२०७८ असार ४ शुकर्बार
Mero Sabda

आई लभ यू माई भ्यालेन्टाइन


– निरज आचार्य

मेरी प्रिया,
भकारो सोहोर्ने तिम्रो हातहरुबाट
आउने गोबरको बास्ना
अझै महकिन्छ नाकमा
टाउकोमा तेल मालिस गर्दा
मेरो कपालभित्र सल्बलाउने
तिम्रा औंलाहरुको कोमल स्पर्श
अझै अनुभूत हुन्छ यदाकदा
तोतेबोली बोल्ने छोरीलाई
तोतेबोलीमै सुनाएको गीतको आवाज
दिनहुँ गुन्जिन्छ कानमा
गोठको भित्तामा छेलिएर
अकस्मात् तिम्रो हात समातेर तान्दा
तिम्रो गालामा चढेको लालीको रंग
अझै उत्रेको छैन मेरो आँखाबाट
म परदेश हिंड्ने अघिल्लो रात
मेरो छातीमा आफ्नो टाउको राखेर
तिमीले चुहाएका आँशुको नुनिलोपन
अझै बिझेको छ मेरो मुटुमा ।

मेरी प्रिया,
अझै बाँकी छ तिमीसँग
डुङ्गामा फेवाताल घुम्ने रहर
सिनेमा हलको कुनाको सिटमा
हात समाएर सिनेमा हेर्ने रहर
कालीगण्डकीको झोलुङ्गे पुलमाथि
त्यही सिनेमाको गीतमा टिकटक बनाउने रहर
अझै बाँकी छ तिमीलाई
घुँडा टेकेर रातो गुलाब दिने रहर
लजाएर तिम्रो गाला गुलाब जस्तै भएको हेर्ने रहर
साँच्ची, कस्ति देखिन्छ्यौ होला त्यो बेला

कुनै दिन यी सब रहरहरु पूरा गरौंला
स–साना रहरहरुभित्र ठूल््ठूला खुशीहरु बाँचौंला
आई लभ यू मेरी प्रिया
आई लभ यू माई भ्यालेन्टाइन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।