Mero Sabda

प्रेमको फूल


– मन्जु विमली

हवाइजहाजबाट उत्रिसकेपछि चेकआउटका लागि लाममा लागी मैयाँ । सबै यात्रुहरू खुरुखुरु बाहिरिन थाले । सात महिनाअघि उतै गएको भान्जाको अकाउन्ट सम्बन्धि ठूल्ठूला किताबहरू राखेको हातेब्याग निक्कै गह्रौं थियो मैयाँको । उचाल्नु पर्ने । चक्का थिएन गुडाउने ।

यात्रामै चिनजान भएकी एक महिलाले ‘एकछिन् यो समाइ दिनु त बैनी’ भन्दै हातमा एउटा झोला थमाइ दिएर अर्कै लाइनमा उभिन गई । डिउटी–फ्री लेखेको त्यो ब्यागमा के थियो थाहा थिएन । मतलब पनि थिएन । आफ्नै ब्याग कम भारी थिएन । तैपनि केही भन्न सकिन मैयाँले । अप्ठेरोसँग बोक्दै ल्याएकी थिई त्यो ब्याग पनि ।

अलि समय लाग्यो पालो आउन । सामान्य कुरा सोधिसकेपछि हातमा झुण्ड्याएर लगेको ब्याग खोतल्न थाल्यो सुरक्षकले । खोतल्दै गर्दा ‘किताब मात्रै हो, केही छैन’ उसले भनी । त्यस्तो केही उसले लुकाएर ल्याएकी पनि त थिइन । ल्याएकै भए पनि मेसिनले देखाइ त हाल्थ्यो । ऊ निश्चिन्त थिई । ‘यो पहेँलो ब्यागमा के छ ? खोइ बिल देखाउ’ उसले भन्यो । एकाएक ऊ झसङ्ग भई । उसले भनी ‘यो त मेरो हैन, अर्कै साथीले बोक्न दिएको ।’ ‘यता उभ्भ’, अफिसरले भन्यो । मैयाँले आँखा यताउता डुलाई, कतै देखा परिन उसलाई सामान बोकाउने त्यो महिला । इमिग्रेशनको ढोका पार गरिसकेकी थिई सायद ।

अरु मान्छे खुरुखुरु निस्कन थाले । आफूले त्यस्तो सामान केही बोकेको छैन भनेर ढुक्क थिई तर अफिसरले उसलाई शंकास्पद रुपमा हेर्यो । बिस्तारै अज्ञात डरले थिच्दै ल्यायो । ऊ प्रश्न पनि गर्न सकिरहेकी थिइन । निकैबेर पछि उसको पालो आयो । रिसाहा बाघले झै हेर्यो अफिसरले र फेरि भन्यो– ‘झुटो नबोल । तिमीले बोकेको झोला तिमीले नै जिम्मा लिनु पर्छ ।’

अरु झोला पनि खोतल्न थाल्यो । मैयाँले भनिरही, ‘यो मेरो हैन ।’ त्यो झोलामा के थियो ? किन उसलाई त्यत्तिका बेर अल्मल्यायो ? किन झोलाको फोटो खिच्योे । किन उसको पनि खिच्यो । थाहा भएन । अरुलाई भन्दा फरक ब्यबहार गरेको देखेर डरले भित्रभित्रै काम्न लागी । अर्काको सामान बोक्दा के हुन्छ भन्ने कुरा नबुझेकी मैयाँ अनजानमै फस्न लागेकी थिई ।

के सामान थियो त्यो झोलामा, उसले वास्ता गरेकी थिइन । नचिनेको मानिसको सामान बोकिदिनु उसको ठूलो मूर्खता थियो । अनाहकमा तनावको बादलले छोप्यो । पालैपालो सबै गइसक्दा पनि उसलाई रोकेकै थियो । किन रोकेको हो उसले दोहोर्याएर सोध्न पनि सकिन । निकै समयपछि बल्ल–बल्ल सबै सामान सहित उसलाई पनि ढोका पार गर्न दिए ।

सबैले आआफ्ना लगेज क्लेम गरिसकेका थिए । केही झोलाहरू फित्ता छेउको भूइँमा बेसारिसे पल्टिरहेका बीचबाट आफ्ना सामान बटुलेर बल्लतल्ल घिसार्दै बाहिरिई ।

बाहिर उसैलाई पर्खिरहेकी त्यो महिलाले उल्टै जङ्गिदै भनी– ‘किन ढिला गरेकी नि ? मेरो सामान लिएर हिड्यौ कि भनेर कम्ता मात्र रिस नउठेको । धन्न ल्याएछ ।’ चिन्नु न जान्नु कि त्यसले झर्किदै उसको हातमा भएको झोला थुतेर लिई र गाडीमा चढी हाली । हुइँकिई हाल्यो गाडी । हेरेको हेर्यै भई मैयाँ ।

उसलाई लिन आएका संजीव भन्दै थिए, ‘मेरा आँखाले त गेटै प्वाल पार्न लागेका थिए बूढी, कति ढिला गरेको नि ?’ उनले मन्द मुस्कानमा फेरि सोधे, ‘के सोध्यो ? के लफडा गर्याे ?’ उनका प्रश्नहरूको उसलाई उत्तर दिनै मन लागेन । उसको दिमागबाट तनाव उत्रिसकेकै थिएन ।

ठूलो फूलको बुके लिएर आएका थिए संजीव । हात खाली थिएन । जबरजस्ती मुस्काउँदै मुखमा हेरी र हात खाली गरी । फूलका हरेक थुङ्गामा घरमा छाडेकी छोरीको अनुहार आयो । तारा तिर्मिराए आँखामा । मुश्किलले हातमा लिई । गह भरिएर आयो । इमिग्रेसनको बित्थाको तनावले बोली हराएको थियो । उनको अंकमाल पनि गह्रौँ लाग्यो । उसमा कुनै उत्साह नदेखेर उनले हाँस्तै भने, ‘यतिका दिनपछि भेट भको, के भयो ? सारै थाकियो ?’

उसको मन पीरो भएको थियो । पहिले आफूले देश छाडे । त्यसपछि छोरीलाई पनि छाड्न लगाए । विदेश बोलाएको कागज हातमा परेदेखि नै उनीसँग रिस उठी रहेको थियो । घुक्र्याइ एकछिन् । आउने मन नै थिएन । छिटोछिटो भिसा एप्लाई गर्न कर लगाएको सम्झिई । दोधारमै भरेकी थिई भिसा फारम पनि । नभैदिए हुन्थ्यो जस्तो लागेको थियो तर सजिलै दिइहाल्यो ।

छोरीको अनुहार उनकै अनुहारमा समाहित गरेर हेरी । लोग्नेकै मुहारमा टाँस्सिए झैं भो उसको त्यो बालापन । अनि भावुक बनेर एकछिन् अँगालोमा बाँधिन कोसिस गरी । धेरैपछि भएको भेटलाई अर्थ दिन खोजी । तर कत्ति फरक कत्ति । कति अनौठो खुशी हो वा बेखुशी । न्यानो थिएन अङ्गालो, जत्तिको उसको बच्चीले गर्ने झ्याप्प को थियो ।

ग्याटवीक बिमानस्थलको गेटबाट बाहिरिए ।

बल्ल उसले आफूलाई सहज हुँदै गएको अनुभव गर्न थाली । सुटकेसहरू घिसार्न थाले संजीव । कुहिरोको काग थिई ऊ । पछ्याउनु मात्र थियो उसको काम । उनैले डोर्याए ब्यागहरू ठूलो भीडभाडतिर ।
०००

हातको घडीमा पाँच बजेको थियो, तर कुन बेलाको हो ठम्याउन सकिन उसले । दुई दिनकोे यात्राले शिथिल बनाएको थियो शरीर । ट्रेन स्टेशन रहेछ त्यो । ‘अब रेलमा चढ्नु पर्छ’ संजीवले स्टेशनको भित्तामा रहेको कम्प्युटर जस्तो स्क्रीनको चेपमा पैसा छिराए । एकछिन स्क्रीनको डल्लोमा हात घुमाए अनि एउटा कार्ड निकाले र भने– ‘ल, आज दिनभरि घुम्न मिल्छ यसले ।’ उनको यो भनाइले बुझी, बिहानै रहेछ । उसलाई मनमा लागिरह्यो कति बेला जीउ छाडेर सुत्नु जस्तो भैराको छ । कहाँ घुम्मिएला र ?’

निकै दिनपछि मात्र बुझी, त्यो दिनको त्यो टिकेट भनेको ट्रेनको डे पास पो रहेछ । टिकेट मेसिनमा छिराएपछि टिं..टिं.. गर्दै दैलो खुल्दोरहेछ । ट्रेनतिर जान सललल बग्ने बिजुलीका सिंडीमा उभिएरै पारी पुगे उनीहरू । सिरिङ्ग भयो मन, खुट्टामा काउकुती लागे झैं भो । ऊ छक्क परी । ‘हेर्दै जाउ न के के देख्छौ’, संजीवले मुस्कुराउदै भने । एकैछिन्मा पुगिसकेका थिए ट्रेन चढ्ने ठाँउमा । दुबैपट्टि फलामको रड् ओछ्याइए जस्तो लाग्थ्यो । ‘यो पहेंलो लाइन भन्दा उता जानु हुँदैन है । बत्तास्सिएर आएको ट्रेनले लान्छ सोरेर । उ ! के भन्दैछ माइकले सुन त ।’ संजीवले सर्तकता अपनाउन सिकाउँदै थिए ।

कहाँबाट हो माइकमा केही भनिरहेको थियो । एकछिन् कान थापी । एउटा दुइटा शब्द भन्दा बढी केही बुझिन । झिलिक–झिलिक गर्दै कुदिरहेका रातो अक्षर भएको स्क्रीनमा देखाउँदै भने– ‘अब एक मिनेटमा आउछ ट्रेन, रेडी छौ त !’ निक्कै उत्साहित छिन् उनी । ‘यत्तिका सामान छन्, छिटो गर्नु पर्छ, मिलिक्कै दौडिहाल्छ ।’ अर्को तर्फ उभिएको ट्रेन देखाउदै संजीवले भने– ‘त्यो चाहिं अर्कोतिर जाने हो ।’
लामो न लामो सुलुक्क परेको सर्प जस्तो, रोकिदै नरोकिउँला झैं बेग हान्दै आएर आफ्नो अगाडि उभियो । अनौठो आवाज सहित ढोका खुले । मान्छेहरू भुरुरुरु चढे, उत्रिए । त्यो अजिङ्गरको पेट जस्तोमा उनीहरू पनि हतार–हतार सामान घिसार्दै छिरे ।

‘अर्को ट्रेन भेट्न कति हतार हुन्छ, हेर न मान्छे कुदेका । तिमी नि कुदौली त्यसरी नै पछि,’ बोलिरहन चाहान्छन् उनी ।

कहिले सुरुङ्गभित्र, कहिले जमीनमाथि हावाका बेगमा सुलुलुलु गुडिरह्यो । जहाँ जहाँ रोकिन्छ सबै ढोकाहरू एकैचोटी आफै खुल्थे । रोकिइसक्दा चढ्ने र ओर्लिनेको हतार अचम्मको देखिन्थ्यो । मान्छेहरू भरररर कमिलासरी निस्कने पस्ने बराबरी । यसलाई चलाउने मान्छे कस्तो होला ? अचम्मका प्रश्नहरू आइरहे दिमागमा । सीट हँुदाहँुदै पनि उभिइरहेका यात्रुहरूका हातमा पत्रिका वा केही न केही पढने कुराहरू देखिन्थे ।

भर्खरै छाडेको आफ्ना देशको याद आयो मैयाँलाई– ‘अलिकति सर्नुस्, अलि सर्नुस् । पछाडि जानुस् । दुई लाइन भएर उभिनुस् । कति अटेरी गरेर बस्या हो ?’ भन्दै झर्किदै खलासीले कराएको झझल्को आउन छोडेन । कोचिएर यात्रा गर्नुको विकल्प थिएन निरीह यात्रुहरूको । सिन्की खाँदे झैं ठेलामठेल गरेर मान्छे छिराउँछन् । बस्ने ठाउँ हुँदैन । असक्तहरू पनि उभिइरहेका हुन्छन् । सक्तहरू ढसमस्स गरेर सीटमा बसिरहेका हुन्छन् । कोही कोहीले सिट छाडिदिए भने पनि आफ्नै सम्पत्ति दिए जत्तिकै गर्ने । बृद्ध, असक्त र गर्भवतीका लागि चाहिं सिट ब्यबस्था गरिदिए पनि हुने नि भन्ने लागिरहन्थ्यो । आफै गर्भवती भएका बखत बस यात्रा गर्दाको दिनहरूमा पाएको दुःख स्मृतिमा घुमिरह्यो । ‘म दुई जिउकी छु मलाई सिट दिनु नि’ भन्न पनि अफ्ठेरो । कुनै बुझ्झकीले बुझेर दिए भने दिइ हाले । नत्र पूरै यात्रा उभिएरै सकिन्थ्यो ।

अझ भीडमा घुस्रिएर महिलाहरूतिरै ठेलिदै आउने र आफ्नो अङ्ग धर्सान मौका खोजिरहने, मुखमा पान र गुड्खा च्यापेका, गन्हाउने यात्रुहरू मानसपटलमा आइरहे । नाकभरि ठुस्ठुसी सुर्ति र पसिना गनाइरहे । जिउभरि सल्बलाइरने उनीहरूको स्पर्श । बसबाट ओर्लिएर डेरा नपुगिन्जेलसम्म पनि पछ्याइ रहन्थे कोही कोही अधबैँसे लफङ्गाहरू । डरले सास दबाएर ढुक्ढुक गरिरहेको छाती थिचेर हिंड्नु पथ्र्याे । डेरा देख्ला भन्ने अर्काे पीर ।

कलेजको ड्रेसमा बस चढदाखेरिको त्यो भीडको अनुभवको झनै गहिरो याद आइरह्यो । ओहो आफूलाई जोगाएर घर ल्याइ पुर्याउनै गाह्रो । कलेजबाट कोठा आउने बित्तिकै असत्तिहरू अलिकति जोगिएर बस्नै चाहँदैनन् । जतिसक्दो ठेलेर पनि मजा लिन्छन् । सप्पै चिसै पार्देछ ठेउकेले भन्दै गनगनाउदै हतार–हतार बाथरुम पसेकी दिदीको पनि याद आयो । लाज र आक्रोश बढ्थ्यो मनमा । मैयाँको मुखै बिग्रियो । हरे मेरो देश !

‘भो भो बढ्ता भावुक नबन ।’ चिम्रा आँखा सहितको संजीवको बोलीले झस्याङ्ग भई । कुरा मोड्न खोज्दै भनी, ‘यहाँका मान्छेहरू पनि कति सुकिला है । कति फराक । अनि सफा, ट्रेनभित्र पनि । खोई त यत्तिका मान्छेका लागि न खलासी, न कन्डक्टर ।’

के बोल्छ यकिन गर्न नसकिरहेको बेला स्क्रीनमा सललल बगेका अक्षरमा आँखा पुगे । कानभित्र बाहिर नियाल्न थाले कुरा खुट्याउन । संजीवले भने, ‘उ त्यहाँ हेर त के लेखेको छ ?’

‘माइन द ग्याप, दिस ट्रेन इज टर्मिनेट फलानो स्टेशन’, अर्को स्टपको नाम र तयारीमा बस्न उद्घोषण गर्ने रहेछ । स्टेशनै पिच्छे उही दोहोर्याउँदो रहेछ । कल्पनै नगरेको संसारमा थिई ऊ ।

ढोकाको छेउकै सीटमा बसेका थिए उनीहरू । श्रीमान्कोे काँधमा टाउको अड्याइ दिइएको दिन थियो त्यो । उनले पनि बढो जतनका साथ ढल्किन दिइरहेका थिए । उसलाई लागिरहेको थियो, ‘मैले आफ्नो संसार पाएँ ।’ तर तत्कालै सम्झी खर्लप्पै आधा संसार भने उतै थियो, दुधे छोरीको ओठमा अल्झिरहेको । यस्तो झिलिमिलीमा पनि मन उज्यालो छँदै थिएन । अन्धकार थियो, ढम्म बादलले ढाकेको । बिस्तारै लामो लिफ्ट चढेर जतन साथ भारी घिसार्दै ह्वाटच्यापल स्टेशनबाट बाहिरिए ।

‘उ पर हेर त, त्यही ईंटाको धमिलो अग्लो अपार्टमेण्ट हो हामी जाने ।’ घरैघरको जंगलमा देखाउँदै संजीवले भने । मैयाँले चिने जत्तिकै गरेर ‘ए..ए..’ मात्र भनी । आकाशै छोला जस्तो विशाल भवनको सानो ढोकाबाट भित्र पसे । तीन चार पाइलापछि भित्ताको लस्करै नम्बर मध्येको एक र शून्यमा थिचे उनले । ढोका खुल्यो, भारी तान्दै भित्र हुले । केही अरु मानिसहरू पनि थिए । एउटाले केही भने जस्तो सुनेकी थिई तर वास्ता गरिनँ ।

बिस्तारै फुसफुसाए कानमा संजीवले– ‘तिमीलाई सहयोग चाहिन्छ कि भन्दैछन् यिनी । मैले ठीक छु भन्दिएँ ।’ अलिकति हल्लिए जस्तो लाग्याथ्यो त्यो बाकस र दशौं तलामा रोकियो । उनले भने, ‘यसलाई भन्छन् बाकसे सिंडी ।’ हल्का मुस्काए उनी । मैयाँलाई कता–कता विशालबजारको याद आयो । भनी– ‘टपरीमा सिंगडा पनि खान पाइन्छ कि ?’ अहिले भने अलिक फ्रेस भइसकेकी थिई । बाहिरिएर फेरि अर्को ढोकासम्म ताने झोला । ‘के ल्याएकी छन् हौ बूढीले यति गह्रुँगो,’ संजीवले भने ।

सबै काम आफैं गर्न पाए हुन्थ्यो झैं गर्छन् उनी । फेरि अर्को भित्तामा भएको बटम थिचे । भित्रबाट कसैले ढोका खेलिदियो र भन्यो– ‘लौ स्वागत छ बेउला–बेउलीलाई । मैले देखे नि सी सि क्यामरामा ।’

यहाँ पनि मेलो पाइन मैयाले । कहाँ रहेछ हामीलाई देख्ने ठाँउ ? मुस्कुराउँदै संजीवले भने– ‘उहाँ सागर दाइ ।’ नमस्कार गरी मैयाँले । विदेशमा पनि पहिलो भेट त नेपालीसँगै पो भयो मनमा लागिरह्यो ।

‘यात्रा कस्तो भयो त ?’ सागरको प्रश्नको थियो । ‘राम्रै भो,’ केही मुस्कुराउँदै उसले सबै पीडा बिर्सिएझैं भनी । ‘कत्ति हँसिली रहिछन् बहिनी त । के नाम हो नि ?’ सागर दाइले सोधे । लजाउँदै उसले भनी– ‘मैयाँ ।’

‘यो घरमा त सबैको नाम सबाट आउँछ । तिम्रो चाहिं के मैयाँ भको होला त ?’ हाँस्तै भन्यो, ‘सबैकी मैयाँ । मेरी बूढीको नाम शान्ति, मेरो सागर, छोराको सबिन , छोरीको सरिता । उहाँ संजीव । हाँस्यो मज्जाले ।

बोलेर नथाक्ला जस्तो थियो ऊ । भन्न भ्यायो, ‘ल ल आराम गर्नुस् । आज त संजीव भाइको पनि छुट्टी होला । कतिपछि भको भेट होला ।’ ओठ तन्काउँदै लामो लेग्रो तान्दै एकसुरमा बोल्दै निस्कियो बाहिर । ऊसँगै निस्के संजीव पनि ।

संजीव भन्दा कान्छो जस्तो देखिन्छ,फेरि नामैबाट पो बोलाउछ त ! जस्तो लागिरह्यो उसलाई ।

शिथिल थियो शरीर । भोक, तिर्खा निन्द्राले ब्याकुल उसलाई प्लेनमा खाएको खानाले छाडिसकेको थियो । बसेको खाट पनि हिडिरहेको झैँ लागिरहेको थियो । केहीबेरपछि कोठाभित्र पस्दै मुण्टो बंग्याँउदै भने संजीवले– ‘बोलाइली रहिछन् अरे ।’ फेरि थपे, ‘अर्काकी स्वास्नी जस्ती सुकै होस् नि के को टाउको दुखाइ नि त्यस पतौरेलाई चाहिं ?’

आफूले बोलेर गल्ती पो गरें कि डर लागिरह्यो, बाथरुमको सिंकमा दुध दुहेर फ्याँकेर निस्कदै गरेकी मैयाँलाई । बच्ची छाडेदेखि छाती चर्की रहेको थियो गानिएर । कोठा छिर्ने बित्तिकै देखेको उनको क्रियाकलापले अतीत खर्लप्पै आँखामा नाच्यो । यिनको बानी अझै पनि उस्तै पो रहेछ त जसलाई पनि शङ्का गर्ने । उनले दिएको फूलको बुके छेउमै बसेर गिज्याइरहेको थियो ।

काठमाडौं

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।