२०७७ फागुन १७ सोमबार
Mero Sabda

सिक्न नपाएको चित्रकला


– ऐतराज नेम्वाङ ‘सन्तोष’

पाँच कक्षा आफूले नपढे पनि पढ्ने साथीको संगत लागेर रात्री क्याम्पस गइन्थ्यो । तर रातको दश बजे नाइट क्याम्पसबाट फर्किदा निन्द्राले भुतुक्कै भइन्थ्यो । तर पनि म क्याम्पसबाट पढेर फर्किएँ भन्ने अभिमान झल्किरहन्थ्यो । कहाँ माटो र सिमेन्ट खेलाउने हातले कलम–कापी समाउने अभिलाषा जागेर आउँँथ्यो । च्वास्स मुटु पनि घोच्यो । साना–साना कलिला हातबाट कापीकलम छुटेपछि स्कूल कस्तो हुन्छ ? सपनाको दरबारझैं लाग्थ्यो ।

बालापनमा त्यो अवस्थाले गर्दा पढाइ छुटेको थियो तर अहिले किशोर अवस्थामा आइपुग्दा स्कूल पढ्ने लालसा जागेर आउँथ्यो । तर जसरी भए पनि त्यस्तो स्कूल गएर पढ्ने रहर केही दिनको लागि भए पनि क्याम्पस गएर तृष्णा मेटाउन पाएँ । लेख्नु र पढ्नु त केही थिएन तर पनि प्राध्यापकको पढाइ सुनेर त्यो बेलाको याद आउँथ्यो र पढाइ छुटेका रहरहरु आज आएर पूरा भयो जस्तो लाग्थ्यो ।

एकपटक चुला बनाउन दमक चिया बगानभित्र जाने परियो । भाउजूलाई घरैमा छाडेर हामी तीन जना दमक लाग्यौं । त्यहाँ पुगेर सुन्यौं– त्यहाँ तत्कालिन राजा वीरेन्द्र वीरविक्रम शाह आउनु हुन्थ्यो अरे । र, त्यहाँ काम गर्ने कर्मचारीहरु हरसमय तत्पर भएर बस्थे । कुन महिना हो थाहा भएन । सिमसिम पानी परिरहेको थियो । चुला बनाउने क्रममा सिमेन्ट र माटोले गर्दा हात सबै चाउरी परिसकेको थियो । छानामा चढेर टिन काट्नुपर्ने । पानीले भिजेर लुथ्रुक्कै भएको थिएँ । टिन काट्ने क्रममा हात पनि काटियो । दुई–तीन दिन लगाएर चुलाको स्वरुप तयार भइसकेको थियो । अब त्यसमा बाहिरबाट टायल टाँस्नु पर्ने भयो । साइँला दाइले ‘भाइहरु बस्दै गर्नु, म भोलि नभए पर्सि टायल लिएर आइपुग्छु’ भनेर विराटनगरतिर लाग्नु भयो ।

साइँला दाइ विराटनगर लागेपछि हामी दुई जना फुर्सदमा यताउता घुम्न निस्कियौं । धेरै ठूलो क्षेत्रफलमा फैलिएको चिया बगान । कहीँ त्यहींको कर्मचारीहरुसँग चिया बगान घुम्थ्यौं त कहिले हामी आफैं राजमार्गसम्म घुम्न निस्कन्थ्यौं । त्यहाँ रहँदा त्यहाँको कर्मचारीले हामीलाई धेरै राम्रो सत्कार गर्नुभएको थियो । खाना पनि स्वादिष्ट नै दिनुहुन्थ्यो । यताउताको घुमफिरमा दुई दिन बित्यो । अब त साइँला दाइ आउनु हुन्छ भनेर हामी व्यग्र साथ उसैको प्रतिक्षामा रह्यौं । तेस्रो दिन साइँला दाइ आउनु भएन । चौथो दिन पनि आउनु भएन । हुँदाहुँदा पाँचौं दिन पनि बित्यो तर साइँला दाइको कुनै खबर भएन । सम्पर्क गर्ने कुनै माध्यम पनि त थिएन ।

अब त हदै भो भनेर हामीसँगै त्यहाँको कर्मचारी पनि रिसाउन थाले । हामीलाई पनि त्यहाँ बसिरहन असह्य भयो । कति दिन बस्ने ? कति दिन उहाँहरुले हामीलाई खुवाउने ? हामी यसरी विना काम बस्दा कहिलेसम्म पो खुवाउने ? कतै जाउँ साथमा पैसा थिएन । हामीलाई त्यहाँ बन्दक बनाए जस्तो लाग्यो ।

‘मेरो दिदीले त्यहाँ तल विहे गरेर आएको छ । तर कता हो मलाई ठयाक्कै थाहा भएन । तर यतै हो । जाउँ उतै’ भनेर एक दिन साथीलाई लिएर चिया बगानदेखि दक्षिण लागियो । तर नयाँ ठाँउ हराइन्छ कि भनेर केही तल मात्र पुगेर फिर्ता भयौं ।

अब एउटै प्रश्न खडा भयो । अब के गर्ने ? सौभाग्यवस साथीको गोजीमा केही रकम रहेछ । हामी उसैको घर पथरी जाने सल्लाह गरेर उसको घर पुग्यौं । त्यहाँ पुग्नु के थियौं । शान्तिको लामो श्वास फेरियो । अब त खुल्लामा उडेको पन्छी झैं भान भयो । आफ्नो पेटको भोक मेटाउन चारैतर्फ भौतारिएको चरी साँझ परेपछि आफ्नो गुँडमा फर्किए झैं लाग्यो ।

साथीसँगै उसको घरमा पुग्दा साथीको आमा र बुबा पनि हर्षले खुशी भए जस्तो लाग्यो । यतिका महिनासम्म छोरा क्याम्पस पढेपछि घर फिर्दा हर्षित नहुने त कुरै भएन । मिठामिठा परिकार बनाएर आफ्नो छोरालाई खुवाउँदा उहाँहरुलाई कति आनन्द आयो होला ? यसको वर्णन त गरी साध्य छैन । राति सुत्ने बेलामा हामीले हाम्रो घटना सब बेलीबिस्तार लगाएर सुनायौं । अनि प्रतिउत्तरमा उहाँहरुले पनि साइँला दाइलाई गाली गर्नुभयो । हामीले पनि उहाँहरुलाई सम्झायौं । ‘केही बाध्यता आइप¥यो होला नि । नत्र आइपुग्नु पर्ने हो । जे होस् अब हामी भोलि फिछौंै र उतै भेट्छौं’ भनेर ढाडस दियौं ।

त्यस रात सदियौंदेखिको निन्द्रा खन्याएर निदायौं । बगानमा बस्दाको छट्पटी र व्यग्र सबै भुलेर आज आफ्नै घरमा निदाउन पाउँदा स्वर्ग पुगेझैं भयो । परदेशिएको छोरो यतिका महिनापछि आफ्नै आमा र बुबाको सामिप्यमा दुई गाँस खाना पाउँदा र आफ्नै ओछ्यानमा पल्टिन पाउँदाको आनन्द त उसले अनुभव ग¥यो होला तर म भने अझै पनि कुहिरोको कागझैं आफ्नो आफन्तदेखि कतै टाढा नै थिएँ । मेरो त आफ्नो आँगन अझै दूर थियो । न मलाई कसैले पर्खिएको थियो, न त म कसैबाट टाढा थिएँ । किनकि टाढा हुनलाई कोही आफ्नो हुनु पनि पर्दो रहेछ । तब त कोहीबाट टाढा हुनुको आभाष हुँदोरहेछ । त्यस समय म थिएँ र मेरो भन्नु पनि केवल म थिएँ ।

घरमा बुबा, कान्छी आमा, भाइ र बहिनी मात्र थिएँ । उनीहरु पनि आफ्नै जीन्दगी जिउनुमा व्यस्त । उनीहरुलाई मेरो प्रतिक्षा पनि थिएन । म घरमा हुँदा बिहान घरबाट हिडिदिन्थें । दिँउसो आएर एक छाक जुठो लगाउँथे, हिड्थें । अनि फेरि बेलुकी पनि त्यस्तै एक छाक जुठो लगाउँथें, फेरि कता जान्थें । न त कहिले ‘कता हिँडेको ?’ भन्ने प्रश्न तेर्सिन्थ्यो । न त ‘कहिले आउने’ भनेर उत्सुक भएर कसैले सोध्थे । त्यसैले म केवल आफ्नै कर्ममा सदा व्यस्त । व्यस्त पनि कसैको रोकटोक थिएन । त्यही भएर होला म आफूलाई असक्षम र हिन भावनाले जेलिएर बस्थें । गाउँका साथीहरुले आफ्नो आफ्नो प्रेमिकाको बारेमा बेलीबिस्तार लगाउँथे । म एकनास सुन्थे । साथीहरुको कुरा सुन्दा लाग्थ्यो– ‘कास मलाई पनि कसैले माया गरे ..! मिठो मिठो मुस्कानले पोलिरहेको यो छातीको ज्वाला शान्त पारिदिए हुन्थ्यो । नरम हातले मेरो गाला सुमसुमाइ दिए हुन्थ्यो’ झैं लाग्थ्यो । तर मेरो कल्पना, कल्पना नै हुन्थ्यो ।

भोलिपल्ट हामी त्यहाँबाट विदा मागेर विराटनगर लाग्यौं । वरगाछी ओर्लेर सरासर डेरामा पुग्यौं । डेरामा पुग्दा साइँला दाइ डेरामै रहेछन् । अनि उहाँले हामीलाई देखेर ‘ए ’ भाइहरु आयौं ?’ भन्दै ढोकामा उभिनु भयो । हामी त रिसले मुर्मुरिदै घरभित्र पस्यौं । ‘साइँला दाइ किन नआउनु भएको ? हाम्रो कस्तो विजोक भयो थाहा छ ?’ भनेर प्रश्न गर्दा ‘भाइ ! हेरन, टायल किनौं भनेको पैसाले नै पुगेन । अनि नआएको ।’ भन्ने जवाफ सुनेपछि हामी चुपचाप बस्यौं ।

मैले पहिला नै जनाएको थिएँ कि उसको दाँतमा मोहनी छ जस्तो लाग्थ्यो । हो त्यस समय पनि हामीमा त्यही कुरा लागू भयो । हामी रिसले मुर्मुरिएर बोलेको उसको एक हँसाइले हाम्रो रिस फिंज सरि नै बिलाएर गयो । हामी त्यो भन्नु न यो भन्नु । शब्दहरुको पूर्णविराम लाग्यो । त्यस पश्चात् फेरि त्यो ठाँउ गएर चुला बनियो या बनिएन केही थाहा भएन । साइँला दाइ बीचबीचमा हराउनु हुन्थ्यो, हामीले चासो लिने कुरा पनि भएन । पछि आफैं मात्र गएर बनाउनु भयो कि वा त्यतिकै अधुरो रह्यो । त्यो ठाउँको चुलाको चर्चा कहिले भएन ।

त्यसको केही महिनासम्म धेरै ठाँउमा गएर चुला बनाइयो । कहीं बिस्कुट फ्याक्ट्रीको चुला पनि बनाइयो । त्यो उमेरमा मलाई आर्ट गर्ने धेरै ठूलो रहर थियो । गाउँमा रहँदा पनि कसैले भेष्टमा त कसैले सर्टमा चित्रहरु बनाउन आग्रह गर्थे । म पनि के कम जसो तसो गरेर राम्रै बनाइदिन्थे । साथीहरुले तारिफ गर्थे । सिमेन्टको काम गर्दा पनि कसैले आफ्नो घरमा पनि चित्र बनाइदे भन्दा विना पारिश्रमिक नै बनाइ दिएको छु । धेरै पहिलाको कुरा हो । मदनपुरमा दुर्गा सुबेदी, चक्र सुवेदीको घरमा बाघको टाउकाको नक्सा बनाइ दिएको थिएँ । सायद अहिले पनि त्यो घर छ भने त्यो चित्र अवश्य देख्न पाइन्छ । यसरी नै अनेक ठाउँमा बनाइएका घरमा प्राय मेरो चित्र देख्न सकिन्छ । त्यसैले त्यो रहर रहरमा मात्र सीमित थियो ।

एक दिन साइँला दाइलाई महेन्द्रचोकको एउटा आर्ट पसलमा म पनि काम सिक्ने जिज्ञासा राखें । साइँला दाइले ‘हुन्छ नि भाइ, म भनि दिन्छु’ भनेर मलाई आश्वस्त तुल्याउनु भएको थियो । म त्यो दिनबाट खुशी साथ आर्ट सिक्न पाउँछु भनेर दङ्ग थिएँ । आज भन्यो, भोलि भन्यो, पर्सि भन्यो, यसरी नै दिन बित्दै गइरहेका थिए । त्यही इच्छाहरु जिउँदै राख्न बजारबाट रङ्ग, ब्रस र सादा कागजहरु घरमा लिएर आउँथे । फुर्सदमा हुँदा घरैमा चित्रहरु कोर्थे । चित्रहरु पनि हिरो हिरोइनका हुन्थे । चित्रहरु पनि कुनै दुरुस्त हुन्थे त कुनै बिग्रेको हुन्थे । तर आफूलाई चहिं राम्रै लाग्थ्यो । आफ्नो परिश्रम भएर होला कतैकतै मात्र खोट देख्थें । कसैले देखेर तारिफ गरिहालेमा म आफै गमक्क पर्थें । अनि आफूलाई महान चित्रकार नै गन्थें ।

मलाई थाहा थियो– मेरो कला अपरिपक्व छ । हात सुधार्न धेरै मेहनत लाग्छ, तर पनि म अफ्नो दुनियाँको लागि कलाकार (चित्रकार) नै सम्झिरहें । अब त झन् साइँला दाइले आर्ट पसलमा पठाउन थालेपछि मेरो कला झन् निख्रेर आउने भो भनेर कल्पना गरिरहे । प्रतिक्षाले हद नाघेपछि एक दिन साइँला दाइलाई ‘दाइ आज जाउन’ भनेर आग्रह गरें । त्यो दिन साइँला दाइबाट ‘भाइ ! मेरो जुत्ता आज फोहोर छ, भोलि निस्केर भनी दिउँला’ भन्ने जवाफ सुने । ठिकै छ भनेर त्यो दिन चुप लागें । त्यसको केही दिन पश्चात् फेरि भनें । त्यो दिन पनि ‘भाइ ! मेरो कपडा मैला छ । अर्को कपडा लगाए आउँछु, अनि भनौला’ भन्ने जवाफ सुनें ।

यसरी नै कैयौं पटकमा अनुरोध गर्थें । ऊ हरेक पटक कुनै न कुनै बहाना देखाएर पन्छिन खोज्नु हुन्थ्यो । यस्तै गरेर हदले पराकाष्टा नाघ्यो । एक दिन रिसाएर मैले भनें ‘के हो साइला दाइ ! त्यति भन्दा त केही जाँदैन त । तपाईको काममा डिस्टर्ब हुन्छ भनेर होला ? नभन्ने भए भन्दिनँ भन्नु नि’ भनेर म जङ्गिएँ । तर साइँला दाइले ‘हे..हे.. भाइ हेरन, त्यहाँ जान फुर्सद नै मिलेको छैन’ भन्दै दन्तेमोहनी झल्किने गरी हाँसी दिनु भो ।

त्यति हाँस्नु के थियो, मेरो रिस एकै क्षणमा हराएर गयो । र, त्यस पश्चात् साइँला दाइलाई कहिले पनि आर्ट पसलमा गएर चित्रकला सिक्ने कुरा गरिनँ । आफ्नो हातमा जति पनि सीप थियो, त्यस दिनदेखि आफैं माझ सीमित राखें । कुनै अँध्यारो गल्लीमा कुनै नौलो बटुवा हराएझैं मेरो चित्रकला सिक्ने चाहना पनि त्यसरी नै कतै अन्धकारमा हराएर गयो । तर पनि अझै त्यो कला सिक्ने अपेक्षाहरु सुषुप्त अवस्थामा बाँचिरहेको छ जस्तो लाग्छ । र त्यो सुषुप्त अवस्थामा छुटेको आशाहरु कुनै दिन कुन रुपमा देखा पर्ने हो, थाहा छैन ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।