२०७८ असार ४ शुकर्बार
Mero Sabda

कति चोटी टुहुरो हुनु एकै जीवनमा ?


– ऐतराज नेम्वाङ ‘सन्तोष’

मेरो अनुनय–विनय साइँला दाइको अगाडि डेग चलेन । मैले पनि आफ्नो मौलाउन लागेको रहरहरु मौलाउन बाध्य पारे । त्यो विषयमा म धेरै निराश भइसकेको थिएँ । त्यसैले त्यहाँको बसाइँ छोट्याउन चाहें । त्यसपछि केही दिन काम गरेर म आफ्नो गाउँ फिरें । म आफ्नो घर फिर्दा हातमा पहिला जस्तै पैसा शुन्य । मनका इच्छा आकांक्षा शुन्य । भनौं म पनि आफ्नो हातको सीप चाहिं जहींको त्यहीं थियो । त्यसैले म फेरि गाउँमा काम गर्न थाले ।

गाउँघरको काम जस्तो पनि गर्नै पर्ने । प्रयोग भइरहेको शौचालयको पाइप पनि फेरेको छु । त्यसबेला त्यस्तो काम गर्न मलाई केही हिचकिचाहट पनि भएन । काम गर्ने क्रममा हातमा र कपडामा ट्वाइलेटका केही अंश टाँसिन्थ्यो । ट्वाइलेटको फुटेको पाइप निकालेर अर्को फेर्न पनि पछी परिएन । परिश्रम गर्ने हो । परिश्रम गर्नलाई के को लाज ? के को घिन ? मलाई कुनै काम गर्दा पनि लाजसरम लाग्दैन थियो ।

विराटनगरबाट फिरेपछिको कहानी मैले लेखिसकेको छु यसअघि नै । कसरी डकर्मीको प्रशिक्षक भएँ । प्रेम समाल कसरी यस क्षेत्रमा आए । यो सबै अघिल्ला अंकमा लेखिसकेको छु । मैले पहिलो विवाह मगरकी छोरी विहे गरेको थिएँ । घरमा बस्दा दिनदिनै कचकच भइरहन्थ्यो । किनकि प्रायः घरमा कान्छीआमा भएको अवस्थामा ठाक्ठाक्–ठुक्ठुक् परिहालेको देखिन्छ नै । यता मेरो घरमा पनि त्यस्तै भएको थियो । साना–साना गल्ती देखाएर बुबालाई उक्साउँदै हामीलाई बसी नसक्नु हुन्थ्यो । त्यसै कारणले हामीले त्यो घर छाडेर जयपुरमा नै गएर बस्न थाल्यौं । म बिहान खाना खाएर यतै काम गर्न आउथें, त्यो बेला साइकल पनि थिएन । पैदल नै आइन्थ्यो । त्यही समयमा उमाकान्त शिवाकोटीको घर बनाएको हो । त्यो बेला दैनिकी ज्याला तीस रुपैयाँ थियो । दिनभर काम गरेर हात्तीकिल्लाको बाटो उकालो लाग्थें । त्यसक्रममा बाटोमा पर्ने अनारसको बगानबाट अनारस चोरेर पनि खाइयो ।

अनारस चोरेर खान त मज्जा आउने तर विना हतियार नताछी खाँदा चाहिं ओंठ पाछेर हैरान । ओंठ त पाछ्यो तर हात पनि पाछ्ने । त्यति खाएर घर पुग्थें । मेरी श्रीमती (मुना) अगाडि चौतारामा पर्खिरहेकी हुन्थी । थाकेको शरीर । लखतरान भएर उसको छेउ पुग्दा मुसुक्क हाँसेर स्वागत गर्थी । उसको त्यही एक मुस्कानले मेरो सारा शरीरमा उमङ्ग थपिएझैं हुन्थ्यो । मेरो श्रमको पहिलो पारिश्रमिक नै उसको मुस्कान हुन्थ्यो । मेरो अभिभावकले मेरो बेवास्ता गरे पनि मेरी मुना नै सबै थियो । भनौं मेरो संसार भन्नु नै मुना थियो ।

हामी दुबैजना सँगै बसेर खाना बनाउथ्यौं । सँगै खान्थ्यौं । मैले पोखाउनु पर्ने सारा माया केवल उनीमाथि नै थियो । मैले पाउनु पर्ने चोखो माया पनि ऊबाट मात्र पाउथें । भनौं हाम्रो संसार नै हामीमा सीमित थियो । दुनियाँ चाहिं बैरी होस् तर ऊ भए मेरो लागि सबै थोक थियो ।

हामी दुईबाट तीन हुने तर्खरमा थियौं । म धेरै खुशी थिएँ । खुशी पनि किन नहुनु, म बाबु जो हुनेवाला थिएँ । हामी दुबै मिलेर ठूला ठूला सपना देख्थ्यौं । म उसको पेटमा कान थापेर सुन्थें, ऊ लजाउँथी । हाम्रो दिनचर्या यसरी नै चल्दै थियो । तर दिनहरु त्यस्तै पनि आउँदोरहेछ भनेर हामीले सोचेको पनि थिएनौं । अन्त्यमा त्यो समय पनि आयो, दशैंको टीकाको दिन उसलाई व्यथाले च्याप्यो । म आँत्तिएर यताउता दौडिएँ । सबैजना दशैंको टीका लगाउने तर्खरमा थिए । तर पनि एक जनाले गोरुगाडा तयार पा¥यो । एक जना प्रौढ व्यक्तिले सुत्केरी सम्हाल्ने भनेर साथमा जानु भो । त्यो समय अन्य सवारी साधनको सुविधा थिएन । बाटो खाल्डाखुल्डी छिचोल्दै शंकर हस्पिटल ल्याइ पु¥याएँ । केहीक्षणको प्रतिक्षा पश्चात् भित्रबाट खबर आयो, छोरी भएछ । म हर्षले गद्गद् भएँ । सुत्केरी मुना पनि हाँसेकी थिई ।

त्यहाँबाट फेरि गोरुगाडामा चढाएर नारायण चोक आइपुगियो । त्यहाँ नास्ता खाने क्रम चल्दै थियो अचानक सुत्केरीलाई के भो कुन्नी दुबै आँखा बटार्न थाल्यो । त्यसपछि गोरुगाडालाई जयपुर पठाएर विरामी यतै राखें । रातभर धामी ल्याएर झारफुक गरियो । यता डाक्टरले पनि ‘हामीबाट केही हुन सक्दैन’ भन्ने जवाफ पाएपछि म हतास भएँ । काखमा नाबालक छोरी बोकेर रातभर जाग्राम बसियो ।

त्यस रात म आफ्नो भाग्यलाई र मेरो नवजात छोरीको भाग्यलाई धिक्कार्दै रात बिताएँ । छोरी भोकले रातभर रुन्थी । मैले कसरी फकाउने ? कहिले काखमा राखेर हल्लाउँथे । कहिले आफ्नो एउटा औंला उसको ओंठमा राखी दिन्थे । त्यस पश्चात् ऊ केही चुप लाग्थ्यो । तर भोको पेट कतिबेर पो चुप लाग्थ्यो र । फेरि रुन थाली हाल्थ्यो । गाउँका धेरै जना त्यहीं भेला भएका थिए । अन्त्यमा केही नलागेर गाईको दुध बोतलमा हालेर चुसाउन बाध्य भइयो । नवजात शिशुले आफ्नो आमाको स्तनपान गर्ने अधिकार सायद दैवले नै होला खोसी दिएको थियो । मैले नचाहेर भए पनि मेरो नवजात छोरीको भाग्यलाई नै धिक्कार्न चाहें ।

यसरी नै विहानको उषाले धर्ती चुम्न थाल्यो । गाउँमा एउटा ठेला खोजेर त्यसमा सुत्केरी राखेर हस्पिटल लिएर जाँदाजाँदै बीच बाटैमा उसले मलाई र नवजात छोरीलाई छाडेर मृत्यु अँगाली । त्यो दिन म टुहुरो भएँ । मसँगै मेरी नवजात शिशु पनि टुहुरी भई । सायद मेरो मृत्यु भएको भए छोरी टुहुरी हुन्थिन होला तर आमाको मृत्यु हुँदा बच्चाहरु टुहुरा नै हुँदोरहेछ ।

त्यो समय दशैंको रमझम थियो तर मेरो लागि त्यो रमझम दशा लिएर आयो । त्यो दिन म धेरै रोएको थिएँ । काखमा नवजात छोरी रुन्थी, ऊसँगै म पनि रुन्थें । धेरै बेर रुए पश्चात् आँखाबाट आँसु सकिएर होला गलाबाट हिक्क–हिक्क मात्र निस्कन थाल्यो । केहीबेर पश्चात् खोलामा चिता पनि बनिएछ । गाउँकाले उसलाई मबाट खोसेर लगेर चितामा सुताइ दिएका थिए । हेर्दाहेर्दै चिताबाट आगोको ज्वाला बल्न थाल्यो । चिताको धुँवा मुस्लो बनी उडिरहेको थियो । त्यसमा उसको सपनासँगै मेरो पनि सपना वातावरणमा हराइरहेको थियो ।

हामी मिलेर कति सपना सजाएका थियौं । हामी दुईबाट तीन हुने । अनि सानो घर बनाउने । त्यही घरमा कहिले हाँस्दै कहिले रुँदै जीवन बिताउने सपनाहरु थियो तर त्यो सपना सबै धुँवासँगै उडेर गइरहेको थियो । म एकनास त्यही धुँवालाई निहालिरहेको थिएँ । हेर्दाहेर्दै उसको शरीर खरानीमा परिणत भइसकेको थियो । अब त सम्झना मात्र बाँकी रहेको थियो । हिजोसम्म अँगालोमा बाँधिएकी मुना आज यादमा मात्र बाँकी रह्यो । उसको मन छुने मिठो मुस्कान कल्पनाको एउटा मिठो याद मात्र बाँकी रहयो । हिजोसम्म अञ्जुलीमा उसको अनुहार लिएर ओंठ चुम्थें, तर आज मेरा दुबै हातका अञ्जुली खाली खाली रह्यो ।

केही महिनासम्म नवजात शिशुलाई मध्यरातमा उठेर बोतलबाट दुध चुसाउथें । मेरो निन्द्रा त उसको अस्तित्वसँगै हराएर गइसकेको थियो । अब त मेरो ध्यान केवल छोरी कहिले भोकले रुन्छे अनि उठेर दुध खुवाउनु भन्ने मात्र ध्याउन्न थियो ।

दिनभर म आफ्नो काममा व्यस्त हुन्थें तर साँझ पर्ने बित्तिक्कै छोरीसँग हुन्थें । मेरो अरु आफ्नो भन्ने को थियो र ? जब रात प¥यो मुटु पोलेर आउँथ्यो । हरेक रात उसको यादले सताउँथ्यो । कहिलेकाहिं त सहनै नसक्ने गरी मुटु चिरेर दुख्थ्यो । अनि आफैं बरबराउथें– ‘यदि यति चाँडै छोडेर जानु थियो त यति धेरै माया किन दियौ ? यति धेरै माया गरेर छाड्नु चाहिं किन ?’

केही महिना स्याहार–सुसार गरे पनि छोरीले पनि मलाई एक्लै छाडेर गई । त्यस पश्चात् म एक्लै भएँ । सारा दुनियाँ एक तर्फ र म मात्र एक तर्फ रहें । कहिलेकाहिं दैवलाई सोध्न मन लाग्थ्यो– ‘हे दैव ! मेरो के दोष थियो ? र, मलाई मात्र यस्तो चोट किन ?’ जबसम्म जवाफ पाउँदिन तबसम्म दैवलाई यो प्रश्न सोधिरहने छु । के मैले जन्म लिनु मेरो दोष थियो ? जन्म लिएँ त मैले जीवनसाथी खोज्नु मेरो दोष थियो ? जीवनसाथी पाएपछि उसलाई पनि धेरै माया गर्नु मेरो दोष थियो ? हे दैव यति धेरै आफन्तको विछोड र यति धेरै चोट आँखिर मलाई मात्र किन ? कति चोटी टुहुरो हुनु एकै जीवनमा ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।