प्रथम हुने धावक थिए । दुबै जनालाई हामी कसैले कहिल्यै पनि जित्न सकिंदैनथ्यो । जे होस्, हाम्रो परम्परा हार स्वीकार गर्ने नै थियो । मै ठूलो, मै मात्र जान्ने भन्ने चलन हामीमा थिएन । त्यस बेलामा बदमासीसँग अनुशासनको पनि पालना गर्नु पर्दथ्यो ।

घर थिएन, बास पनि के हो, कसो हो भन्ने मान्छेको जीवनमा लिक उतारचढाव आएको थियो । म भने आफ्नो भविष्य खोज्दै हिंड्ने भइसकेको थिएँ । त्यसको बतलब मेरो पुस्ता नै नरहेको थिएन । म पनि दश भैया खाल कै सिटौला थिएँ । दश भैयाका कोही गरीब, कोही अरबपति थिए । मेरो भनुभव र भोगाइमा सबैको परिवारमा कोही धनी, कोही गरीब रहेको पाइयो । हामी नागरिकको के कुरा र, राजदरबारमा पनि सम्पत्तिको लडाइँ भएको थियो ।

भन्नुको मतलब, जो जे अवस्थामा रहे पनि समाजमा मेलमिलापहरु, साथीभाइमा समझदारी रहनु, अनि आफ्नो परिवारभित्र कसिलो सम्बन्ध रह्यो भने त्यसको मज्जा नै अर्कै हुन्छ । आपसी समझदारी मै सबै कुरो टिकेको हुँदोरहेछ ।

हाम्रो स्कूलमा २०३४ सालतिर होला पढनदासहरुको खाँचो थिएन । जहिले अगाडि प्रथम श्रेणीमा नाम लेखाउने केदार बराल, आनन्दी गट्टानी, किरण दहाल, अम्बिका नेपाल, संजीव उप्रेती, मेनुका उप्रेती, लुमेश मिश्र, प्रदिपकुमार अधिकारी, नेत्रजंग डाँगी जस्ता धेरै पढनदासहरुको जन्म पनि यही स्कूलमा भएको थियो । बजार, स्कूल, गाउँ सबै हाम्रा लागि रमाइलो थियो । रमाइलो पछि नरमाइलो पनि आउँदोरहेछ । फिल्म ‘दोस्ती’को मलाई सम्झना आयो । गीत बडो प्यारो थियो । गीतको बोल थियो– ‘काहे मनुवा दुःख की चिन्ता क्यू सताते हैं, दुःख तो अपना साथी है ।’

मेरो मिल्ने साथी दीपकसेन भट्टराईको एउटा खुट्टो भाँचिएछ । सायद स्कूलमै खेल्दा हो कि बजारमा उफ्रिंदाको कुरा हो । जे होस्, त्यो बेलामा खुट्टो भाँचिनु पनि हल्लाको विषय हुन्थ्यो । साथीलाई हेर्न मात्र हैन, उसको रुँगुवा र सुतुवामा लागें म । दिनरि बजार र स्कूल सकेपछि दीपकको घरमा बास हुन्थ्यो मेरो । म धेरै दिन बसिनँ, कम्तिमा पन्ध्र दिन त बसेकै थिएँ । दीपकका आमाहरु मेरै आमा जत्तिकै हुनुहुन्थ्यो । कसैलाई पनि अपहेलना हुँदैनथ्यो त्यो घरमा । त्यसैकारण मैले पनि दीपकलाई रुँगेको थिएँ । माथि उल्लेखित शब्दहरुमा भने जस्तै गाउँ, समाज, परिवार र राष्ट्रको संरचना बनाउनेहरु आमा अनि बुबाहरुकै जिम्मेवारी हो । कसैलाई काखा, कसैलाई पाखा भएन ।

शनिश्चरेमा धेरै हुनेखाने मानिसहरु थिए, ती मध्ये धेरैले आफ्नो स्तर नमिलेका जो कसैलाई पनि हेर्ने आँखा अर्कै थियो । तर दीपकको घर, कृष्णप्रसाद मिश्रको घर, हरिविलास बन, फत्तेबहादुर बुढाथोकी, दलबहादुर थापा र भरत बुढाथोकीको आमाको घर मलाई आफ्नै घर जस्तो लाग्थ्यो । त्यसपछि भोलिनी आमै, भगवान गुप्ताहरु पनि हामीलाई सहयोग गर्दथे । कारण हामीलाई माया गर्थे, मान्दथे ।

मित्रसेन भट्टराई पछि प्रजातन्त्र आएपछि अर्जुनधारा गाविसको अध्यक्ष समेत हुनुभयो । उहाँ किशोर अवस्थामा मावली घर कालेङ्पुङमा पढ्नु हुन्थ्यो । छुट्टीको बेला शनिश्चरे घर आउनु हुन्थ्यो । राम्रो, सुन्दर, हेनसम हुनुहुन्थ्यो । केटीहरु मख्ख पर्दथे । जे होस्, मित्रसेन दाइ शनिश्चरेका गहना नै थिए ।

छुट्टी भएछ । घर आउनु भो । करिब छ बजे बेलुको समय भएको थियो । म पनि अलिअलि मालपानीमा लागेको थिएँ । दाइले ‘के छ भाइ ?’ भन्नु भयो । मैले ‘ठीकै छ दाइ’ भनें । मैले ‘दीपकलाई हेर्नुभो’ भनें । उहाँले ‘हेरिसकें, अब ठीक हुन्छ’ भन्नु भो । साथी ठीक हुन्छ भनेपछि खुशी पनि लाग्यो, दाइसँग अलिअलि झोंक पनि चल्यो ।

साथी ठीक हुन्छ भन्ने सुनेर आँट गरेर मित्र दाइलाई ‘मालपानी खाने ?’ भनेर सोधें । उहाँले भन्नु भो– ‘क्या हो मालपानी भनेको ?’ मैले भनें– ‘दुधिया ।’ उहाँले ‘हैन, के हो यो दुधिया भनेको ?’ भन्नु भयो । मैले ‘दुधिया, रक्सी नि’ भनें । उहाँले ‘मैले आजसम्म कहिल्यै केही खाएको छैन’ भन्नु भयो । मैले ‘चाखेर त हेर्नुहोस्’ भनें । अनि भित्रबाट ग्लास मगाएर मित्रसेन दाइलाइ दुधिया रक्सी चखाइ दिएँ । त्यो खाएपछि दाइ मस्त निधाए, म पनि निधाएँ ।

भोलिपल्ट बिहान हामी सबै ज¥याकजुरुक उठेका थियौं । बेलुकाको कुराले मित्रसेन दाइ खुशी हुनुभएछ । उहाले खुशी व्यक्त गर्दै ‘तेरो खानेकुराले मज्जा आयो, आजदेखि भाइ तेरो नाम तेजबहादुर भयो’ भनेर नाम राखिदिनु भयो । अचम्म नै भयो । चिनाको नाम फेरेर मैले त्यस दिन तेजबहादुर पद पाएकोमा म पनि खुशी भएँ । दीपक मुसुमुस हाँसिरहेको थियो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।