Mero Sabda

मजदुरका नाममा कार्यकर्ता उत्पादन गर्छन्


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

म भर्खर बीस–बाइस वर्षको युवा । आफूमा अल्लारे उमेर छिप्पिसकेको थिएन । भनौं वैंसको पहिलो खुड्किलो टेक्ने बित्तिकै आफू विवाह बन्धनमा बाँधिएको । अपरिपक्व उमेर । तर पनि समाजसँग पौठेजोरी खेल्दै आफ्नो परिवार र दाम्पत्य जीवन सुखमय बनाउने प्रयास गर्दागर्दै एकपछि एक बज्रपातहरु यी कलिला मुटुमा बज्रिन थाल्यो । भर्खर पलाउँदै गरेका कल्पनाका टुसाहरु दैवको यो कठोर आँधीको वेगले मेरो सानो संसारको बगैंचा तहसनहस पारेर गयो । निःशब्द निष्प्राण एउटा अँध्यारो कुनामा बसेर बितेका पलहरुलाई कल्पनामा सजाउन बाहेक अरु केही गर्न सकिनँ ।

धेरै दिनसम्म म आफूले आफैलाई सम्हाल्न प्रयास गरें । लोग्नेमान्छे परियो । परिस्थिति अनुसार आफूलाई ढाल्ने प्रयास गरें । बाध्यतामा भए पनि त्यो रगताम्य भएको मुटुलाई सबैको सामु लुकाएर भए पनि मुस्कुराउन बाध्य भइ दुनियाँको सामुन्ने आफैलाई सम्हाल्दै आफ्नो रोजगारतिर लागें । जब आफू आफ्नो कर्मक्षेत्रमा व्यस्त भइयो, तब मनका घाउहरु पनि केही विशेक भए जस्तो लाग्न थालेको थियो । तर पनि राति आफ्नो ओछ्यानमा पल्टिँदा चाहिं मध्यरातमा धेरै रोएको छु । त्यस समय ओंठले केही बर्बराए झैंं लाग्थ्यो । आफैंलाई थाहा हुँदैन थियो, यो ओंठले के बर्बराइ रहेछ । तर यति थाहा छ, उसलाई कहिले पनि निष्ठुरी भनिनँ । समयसँगै बग्दै जाँदा केही समयपछि साथीहरुको संगतमा कति रात मातियो । आफ्नो नियन्त्रण भन्दा बाहिर गएर पनि मातियो । त्यस्तो अवस्था देखेर बुबा आमाले ‘फेरि अर्को विहे पनि गर्नु’ भन्ने दबाब जस्तो वातावरण बनिन थाल्यो । सायद उहाँहरुलाई छोरा अब नियन्त्रण भन्दा बाहिर जान थाल्यो जस्तो भान भयो होला । हुन पनि आफ्नो छोराछोरीहरु बिग्रेको हेर्न चाहने अभिभावक को हुन्छ होला र ?

त्यसै सिलसिलामा धेरैतर्फबाट प्रस्तावहरु आए । कोही भन्थे ‘म आफ्नो बहिनी दिन्थें नि । तर के गर्नु जात मिल्दैन ।’ मलाई थाहा थियो, यो शब्दहरु मेरो सहानुभूतिको लागि बोलिएको हो । त्यसैले म चुप लागेर बसिदिन्थे । त्यही क्रममा एउटा काठमाडौंंबाट पनि प्रस्ताव आयो । उसको चाहिं दुई वटा बच्चा भएको र लोग्नेले छाडेको । अब मलाई दिक्दार लाग्न थाल्यो । भर्खर बीस–बाइस वर्षको म किशोर केटो । श्रीमतीको मृत्यु हुँदैमा नानीको आमाको प्रस्ताव आउँछ । ‘के मेरो हैसियत त्यहाँ पुग्यो त ?’ भन्ने प्रश्न मेरो माथिङ्गलमा रुमल्लिन थाल्यो । म मानिसहरुलाई प्रश्न गर्न थालें, ‘मेरो श्रीमती मर्नु के मेरो गल्ती हो ? के मैले चाहेर यो अवस्था आएको हो ?’ मानिसहरुले सम्झाउन थाले, ‘जे हुनु नपर्ने थियो, त्यो भइगो । अब यस्तै प्रस्तावहरु अरु कतैबाट नआओस् । त्यसैले एउटा राम्री केटी हेरेर विहे गर्ने चाँजोपाँजो मिलाइ हाल्नु ।’ त्यस्ता जवाफ सुनेर म पनि ‘अब चाहिं विहे अनिवार्य गर्नैपर्छ । ठिकै छ, यसो कतै कुरा चलाइ दिनु होला’ भनेर सबैमा अनुरोध गर्न थालें ।

त्यसै क्रममा ‘जयपुरमा एउटी केटी छ । ऊ पनि तिमी जस्तै अलिक दुःख पाएकी छ । बुबालाई लिएर आउनु । म उसको काकीकोमा बोलाइ दिन्छु’ भनेर एक जना आफन्तले खबर पठाए पश्चात् बुबालाई लिएर गइयो । त्यहाँ पुगेर बुबाले केटी देख्ने बित्तिकै ‘मलाई वुहारी मन पर्यो, कुरा चलाउनु’ भन्नु भयो । त्यस पश्चात् उसको काकी, दिदी र गाउँका सबैले केटीलाई ‘हुन्छ भनिदेन” भनेर कर लगाउन थाले । म चाहिं गमक्क परेर बाहिर वरण्डामा बसिरहेको थिएँ । तर कान चाहिं भित्रका कुरा सुन्नमा व्यस्त थियो । भित्र निकैबेरको अनुरोधपछि केटीले ‘हुन्छ’ भनेको शब्द सुनें । अनि भित्रबाट काकी आउनुभयो र मलाई भन्नु भयो, ‘लु अब केटी मानी । भोलि उसको घरमा गएर कुरा गर्नु ।’ मैले पनि हत्तपत्त हुन्छ भनिदिएँ । त्यो दिन केहीबेर त्यहाँ बसेर घर फिर्यौं ।

भोलिपल्ट त्यही गाउँका एक जना साथी लिएर उसको घरमा गयौं । अघिल्लो दिन त मैले केटीको अनुहार खासै देखेको थिइनँ । तर उसको घर जाँदा खेतमा मल बोक्दै गरेको देखें । मान्छे राम्री नै थिई । अलिक मोटी मोटी । गहुँगोरी । हेर्दा निकै मेहनती । हामी दुबै जना सरासर उसको घरमा पुग्यौं । उसको आमा हुनु हुँदोरहेछ । नमस्कारको आदान–प्रदान पश्चात् मैले केही भूमिका नबाँधी नै कुरा शुरु गरें, ‘हेर्नुहोस्, मलाई विहे गर्ने इच्छा त थिएन तर घरबाट धेरै दबाब आएको हुनाले म विहे गर्ने निर्णयमा पुगेको हो । त्यसैले हिजो कुरा गरे अनुसार म यहाँ आएको । आज सोमबार भयो । पर्सि बुधबारसम्म छोरीको विहे गरिदिनु भयो भने म विहे गर्छु, नत्र त होस् ।’ त्यो कुरा सुनेर उहाँले केहीबेर सोचेर ‘हुन्छ’ भनिदिनु भयो । अनि हामी बुधबारका दिन केही साथीहरुलाई लिएर उसको घरमा पुग्यौं र सानो तिनो रितिरिवाज गरेर बेलुकी नै बेहुली भित्र्यायौं ।

त्यो दिनदेखिको मेरो जीवनसाथी लक्ष्मीले मेरो साथ कहिल्यै छाडिनन् । कहिले दुःखले बस्यौं, कहिले सुखले बस्यौं । कहिले ठुस्किदैं, कहिले मस्किदै आजको मितिसम्म साथै छौं । यो दिनसम्म आइपुग्दा हाम्रो पहिलो सन्तान छोरो थियो । त्यो पनि जन्मेको पाँच दिनमा नै आमाको काख रित्तो पारेर गयो । त्यति बेला पनि मेरो हत्केलामा कोरेका भाग्यरेखामा सन्तानको रेखा थिएन रहेछ । मैले नचाहेर पनि फेरि भाग्यलाई सराप्न बाध्य भएँ । त्यसपछि हामीहरु एकअर्कालाई हौसला दिँदै आफ्नो गृहस्थ सदा झैं जिउन थाल्यौं । हामी आफ्नो घर छाडेर भाडामा बस्न थालेका थियौं । अभिभावक विनाको गृहस्थ जीवन जिउनु पनि चुनौतिपूर्ण नै हुँदोरहेछ । सीमित आय । अरु कतैबाट केही सहयोगको अपेक्षा नै नभएपछि आफू नै साँघुरिएर बस्न बाध्य थियौं ।

यता निर्माण क्षेत्रमा राम्रै काम चलिरहेको थियो । त्यो समय कुनै घर बनाउँदा ठेक्का लिने प्रचलन भर्खर शुरु हुँदै थियो । २०४९ सालमा सर्लाही जान भन्दा केहीअघि संगठन बिस्तार गरेर गएको भन्ने जानकारी दिएको थिएँ । त्यसपछि आएर मेरो पहिलो छोरोको मृत्यु पश्चात्को साल २०५१ साल तिरको कथा हो । स्वतन्त्र निर्माण मजदुर भनेर खोलिएको त्यो संस्था । नजरुल सेख, शंकर भण्डारी, अन्तलाल धिमाललगायत सबैले हातेमालो गर्दै संगठनलाई अगाडि बढाइरहेको थिए । मैले पनि त्यस संगठनमा आफ्नो उपस्थिति जनाइ सकेको थिएँ । कहिलेकाहिं यदाकदा छिटफुट मिटिङहरु भइरहन्थ्यो । जब म सर्लाहीबाट फिरेर आएँ, त्यस पश्चात् त्यो संस्था त क्युपेक भन्ने संस्थामा परिवर्तन भइसकेको रहेछ ।

के हो यो क्युपेक ? भन्ने प्रश्न निस्कियो । कसै कसैले ‘यो एउटा मजदुरको संस्था हो । यसको नारा ‘विश्वका मजदुर एक हौं’ भन्ने हो । र, हामी सबै यसै संस्था मार्फत् मजदुरहरुको हक, हित र सुरक्षाका काम कर्तव्यहरु गर्दै जाने छौं’ भन्ने जानकारी दिए । अब होला नि त भन्ने लाग्यो । हामी गाउँटोल मिलेर अन्य बाहिरी देशबाट आएको मजदुरको प्रतिकार गर्न बनेको त्यो सानो संगठनलाई केन्द्र स्तरको कुनै संगठनले साथ दिन्छु भने हामीले नकार्ने त कुरै भएन । ठिकै छ भनेर यसै संस्थामा आवद्ध भएर काम गर्न थाल्यौं ।

त्यसै समयमा विर्तामोडमा यस्तै प्रकारको अर्को संगठन पनि खुल्यो भन्ने समाचार सुनियो । को को रहेछ र कुन संगठन रहेछ भनेर जानकारी लिन थाल्यौं । हालको गरुवा स्टेन अगाडि एउटा घरमा भाडा लिएर अफिस खुलेको रहेछ । संगठनको नाम ‘काउन’ रहेछ । त्यहाँको विशेष व्यक्तिहरु भद्रपुर निवासी रामचन्द्र कामती हुनुहुँदो रहेछ । अन्य सदस्य को को हुनुहुन्थ्यो, त्यति जानकारी भएन । रामचन्द्र कामतीलाई चाहिं तत्कालिन दीपज्योति बोर्डिङ स्कूल र खगेन्द्र ढकाल अनि मोहनकृष्ण ढकालको घर बनाउँदा चिनजान भएको थियो ।

पछि थाहा हुँदै गयो– क्युपेक भनेको कम्युनिष्टको भातृ संगठन रहेछ र काउन भनेको काँग्रेस निकट ट्रेड युनियनको संगठन रहेछ । काउनको संगठनका अन्य सदस्यसँग त्यति चिनजान नभएको हुनाले र फेरि आफ्नै क्षेत्रमा त्यही क्युपेक मात्र संगठन भएको नाताले क्युपेकमा नै आवद्ध भएर बसियो । संगठनमा बसेर काम गर्दै जाने क्रममा मलाई क्युपेकको क्षेत्रीय सदस्यमा मनोनितको लागि सिफारिस पनि गरियो । त्यसको केही दिनपछि विर्तामोडमा रहेको क्षेत्रीय कार्यालयमा गएर सम्पर्कमा रहें । अनि एक दिन त्यस संगठनको सपथ कार्यक्रममा बोलाइयो र गएँ । विर्तामोडस्थित देवी मा.वि.को हाताभित्र सपथ खाने कार्यक्रम रहेछ ।

त्यो कार्यक्रममा धेरै ठाँउबाट अरु साथीहरु पनि आएका रहेछन् । साथीहरुको भीडमा देखें, सबै साथीहरु मजदुर मात्र रहेछन् । न हात खुट्टा सफा थियो न त सुकिला लुगा लगाएको थिए । मलाई लाग्छ मजदुरको संगठन भनेपछि हामी मजदुरको हक, हित र सुरक्षाका सारा जिम्मेवारी बोक्ने संस्था हो । मलाई केही पीरमर्का र अप्ठ्यारा प¥यो कि संगठन अगाडि आएर छाती थापीदिन्छ । तर प्रायः मजदुरहरुलाई थाहा थिएन रहेछ कि यो मजदुर संगठन भनेको कुनै पार्टी विशेषको कार्यकर्ता जन्माउने ठाउँ हो भनेर । अरुलाई त के मलाई नै थाहा थिएन । अलिअलि शंका मात्र थियो, जब सपथ खुवाउँदा हात मुठ्ठी पारेर उचाल्नुपर्ने र हरेक शब्दमा ‘कमरेड’ भन्ने शब्द उच्चारण गरेको कारणले गर्दा अब चाहिं पक्का भयो कि यो कुन चाहिं पार्टीको भातृ संगठन हो भनेर ।

उनीहरुको कार्यालयको भित्तामा कि पुष्पलाल को, कि मनमोहन अधिकारीको फोटोहरु टाँसिएका हुन्थे । जब सपथ खुवाउँदा मुठ्ठी पारेर हात उठाएर सपथ खुवाइयो तब बाट मलाई त्यो क्युपेक संगठनबाट मनमा केही वितृष्णा जागेर आउन थाल्यो । अनि त्यहाँ जान मेरो पाइला केही गरुङ्गो लाग्न थाल्यो ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।